दिउँसो १ बजे, चिया पिउँदै मग्न भएर बुद्धि सागरको उपन्यास कर्नाली ब्लुज पढिरहेको थिएँ।
मोबाइलमा नोटिफिकेसनको घण्टी बज्यो। बेवास्ता गरें मैले। अरूबेला पनि यस्तै नोटिफिकेसन आइराख्थ्यो।
फेरि एकछिनपछि के सोच आयो मनमा। मोबाइल हेरें। मेरो इन्स्टाग्राममा कसैले फलो गरेको नोटिफिकेसन रहेछ। नाम हेरें। जब नाम पढें झस्किएँ।
अनि मेरो मानसपटलमा विगतका घटनाहरू एकपछि अर्को गर्दै दोहोरिन थाले। फेरि पनि मेरो कानमा उही नाम गुञ्जिन थाल्यो ‘वर्षात’। सुन्दर दिन थिए ती। कलेजका रमाइला दिन।
आज त १४ वर्ष भइसकेछ, वर्षातसँग मेरो भेट नभएको। अनि कुरा पनि नभएको।
त्यो कुनै दिन हुँदैन थियो होला हामी नभेटेको। अनि कुनै साँझ हुँदैन थियो होला हामी गफमा भुलिँदै हिँडेको।
अनि कुनै रात पनि त्यसै बितेन होला, हामी फोनमा बोल्दाबोल्दै सुतेको। कति रमाइला पल थिए, उसँग बिताएका। आँखा अगाडि अतितका यी कुराहरू नाचिरहे।
त्यो साँझ छट्पटीमा नै बित्यो। के गरूँ, कसो गरूँ। वर्षातको प्रोफाइल खोलेर हेरें । उही पहिले जस्तै वर्षात, मन्द मुस्कान, गहुँगोरो हँसिलो।
जे होस् जस्तो होला भनेर उसलाई मैले फलोब्याक गरें। अनि एउटा स्माइलको ‘स्माइली इमोजी’पठाएँ।
स्माइली इमोजी पठाएको मात्रै के थिएँ, तत्काल रिप्लाइ आइहाल्यो हाई भनेर। एकछिन त मलाई सपनाजस्तो लाग्यो।
एक दशकपछि कुराकानी भएको थियो हाम्रो। मैले पनि उनलाई रिप्लाई गरें।
वर्षात:सन्चैछौ?
म : सन्चै छु अनि तिमी ?
वर्षात : म पनि सन्चै छु । अनि कहाँ हो अहिले ? बिहे पनि गरेछौ ?
म : म अहिले काठमाडौंमा नै छु । बिहे गरें त अनि तिमीले नि ?
वर्षात : अम्…मैले पनि।
अनि हाम्रो यस्तै सामान्य कुरा भइराख्यो। बाइफाई बन्द गरेर सुत्न खोजें। निन्द्रा पटक्कै लागेन। उही वर्षातको अनुहार, उही दिनहरू मनभरि आइरह्यो। बल्ल बल्ल निदाएछु। बिहान छेउमै सुतेकी छोरी हल्लिँदा पो ब्युँझिएछु।
मोबाइल अन गरें। अनि वर्षातसँगको मेसेजहरू डिलिट गरें। ओछ्यानबाट उठेर नित्य कर्म सकेर चियाँ पिएँ। त्यसपछि खाना बनाउनतिर लागें।
मेरो श्रीमान कामको सिलसिलामा दुई हप्ताको लागि बाहिर जानु भएको थियो। वर्षातलाई मेरो परिवारले अस्वीकार गरेपछि त्यतिबेलै हाम्रो बिछोड भएको थियो। ऊ क्षेत्रीको छोरो अनि म नेवारकी छोरी।
परिवारविरूद्ध जान मन लागेन। सम्बन्ध मैले नै तोडें। मेरो श्रीमान (सुमन) सँग मेरो प्रेम विवाह नै भएको हो। उहाँसँग सम्बन्धमा रहेपछि मैलै अरू कोहीसँग सम्बन्ध बढाइनँ। सुमन र म वैवाहिक जीवनमा बाधियौं।
हाम्रो जिन्दगी राम्रै चल्दै थियो। तर, उहाँ भने कामको सिलसिलामा कहिले एक हप्ता, कहिले दुई–तीन दिन बाहिर गइराख्नु पर्ने।
अनि छुट्टीको दिनमा साथीहरूसँग रमाइलो गर्न जानुहुन्थ्यो।
कहिलेकाहीँ घरमा पनि समय दिनु भनेर भन्थें। अनि बल्ल बल्ल दुई घण्टा जस्तो घरमा बिताएर फेरि साथीहरूसँगै जानुहुन्थ्यो। घरमा म एक्लै छोरीसँग। कहिलेकाहीँ त दिक्क पनि लाग्थ्यो।
आफ्नो मनको कुरा भन्ने साथीसमेत हुँदैन थिए। श्रीमान कामबाट थाकेर आउनु भएको हुन्थ्यो। उहाँलाई बोलाएर डिस्टर्ब गर्न मन लाग्दैन थियो।
उहाँलाई काम र साथीभाइ प्यारो थियो। मलाई उहाँसँग समय बिताउन मन लाग्थ्यो। मेरो श्रीमानले मेरो हर चाहनाहरू बेवास्ता गर्दै जानुभयो। तर, आर्थिक स्थितिमा कहिले पनि आँच पुर्याउनु भएन।
यद्यपि, के श्रीमतीलाई पैसाले मात्रै सुख मिल्छ र ? थोरै भए पनि श्रीमानले दिएको समय प्यारो लाग्छ। श्रीमानसँग मेरो झगडा पनि यही विषयमा हुन्थ्यो।
म प्रश्न गर्दथें : ‘किन हजुर मलाई समय दिनुहुन्न ?’ उहाँको जवाफ हुन्थ्यो : ‘म काममा कति व्यस्त हुन्छु तिमीलाई थाहै छ, हैन ?’
यस्तै, खटपटको समयमा फेरि वर्षातसँग भेट भएको थियो इन्स्टाग्राममा। त्यसपछि दैनिक रूपमा हाम्रो कुराकानी हुन थाल्यो। विगतका कुरा हुन्थे हामीबीच, अनि आज के गर्यौ? कसो गर्यौ ? यस्तै यस्तै कुराकानी।
वर्षातसँग रातको समयमा पनि कुरा हुन थाल्यो। हामी फेरि नवप्रेमी जोडी जस्तै कुरा गर्न थाल्यौं।
बिहान, दिउँसो, साँझ र सुत्ने बेलामा पनि हामी एकअर्काप्रति चासो राख्थ्यौं। कहिलेकाहीँ त पहिलेकै दुनियाँमा छु कि जस्तो पनि लाग्ने।
कुनैकुनै बेला सम्झिन्थें, के मैले यो गलत गरिरहेकी त छैन ? मैले यो जे गरे गलत गरिरहेकी थिएँ। आफ्नो घर बिगार्दै थिएँ भने अर्कोको घर पनि बिगार्दै थिँए।
वर्षातसँगको माया बसेर नजिकिँदै थिएँ वा सुमनसँगको माया र समयको अभावमा त्यसको पूर्ति गर्न यसो गर्दै थिएँ मलाई नै थाहा थिएन। तर, मैले जे गर्दै थिएँ एकदमै गलत गर्दै थिएँ त्यो भने आभास हुन्थ्यो मलाई।
कुनै पल म एकदमै सोझी। आफ्नो श्रीमानको खुसीका लागि जे पनि गर्न तयार हुने। हाम्रो सम्बन्धमा तेस्रो व्यक्ति त कल्पनानै गर्न सक्दिनँ थिएँ। तर, आज म उहीँ नसोचेको बाटो हिँडिरहेकी छु। तर, के यस्तो बाटो रोज्नु म एक्लैको गल्ती हो ?
यदि मेरो श्रीमानले मलाई पहिलाको जस्तै माया दिएको भए, समय दिएको भए मैले पनि तेस्रो व्यक्ति मेरो जीवनमा कहिल्यै प्रवेश गराउने थिइनँ होला।
बिहे पछिको जिन्दगी बिहे अगाडिको जस्तो त कहाँ हुँदो रहेछ र। यद्यपि, त्यसलाई व्यवस्थापन गर्न सकियो भने जे पनि हुन्छ, आखिर मनै त हो।
श्रीमान आउन दुई दिन बाँकी थियो। मनमा छटपटी भइरहेको थियो। के गरूँ कसो गरूँ । कसलाई सुनाऊँ यो मेरो कथा व्यथा।
जसलाई सुनाए पनि नराम्रो त समाजमा नारी नै हुन्छे। मैले वर्षातसँग नै कुरा गर्ने निर्णय गरें। त्यो रात मैले वर्षातसँग कुरा गरें।
उनले पनि सम्झाए मलाई। मैले पनि उनलाई सम्झाए। टिपेको फूलभन्दा नटिपेकै फूल कति राम्रो हुन्छ। तर टिपिसकेपछि पनि सुन्दर तरिकाले त्यो फूललाई सजाउँदा अझ सुन्दरता झल्किन्छ।
जानी नजानी मानिसबाट गल्ती हुन्छ तर समयमा नै गल्ती सुधार्यो भने दुर्घटनाबाट बच्न सकिन्छ। वर्षातसँग त्यसरी कहिल्यै नबोल्ने अठोट गरें। कुनै पल प्रेमी–प्रेमिका थियौं, अब एउटा राम्रो साथी रहने निर्णय गरें।
उनले पनि मलाई नकारात्मक दृष्टिले कहिल्यै लिएन। हाम्रो भेट त्यो बेला भएको थियो जति बेला याहु च्याट हुन्थ्यो, हट मेल हुन्थ्यो। फेसबुक त मलाई याद पनि छैन। अनि फोन हाम्रो एनटिसी टु एनटिसी हुन्थ्यो, या त ल्यान्डलाइन फोन हुन्थ्यो।
त्यसबेला हाम्रो माया सामान्य खालको थियो। स्वच्छ र निश्चिल थियो। अहिलेको जस्तो सामाजिक सञ्जालको प्रभावमा परेको माया भए, मेरो पनि उही युटुब च्यानलहरूमा देखाइने अवैध सम्बन्धको कारण हत्या, हिंसा जस्ता अकल्पनीय घटना घट्थ्यो होला।
मेरो श्रीमान आउने दिन, मोबाइलको कल डिटेल्स्, म्यासेजहरू सबै डिलिट गरें। वर्षातसँगको सम्झना त डिलिट गर्न सक्दिनथें। तर उनको पनि वैवाहिक जीवन सुन्दर रहोस् भनेर भगवानसँग प्रार्थना गर्दछु।
श्रीमान आउनुभयो। उही थकान लिएर तर यो पटक मैले उहाँको थकानलाई महशुस गरें। छोरा मान्छेको मन छोरी मान्छेको माया र आँसुले नै पग्लिन्छ। कफी बनाएर दिएँ अनि एकछिन आराम गरेपछि उहाँले नै म र छोरीलाई डिनरको लागि बाहिर लानु भयो होटलमा।
होटलका वेटर भाइहरूले युट्युबमा भिडिओ हेरिरहेका थिए।
‘आफ्नो श्रीमान हुँदाहुँदै परपुरूषसँग लागेकी महिलाको हत्या।’ लामो सास फेरें।
श्रीमानलाई पुलुक्क हेरेँ, उहाँ छोरोसँग गफ गर्दै चिसो बियर पिइरहनु भएको थियो।
अनि मैले पनि चिसो कोक पिउँदै छोरी र श्रीमानसँग रमाइलो कुराकानी गर्न थालें।