काठमाडौं कोर-सिटीको सबभन्दा धेरै भिडभाड हुने ठाउँहरूमध्ये एक हो, इन्द्रचोक। प्राय: मान्छे यहाँ किनमेल गर्न आउँछन्। तर इन्द्रचोकको जुन पसलबारे म कुरा गर्दैछु, त्यो किनमेल गर्ने ठाउँ होइन; खाने ठाउँ हो।
पसलको नाम हो — द नेपाली चटपटे।
तपाईंले इन्द्रचोकको चर्चित बारा पसल देख्नुभएको छ?
इन्द्रचोकबाट इतुम्बहालतिर जाने चोखाछेँ गल्लीको लगभग बीचतिर अर्को एउटा सानो गल्ली छुट्टिन्छ। त्यो सानो गल्ली एउटा सानो चोकमा खुल्छ। त्यही चोकमा तात्तातो बारा र तात्तातो य:मरि पाइने पसल छ। बाटो बिराउनुभयो भने त्यहाँ गएर जो कसैलाई सोध्नुस्, जसले पनि देखाइदिन्छ।
हो, त्यही बारा पसलको छेउमै छ, मैले यहाँ चर्चा गर्न लागेको चटपटे पसल।
खासमा यो पसल हिट हुनुको एउटा मुख्य कारण त्यही बारा पसल हो। बारा र य:मरि खान गल्लीभित्र छिरेका ग्राहकले नै आफ्नो पसल हिट बनाइदिएको नेपाली चटपटेका सञ्चालक अस्मिन श्रेष्ठ बताउँछन्।
'बारा खान आएका ग्राहक छेउमै चटपटे पसल देखेर यहाँ पनि आए,' उनले भने, 'एक जना, दुई जना गर्दै मकहाँ आउने ग्राहक बढ्दै गए।'
नेपाली चटपटे पसल खुलेको करिब डेढ वर्ष भएको छ। यो सामाजिक सञ्जालमा अत्यन्तै चर्चित छ। यसका सञ्चालक अस्मिन पहिले चितवनमा चटपटे व्यापार गर्थे। साइकलमा पानीपुरी र चटपटे बेच्दै हिँड्थे। व्यवसाय विस्तार गर्ने सपनाले दुई वर्षअघि उनलाई काठमाडौं ल्याइपुर्यायो।
'१२ कक्षा सक्नेबित्तिकै म केही काम गर्छु भनेर घरबाट निस्केको थिएँ,' २० वर्षीय अस्मिनले भने, 'आफ्नै व्यापार सुरू गर्छु भन्ने मेरो सोच थियो।'
त्यो समय अस्मिन चितवनको अस्पतालमा सुत्थे। खाना पनि त्यहीँ खान्थे। व्यापार गर्न उनलाई एक जना आफन्तले सहयोग गरे। ती आफन्तले एउटा पुरानो साइकल भाडामा खोजिदिए। अस्मिनले त्यही साइकलमा पानीपुरी र चटपटे बेच्न थाले।
अस्मिन आफै पनि चटपटे खुब खान्थे। स्कुल, कलेज पढ्दा उनको खाजा भन्नु त्यही थियो। त्यति बेलै उनी चटपटे बिक्रेतासँग लागत र आम्दानीबारे सोधिरहन्थे।
'मलाई चटपटे र पानीपुरी सबभन्दा बढी कहाँ बिक्छ र कति कमाइ हुन्छ भन्ने राम्रो जानकारी थियो,' उनले भने, 'यही आधारमा चितवनका स्कुल-कलेजमा घुमी घुमी चटपटे र पानीपुरी बेच्न थालेँ। बिहानदेखि बेलुकीसम्म खट्थेँ। कमाइ पनि राम्रै हुन्थ्यो।'
कमाइ राम्रो भए पनि अस्मिनको चित्त बुझेन।
उनलाई आफूले पढेरभन्दा व्यापार गरेर प्रगति गर्न सक्छु कि भन्ने लाग्यो। चितवनमा चटपटे बेचेर गुजारा चले पनि खासै प्रगति हुँदैन कि भन्ने उनले सोचे।
यही हुटहुटीले उनी काठमाडौं आए।

'काठमाडौंमा के गर्ने भनेर कुनै अलमल भएन। साइकलमा बेच्दै हिँड्ने चटपटे र पानीपुरी यहाँ पसल खोलेर बेच्छु भन्ने निधो गरिसकेको थिएँ,' उनले भने, 'मसँग चितवनमै कमाएको करिब एक लाख रूपैयाँ बचत थियो। साथीभाइसँग थप एक लाख ऋण लिएँ र चटपटे पसल सुरू गरेँ।'
उनले सबभन्दा पहिला सिद्धिचरण चोकमा पसल खोलेका थिए। त्यहाँ उनको पसल अन्डरग्राउन्ड थियो। सडकबाट नदेखिने हुँदा मान्छेहरू खासै आएनन्। व्यापार कम भयो।
उनी त्यसको विकल्प खोज्न थाले।
त्यही क्रममा इन्द्रचोकको यो गल्लीमा एउटा पसल खाली छ भन्ने थाहा पाए।
'यो ठाउँ मलाई एकदमै मन पर्यो। मुख्य कुरा त, यहाँ दिनैभरि चहलपहल भइरहन्छ। छेउको बारा पसलमा ग्राहकको भिड लागिरहन्छ। त्यही ग्राहकमध्ये एकचौथाइ पनि मकहाँ चटपटे खान आए पसल यसै चल्छ भन्ने लाग्यो,' अस्मिनले भने।
यही सोचेर उनले सिद्धिचरण चोकको पसल दुई महिनामै छाडे र इन्द्रचोकको अहिलेको ठाउँमा सरे।
नभन्दै उनले जे सोचेका थिए, त्यही भयो।
बारा खान गल्लीभित्र छिरेका मान्छेमध्ये कतिपय उनको चटपटे पसल पनि आउन थाले। तिनै ग्राहकका माध्यमबाट उनको पसलको प्रचारप्रसार हुँदै गयो।
त्यसैबीच एकदिन एक जना फुड भ्लगर आए। उनले चटपटे चाखेर राम्रो प्रतिक्रिया दिए। भिडिओ खिचेर युट्युबमा प्रसारण पनि गरे। त्यो भिडिओले ग्राहक झनै बढायो।
'टाढा टाढाका मान्छे खोजी खोजी आउन थाले,' अस्मिनले भने, 'मलाई यो ठाउँ निकै फापेजस्तो लाग्छ।'
नाम चटपटे भए पनि उनको पसलमा धेरै थोक पाइन्छन्। आलु चाट, लाफिङ, गुलियो पानीपुरी, दही पुरी, आलु निम्की बढी लोकप्रिय छन्।
अस्मिन कतिसम्म रचनात्मक छन् भने; उनले स्पेसल पानीपुरी, चटपटे र लाफिङ भनेर छुट्टै मेनु पनि बनाएका छन्। यसबाहेक 'माई नेम इज चटपटे' पनि पाइन्छ, जसमा उनी चटपटेमाथि ससले ग्राहकको नाम लेखिदिन्छन्।
खानेकुरा उही हो, तर यस्ता रचनात्मक कामले विशेष बनाइदिन्छ। आफ्नो नाम लेखिएको चटपटे खान पाउँदा ग्राहकहरूले विशेष महसुस गर्छन्।
ग्राहकको चाप बढ्दै गएपछि अचेल अस्मिनले दुई जना सहयोगी राखेका छन्। सहयोगीहरूलाई पनि चटपटे तयार पार्न सिपालु बनाइसकेका छन्। उनी सरसामग्री किन्न बजार गएका बेला ती दुई जनाले नै पसल धान्छन्।

चितवन र काठमाडौंमध्ये चटपटे र पानीपुरी कहाँ बढी चल्दो रहेछ त?
जबाफमा अस्मिनले भने, 'चल्ने त दुवै ठाउँमा उस्तै उस्तै हो। तर यहाँ जनसंख्या धेरै भएकाले भिडभाड यतै बढी हुन्छ।'
भिडभाड बढी भए पनि उनको पसल सानो छ। ग्राहकहरूले उभिएरै खानुपर्छ। बस्ने कुर्सीहरू नभएका होइनन्, तर सबै ग्राहक अटाउँदैनन्।
उनको पसल बिहान ११ देखि राति ९ बजेसम्म खुल्छ। सामान मिलाउन र अरू तयारी निम्ति उनीहरू १० बजे नै आउँछन्। प्राय: कलेज पढ्ने युवा र स्थानीयहरू बिहानै आउने गरेको उनी बताउँछन्।
बढी भिड चाहिँ दिउँसो २ बजेदेखि हुन्छ। यहाँ धेरै बिक्ने भनेको चटपटे, पानीपुरी र लाफिङ हो।
अस्मिनले चितवनमा साइकल चलाएर चटपटे बेच्दादेखि नै व्यापार विस्तारको सपना देखेका थिए। त्यही भएर उनी यो पसलमा मात्र चित्त बुझाएर बसेका छैनन्। हरेक रात ९ बजेपछि इन्द्रचोकको सडकमा लुगाफाटा र जुत्ताहरूको बजार लाग्छ। त्यो बजार छोप्न उनी सडकमै लाफिङ स्टल राख्छन्।
यसबाहेक एक-दुई साताभित्र जनबहालमा 'नेपाली चटपटे' को नयाँ शाखा खोल्ने उनको तयारी छ।
उनी आफ्नो पसलका भिडिओ र फोटाहरू सामाजिक सञ्जालमा पनि राख्छन्। कुनै कुनै भिडिओ त दस लाखपटक हेरिएको छ।
'मलाई व्यापारमा रूचि छ। मिहिनेत गर्न पछि पर्दिनँ,' अस्मिनले भने, 'सकेँ भने भविष्यमा नयाँ नयाँ काम सिक्न र नयाँ नयाँ व्यापारमा हात हाल्न मन छ।'
***
