कहिले जूनले तर्साउँछ
कहिले घामले तर्साउँछ
बादलले बेकसुर झरी बर्साउँछ
निथ्रुक्क भिज्ने गर्छन् गरिबहरू
हिजोआज आफ्नै छायाले आफैँलाई तर्साउँछ
झसङ्ङ हुन्छु म!
कति भन्नु चट्याङलाई
गरिबको घरमा धक्का नहान्नु भनेर
ताकेर गरिबलाई नै हान्छ चट्याङ
गाई भैँसी र रुख सुकाइदिन्छ क्षणभरमा
प्रकृतिले तुजुक देखाइदिन्छ क्षणभरमा
धन्न दुखियालाई चैँ बचाइदिन्छ
झसङ्ङ हुन्छु म।
उता खोला त्यस्तै गर्छ
उर्लिन्छ बेमौसममा
किन रिसाउँछ कसैले थाहा हुँदैन
थाहा भए पनि मान्छे नजाने जस्तो हुन्छ
बर्खामा ढुङ्गा पल्टाइदिन्छ
किनारको घर सबै लडाइदिन्छ
एक अर्कालाई दोषारोप गर्छन् जीव श्रेष्ठ
भर्खर बिहे भएको गोठालालाई
बगाएर लास बनाइदिन्छ
बनाइदिन्छ निर्धन र विधवा
नवविवाहित कसैको दुहितालाई
झसङ्ङ हुन्छु म।
जसले जति छिटो दगुरे पनि कान्छा
भोको भुँडीभन्दा छिटो कोही दगुर्न सक्दैनन्
समस्याले सताएको मान्छे भाग्न खोज्छ
कतै मौरीले चिल्छ, कतै खागोले चिल्छ
बारुलाले त चिन्ने मौकै भेट्दैन
केही नभेटे पनि जीवनमा अनुभव त मिल्छ
जसले जति छिटो दगुरे पनि कान्छा
झसङ्ङ हुन्छु म।
विगतलाई सम्पूर्ण भुलेर
कोजाग्रत पूर्णिमामा
गोठाला र महाजनहरू
रमाएर तास खेलिरहेका छन् गोठमा
‘यही त हो जीवनको परिभाषा
विगत, वर्तमान र भविष्य
नाथे दुई दिने चोला
ध्वंस गरे मान्छेले प्रकृतिलाई’
भन्दै गोठका गुरुबा मन्दिरतर्फ लाग्नु हुन्छ
बेलुकीको आरती गर्न
झसङ्ङ हुन्छु म।