अघिल्लो बुधबारदेखि देशका अधिकांश सहरहरूको वायुको अवस्था घातक तहमा पुगेको थियो।
गत बिहीबार काठमाडौंको रत्नपार्कको वायु शुद्धता सूचकांक एक्युआई ३०० नाघेको थियो। जुन अत्यन्तै हानिकारक हो।
काठमाडौं उपत्यकासहित देशका सहरहरूको वायु अस्वस्थकर बन्नुको मुख्य कारण डढेलो थियो। तराई तथा चुरे क्षेत्रको डढेलोका कणहरू काठमाडौं उपत्यका भित्रँदा यहाँको वायु अत्यन्तै बिखालु बनेको वातावरण विभागका उपमहानिर्देशक शैलेसकुमार झाले जानकारी दिए।
मंगलबार साँझदेखि नै कोशीदेखि लुम्बिनीसम्म अधिकांश भूभागमा वर्षात भएकाले डढेलो निभेको उनले बताए। जसका कारण वायु प्रदूषण घटेको छ।
‘काठमाडौंमा अहिले वायु प्रदूषणको मात्रा निकै घटेको छ। हानिकारक तहमा पुगिसकेको वायुको अवस्थामा केही सुधार देखिन्छ। पानी पर्ने क्रम नरोकिएकाले अवस्थामा अझै सुधार आउने देखिन्छ। वायु प्रदूषणको मुख्य स्रोत डढेलो बनेको थियो त्यो निभेपछि अवस्थामा सुधार आउने नै भयो। वर्षातले वायुमण्डल ढाकेको धुलोका कणहरू पनि पखालिएको छ,’ उनले भने।
वातावरण विभागका अनुसार रत्नपार्कको पछिल्लो एक घन्टाको एक्युआई १५३ छ। शंखपार्कको १५१, खुमलटारको १२८, भैसेपाटीको ११९, भक्तपुरको ११२, भरतपुरको ८६, दाङ देउखुरीको ५७, धनगढीको ४४, राराको १८, नेपालगञ्जको १६ र हेटौंडाको ४ छ।
वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१– १०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गर्दछ।
हिउँद याम सुख्खा भएकाले डढेलोले आक्रामक रूप लिन थालिसकेको थियो। अघिल्लो मंगलबारदेखि गत मंगलबारसम्म एक साताको अवधिमा मात्रै ९०० भन्दा बढी डढेलो रेकर्ड भएका थिए।
विश्वभरको आगलागीको अभिलेख राख्ने अमेरिकी अन्तरिक्ष संस्था नासाको एफआइआरएमएसमा डढेलोको भयावह अवस्था देखिएको थियो।
नासाका भू–उपग्रहले ताप र धुवाँका आधारमा डढेलो लागेको ठाउँमा रातो संकेत लगाउँछ।
गत हप्ताको तुलनामा त्यस्तो संकेत ह्वात्तै घटेको छ।
वन तथा भूसंरक्ष विभागको अभिलेखमा पनि पछिल्लो २४ घन्टामा डढेलो ह्वात्तै घटेको छ।
अहिले बर्दियाका २, चितवनका ५, कैलाली र सुर्खेतका १–१ स्थानमा डढेलो लागेको देख्न सकिन्छ। जबकि मंगलबारसम्म ४५ जिल्लामा ९०० बढी स्थानमा डढेलो फैलिएको थियो।
पछिल्लो एक घन्टामा बागमतीका अधिकांश र गण्डकी प्रदेशका तराईका भूभागमा वर्षा भइरहेको छ।
पछिल्लो २४ घन्टामा सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा बाहेक अन्यत्र सबैतिर पानी परेको थियो।
इलामको बरफल्याङमा ११०.२ मिलिमिटर वर्षा मापन भएको छ।
सर्लाहीको परवानीपुरमा ८९.४, वीरगञ्जमा ७३, सप्तरीको रुपनी बजारमा ६६.६, सुनसरीको धरानमा ४८.४ मिलिमिटर वर्षा भएको छ।
उदयपुरको कटारीमा ७१.८, धनुषाको तुल्सीमा ५१.६, प्यूठानको हंशपुरमा ४१, अर्घाखाँचीको सन्धीखर्कमा ४१.४ मिलिमिटर पानी परेको छ।

जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा देशका २१२ वटा वर्षा केन्द्रमा पानी परेको रेकर्ड भएको छ।
मौसमविद् शान्ति कँडेलले शुक्रबारसम्म पानी पर्ने सम्भावना व्यक्त गरिन्। काठमाडौं उपत्यकामा बिहीबार दिनभरि नै हल्का वर्षाको सम्भावना छ। शुक्रबार कोशी, मधेस, बागमती, लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ।
लामो समयपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा हुँदा प्रदूषण र डढेलोबाट राहत मिलेको कँडेलले बताइन्।
‘काठमाडौं उपत्यकामा बादल लागेकाले धुम्म देखिएको हो। तर प्रदूषण धेरै घटिसकेको अवस्था छ। डढेलो लागेका ठाउँमा पानी परेकाले त्यसबाट पनि राहत मिलेको छ,’ उनले भनिन्।
जल तथा मौसम विज्ञान विभागले शनिबार रातिबाट मात्रै मौसममा सुधार हुने सम्भावना देखाएको छ।
मौसमविद् विनोद पोखरेलले पनि बिहीबार शुक्रबार उल्लेख्य वर्षाको सम्भावना व्यक्त गरेका छन्। बिहीबार शुक्रबारको वर्षाले डढेलो र प्रदूषणबाट पूर्णरूपमा राहत मिल्ने विज्ञहरूले बताएका छन्।