‘आफूले चिनेका साथी’ देखि
‘उनीहरूले चिनेकाहरू’ सम्मै
साँझ भएपछि धर्मशाला झैँ जम्मा हुने
कोही ‘दिनभरिको पुरुषार्थको’ बयानमा गम्किने
कोही सेलिब्रेटीका पक्ष र विपक्षमा बम्किने
कोही ठुलो स्वरले अन्ताक्षरी गाउने
कोही आफ्नो ‘असफल पिरेमका’ गफको मुख बाउने
कोही साथी मातेर आउने
बरु मात्तिने चिज लिएर आउने
तिहुन-भुटुनको विषय आउना साथ
‘आज पर्स उतै छुटेछ’ भन्दै गुड्डी लाउने
‘दहलमारा’ को बिस्कुन
चुरोट, दारु र गफिने अखडा
काठमाडौँको मेरो त्यो कोठा।
‘तेरो पालो’ भन्दै नधोइएका तन्नाहरू
अनि च्याउ अङ्कुरित हुनै लागेका जुठा भाडा
हर्पेभरि घिउ र बास्ना आउने बोराभरि चामल
एक सातामै स्वाहा
पूरै डेढ महिना बितिसक्दा पनि
‘अस्ति मात्र’ पठाएको
त्यत्रो पैसा कहाँ हालिस्’
भन्न बज्ने घरको टेलिफोन।
‘हेर केटा हो, गाँस छोड्नु तर साथ नछोड्नु’
‘तोरी रामे’को आदर्शवादी भाषण र अर्ति
कोलाहल अनि गुन्जँदो हो–हल्ला
खाना बनाउन ‘तै रानी मै रानी’
भोकले डल्लिएपछि
मध्यरातमा कुकरको स्याइया सिट्ठी
अचाक्ली नै भएर छिमेकीले पोल लगाइदिएपछि
घरबेटी बाको झिटी गुन्टा पोको पार्ने
‘एक हप्ते अल्टिमेटम’ पाउँछ गोकर्णे।
कोठा खोज्न एकाबिहानै
गल्ली गल्ली, भित्री सडक, यत्रतत्र चहार्दै
पर्दा नलागेको झ्याल देख्नासाथ
‘मा’ र ‘बा’ साइनो लाउँदै
‘कोठा खाली छ रे सुनेर आएको’
सुन्दै नसुनेको कुरा पनि–पर्दा हेरेकै भरमा
ठ्याक्कै हो जस्तो पारी
कोठा खोज्दै, सोध्दै चोक-चोक, गल्ली-गल्ली
पर्दा नदेख्दा कहिलेकाहीँ त
स्कुलमै पनि सोध्न पुग्छ
जागिर पाउनभन्दा नि कोठा पाउन गाह्रो
थकित भई हत्तु खाई खुइय गर्छ गोकर्णे।
सोधेको नब्बे प्रतिशतमा ‘अहँ’ उत्तर
कतिपय घरवाला–’ह्या छैन’ भनी झर्किने
कोही बटारिएर अर्कोपट्टि फर्किने
मुस्किलले पाइहालेमा धेरै धेरै सर्तहरू
उत्तर दिनुपर्ने कयौँ धेरै प्रश्नहरू
बिहे भएको छ कि छैन- पहिलो प्रश्न
कति जना बस्ने- दोस्रो
पाहुना आउँछन् कि आउँदैनन्- तेस्रो
तीन महिनाको अग्रिम भाडा- चौथो
होहल्ला र जथाभाबी फोहोर गर्न नपाइने- पाँचौँ।
पढ्ने, पढेर जागिर खाने अनि मात्र बिहे गर्ने योजना
द्वितीयदेखि मुन्तिरका यावत सर्तहरू
आफ्नो बस् र काबुमा भएता पनि
पहिलो प्रश्नको उत्तर र कोठाको केमेस्ट्री नमिलेसी
‘ह्या छैन गरेको बिहे–सिहे’ मुरमुरिँदै फर्कन्छ गोकर्णे।
अर्को दिन सोही तालिकामा
‘साहुजी तपाईँको घरमा कोठा खाली छ रे हो?’
‘छ कति जना बस्ने?’
फूलमानचाको ठाडो प्रश्न
‘एक्लै हो साहुजी, एक्लै’
ठुलो आशा राखी भन्छ गोकर्णे।
‘कोठाको विशेषता र सर्तहरू के-के छन् त साहुजी’?
मेरो घरमा दुई कोठाको फ्ल्याट छ
तर एटेच बाथरुम छैन
स्नान गर्न बाहिर ‘कमन’तिर जानुपर्छ
ट्वाइलेटमा पानी छैन, भित्रबाट लानुपर्छ
तीन महिनाको भाडा अग्रिम रूपमा दिनुपर्छ
घामको मुख हेर्नलाई पल्लो घरमा जानुपर्छ
फ्ल्याटभित्र सधैँ नै दिउँसै बत्ती बाल्नुपर्छ
जुत्ता चप्पल मिलाएर सफा–सुग्घर राख्नुपर्छ
आफन्त र नातागोता मेरो घरमा त्याग्नुपर्छ
झ्यालको धुलो एकाबिहानै पानी लगाई पुछ्नु पर्छ
सात बजे अघि नै गेटभित्र छिर्नु पर्छ
पानीको लागि मध्यरातमा उठ्नुपर्छ
लाम लागेर भर्नुपर्छ
यद्यपि सधैँ त नपाइन नि सक्छ
दिक्क हुँदै ‘पछि आउला’ भन्दै घर फर्कन्छ गोकर्णे।
जति खोजे पनि, जति भौँतारिए पनि
कहिले आफूलाई चित्त नबुझ्ने
कहिले उसलाई आफू चित्त नबुझ्ने
अल्टिमेटमको दोहोरो समय सीमा सकिँदा
बल्लतल्ल पाइएर खुसी भई सरेको कोठामा
एक साता नबित्दै
नव घरबेटीको मुखारविन्दबाट
‘कोठा खाली गर्ने’ नयाँ अल्टिमेटम पाउँछ गोकर्णे
किनकि उसका सबै साथीहरू उनै नै त थिए
जिग्री दोस्त तिनै मोराहरू नै त थिए।