‘मेरो जीवन निकै छोटो छ। मलाई थाहा छैन म कति दिन बाँच्छु र! जति दिन बाँच्छु, म तपाईंकै अँगालोमा बाँच्न चाहन्छु,’ यति बोल्दै निशाले मलाई बेसरी अँगालो मारिन्। मेरो छातीमा आफ्नो टाउको लुकाएर सुँक्कसुँक्क रोइन्।
मैले आफ्नो छाती बेस्कन भिजेको महसुस गरेँ। हुन त आकाश पनि रोइरहेको थियो त्यति बेला, साउनको धर्म निभाएर। त्यो झरीले भन्दा मलाई उनको झरीले बढ्ता रुझाइरहेको थियो।
मेरा भिजेका औँलाहरू चुम्दै बोलेकी थिइन्, ‘मेरो शेषपछि तिमीले मजस्तै माया गर्ने मान्छेसँग जीवन बिताउनु है। मेरो एक-एक सपना, उसको सपना पूरा गरेर पूर्ति गर्नु। उसलाई हँसाएर मलाई हँसाउनु। उसलाई धेरै प्यार लुटाउनु। विवाहको हनिमुन मनाउँदा पोखरा लैजानु। उसलाई पहेँलो रङको सारी उपहार दिनु। मलाई सारै मन पर्छ– पहेँलो। सायद मरेपछि आत्माको अस्तित्व रहन्छ र धर्मले परिकल्पना गरेजस्तो त्यो आत्मा शक्तिशाली हुन्छ भने म तिम्रो श्रीमतीको हातमाथि आफ्नो हात पसारेर बसेकी हुनेछु र तिमीले दिएको पहेँलो सारी थापिलिनेछु। मेरो शेषपछि तिमी एक्लै बाँचौला भनी मलाई पिर छ।’
उनका प्रितालु सजल आँखामा आँखा जुधाउँदै बोलेको थिएँ, ‘निशा, म तिमी बिनाको जीवन त कल्पना पनि गर्न सक्दिनँ। सायद जीवन एक्लिएरै काट्छु होला।’
एक्कासि ‘चिया चिया सेलाइसक्यो...’ तिखो आवाज आयो।
कर्कश बोलीले म झस्किएँ। धेरै पुरानो सम्झनामा पो हराएको रहेछु। श्रीमतीले टेबुलमा सुटुक्क छोडेर गएको चिया पनि सेलाइसकेको थियो। चियाको पारखी हुँदाहुँदै पनि सेलाएको चिया पिउने मेरो आदत थिएन। एउटा चिसो सम्झनामा हराउँदा हराउँदै प्रिय चिया पनि गिलासमै सेलाएर बलिदान भइसकेको रहेछ।
समयको शृङ्खलाबद्ध ठट्टामा म चोइटिएको छु, खुइलिएको छु। जीवनमा प्रिय चिज केही पनि प्राप्त भएन। अप्रिय चिज बिना याचना पनि पाइरहेँ। समयसँगको निरन्तर प्रतिद्वन्द्वले अब यस्तो लाग्न थालिसक्यो, म हार्दा यो समयले केक काट्छ। म रुँदा समयले दीपावली मनाउँछ। समय जति क्रूर दुस्मन, अन्य दुस्मन छैन मेरो।
निशा, मेरो पूर्व प्रेमिका। कक्षा ६ देखि नै हाम्रो माया पल्लवित भएको थियो। पहिलो नजरमै अंकुरित प्रेम। उनीसित बाँकी सम्पूर्ण जीवन बिताउने सपना देखेको थिएँ। भाग्यको खेल भनूँ, ब्लड क्यान्सरले उनलाई मेरो जीवनबाट धेरै टाढा लग्यो। त्यो वियोगले मेरो मुटु विक्षिप्त बन्दा सोचेको थिएँ, उनीबिनाको जीवन सशरीर बौलाएरै अस्त होला। तर म बौलाइनँ। सायद मेरो बहुलट्टी समयलाई मन्जुरी थिएन।
उनी बिनाको जीवन एउटा बकस पत्र जस्तो भयो, जसमा समयको कारनामा थियो, सम्झौता गरी बाँच्नुपर्ने। अहिले टेबुलमा सेलाएको चिया पनि तिनै सम्झौताको एक हरफ हो।
टेबुलको चियालाई गुडबाई गरेर म अर्को कोठामा प्रवेश गरेँ। जहाँ एउटा सानो लाइब्रेरी थियो। किताबको चाङबाट एउटा पुरानो डायरी निकालेँ। आँखा किन-किन भरिएर आयो। आँखाले यति बोझ उचाल्यो कि आँखा नै पुछेपछि मात्र चस्माभित्रको दृश्य उज्यालिए।
त्यो डायरी पनि निशाले नै दिएको उपहार थियो। निशाको जब धेरै याद आउँथ्यो, म होस वा बेहोसमा त्यही डायरी च्यापिरहेको हुन्थेँ। आर्यघाटले दाबी नगरेको निशाको एक मात्र निस्सा, मेरो उदास हरपलको सहचर, मेरो प्रणय डायरी!
डायरीको बिचबाट एउटा कागजको टुक्रा फुत्त झर्यो। उठाएर हेरेँ। निशाले आफ्नो मृत्युको सात दिनअघि लेखिएको एउटा पत्र थियो, केरमेट अक्षरमा लेखिएको उहीँ ब्यहोरा जो उनले मलाई बारम्बार भन्ने गर्थिन्– तिमीलाई जब धेरै दुख लाग्छ, धर्तीतिर आँखा झुकाउनु। जब सुख हुन्छ, आकाशतिर नजर उठाउनु, म तिमीसँग नजर जुधाइरहेकी हुनेछु। मेरो शेषपछि तिमीले मजस्तै माया गर्ने मान्छेसँग जीवन बिताउनु है। उसलाई धेरै प्यार लुटाउनु। विवाहको हनिमुन मनाउँदा पोखरा लैजानु। उसलाई पहेँला कलरको सारी उपहार दिनु... यस्तै, यस्तै।
निशाको मृत्यु भएको दिन म जीवनमा कहिले बिर्सन सक्दिनँ। सिमसिम पानी परिरहेको थियो। आर्यघाटमा उनको लास सुताइएको थियो। उनको अल्पायु जीवनलाई हेरेर काललाई सत्तोसराप नगर्ने कोही थिएन त्यहाँ। पटपट जलिरहेको उनको लास सम्झेर म अहिले पनि विक्षिप्त हुन्छु। त्यो फागुन पाँच, मेरो जीवनकै सबैभन्दा कालो दिन।
मैले निशाको मृत्युपछि विवाह नगर्ने निधो गरेँ। तर परिस्थितिले मलाई एक्लै रहन दिएन। घर-परिवारबाट विवाहको ठुलै दबाब आयो। विशेषतः आमा धेरै दुखी हुनुभयो। आमाको खुसीको लागि भए पनि विवाह गर्न म बाध्य भएँ। विवाहको मिति ज्योतिषबाट तोकियो। मिति सुन्दा म अक्क न बक्क भएँ। विवाहको मिति पनि फागुन पाँच अर्थात् निशाको स्मृति दिवसमै परेको थियो। मिति टार्ने भरमग्दुर कोसिस गरेँ। अरू लगनको खडेरी परेको त्यो वर्षमा टार्नै सकिनँ।
विवाहपछि हनिमुन जाने कुरा आयो। निशाको अन्तिम इच्छा पूरा गर्न मैले प्रस्ताव राखेँ पोखराको। श्रीमतीले यसो भन्दै टारिन्, ‘मलाई पोखरा पटक्कै मन पर्दैन। बरु दामनतिर जाऔँ। हिउँ पर्ने बेला पनि हो। हिउँमा रमाउन पनि पाइन्छ।’
दुवैको प्रस्तावको लामै द्वन्द्व भयो, म हारेँ। परिवारको पनि मेरो नवजीवनको उषा कालमा नवदुलहीप्रति बाक्लै सहानुभूति भएकोले दामन नै जान बाध्य भएँ। हनिमुनको स्वप्निल हिउँमा शीतल हुनुको सट्टा आगोमा पोलिएर न्यास्रिएर फर्केँ। हनिमुन केवल श्रीमतीको दुई थान हाँसोमा सीमित भयो।
विवाह भएको पहिलो वर्षान्तमा श्रीमती एमए पास भएकी थिइन्। कुनै ठुलो सपिङ मलमा सपिङ गराउने इच्छा जाहेर गरेँ। श्रीमती खुसी नै भई। मलमा लगेर पहेँलो निकै महँगो खाले सारीको अर्डर गर्दा उनले यसो भन्दै रोकिन्, ‘मलाई पहेँलो रंग फिटिक्कै मन पर्दैन। हरियो कलरको जुन बुट्टे सारी किने पनि हुन्छ।’
उनले जिद गर्न थालिन्। मैले पहेँलो रंगको सारीमा इच्छा देखाउनुको कारण उसलाई सम्झाउनै सकिनँ। रंगको छनौटमा पनि उसले नै जिती, म हारेँ। निशाको अन्तिम सपना त्यहाँ पनि हार्यो।
यसरी नै दिन बित्दै गयो। विवाहको तेस्रो वर्ष। फागुन पाँचको म्यारिज एनिभर्सरी मनाउन उसले एउटा सर्प्राइज केक ल्याएकी रहिछ। मैले केकमा खासै दिलचस्पी नदिँदा उसले चित्त दुखाउँदै बोलेकी थिई, ‘विवाह भएको तीन वर्ष भइसक्यो। आजसम्म तपाईंले त मेरो कुनै पनि खुसीमा साथ नै दिनु भएको छैन। थाहा छैन, तपाईंको मनमा के कुरा खेलिरहेको छ? एउटी पत्नी चाहिएको छ तपाईंलाई, यो समाजमा देखाउनको लागि। वंश चलाउनका लागि, सन्तान जन्माउने एउटा मेसिन चाहिएको छ।’
आँखाभरि आँसु टिलपिलाएर फेरि बोली, ‘आज फागुन पाँच भनेर पनि तपाईंले बिर्सनु भयो होला। आजकै दिन हो हामी एकाकार भएको। यही एकाकार दिवसलाई खुसीले रङाउन केक ल्याएको छु। म चाहन्छु यो केक तपाईंको हातबाट काटियोस्।’
उसले टेबुलमा केकको छेवैमा रहेको चक्कुतिर आँखा झुकाई।
फेरि मतिर हेर्दै बोली, ‘तपाईंका आँखामा म्यारिज एनिभर्सरीको दिन पनि पीडाको आँसु!’
मैले आफ्नो आँसु न त लुकाउनै सकेँ न त्यसको रहस्य चक्कुले केक चिरे जस्तो चिर्नै सकेँ। आज निशाको स्मृति दिवस हो र म उनैको स्मृतिमा हराउँदै छु भनेर भन्न सकिनँ। कस्तो संयोग जिन्दगीको, कस्तो मजाक समयको मप्रति; एकातिर श्रीमतीको म्यारिज एनिभर्सरीको खुसीको केक लडिरहेको छ, अर्कोतिर स्मृतिमा आफ्नी पूर्व प्रेमिकाको लास जलिरहेको छ। म किंकर्तव्यविमूढ भएर केकतिर यसो हेरेँ।
एकछिनपछि श्रीमतीले एनिभर्सरी अंकित केकमा चक्कुले घाउ बनाएर त्यसको सानो टुक्रा मेरो ओठमा जबरजस्ती घुसारिन्। जबरजस्ती घुसारिएको गुलियो केकको टुक्रा पनि सारै तितो लाग्यो। केकले मेरो मुखभित्र छिरेर आफ्नो धर्म भुल्यो। त्यति बेला मात्र मेरो स्मृतिमा आइरहेको थियो निशालाई बोलेको एक-एक वाक्यहरू- तिमीबिनाको जीवन त कल्पना पनि गर्न सक्दिनँ। म कसैसित पनि विवाह गर्दिन।
तर केकका मोटा मोटा अक्षरहरू, वैवाहिक वर्षगाँठले मलाई व्यङ्ग नै गरिरहेको थियो। सम्हाल्न सकिनँ र त्यहाँबाट उठेर अर्को कोठामा गएँ। मेरो यस्तो हरकतले श्रीमती चिसिएका आँखा लिएर टोलाएर बसिरहिन्।
राति मैले उनी कोठामा प्रवेश गरेको चाल नपाए जस्तो गरी आँखा चिम्लेर बसिरहेँ। आफ्ना लुगा फुकाली टेबुलमा अव्यवस्थित नै छोडेर नाइटवेयर लगाएपछि म नसुतेको नै चाल पाएर होला, लामो सुस्केरा फेर्दै गुनासो गरिन्, ‘यस्तो लाग्छ, तपाईंको बाहिर अरू नै कोही स्त्री छ। बाहिर स्त्री नहुने कोही पनि पुरुषले एउटी स्त्रीको भरिलो जवानीलाई पाएर पनि आँखा चिम्लेर बस्न सक्दैन। पुष्ट स्त्रीको शरीर देखेर हजार वर्ष कठोर तपस्या गर्ने विश्वामित्रका आँखा त उघ्रिएका थिए। तपाईंका आँखा त एउटा सामान्य पुरुषको सामान्य आँखा मात्र हो।’
एक क्षण चुप लागेर फेरि बोली, ‘एनिभर्सरीको केक लत्त्याएर हिँड्ने यो संसारमा तपाईं मात्र होला। बाहिर कोही छ भने ल्याउनुस्, हजुरको खुसीको लागि मलाई सौता मन्जुर छ।’
सहन सकिनँ। मैले रिसाएर भनेँ, ‘हो, कोही सौता छ तिम्रो।’
‘कहाँ?’
‘मेरो मुटुमा,’ कठोर बनेँ।
‘ऊ अहिले कहाँ छे? भन त उसको बारेमा। कहाँ छे ऊ? म आफै लिएर आउँछु उसलाई यो घरमा,’ उसले ढिपी गरी।
‘जाऊ, लिएर आऊ सौतालाई, पल्लो कोठाको लाइब्रेरीको डायरीमा छ,’ पहिलो पटक रहस्य चिर्दै, रिसले बोल्दै मैले सिरकले आफूलाई गर्लम्म छोपेँ।
यति भनेको केही दिनपछि मेरो जीवनको अति प्रिय एउटा डायरी हरायो। केही दिनपछि डायरी उहीँ ठाउँमा भेटाएँ।
केही दिन सामान्य रूपमा बित्यो। श्रीमती गर्भवती भइन्। पेटमा छोरी छ भनेर जानकारी पाएँ। निकै खुसी थिएँ त्यो दिन। उनले त्यस दिन जिस्किँदै सोधेकी थिई, ‘डाक्टरले भिडिओ एक्स-रे हेरेर छोरी भन्नु भएको छ। छोरी नै जन्मियो भने हजुरले नाम के राख्नुहुन्छ?’
मेरो हरेक प्रस्ताव हारेकोले उसको प्रश्नलाई नसुने जस्तो गरेर लत्त्याएर बसेँ। उसैले फेरि प्रतिप्रश्न गरी, ‘म राखूँ?’
‘ओके।’
‘निशा।’
म छक्क परेँ।
‘के भन्यौ?’ मैले सोधेँ।
‘निशा।’
‘कसरी थाहा पायौ?’
‘जसरी तपाईंले आफ्नो डायरी हराएको थाहा पाउनु भयो।’
म मौन भएँ।
त्यसको केही दिनपछि हामी डाक्टरकहाँ गयौँ। महिना पुगिसकेको थियो। ‘डाक्टरको सामान्य चेकअपपछि श्रीमतीले सोधी, ‘डाक्टर साहेब, बच्चा जन्मिने डेट कहिले होला।’
‘फागुन यस्तै ५, ६ गतेतिर चान्सेस धेरै छ। बच्चा उल्टो बसेकोले सि-सेक्सन गर्नुपर्छ।’
श्रीमती मुसुक्क हाँसिन् र डाक्टरलाई भनिन्, ‘उसो भए फागुन ५ गते नै अप्रेसन गर्नुस्।’
यति भनेर लजाउँदै मेरो शरीरमा अडेस लिई।
मैले पहिलो पटक श्रीमतीलाई जिस्किँदै बोलेँ, ‘उसो भए छोरीलाई पनि फागुन पाँचमै यो धर्तीमा झार्ने भयौ होइन र?’
श्रीमतीले आफ्नो पेटमा नजर घोप्टाएर बोली, ‘निशा, तिमीलाई यो धर्तीमा ५ गते नै वेलकम, ६ मा होइन।’
म उसको लाम्चो, चुच्चो परेको पेटमा स्नेहालु हात सलबलाउँदै हाँसेँ। यति मिठो हाँसो सायद हाम्रो दाम्पत्य जीवनको पहिलो हाँसो थियो।
पेटमा कोही जुरुक्क उफ्रियो। मैले जिस्किँदै सोधेँ, ‘को उफ्रेको यो?’
श्रीमतीले कानै छेउमा हावाले बोली, ‘निशा।’
फेरि अलिक ठुलो स्वरमा भनी, ‘सुन्नु भएन, निशा। अझ नसुनेको भए भनूँ, निशा, निशा, निशा...।’
चारैतिर निशासिवाय केही सुनिएन। मैले खुसीले आकाशतिर पुलुक्क हेरेँ। यस्तो लाग्यो, निशा हाँसेर माथि निलो आकाशबाट मसित आँखा जुधाइरहेकी छिन्। श्रीमतीको खितखितमा पनि निशा नै गुन्जिरहेको आभास भयो। पल क्षणको लागि निशा मञ्चित भयो, निशासिवाय केही सुनिनँ। पहेँलो सारीमा सुसज्जित श्रीमतीलाई उसको पेटमा हात राखेर ममताले हेरिरहेँ।