आज एक्लिएको शान्त मनलाई सोधेँ- ए मन, के त साँच्चै खुसी छस् र?
भित्रैदेखि ढुकढुक आवाज दिँदै मनले भन्यो, ‘म त जहिले पनि खुसी नै त हुनु छ। त्यही भएर त म शान्त छु।’
‘अनि अनि,’ मैले अलि जोड दिँदै भनेँ।
जोडको बलमा आवाज दिँदै भन्यो, ‘हेर त बालापनमा जे गर्न पाए पनि खुसी हुन्थेँ, कतै गए सँगै लैजाँदा पनि खुसी हुन्थेँ, कसैले एक रुपैयाँ दिएर चकलेट किनेर खाएस् भन्दा झन् कति खुसी हुन्थेँ। अब अहिले नै हेर्न तँलाई, कति चाडपर्व आए गए तर छटपटी त्यही। छटपटिएको बेला मैले तँलाई सम्झाएँ- के तँलाई भोलिको देख्नु छैन र? योभन्दा त भोलि झन् कति रमाइलो दिन आउँछ।
सोच् त अहिले तैँले साना-साना खुसी छोडिनस् भने भोलिको एक्कासि ठुलो खुसी कहाँबाट पाउलास्! त्यही पाउनकै लागि भए पनि आजका ती खुसी, ती रमाइला सबैलाई छोड्न लगाएर एक्लो अँध्यारो कोठामा ल्याएर तँलाई सपना देखाएको छु। अब नपत्याए यी अँध्यारोमा बत्तीको सहारामा खिस्स परेका चारै भित्तालाई सोध्न।’
अनि मैले भित्तातिर नजर घुमाउँदै हेरेँ अनि यो अँध्यारोको कालो रङलाई नियाल्दै भनेँ, ‘के तिमीहरूले पनि मेरो छटपटी देखेका छौ र?’
बन्द कोठाका सिमेन्टले बनेका ती भित्ताहरूले करेन्टको सहायताले सेतो बलेको उज्यालो बत्तीसँग कालो रङको मलिनतालाई पछ्याउँदै एकै स्वरमा जवाफ दिए, ‘हो नि! हामीले त तिमीले भनेको यो पनि सुनेका छौँ कि के चाडपर्व, खुसी, रमाइलोको रमझम मेरो लागि बनेको होइन र? फेरि आफैले आफैलाई जवाफ दिएको पनि सुनेका छौ; ए म त विद्यार्थी पो हुँ त। मेरो त धेरै सपना छन्। ती सपना पूरा नहुँदै त्यो रमाइलो, खुसीको रमझममा कतै अलमलिए भने यी बिचरा सपना टुहुरा हुँदैनन् र?
सपनाको बगैँचालाई फुलाउनकै लागि भए पनि यी क्षणिक खुसीलाई त छोड्नै पर्यो नि। हेर त सँगै खेलेको साथी सपना पूरा गर्नकै खातिर मुगलान पसेको छ। अनि तैँले गाउँ मात्रै त छोडेर यो सहरको एकान्त कुनामा बसेको छस्। त्यसै माथि कति नै समय पो भयो र तैँले गाउँ छोडेको?
ऊ माइला काइँलालाई हेर्न, वर्षौँदेखि आफ्ना खुसीलाई तोडेर लोक सेवा दिँदै सपनाको लहरामा चच हुइ खेल्दै संघर्षको छहरामा पौडी मार्दै छन्। अनि त आफै भन त, ती लोकको सेवाका लागि वर्षौँदेखि बुनेका सपना त्यो ४५ मिनेटको गोलो डल्लासँगै कालो भएन र? ती गोलो डल्लाको पहिरनलाई पछ्याउँदै २ घण्टा जतिको समयमा आफ्ना वर्षौँदेखि देखेका सपनालाई एक-एक शब्द-शब्दमा बुन्दै उनेर बनाएको मालालाई यो माला त ओइलाइसकेछ यसलाई पहिरन सकिँदैन तपाईं अर्को माला उनेर ल्याउनु होला भन्दा त्यो मनको खाडलमा ढुंगा बजारिएन होला र?
म त एक स्नातक पढ्दै गरेको कलेजको विद्यार्थी हुँ। माइला काइँला त सहरका महँगा इन्स्टिच्युट पढेर लोक सेवाको तयारी गर्दै छन् भनेर गाउँका सबैलाई थाहा छ। लोक सेवाको तयारी गर्दै छ भन्दा त झन् सबैले चासोका साथ हेर्छन्। किन नहेरुन्, वर्षौँदेखिका सपनामाथि ढुङ्गा बजारिएको कम्पनको तालमा कमरमा हात राख्दै खुसीका साथ उफ्रिँदै नानाथरी कुरा काट्दैको तालमा नाचको मजा जति आनन्द त्यो जाबो विचारले वर्षौँको सपना पूरा गर्दाको एक डल्लो मिठाईको गुलियोपनाले कहाँ दिन्छ र!
उफ्रिँदै नचाउनकै लागि पनि त आफ्नो खुसीहरू, ती चाडपर्वले सुसेली हाल्दै हात ठड्याएर बोलाउँदा समेत नसुने झैँ, नदेखे झैँ गरी लागिपरेको छ। भनिन्छ नि, कागलाई बेल पाक्यो हर्ष न बिस्मात। हो, उसका लागि पनि यी चाडपर्व, रमाइलो, खुसी, तिहार सबै यस्तै भएका छन्।’
यसै बखत भत्तामा टाँगेको घडीमा टिन्न आवाज आयो। रातको १२ बजिसकेको रहेछ। मैले यसै बेला त्यो घडीलाई सोधेँ, ‘ए घडी, तैँले आफ्नो लागि कहिल्यै यसरी १२ बाजाको छस्?’
घडी पनि एकैछिन चल्न रोकिए जस्तो लाग्यो तर आफ्नो गतिअनुसार चल्दैको तालमा जवाफ दियो- ‘बजाएको छु नि। मेरो लागि बजाएको १२ ले अरूको लागि बजिदिन्छ। कोहीको लागि त्यो १२ ले सफलतामा सपना छताछुल्ल हुन्छ त कसैले लागि सधैँभरि १२ बजाई रेक्टरस्केलको जस्तो पराकम्प नपाइदिन्छ। त्यसैले यो घडीको १२ बजाईले समय कटाउन मात्रै होइन मित्र, यो त तिम्रो सपनाको दूरी कति भयो र कति बाँकी रह्यो भन्ने मापनको आधार हो।’
यति खेरै निद्राले बोलाउँदै हाई गर्यो। मान्छेको जीवनको हरेक समयमा दुइटा अप्सन हुन्छन्। तर विद्यार्थीको जीवनले भने अन्तिम अवस्थामा ल्याएर लोक सेवाको चार अप्सनमा लगेर छोडिदिन्छ। यति खेर मेरा लागि पनि यी दुई अप्सन मध्ये एक रोज्नु थियो। एउटा अप्सनले लोक सेवाको चार अप्सन रोज्न दिन्छ। अर्कोले जिन्दगीमा रेक्टरस्केलको पराकम्प नपाइको अवस्था दिन्छ।
अब निन्द्राको हाईमा हेलो मिलाउँदै सामेल हुने कि चार अप्सनको रोजाइमा पुग्ने निर्णयमा मैले चार अप्सनसम्मको रोजाइलाई समातेँ। यसै बखत छेउमा रहेको कापीमा कलमलाई रगड्न थालेँ। कलमको जोडजोडको रगडाइलाई एक स्वर भएर सोधेँ, ‘ए कलम, तँ कहिल्यै आफ्नो लागि यसरी आफै रगडिएको छस्?’
फुलस्टपको थोप्लोसँगै कलमको रगडाई टक्क रोकिएर जवाफ दियो, ‘अहँ! आफ्नो लागि त कहिल्यै लेखेँ हुँला तर आफै रगडिएको चाहिँ छैन। अब आफैँ रगडिनलाई सक्नु पनि पर्यो नि। यदि आफैँ रगडिन सक्ने भए त जबसम्म मेरो रगडाइको क्षमता छ त्यतिन्जेल सम्मानका साथ त्यो उच्च सिरोधारण गरेको स्थानसम्म पुग्छु। सजिएको स्वरूपमा ती कमिजका खल्तीहरूमा छातीसँग अँगालो मार्दै अडिन्छु।’
‘अनि अनि?’ मैले उत्सुकताका साथ सोधेँ।
‘अनि के जब मेरो रगडाइमा बल मात्रै सकिँदा मेरो स्थान बदलिन्छ। यदि मेरो पुनः पोषण गरेको भए म फेरि त्यही स्थानमा पुग्दैन थिएँ होला र? त्यसैले हरेक चोटिको प्रयासमा राम्रो अप्सनको नै रोजाइ हुन्छ। मित्र, यो अप्सन मसँगको मात्रै होइन। जब तिमी आफ्नो सपनाको बलमा रगडिन छोडेर जीवनमा कम्पनको तरङ्ग नाप्न रेक्टर स्केल लिएर हिँड्छौ नि, तब तिम्रो पनि स्थान बदलिन्छ।’
यसै बखत मेरो सपनाको रगडाइलाई बुझेका यो कलम, बत्ती, यी चारै तिरका सिमेन्टका वाल, मेरो सपनाको लागि वालमा सजिएका यी कागजका टुक्रा सबैले एकै स्वरमा सोधे, ‘अब भन मित्र, तिमी विद्यार्थी हौ। के यी चाडपर्व, यी रमाइला पल तिम्रा लागि बनेका हुन् र? तिमीलाई त संस्कृतिले पनि अन्याय गरिरहेको छ।’
‘अब न्याय खोज्न कुन अदालत जाऊँ त?’ के भन्दै थिएँ त्यति खेरै बत्ती पनि आफ्नो विश्राम खोज्न झिमिक्कै गइहाल्यो। मोबाइलको घडीलाई नियाल्दा बिहानको पाँच बजिसकेको रहेछ। अब निदाउन ओछ्यानमा पुग्दा तपाईंलाई चाहिँ यो समयमा गुड नाइट भनौँ कि गुड मर्निङ्ग, तपाईंका लागि पनि दुइटा अप्सन छन् छान्नुहोस् है।