मलाई जापान बस्ने भनेको केटो हेर्नै मन थिएन। लमीले बाबालाई पठाएको जापनिजको फोटो बहिनी सारिकाले हेरे पनि मैले हेरिनँ। 'नजाने गाउँको बाटो' सोचेर मैले सामान्य चासोसम्म पनि राखिनँ।
सारिकाले भनेकी थिई, 'कति सिम्पल केटो रहेछ, मलाई लाग्छ यो केटासँग तैँले 'डायलग' गर्नु पर्ला।'
तर मैले कुनै प्रतिक्रिया व्यक्त गरिनँ।
राति खाना खाने बेला मबाहेक परिवारका तीन सदस्यहरूले जापनिज केटालाई घरमा बोलाएर मसँग वार्ता गराइछाड्ने प्रस्ताव पारित गरे। जोडबल सारिकाकै थियो।
बाबाले लमीलाई फोन गरेर भोलिपल्ट अपराह्न चार बजे जापनिज केटालाई घरमा उपस्थित गराउन अनुरोध गरे। पाँच मिनेट नबित्दै लमीले केटालाई जानकारी गराएको र प्रस्ताव 'डन' भएको भन्दै फोन राखिदिए।
म लोक सेवा पास गरेर अधिकृत भएकी निजामती कर्मचारी हुँ। जापान बस्ने केटा घरमै बोलाएर गराउन के खोजिसेको हो?
मलाई विवाह गर्न मन छ तर न म जापान जान सक्छु न जापनिज पनि सायदै 'अधिकृत स्वास्नी पाएँ' भन्दै फुरुक्क पर्दै नेपाल फर्किहालोस्।
‘फर्किने प्लान पनि हुनसक्छ,’ प्वाक्क सारिका बोली। बाबाले समर्थन गरिस्यो, ममीले पनि।
म फेरि अल्पमतमा परिहालेँ।
भोलिपल्ट बेलुकी साढे पाँच बजे लमीसँग जापनिज केटो पनि हाम्रो घरभित्र पस्यो। म र सारिका छतबाट हेर्दै थियौँ। म सकेसम्म नआइदिउन् भन्ने कामना गर्दै थिएँ।
हुन पनि जापनिजले नेपालमा ‘जापनिज टाइम' को मान्यतालाई पूरै बेवास्ता गरेको थियो।
सामान्य फर्मल सर्ट पाइन्टमा कालो छालाको जुत्ता लगाएका थिए। निधारमा रातो टीका थियो। निलो आकाशे सर्ट र कालो पाइन्टमा खुलेको जापनिज हिन्दी फिल्मको हिरो जस्तै आकर्षक थियो।
अरू केटाहरू जो मलाई हेर्न आउँथे, उनीहरू कोट-पाइन्टमा सजिएर दाम्लो जत्रो सिक्री घाँटीमा झुन्डाएर आउँथे। जापनिज लमीसँग एक्लै थिए।
सबै बैठक कोठामा भेला भयौँ। केही औपचारिकता सकिएपछि बाबा र जापनिज केटाको लामै प्रश्नोत्तरको रस्साकस्सी चल्यो।बाबा भूमिका बाँधेर प्रश्न गरिसिन्थ्यो भने जापनिज केटो सटिक उत्तर फर्काउँथ्यो।
तपाईंको नामबाटै सुरु गरौँ न।
‘म कुमार आत्रेय हुँ।’
किन थर नराखी गोत्र राख्नु भएको?
‘मेरो थर पानीपोखरेल लामो र भद्दा लाग्यो।’
पोखरेल मात्र किन लेख्नु भएन?
‘कक्षा आठमा पढ्थेँ, लहडी थिएँ। फेरि मनमा आत्रेय गोत्र मनमा गढेर बसेको थियो।’
तपाईंको घर काठमाडौँ उपत्यकामै हो?
‘होइन, मेरो घर सिन्धुली हो।’
सिन्धुली कुन ठाउँ?
‘पहिले झाँगाझोली रातमाटा थियो, हिजोआज संघीयतापछि 'सुनकोसी' भएको छ।’
जापनिजले गिलासको पानी पिए। ममीले चिया बाँड्नु भयो। जापनिजलाई वार्ता छिटो सक्न पाए हुन्थ्यो भन्ने हतारो देखिन्थ्यो।
फोनको जवाफ 'मेसेज वा एसएमएस' बाट झटपट दिएर आइफोन खल्तीमा हालिसक्थे। तर बाबाका प्रश्नहरू असिना झैँ बर्सँदै थिए।
घरमा को-को हुनुहुन्छ?
‘बा-आमा र हामी तीन भाइहरू छौँ। विवाहित छ दिदीहरू पनि कुनै समय परिवारका हिस्सा थिए।’
‘विवाहित छ दिदीहरू'को प्रसंग रोक्न लमीले जापनिजलाई चिमोटेका थिए। तर जापनिज केटोले कुनै परवाह नगरी उत्तर दिइराखे।
जापानमा कुन लेभलमा के पढ्दै हुनुहुन्छ?
‘अर्थशास्त्रको मास्टर्स सकेर हिजोआज इन्टरनेशनल डेभलपमेन्टको तेस्रो सेमेस्टरमा रनिङ छु।’
जापानको पढाइ नेपालमा कुनै काम छ र?
‘पढ्नु भनेको ज्ञान प्राप्त गर्नु हो। आफूले जानेको ज्ञान संसारभरि काम नै लाग्छ।’
सधैँका लागि जापान छोडेर नेपाल फर्किने योजना छ?
‘बढीमा तीन वर्षमा स्वदेश फिरिसक्छु।’
नेपाल फर्किएर के गर्नुहुन्छ?
‘आफ्नै गाउँतिर बस्ने योजना छ।’
काठमाडौँमा बस्ने, घर घडेरी किन्ने तपाईंको योजना छैन र?
‘माफ गर्नु होला, तपाईंहरू बसेको सहर प्रदूषित छ। बस्न लायक छैन अनि यो हावा फोक्सोमा भर्नु उपयुक्त छैन भनेर अन्तर्राष्ट्रिय संघसंस्थाका रिपोर्टहरू दैनिक पत्रिकामा आइरहेका छन्।’
जापानमा के काम गर्नुहुन्छ?
‘दुई वटा 'ईजाखाया'मा काम गर्छु। क्षमा गर्नुहोस् 'ईजाखाया' जापनिज शब्द हो। शुद्ध नेपालीमा भन्नुपर्दा दुई वटा स-साना 'भट्टी'मा काम गर्छु। सितन भुट्छु। भाडा मेसिनमा हालेर माझ्छु।’
अल्कोहल पिउनुहुन्छ?
‘पिउँछु। मलाई बियर एकदमै मन पर्छ।’
चुरोट चाहिँ?
‘चुरोट पनि पिउँछु।’
यो उमेरसम्म आइपुग्दा लभ र रोमान्समा पनि पर्नु भएकै होला?
‘अब त्यो इतिहास भयो। सबै इतिहासका पानाहरू नपल्टाउँदा नै बेस हुन्छ होला।’
अहिलेसम्म बैंक ब्यालेन्स कति जम्मा गर्नु भएको छ?
‘तपाईंको यो प्रश्न म खारेज गर्छु।’
किन?
‘भने नि यसको जवाफ म दिन्नँ। सम्झनुस् मसँग नेपालको बैंकको खाता नै छैन।’
माहौल बिग्रियो। लमीले रातो मुख लगाए।
जापनिज केटाले सन्नाटा चिर्दै भन्यो, 'म लाग्छु।'
बाबासँग हात जोडेर बिदा मागे। ममी, म र सारिकासँग शिर निहुराएर नमस्कार गर्दै बिदा भए, कुमार आत्रेय।
लमी गेटसम्म सँगै पुगे नि कुमारले कुनै सरोकार राखेनन्। लमीले उसको हात समाते। तर उसले मोबाइलमा कुरा गर्दै आफ्नो हात झड्कारेर फुत्काए अनि दृश्यबाट ओझेल परे।
'एस् ,केटो यस्तो पो हुनुपर्छ' मेरो जीवनसाथी हुन लायक केटा थिए कुमार आत्रेय। तर दुर्भाग्य! कुमारले हेर्न भनेर आएका सम्भावित बेहुली मलाई खुट्याउने मौका नै पाएनन्।
सारिका र म सँगै जुम्ल्याहा जस्ता देखिन्थ्यौँ। सारिका दिदी र म बहिनी भन्थे, हामीलाई नजिकबाट नचिन्नेहरू।
क्या 'डाउन टु अर्थ' थिए कुमार। हामीलाई झुक्दै नमस्कार नगरी गएको भए पनि त हुन्थ्यो।
बाबाका तिखा प्रश्नहरूको जवाफ शालीनतापूर्वक दिएका थिए। उहाँका प्रश्नहरूको उत्तर नदिएर कुमार हिँडिदिन पनि त सक्थे। बाबालाई पनि मेरा बारे दर्जनौँ प्रश्नहरू सोध्न कुमार पनि सक्थे होलान्। आज बाबाको रवैया मन परेन।
कुमारले बाबासँग हात जोडेर बिदा माग्दा बाबाको 'एटिच्युड' घृणा योग्य थियो। बाबाले कुमारको 'गुड पर्सनालिटी'को खिल्ली उडाइदिए। बाबा लमीसँग खुब रिसाए।
'क्या नमुना मान्छे रै'छ, हेरिस्यो त।'
लमीले बाबालाई तेल लगाएर फकाउने प्रयास गरे।
‘रक्सी, चुरोट पिउँछु रे। हाम्री अधिकृत छोरी त्यस्तोलाई कोही दिन्छन्!’
ममीले बाबालाई अब अलिकति पनि कुमारको 'इन्सल्ट' नगर्न चर्को स्वरमै चेतावनी दिनु भयो।
‘तपाईंले ल्याएको केटो ठिक छन्। आफू जे हो, मन खोलेर बताइदिए। न उनलाई हाम्री छोरी पाउने आस थियो न तपाईं (लमी) प्रति विश्वास नै। मलाई लाग्छ कुमार यहाँसम्म 'एक्सिडेन्ट्ली' आइपुगेका थिए।’
लमी आफ्नो बाटो लागे।
हिजोको परिस्थिति चौबिस घण्टा नबित्दै उल्टियो। सारिका र ममीले कुमारको पक्ष लिए। ‘मौनम् स्वीकृति: लक्षणम्' भने झैँ नबोलेरै मैले पनि कुमारकै पक्ष लिएँ। चौबिस घण्टा नबित्दै परिस्थिति 'एक सय असी डिग्री' मा बदलियो।
कम्पासको सुईलाई सुनकोसीको बिचमा राख्दा म हिजो रामेछाप जिल्लाको कित्तामा एक्लै थिएँ। अरूहरू कुमारको जिल्ला सिन्धुलीको कित्तामा उभिएका थिए। आज हामी तीन सिन्धुलीको कित्तामा उभियौँ। बाबा आफ्नै पुर्ख्यौली जिल्लामा पुग्नु भयो। राति खाना खान हामी चार सबै सँगै बस्यौँ। बाबाले कुमारलाई 'स्यो' लगाएर बोल्न नजान्ने पाखे भनिदिए।
'बढी जान्ने नपल्टिनुस्, रामेछापको बन्चरेमा हामी कुमारजस्तै भाषा बोल्थ्यौँ। यो आइस्यो, गइस्यो ढर्रा र ढोँगी भाषा हो। सामन्ती राजाहरू र राणाहरूको भाषा हो। एउटा सच्चा र कर्तव्यनिष्ठ नेपालीले बोल्ने भाषा 'कुमार आत्रेय' कै भाषा हो।’
बाबा चुपचाप हुनु भयो। अनुहार कालो भयो।
कुमार उसै गरी चिटिक्क परेर आए। निधारमा रातो टिका नै थियो। फरक यत्ति थियो, उनको कालो पाइन्टको ठाउँमा खैरो पाइन्ट थियो। कुमार मेरो बेडमै आएर बसे।
म कुमारकै फेसबुक स्क्रोल गर्दै थिएँ। उनका तन्नेरी फोटाहरूले मलाई काउकुती लगाउँदै गए। कुमार म नजिकै आइपुगे। म र कुमार बेडमा एकाकार भयौँ। कुमार स्खलित भए। मैले पहिलो पटक कुमारसँग सपनामा सम्भोग गरेँ।
म झल्याँस्सै ब्युँझिएँ।
सारिका पनि उठी। मैले सपनामा देखेको कहानी उसलाई बताइनँ। कसरी बताउनु बहिनीसँग?
‘कुमार देख्यौ र सपनामा?,’ सारिकाले गुह्य कुरा बुझी। म लजाएँ।
ममीले लमीसँग कुमार आत्रेयको नम्बर त सयौँ पटक माग्नु भयो तर लमीले अनेकौँ कुरा गरेर टारिरहे।
कुमारको आगमनको केही दिनपछि हामीले 'स्यो' लगाएर बोल्न पनि छाडिदियौँ। बाबाले हामीसँग कुमारका बारे कुनै टिप्पणी गरेनन्। मैले अरू थप केटाहरू नहर्ने चट्टानी अडान लिएँ।
तर समस्या एउटै थियो, कुमार आत्रेय पत्ता लगाउने कसरी?
मामुले भन्नुहुन्थ्यो- 'झाँगाझोली रातमाटा' हामी पैदल हिँड्दै काठमाडौँ आउने बाटोमै छ, तिमीहरू चिन्ता नगर। तिनको जन्मकुण्डली पत्ता लगाउन सकिन्छ।
तर सारिकाले कुमार आत्रेय नामको फेसबुक एकाउन्ट पत्ता लगाई। अचम्म के थियो भने मैले सपनीमा फेसबुकमा देखेका तन्नेरी फोटाहरू हुबहु थिए।
कुमारले चोटिला स्ट्याटस लेख्ने रहेछन्। सारिका र म हामी दुवैले 'फ्रेन्ड रिक्वेस्ट' पठायौँ। तर हप्ता दिन बित्यो। कुमारले 'एसेप्ट' गरेनन्। मन खिन्न भयो। अफिसमा कुमारका फेसबुकमा भएका सबै फोटाहरू मोबाइलमा 'सेभ' गरेँ। अफिस सक्काएपछि फोटा धुलाउन न्युरोड पुगेँ।
फोटो धुलाउने भाइले मधेसी लवजमा 'तपाईंको ब्वाइफ्रेन्ड हो?’ भन्दा म उसै उसै लजाएँ। करिब बिस वटा फोटाहरू धुलाएर ब्यागमा हालेँ। महिना दिन बिते पनि कुमारले हामीलाई न फ्रेन्ड स्वीकारे न मेसेन्जरमा पठाएको मेसेजको रिप्लाई नै दिए।
कुमारको फेसबुक वालमा एक्कासि बिहे भएको फोटो 'पोस्टियो' भने? सोच्दा पनि म ढल्न खोज्थेँ। तर त्यस्तो अनिष्ट भएन।
'नेपालको तीन महिने लामो बसाइँपछि पुनः कर्मभूमि जापान फर्किएको छु।’
कुमार जापान पुगिसकेका थिए। उनले जापान पुगेर स्ट्याटस लेखेका थिए।
एयरपोर्टमा बिदाइका नौटङ्की कुमारले नगर्ने रहेछन्। सुटुक्क आउने र थाहा नै नपाई फर्किने कुमारको व्यक्तिगत स्वभावको विशेषता थियो, सायद।
कुमारले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेको क्षण लोक सेवाबाट अधिकृतमा नाम निस्केको समयभन्दा सुन्दर लाग्यो। मेसेन्जर बक्समा पहिले पठाएको मेसेजको पनि जवाफ आयो- 'मलाई चिन्नुहुन्छ र?'
मेसेजलाई चुप्पा खाएँ र लेखेँ, ‘चिन्छु तर अलिअलि।’
मेरो खुसी सगरमाथाभन्दा अग्लो भयो। तर त्यसको जवाफ आएन। जवाफ कुर्दाकुर्दै राति निदाएछु। बिहानीपख उही पुरानै सपना देखेँ। म झसङ्ग ब्युँझिएँ।
‘कस्तो हो अलिअलि चिनेको भनेको?’ ओहो! कुमारले रिप्लाई गरेछन्।
मैले खुद्राखुद्री होइन लामै कुरा गर्न चाहेको लेखेर पठाएँ।
निकै घण्टापछि रिप्लाई आयो- 'आइतबार नेपाली टाइम ९ बजेदेखि १२ बजेसम्म म फ्री हुन्छु। अरू बेला मसँग 'जिखान' छैन।
‘जिखान' पक्कै जापनिज शब्द थियो। शब्दको अर्थ बुझ्न 'गुगल' गरेँ। यसको अर्थ समय रहेछ। अर्थात् जापानमा कुमारसँग हप्तामा तीन घण्टाभन्दा बढी समय खासै रहेनछ।
तपाईं पानीपोखरेल भएर पनि किन आत्रेय लेख्नु भएको?
घरमा बाबाले सोध्नुभएको प्रश्न दोहोराएँ। मलाई संवाद सुरु गर्न त्यही प्रश्न दोहोराउनु उचित लाग्यो।
‘मलाई राम्रै चिन्नु भएको रहेछ अनि अलिअलि भन्दिने,’ कुमारले अलिक शङ्कु सवाल राखे वा भनौँ जिस्किन खोजे।
जापानमा के काम गर्नु हुन्छ?
मैले त्यो प्रश्न पनि दोहोराएँ।
कुमारसँग च्याटमा लामो गफगाफ भयो।
मलाई किन साथी स्विकार्नु भएको नि?
‘शाखा अधिकृत हुनुहुँदो रहेछ, फेरि अविवाहित। म आफै पनि एउटी सुकन्याको खोजीमा छु। जापानको लाइफ बोरिङ नै छ। मनमा लाग्छ एउटी असल पत्नी पाउन पाए? तर मलाई तपाईंको आस भने छैन, सामान्य भट्टीमा सितन भुट्नेसँग शाखा अधिकृतले कसरी बिहे गरोस्! मैले नेपालमा पनि सरकारी जागिरसँग बिहेको कुरा नराखौँ भन्या थिएँ। एक्सिडेन्ट्ली एक ठाउँमा लमीको लामो जिरहले अधिकृत कन्याको घरमा पुग्या थिएँ तर राम्रो भयो। मैले केटीकी बासँग प्रश्नहरूको जवाफ दिएँ र फुत्किएँ।’
प्रश्नकर्ताले के-के सोधे त?
मैले कुमारको मन चोर्न खोजेँ।
उनले हाहा लेखिपठाएँ।
के अपमान गरे?
‘प्रत्येक बाबुलाई आफूले हुर्काएर, बढाएर, पढाएर अधिकृत बनाएकी छोरीलाई राम्रो र उच्च घरानामा दिऊँ भन्ने भइहाल्छ नि।’
तपाईंको कुल घराना खराब हो र उसो भए?
‘त्यस्तो भन्या होइन तर म त ऋणले गाँजिएको, हुँदा खाने परिवारको सदस्य हुँ। गरिबीसँग लड्दै छु।’
मायामा पर्दै गएपछि हाम्रा सबै औपचारिकता नाङ्गिए। हामीले 'लङ डिस्टान्स् रिलेसनसिप'को भरपुर मज्जा लुट्यौँ।
बाबा त थाहा भएन, सारिका र ममी मसँगै खुसी भए।
कुमार फेरि नेपाल आए। मैले एयरपोर्टमै स्वागतको न्यानो आलिङ्गन हालेँ। कुमार झाँगाझोली हिँडे। मैले बाबालाई कुमारसँग जसरी पनि बिहा गर्ने डिसिजन दिएँ।
'क्या एक्सिडेन्टल म्यारिज हुने भयो,' बाबाले त्यत्ति बोल्नु भयो।
मनमोहन सिंह भारतका एक्सिडेन्टल प्राइममिनिस्टर भएजस्तै कुमा र म एक्सिडेन्टल कपल हुने भयौँ।
कुमारलाई म मायाले कुमा भन्न थालेको थिएँ।