अमेरिकाले डिपोर्ट गरेका १२ जना भुटानी शरणार्थीलाई भुटान सरकारले कागजातविहीन बनाएर नेपाल पठाएको खुलेको छ।
अमेरिकी अधिकारीहरूले चैत १५ गते शुक्रबार बिहान भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलसम्म लगेर ती शरणार्थीलाई हस्तान्तरण गरेका थिए। सुरक्षाकर्मीको बाक्लो भिडले घेरिएका भुटानी अधिकारीलाई शरणार्थी हस्तान्तरण गरेपछि अमेरिकी कर्मचारी फिर्ता गएका थिए। त्यति बेला उनीहरूले शरणार्थीका कागजपत्र पनि भुटानी प्रशासनलाई जिम्मा लगाएका थिए।
अमेरिकी अधिकारी फर्कनासाथ शरणार्थीहरूको साथमा रहेका सबै कागजात भुटान सरकारले जफत गरेको नेपालमा पक्राउ परेका चार जना शरणार्थीले बताएका छन्।
'अमेरिकाबाट दिल्ली हुँदै भुटानसम्म आइपुग्दा हामीसँग धेरै कागजपत्र थिए,' भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौड्यालले झापा प्रहरीको हिरासतमा रहेका चार जना शरणार्थीलाई उद्धृत गर्दै सेतोपाटीसँग भने, 'भुटानी अधिकारीहरूले ती सबै कागजपत्र खोसेर हामीलाई रित्तै नेपाल पठाइदियो।'
'अहिले नेपालका प्रहरी र अध्यागन हामीसँग के कागजपत्र छ भनेर खोजिरहेका छन्। हुँदै नभएको कागजपत्र हामीले कसरी बुझाउने?' उनीहरूले भने।
भुटानले कागजपत्र खोसेर नेपाल पठाइदिएका १२ जनामध्ये चार जना इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा छन्। बाँकी ८ जनाको अवस्था अहिलेसम्म अज्ञात नै छ।
अध्यक्ष पौड्यालले केही दिनअघि थुनामै पुगेर ती चार जनासँग लामो कुराकानी गरेका थिए। त्यस क्रममा चारै जना युवाले अमेरिकी अधिकारीहरूले भुटान छाड्नेबित्तिकै आफूहरूको साथमा रहेका सबै कागजपत्र भुटानी पक्षले जफत गरेको जानकारी दिएको पौड्यालले बताए।
'मैले उनीहरूलाई थुनामै भेटेर कुराकानी गरेको थिएँ,' पौड्यालले भने, 'मलाई पनि त्यही बेला मात्र थाहा भयो। कागजपत्र खोसेर, खाजा खुवाएर, खर्चबर्च दिएर नेपाल पठाइएको रहेछ।'
अमेरिकाले डिपोर्ट गरेर फिर्ता पठाएपछि उनीहरूलाई चैत १५ गते शुक्रबार दिल्ली हुँदै भुटान पुर्याइएको थियो। त्यहाँबाट नेपालतिर पठाइएकामध्ये ४ जना अवैध रूपमा नेपाल प्रवेश गरेको अभियोगमा थुनामा छन्। आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी १३ दिनदेखि प्रहरी हिरासतमा छन् भने अशोक गुरूङ पक्राउ परेको पनि बिहीबार १० दिन पूरा भएको छ।
अमेरिकी पक्षबाट शरणार्थीहरूको जिम्मा बुझेपछि भुटानी पक्षले १२ जनै शरणार्थीलाई फकाउने र धम्क्याउने दुवै काम गरेको पौड्यालले बताएका छन्।
'एयरपोर्टबाट होटलमा पुग्नासाथ तिमीहरूसित के के कागजपत्र छ, सबै हामीलाई दिनू, त्यही कागजका कारण यहाँ अप्ठ्यारो पर्नसक्छ भनेर भुटानी अधिकारीहरूले भनेपछि ती भाइहरूले आफूसँग भएका सबै डकुमेन्ट बुझाएछन्,' अध्यक्ष पौड्यालले भने, 'कागजपत्र हात पारेपछि उनीहरूलाई नरम भाषामा धम्की दिन थालेछन्।'
सुरक्षाकर्मीले घेरिएका भुटानी अधिकारीहरूले 'यहाँ तिमीहरूको भाषा पनि मिल्दैन, तिमीहरूलाई जोङ्खा आउँदैन' भन्दै कुराकानी सुरू गरेछन्,' पौड्यालले भने, 'त्यसपछि यहाँ बस्यौ भने जेलमा बस्नुपर्ने हुनसक्छ। आफन्तहरू पनि नेपालमै छन्, त्यसैले हामी नेपालै पठाइदिन्छौं भनेर यता पठाएछन्।'
त्यस क्रममा सबै शरणार्थीलाई भुटानी पक्षले ३०-३० हजार भारू हातमा राखिदिएका थिए।
भुटानको भारतीय सीमावर्ती नाका फुन्सोलिङबाट भारतीय गाडीमा चढाएर उनीहरूलाई नेपाल-भारत सीमाको भारतीय नाका पानीट्यांकी ल्याएर छाडिएको थियो। त्यसपछि चार जना शरणार्थीले दलाललाई २२ हजार रूपैयाँ बुझाएर मेची पुलमुनिको बाटो हुँदै नेपाल प्रवेश गरेका थिए। तीमध्ये तीन जना १५ गते साँझ बेलडाँगी शिविर पुगेका थिए। उनीहरूलाई भोलिपल्ट चैत १६ गते शनिबार शिविरबाटै पक्राउ गरिएको थियो। एक जना चैत १९ गते काँकडभिट्टा नाकाबाट पक्राउ परेका हुन्।
तेह्र दिनदेखि प्रहरी हिरासतमा रहेका शरणार्थीहरूसँग अध्यागमन विभागले अनुसन्धान गरिरहेको जनाएको छ।
'हामीले अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईलाई अनुसन्धान अधिकृत तोकेका छौं,' अध्यागमन विभागका निर्देशकसमेत रहेका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले भने, 'हामी उहाँकै माध्यमबाट त्यहाँ रहेका शरणार्थीहरूबारे बुझिरहेका छौं।'
उनका अनुसार अध्यागमन विभागले दुई चरणमा पक्राउ परेका शरणार्थीहरूसँग के के कागजात रहेछ भन्ने बुझिरहेको छ।
यता अध्यागमन कार्यालय भने उनीहरूसँग हुँदै नभएको कागजात खोजेर यो विषयमा अनिर्णित बसिरहेको छ। विभागले अनुसन्धान अधिकृत तोकेका काँकडभिट्टा अध्यागमनका प्रमुख तुलसी भट्टराई 'अनुसन्धान प्रतिवेदन बुझाउने तयारी अन्तिम चरणमा पुगेको' बताउँछन्।
नेपालको शरणार्थी शिविरबाट राष्ट्रसंघले प्रमाणीकरण गरेर अमेरिका पुर्याएका शरणार्थी अहिले अमेरिकाबाट पनि लखेटिएर बेहाल अवस्थामा छन्। यस्तो अवस्थामा उनीहरूबारे नेपालले चाँडो निर्णय लिनुपर्ने भुटानी शरणार्थीहरूको भनाइ छ।
'उनीहरू भुटानी नै हुन् भन्ने अमेरिकाले स्वीकार गर्यो, भुटान आफैले पनि स्वीकार गरेर दिल्लीबाट आफ्नै विमान चढाएर पारोसम्म ल्यायो। अमेरिकीहरूबाट जिम्मा बुझ्यो,' भुटान पिपुल्स पार्टीका अध्यक्ष पौड्यालले भने, 'तर भएभरका कागजपत्र खोसेर नेपाल पठायो। नेपाल प्रजातान्त्रिक मुलुक हो। अन्यायपूर्वक लखेटिएर आएका भुटानीहरूलाई लगातार हिरासतमा राखेर थप अन्याय नगरिदिए हुन्थ्यो भन्ने हाम्रो अनुरोध छ।'
पछिल्लो समय अमेरिका र भुटानको खेदाइमा परेका सबै शरणार्थीलाई नेपालले राष्ट्रसंघलाई बुझाइदिनुपर्ने उनको भनाइ छ।
'यसरी शरणार्थी नेपाल आएको यो पहिलो घटना होइन। यसअघि रोहिंग्याहरू पनि आएकै हुन्। उनीहरूलाई जसरी राखिएको छ, भुटानीहरूलाई पनि त्यसैगरी राखिदिए हुन्थ्यो। थुनाबाट चाहिँ उनीहरूलाई निकालिदिए हुन्थ्यो भन्ने हाम्रो अनुरोध छ,' पौड्यालले उनीहरूको हिरासत बसाइ नलम्बिने गरी नेपालले केही उपाय अवलम्बन गर्न सक्ने उपाय सुझाएका छन्।
उनले अगाडि भने, 'कि उनीहरूलाई अभिभावकको जिम्मामा दिनुपर्यो। कि राष्ट्रसंघलाई दिनुपर्यो। त्यो पनि भएन भने अलग्गै कुनै ठाउँमा बरू नजरबन्दमै राखे पनि हुन्छ। तर थुनाबाट चाहिँ बाहिर निकाल्दिनुपर्यो। अमेरिका र भुटान सबैतिरबाट अन्यायमा परेर आएकाहरूलाई नेपालजस्तो प्रजातान्त्रिक मुलुकले थप अन्यायमा पार्दैन भन्नेमा हामी विश्वस्त छौं।'
उनले पक्राउ परेका शरणार्थीलाई अभिभावकको जिम्मा लगाउनुपर्ने बताए पनि आशिष सुवेदीका बुबा कुमार बाहेक शिविरमा उनीहरूका आफन्त कोही छैनन्। अहिले ती सबै शरणार्थीलाई खानादेखि ओढ्ने-ओछ्याउने सबै प्रबन्ध एक्लै कुमार सुवेदीले गर्दै आएका छन्।
परिवारका सबै सदस्य पालैपालो तेस्रो देश पुनर्वास कार्यक्रममार्फत अमेरिका पुगेपछि १० वर्षदेखि बेलडाँगी शिविरमा एक्लै बसिरहेका कुमार सुवेदी छोरा र उनका साथीहरूका एक मात्र अभिभावक हुन्।
पछिल्लो समय आप्रवासीहरूप्रति अनुदार नीति लिएको राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १२ जना शरणार्थीलाई आपराधिक गतिविधिमा संलग्न भएको भन्दै डिपोर्ट गरेको थियो। यस क्रममा नेपाली र भुटानीसहित धेरै आप्रवासीले अमेरिकाबाट लखेटिनुपरेको छ।
***
यी पनि पढ्नुहोस्: