द कन्भरसेसन- ४२
भारतको सिक्किमबाट पहिलो पटक नेपाल आउँदै गर्दा विक्की अग्रवालको योजना थियो — कमेडी च्याम्पियनमा अडिसन दिन्छु। दुई/चार दिन काठमाडौं घुमेर फर्किन्छु।
सिक्किमका उनी पहिल्यैदेखि स्ट्यान्डअप कमेडी गर्थे। एक दिन साथीले नेपालमा कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' को दोस्रो सिजनको डिजिटल अडिसन खुला भएको बताए। साथीले सुझाए अनुसार विक्कीले कमेडी च्याम्पियनका लागि भिडिओ पठाए।
केही दिनपछि उनलाई फोन आयो— तपाईं डिजिटल अडिसनमा छनोट हुनुभयो। काठमाडौं आउनुपर्यो।
संयोग र रोचक कुरा के भने, पछि ती फोन गर्ने व्यक्तिसँगै विक्कीको प्रेम बस्यो। र, विवाह भयो।
ती व्यक्ति थिइन् श्रद्धा प्रसाईं।
काठमाडौंमै जन्मे–हुर्केकी श्रद्धाले 'दर्पण छायाँ' र 'प्रेम गीत' फिल्म शृंखलामा अभिनेत्रीका रूपमा काम गरिसकेकी थिइन् भने कमेडी च्याम्पियनमा प्रमुख सहायक निर्देशक थिइन्।
कमेडी च्याम्पियनमा भाग लिनुअघि विक्की कहिल्यै नेपाल आएका थिएनन्। जब कमेडी च्याम्पियनमा उनले प्रस्तुति दिन थाले, सुरूदेखि नै आफ्नो प्रभाव छाडे र फर्स्ट रनरअप भए।
यही रियालिटी शोमा हुँदा विक्की र श्रद्धाबीच मन मिलेको थियो। प्रेम बसेको थियो र अन्ततः दुई वर्षअघि यी दुईले विवाह गरेका थिए।
काठमाडौंका ज्वाइँ बनेका विक्की र सिक्किमकी बुहारी बनेकी श्रद्धाको जोडीले यति बेला कमेडी शोमा तहल्का मच्चाइरहेका छन् भन्दा फरक नपर्ला!
सँगसँगै, उनीहरूले कमेडी शोमा दर्शकहरूलाई नयाँ स्वाद पनि दिइरहेका छन्।
आफ्नै शो 'आम्मा कस्सम याँ दुख्छ' का दुई सिजन सफलतापूर्वक सकेका उनीहरूको अर्को शो 'कमेडी दरबार' यति बेला दर्शकमाझ चर्चामा छ।
कमेडी च्याम्पियनपछि विक्की र श्रद्धाले कमेडी क्लब विथ च्याम्पियनमा सहकार्य गरेका थिए। त्यसमा विक्की निर्देशक थिए भने श्रद्धा मुख्य सहायक निर्देशक। त्यो बेला विक्की श्रद्धालाई भनिरहन्थे — आफ्नै शो कहिले ल्याउने? कि सहायक निर्देशक मात्रै भइरहने?
त्यसपछि उनीहरूले फरक खालको शो डिजाइन गरे। भाइरल पात्रहरूलाई अतिथि बनाउने गरी 'आम्मा कसम याँ दुख्छ' ल्याउने तयारी सहित दौडधुपमा लागे।
धेरैले भन्थे — कहाँ चल्छ यस्तो रोस्ट शो? को मान्छे आफ्नो बेइज्जत हुन शोमा आउँछ?
तर उनीहरूले हिम्मत हारेनन्। शो ल्याइछाडे। दर्शकहरूले शो रमाइलो मानेर हेर्न थाले।
यही शोकै सिलसिलामा उनीहरूबीच प्रेम सम्बन्ध रहेको चर्चा हुन थालिसकेको थियो। त्यही भएर पनि आफूहरूले परिवारलाई प्रेम सम्बन्धबारे भन्न नपरेको श्रद्धाले बताइन्।
'हामीले हाम्रो प्रेमबारे आफै परिवारलाई सुनाउनै पाएनौं। हामी एउटा फिल्मको प्रिमियरमा गएका थियौं। त्यस बेला विक्की र श्रद्धाले सँगै बसेर प्रिमियर हेरे भनेर समाचार आएको थियो,' उनले भनिन्।
विक्कीले नेपालकी केटीसँग र श्रद्धाले सिक्किमको केटासँग बिहे गरूँला भन्ने त सोचेकै थिएनन्। त्यसैले उनीहरू दुवैलाई लाग्छ — कतिपय कुराहरू लेखेको हुँदोरहेछ!
बिहेपछि करिअर अघि बढाउन पनि सहज भएको उनीहरू बताउँछन्।
विक्कीका अनुसार 'आम्मा कस्सम याँ दुख्छ' ल्याइरहँदा युवा लक्षित मात्र शो भयो भन्ने गुनासो आउँथ्यो। त्यसैले उनीहरूले सबै समूहलाई लक्ष्य गरेर शो ल्याउने सोच बनाए।
उनीहरूले सोचेको शोका लागि बजेट ठूलो लाग्थ्यो। यसमा उनीहरूले चालेको ठूलो कदम थियो, एउटै सेटमा केही कमेडियन र केही नन–कमेडियन मार्फत् दर्शकलाई मनोरञ्जन गराउने।
त्यही अनुसार उनीहरू तयारीमा लागे। उनीहरूले शोबारे धेरैलाई अवधारणा सुनाउँथे।
धेरैले भन्थे — चल्दैन! चिनिएको अनुहार कोही छैन। यसमा कसले पैसा हाल्छ?
श्रद्धाले भनिन्, 'एक वर्ष त हामी प्रोजेक्ट लिएर दौडधुप नै गरिरह्यौं।'
विक्की आफूहरूको संगत पनि राम्रो भइदिएकाले शो सफल भएको बताउँछन्।
'टिममा हुनुभएका सबैले एकदमै हौसला दिनुभयो। उहाँहरूलाई धेरैतिरबाट प्रस्ताव आउँदा पनि जानुभएन,' उनले भने, 'हामीले पनि चलेन भने के गर्ने भनेर सोचेनौं। जसरी पनि चलाउनुपर्छ भनेर मेहनत गर्यौं।'
गायक सिडी विजय अधिकारी, मोडल तथा टिकटकर पवित्रा साँकी (मिस पबी) सहितलाई उनीहरूले कमेडीमा भित्र्याए। कमेडियनहरू सुन्दर खनाल, विश्वास तिम्सिना (बिटी कान्छा), पवन खतिवडा (म्याकुरी), उत्सव सापकोटा, हिमेश पन्त, सुजिता श्रेष्ठ, विकास अर्याल शोमा प्रस्तोताका रूपमा जोडिएका थिए।
अभिनेत्री गौरी मल्ल महारानी र अभिनेता विजय बरालले महाराजाको भूमिकाका लागि प्रस्ताव स्वीकार गरे। निर्देशनको बागडोर विक्की र श्रद्धाले सम्हाले। लेखनको काममा पनि केही प्रस्तोता जोडिए।
दर्शकले रूचाएका कलाकारहरू शोमा अतिथिका रूपमा जान थाले। कमेडी दरबारले सुरूबाटै गति लियो।
'अहिले हाम्रो शोमा हुनुभएका कलाकारहरू सबैलाई दर्शकले चिनेको देख्दा मनदेखि अत्यन्तै खुसी लाग्छ,' श्रद्धाले भनिन्।
विक्की पनि आफूहरूले जे सोचेर शो ल्याएको, सोही पाएको बताउँछन्।
'हामीले सोचेको कुरा स्क्रिनमा निकाल्न सफल भएका छौं जस्तो लाग्छ। दर्शकको प्रतिक्रिया पनि राम्रो पाइरहेका छौं,' उनले भने।
कमेडी दरबारको ३२ वटा एपिसोड प्रसारणमा आइसकेका छन्। विजय बरालको ठाउँमा मनोज गजुरेल भित्रिएका छन्। पहिले आफू प्रतिस्पर्धी हुँदाको जजलाई अहिले आफ्नो शोमा भित्र्याउन पाउँदा पनि विक्की निकै खुसी छन्।
कमेडी शोको यहाँसम्मको यात्रा हेर्दा विक्कीलाई लाग्छ — योजना प्रस्ट छ र कामप्रति इमानदार र लगनशील भइयो भने सफलता पाइँदो रहेछ।
हिजोआज शोमा कतिपय प्रस्तुतिलाई लिएर विवाद समेत हुने गरेको छ। सोही कारण कन्टेन्ट बनाउन डराउनुपर्ने अवस्था रहेको उनीहरूको अनुभव छ। शोमा निकै दुःखले बनाएको कमेडी काट्नुपर्दा निकै चित्त दुख्ने उनीहरू बताउँछन्।
'यसो भन्दा अरूको चित्त दुख्ने हो कि, पछि दृश्य काट्नुपर्ने हो कि भनेर डराउनुपर्ने अवस्था छ,' विक्कीले भने, 'प्रस्तुतिमा दर्शक मजाले हाँसिसकेका हुन्छन्। पछि त्यो काट्नुपर्दा कलाकारका लागि त्योभन्दा दु:ख अरू हुँदैन।'
अहिले पहिले जसरी खुला भएर लेख्न नसकिने उनको अनुभव छ। यसले कतिपय अवस्थामा स्तरीय कन्टेन्ट दिन नसकिरहेको उनको भनाइ छ।
कतिपयले नेपाली कमेडी शोको गुणस्तरमा प्रश्न उठाउने गरे पनि यहाँका कमेडियनहरू सक्षम रहेको उनी बताउँछन्।
'भारतीय कमेडी शोजस्तो नेपालको शो भएन भन्छन्। तर हाम्रा लेखकहरू सक्षम छन्। हाम्रो कार्यक्रम भारतीय कार्यक्रमभन्दा कम छैन,' उनीहरू भन्छन्।
सेतोपाटी कन्भरसेसनमा यी दुईले कमेडी च्याम्पियन, आफूहरूको प्रेम, विवाहदेखि कमेडी दरबारसम्मको यात्राको कुरा गरेका छन्।
हेर्नुहोस्, श्रद्धा र विक्कीको भिडिओ कुराकानी —