तेह्रथुमको तिनजुरे क्षेत्रमा पर्ने गुराँसको जंगलमा दमकलबाट पानी छिट्याएको एउटा भिडिओ केही दिन अघि ‘भाइरल’ भयो।
अघिल्ला वर्षहरूमा यतिबेला ढकमक्क गुराँस फुलेर राताम्ये बनिसक्ने जंगल यसपटक मुख्य सिजनमै खङ्ग्रङ थियो। अरूबेला गुराँसले ढाकिने जंगल रित्तै बनेपछि कोशी प्रदेश सरकार र लालीगुराँस नगरपालिकाको सल्लाहमा जंगलमा दमकलबाट पानी हालिएको थियो।
तेह्रथुमको तिनजुरे, संखुवासभाको मिल्के र ताप्लेजुङको जलजलेको संगमस्थल रहेको यो क्षेत्रलाई छोटकरीमा ‘टिएमजे’ (तिनजुरे–मिल्के–जलजले) भनिन्छ। गुराँसको राजधानीका रूपमा चर्चा कमाएको टिएमजेको दक्षिणी भेगमा यसपटक मुख्य सिजनमै गुराँस फुलेन।
मास्तिर तिनजुरेको दक्षिण पूर्वी मोहडामा गुराँस नफुलेकै कारण तल्तिर विराटनगरमा रहेको कोशी प्रदेश सरकारलाई टाउको दुखिरहेको थियो। कारण थियो, बुधबार (चैत २७) कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को औपचारिक सुरूआत टिएमजेको त्यही दक्षिणी बेल्टमा रहेको आरआर गार्डेनबाट हुँदै थियो।
कार्यक्रम उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा निम्त्याइएका थिए। नेपालका पर्यटन व्यवसायीहरू मात्रै होइन, भारतका व्यवसायी र राजनीतिज्ञ पनि निम्तालु थिए।
मुख्यमन्त्री हिक्मत कार्की र वन वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले संयुक्त हस्ताक्षर गरेको निम्तापत्र बाँडिसकिएको थियो। प्रधानमन्त्री नै आउने भएपछि तिनजुरेको जंगल क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्याउन स्थानीय प्रशासनले रुखरुखमै सिसी क्यामेरासमेत जडान गरिसकेको थियो।
यति धेरै तयारी गरिसक्दा पनि कार्यक्रमस्थल रहेको गुराँसको जंगल भने रित्तै थियो।
‘पानी हाल्दा फुलिहाल्छ कि भन्ने लागेर दमकलबाट पानी हालियो,’ पर्यटन मन्त्रालयका एक कर्मचारीले भने, ‘तर, जंगलको तल्लो बेल्टमा गुराँस फुल्दै फुलेन।’
दमकलबाट पानी हालेर जोडबल गर्दा पनि जसरी जंगलमा गुराँस फुलेन, प्रधानमन्त्री ओली पनि पर्यटन वर्ष उद्घाटनमा आएनन्। अन्तिम समयमा प्रधानमन्त्री ओली नआउने जानकारी काठमाडौंबाट आएपछि उपप्रधानमन्त्री प्रकाशमान सिंह आएर पर्यटन वर्षको उद्घाटन गरेका छन्। भारतीय लोकसभा सदस्य रामप्रित मण्डल पनि कार्यक्रममा आएका थिए।

अघिल्ला वर्षहरूमा चैत दोस्रो साता नै ढकमक्क भइसक्ने गुराँस यसपटक चैत बित्नै लाग्दासम्म किन फुलेन? कुन प्राकृतिक तलवितलले जंगल रित्तै हुने अवस्था आयो? यसबारे हामी चर्चा गर्नेछौं।
त्यसभन्दा अघि प्रधानमन्त्री आउने भनेर ठूलो प्रचार गरिएको तर उनी नआएको विषयमा कुरा गरौं।
गएको असोज ११ मै कोशी प्रदेश सरकारले विसं २०८२ लाई कोशी प्रदेश पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको थियो। लगत्तै मूल समारोह समिति, उपसमितिहरू गठन गरेर वन वातावरण तथा पर्यटन मन्त्रालयमा सचिवालय नै खडा गरिएको थियो।
कोशी सरकारले पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्रीले गर्ने भनेर महिना दिनअघि नै प्रचार थालिसकेको थियो। मुख्यमन्त्री, मन्त्रीहरू, उनीहरूको सचिवालयका कर्मचारी, प्रदेशका सरकारी कर्मचारीहरूदेखि पर्यटन वर्ष मनाउन भनेर गठित जम्बो समितिका सबैले प्रधानमन्त्री आउने भन्दै आ–आफ्ना फेसबुकमार्फत प्रचार गरेका थिए।
तर, मंगलबार साँझतिर प्रधानमन्त्री आउन नसक्ने खबर उनीहरूले पाए। तेह्रथुम जिल्ला प्रशासनले पनि बुधबारको कार्यक्रममा प्रधानमन्त्री नआउने जानकारी मंगलबार साँझ मात्रै पाएको थियो।
‘प्रधानमन्त्री आउने भनेरै सुरक्षा व्यवस्था चुस्त पार्न जंगलमै सिसी क्यामेरासमेत जडान गरिसकेका थियौं। तर नआउने खबर हामीले हिजो राति मात्रै पायौं,’ तेह्रथुम जिल्ला प्रशासनका एक अधिकृतले भने।
कोशी प्रदेशका विभिन्न सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री आउने भनेर अन्तिम दिनसम्म प्रचार भएर पनि उनी नआएको यस्ता घटना धेरै भइसकेका छन्।
यसअघि एमालेनिकट प्रेस चौतारी नेपालको दशौं महाधिवेशनमा पनि अन्तिम समयमा ओली नआउने खबर आएको थियो। गएको फागुन १७ मा एमाले मोरङको दशौं जिल्ला अधिवेशनमा पनि अन्तिम समयमा मात्रै प्रधानमन्त्री ओली नआउने जानकारी काठमाडौंबाट आएको थियो।
उद्योग संगठन मोरङले गत माघ ११ देखि २० सम्म व्यापारिक महोत्सवको आयोजना गरेको थियो। सुरूमा आयोजकले प्रधानमन्त्री ओलीको सचिवालयसँग समय लिई माघ ११ गते शुक्रबार महोत्सवको उद्घाटनको तयारी गरेका थिए। तर, त्यही बेला एक दिन पर सार्नु भनेर सचिवालयबाट आएको निर्देशन पालना गर्दै आयोजक उद्योग संगठन मोरङले कार्यक्रम सार्यो। तर, सारेको दिन पनि प्रधानमन्त्री भने विराटनगर आएनन्।
यसअघिका कार्यक्रममा जस्तै बुधबारको कार्यक्रममा आउँछु भनेका प्रधानमन्त्री ओली अर्घाखाँचीको कार्यक्रममा भने पुगेका थिए। यता आउँछु भनेर प्रधानमन्त्री किन अर्घाखाँचीतिर भनेर हामीले उनको सचिवालयलाई सोधेका छौं।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाइँले ‘प्रधानमन्त्री बुधबार कोशी प्रदेश जाने कुनै कार्यक्रम नै नरहेको’ बताए।
अनि यता त प्रदेश सरकार स्वयंले प्रधानमन्त्री आउने प्रचार गरिरहेको थियो नि भन्ने प्रश्नमा बजगाइँले भने, ‘प्रचार गरेर मात्रै भएन नि, प्रधानमन्त्रीले समय दिएको हुनुपर्यो। उहाँको पूर्व निर्धारित कार्यक्रम अर्घाखाँचीको थियो।’
कोशीका पर्यटनमन्त्री सदानन्द मण्डलले भने, ‘अर्कोतिर विशेष कार्यक्रम परेर प्रधानमन्त्री नआउनुभएको’ जानकारी दिए।
‘समय नलिएको भन्ने कुरा सत्य होइन, म आफैंले उहाँलाई निम्ता गरेर समय फिक्स गरेर आएको थिएँ,’ उनले भने, ‘उहाँको सचिवालयले के भन्छ त्यो त म जान्दिनँ।’
यसर्थ फुलेन गुराँस
हालसम्म तिनजुरे–मिल्के–जलजले वनमा ३२ प्रजातिका गुराँसको पहिचान भइसकेको छ। तिनजुरेको दक्षिण भेगमा यसपटक गुराँस चाहिँ किन फुलेन त?
वनस्पति शास्त्रका अध्येताहरूका अनुसार समयमै गुराँस फुल्न नसक्नुका पछि मुख्यतः दुइटा कारण हुनसक्छ। लामो समयसम्म पानी पर्न नसक्दा र लामो समयसम्म गुराँसको जंगललाई हिउँले ढाकेको अवस्थामा गुराँस फुल्न सक्दैन।
‘यसपटक लामो समय पानी पर्न नसकेर तिनजुरेको दक्षिण क्षेत्रमा गुराँस नफुलेको हो,’ वनस्पति शास्त्रका अध्येता कमल मादेनले भने, ‘लामो समय पानी नपर्दा सुख्खा बढी भयो। सुख्खा धेरै भएपछि गुराँसको बोटले खानेकुरा बनाउनै पाएन। गुराँसका बोट भोकै हुनपुगे। त्यसैले तल्लो बेल्टमा गुराँस फुल्दै फुलेन, फाटफुट फुलेका गुराँस पनि खानै नपाएको जस्तो देखिएको छ।’
गुराँसकै अध्ययनका लागि साताभन्दा बढी समयदेखि टिएमजे जंगल चहारिरहेका मादेनले दिएको जानकारी अनुसार वनको सबैभन्दा माथिल्लो क्षेत्रमा गुराँस राम्रोसँग फुलेको छ। तर, बिहान सबेरैदेखि साँझ अबेरसम्मै घाम लागिरहने दक्षिणी बेल्टमा भने गुराँस छैन।
‘पहिलो कुरा त तल्लो क्षेत्रको जंगलको स्वास्थ्य नराम्रोसँग बिग्रिसकेको छ,’ मादेनले सुनाए, ‘जंगलमा सबै हजुरबा पुस्ताका रूखहरू मात्रै छन्। चिस्यान हुनलाई मिडिल लेयर हुनैपर्छ। जंगलमा त्यही मिडिल लेयर छैन। अनि जंगलको तल्लो क्षेत्रमा पत्कर पनि छैन। पत्कर जति मल बनाउने ट्रयाक्टरमा उठाएर लगिँदो रहेछ। यही कारण गुराँसका बोटहरू भोकै भए। भोका वनस्पतिले फुल फुलाउन सक्दैन।’
मादेनका अनुसार समुद्र सतहको २२ सयदेखि २७ सय मिटरसम्मको उचाइँ भएको ठाउँको जंगलमा गुराँस फुल्न सकेको छैन।
‘२२ सयभन्दा माथि २७ सय मिटरसम्मको क्षेत्रमा गुराँस नै छैन,’ उनले थपे, ‘कि २७ सयभन्दा माथिको उचाइँमा गुराँस छ। कि २२ सयभन्दा तलको उचाइँमा मात्रै गुराँस फुलेको छ। यो सबै चिस्यान अभावको परिणाम हो।’
वनस्पति शास्त्री रामचन्द्र अधिकारी मादेनको तर्कसँग सहमत छन्।
अधिकारीका अनुसार वातावरणमा आएको परिवर्तनका कारण पनि गुराँस कम फुलेको हुनसक्छ।
‘तापक्रम लगातार बढ्ने क्रममा छ। पर्याप्त पानी पनि पर्न सकेको छैन। गुराँस फुल्नलाई चाहिने चिसो नपुगेकै कारण फुल्न नसकेको हो,’ उनले भने, ‘चिसो नपुगेपछि माटो पनि चिसिन्न। त्यसैले जहाँ चिस्यान भयो त्यहाँ गुराँस फुल्यो, चिस्यान नभएको ठाउँमा फुलेन।’