एक मनुष्य लाखौँ पाइला हिँडेपछि
टक्क पाइला रोकेर लामो सास फेर्दै
आफैलाई बडेमानको प्रश्न गर्छ
म जीवनले खनेको गोरेटोमा छु
दोसाँध, दोबाटोमा छु
अँ साँच्चै, आफैलाई प्रश्न सोध्नु जायज हो?
अनुत्तरित हुने हो कि?
खैर म जीवनको यात्रामा निस्किएको मानिस
राख्छु प्रश्न जवाफ त प्रश्न राखेपछि न आउने हो
यात्रा ठुलो कि गन्तव्य?
सुरुवात मूल्यवान् कि अन्त्य?
मनमनै मुस्कुराउँदै भन्छ-
मुख्य कुरा यात्राको थालनी
यात्रा ठुलो अलपत्र भए पनि
सयपत्रीको पत्र सरी जीवन
पत्र पत्रमा विभाजित छ
खण्डित भई नसकेको अखण्डित छ
ए जिन्दगी
भोक कि भोजन?
भोक मेटाउने भोजन मिठो
परिकार कि व्यञ्जन?
पेट भरियोस् रहे पनि स्वाद पाती झैँ तितो
चित्र होइन चरित्रले जित्यो
जिम्मेवारीले पढाउँछ पाठ
जीवनमा सत्कर्म ठिक हो
आस्था र विश्वासलाई मुठ्ठीमा
यी हातले बाल्नुपर्छ आशाहरूको दियो
पाउहरूले यी धर्ती टेकेका छन्
तिमी नै तिम्रो जीवनको मियो
यात्रा जारी राख
भिड अर्को तिर, तिमी एक्लै हिँड्न सक्नु जित हो
यति जवाफ पाएपछि-
ए मनुष्य यात्रा नरोक
जीवन निरन्तर यात्रा न हो।