हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतियादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै दिदीबहिनीहरु माइतीघरमा जम्मा भएर नाचगान गर्दै मनोरञ्जन गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ । हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन भएकैले आजसम्म हिन्दु नारीहरूले यो मनोकामना सिद्धीको लागि यो पर्व मनाउदै आएका छन् ।
वर्षायामको लहरसँगै नागपञ्चमीदेखी हिन्दु नेपालीका मुख्य चाडपर्वहरु शुरु हुन्छन । चाडपर्वको सुरुवाती पर्व हरितालिका तिजले ठूलो महत्व बोकेको छ । यसका बिभिन्न धार्मिक, सास्कृतिक र पारिवारिक महत्वका पाटाहरु लुकेका छन्। तर आधुनिकताको नाममा तिजमा देखिएको तडकभडक र तिजका गीतमा देखिएको बिकृतीले यो पवित्र पर्वको गरिमामा धब्बा लगाइदिएको छ। तीज आउनुभन्दा दुई तीन महिनाअघिदेखि बजारमा आउने तीज गीतलाई कुनै अर्थमा पनि तीजका गित मान्न सकिदैन। तीजको अवसरमा गाइएका गितहरु रत्यौली हुन कि झ्याउरे हुन खुट्याउन कठिन छ।
भगवानलाई चढाउन के के पाहुर चाहिन्छ?बरिलै फुलपाती अक्षता....हरिदेवी कोइरालाले गाएको यो गीत आमा हजुरआमाको जिब्रोमा झुन्डिएको गीत हो । यस्ता मिठा शब्द सजाएका पहिलेका गीत अहिलेको पुस्ताले सुन्दैनन्।
गोठमा राम्रो माली भन्ने गाइले माइतीमा राम्रो दाजु भाइले.... चेलीहरु समाजमा भएका घटना, अत्याचार र आफ्ना कष्टहरुलाइ गीतमा फुकाउँथे अहिले निकै उताउलो र भड्किलो बन्दै गइरहेको छ तीज। नारीको चाड भनिए पनि गीतमा, नाचमा रत्यौलीको झल्को देखिन्छ। गीतका शब्द उस्तै उताउला, अपाच्य लाग्ने खालका दोहोरो अर्थ लाग्ने खालका, भिडियो उस्तै परिवारका सदस्य बसेर हेर्न नमिल्ने खालको यस्तै अवस्था रहीरहने हो भने भोलिको पुस्ताले कसरी तीजको गरिमा सम्झला ?
पुरुषहरुले तीजका गीत गाउनु हुँदैन भनिएको होइन, पहिलेपहिले पनि गाउँथे तर भाइ, दाइको भूमिकामा रहेर सभ्य तरिकाले गाउँथे । अहिले मायाँ प्रितिका , डेटिगंमा भेट्ने खालका गीतमा पुरुष मस्किएर नाचेको देखिन्छ। नेपाली लोक गीत संगीतमा आएको बिकृति हटाउने भनेर खोलिएका संस्थाका जिम्मेवार व्यक्तिले बजारमा ल्याएको तीज गीत लुतो हो कि पिलो निकै विवादित बन्यो।
बिगतको तीज गीत ढाडे बिरालो जस्तै यो गीत पुरै दुई अर्थ लाग्ने खालको छ।
आधुनिकता र पूँजीवादको नाममा विकृतिले ठाऊँ पाउँदै गएको छ। आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन्। तिजमा गितमा देखिएको विकृती मेटाउन सबैभन्दा पहिला जसले गीत गाउने हो उसले नै आफू कस्तो गीत गाइरहेको छु भन्ने कुरा बुझ्नुपर्छ।
दसैंको गीत दसैंको जस्तो हुनुपर्छ, तिहारको गीत तिहारको जस्तो हुनुपर्छ भने तीजको गीत जस्तो गाए पनि हुन्छ ? चलचित्रमा सेन्सर बोर्ड छ तर लोकसंगीतमा सेन्सर बोर्ड छैन त्यही भएर पनि छाडापनले ठाऊँ पाएको हुन सक्छ। हाम्रो सम्पत्ति भनेको संस्कार हो। तीजको मौलिकता लोप भयो भने हाम्रो संस्कृतिको एउटा पाटो नै उजाडिन्छ।
गायिका हरिदेवी कोइरालको भनाइमा ‘तीजका गीत भनेका पर्व गीत हुन्। यसलाई ख्याल गर्नैपर्छ सर्जकहरुले। तीजलाई तिज जस्तो गाइदिनु पर्यो। तीजमा चेलीले माइतीको बाटो हेरिरहेकी हुन्छे। बाबुआमा, दाजुभाइको बाटो हेरिरहेकी हुन्छे। बाबुआमा, दाजुभाइ छैनन् भने काका काकी या अन्य कुनै दाजु भाइ लिन आउँछ कि भनेर बाटो हेरिरहेकी हुन्छे। यसको मतलव उनीहरु भेटभएपछि चेली र माइतीबीचको सम्बन्ध र सुखदुःख साटासाट नि हुन्छ नि। अरु कुरा त हुँदैनन्। यति ठूलो पारिवारिक आयाम जोडिएको छ। माया प्रेम नै सबथोक हो भन्ने सोँचबाट हामी अलग हुनुपर्छ। पहिला म के गर्दैछु र यसको विशेषता के हो भन्ने बुझ्नुपर्छ। पछिल्लो पुस्तालाई निराशा मुलक गीत भन्दा पनि कही आशा जगाउने खालका गीतहरु दिनुपर्छ।’
अहिले त नेपालमा भन्दा पनि विदेशमा बस्ने नेपालीमा तीजको मोह देखिन थालेको छ। महिनौं अगाडिदेखि कलाकार बोलाएर तिज मनाउन थालेका छन्। कलाकारलाई राम्रै फाइदा पुगे पनि संस्कृति जोगियो कि जोगिएन भन्ने कुरा प्रधान हो। स्वदेशभित्रै पनि विभिन्न संघसस्था र कार्यालयहरुले समेत आफ्ना कर्मचारीलाई दर खुवाउने गर्छन्, गाऊँदेखि शहरमा जम्मा भएका चेलीलाई एकै ठाऊँमा भेला गराउने चलन बढेको छ। आफ्ना आफन्त भेला पार्नु रमाइलो गर्नु सकारात्मक पक्ष हो तर चाडको गरिमालाई लत्याउन भएन।
सनातन हिन्दु धर्मावलम्बी महिलाहरुको पवित्र तथा महान पर्व तिज बिकृतीमा परिणत भयो। घरमा परिवार आमा दिदी बहिनीहरुको सामु बसिरहेका बेला टिभिमा कुनै तीज गित बज्यो आफू बसिरहेको ठाउँ छोडेर हिड्नपर्ने अवस्थासम्म भोगिएको अवस्था छ। भोलिका दिनमा यस्तो अवस्था नदोहारियोस तिजको सबै महिलालाइ शुभकामना।