वसन्त ऋतुको आगमनसँगै जंगलभरि, हाम्रो वरिपरि, मानव बस्ती नजिक, खेतबारी र बगैँचामा बसेर आफ्नो मधुर स्वरले वातावरण गुञ्जायमान र संगीतमय बनाउने चरा हो— कोइली। कोइली एक सुन्दर र रहस्यमयी चरामध्ये एक हो। यसको विशेषता भनेकै मधुर स्वर हो।
नेपालमा जम्माजम्मी १५ प्रजातिका कोइली पाइन्छन् र सबै प्रजातिहरू कुकुलिफर्मिस भन्ने अर्डरको कुकुलिडाइ भन्ने परिवारअन्तर्गत पर्दछन्। कोइली प्रजाति नै भए तापनि सबै कोइलीको नेपाली नाम भने कोइली छैन। जस्तै- ‘लार्ज-हक कुकु’ लाई ‘बिउकुहियो’ र ‘कमन हक- कूकू’ लाई ‘गोलसिमल’ भनिन्छ।
१५ प्रजातिका कोइली मध्ये ३ प्रजातिहरू स्थायी रूपमा वर्षभरि नै नेपालमा पाइन्छन् भने बाँकी १२ प्रजातिहरू प्रवासी हुन्। यी प्रवासी चराहरू गर्मी मौसममा दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका देशहरू (भारत, श्रीलंका) हुँदै प्रजननका लागि नेपालका पहाडी तथा हिमाली क्षेत्रमा आउने गर्छन्। यिनै कोइलीमध्ये एक हो— कोहो कोइली। आज हामी यसकै बारेमा कुरा गरौँ है त!
कोहो कोइलीको अङ्ग्रेजी नाम एसियन कोल हो भने वैज्ञानिक नाम ‘युडिनामिस स्कोलोपाकस’ हो। यो कोइली ठुलो र लामो पुच्छर भएको हुन्छ, जसको लम्बाइ करिब ४३ सेन्टिमिटर हुन्छ। यसको भाले र पोथीको भिन्न स्वरूप हुन्छ। भाले कोइलीको शरीर चम्किलो कालो रङको हुन्छ भने पोथीको खैरो र सेतो धर्सासहितको हुन्छ। मिठो मधुर स्वरमा कराउने अनि आँखा रातो हुने भएकाले चिन्न पनि सजिलो हुन्छ।
व्यवहार, वासस्थान र परजीवी प्रजनन
कोहो कोइली पूर्वी नेपाल र पश्चिम नेपालको तराई भेगमा प्राय: स्थायी रूपमा पाइने भए पनि केही अध्ययनहरूले देखाएअनुसार जाडो मौसममा तल्लो तराई तथा भारतीय उपमहाद्वीपतिर देखिन्छन् भने गर्मी महिनामा बसाइसराइ गरी पहाडी क्षेत्रमा आउने गर्दछन्। गर्मी मौसममा जंगल, बगैँचा, खेतीयोग्य क्षेत्र, तथा मानव बस्ती नजिकका रुख बिरुवामा सजिलै देख्न सकिन्छ।
यो चरा सामान्यतया १३ सय ७० मिटरभन्दा तल बस्छ, तर कहिलेकाहीँ १८ सय मिटरसम्म पनि देखिन्छ। यो कोइलीको एक अनौठो बानी हुन्छ, यसले कहिल्यै आफ्नो गुँड बनाउँदैन र अरू चराको गुँडमा विशेष गरी कागको गुँडमा गएर पोथी कोइलीले सुटुक्क अण्डा पार्छ। यसलाई परजीवी प्रजनन भनिन्छ।
यसो भन्दै गर्दा काग पनि कति लाटो भन्ने पक्कै होइन, उसले पनि कोइली आफ्नो गुँड नजिक आउँदा धपाउने गर्छ तर कोइलीले भने काग नभएको मौका पारी अण्डा पार्छ। एक पटकमा २ देखि ५ वटासम्म अण्डा पार्ने अनि रङ र आकार पनि कागका अण्डासँग मिल्दोजुल्दो हुनाले पनि कागले आफ्नो होइन भनेर चिन्न सक्दैन।
कोहो कोइलीले अण्डा परेको १२-१४ दिन भित्रमा बच्चाहरू कोरलिन्छन्। कोइलीका चल्लाहरूले जन्मिएको केही दिनमै कागका अन्य चल्लाहरूलाई गुँडबाट फ्याँक्न सक्छन् जसले गर्दा कागले अनजानमै कोइलीको बच्चा मात्र हुर्काउने गरेको पाइन्छ।
मधुर स्वर, आहार र स्वभाव
कोहो कोइलीको स्वर निकै मधुर हुन्छ। विशेष गरी भाले कोइलीले वसन्त ऋतु (फागुनदेखि असारसम्म) मा ‘कु-ऊ कु-ऊ’ आवाज निकालेर आफ्नो जोडी तान्न तथा आफ्नो क्षेत्र चिन्हित गर्न गाउने गर्छ। जबकि पोथी कोइली भने कम गाउने र कराउने स्वभावकी हुन्छ। यो फलफूल खाने चरा हो। यसले बकाइनो, पिपल, किम्बु, आँप, अम्बा तथा लहरे फलफूलहरू खान औधी मन पराउँछ भने खास गरी बच्चा हुर्कँदा पोथी कोइलीले साना किरा, माकुरा, फटयांग्राहरू पनि खाने गर्छ।
यो कोइली लुकेर बस्ने स्वभावको हुन्छ, जसका कारण यसको आवाज गुञ्जायमान भए पनि बाक्लो पात भएका रुखहरूमा बस्ने र चिप्लिएर बग्ने शैलीमा उड्ने भएकाले सजिलै देख्न भने गाह्रो पर्छ।
महत्त्व
कोइलीले बीउ फैलाउने र किरा फट्याङ्ग्रा खाएर खाद्य शृङ्खलामा महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसै गरी यसको प्रजनन रणनीतिले होस्ट (जस्तै: काग) प्रजातिहरूको संख्यामा सन्तुलन कायम राख्छ। वसन्त ऋतुको आगमनको संकेत भनिने कोइलीको मिठो स्वरलाई नेपाली साहित्यमा प्रेम, वियोग, र सौन्दर्यको प्रतीकको रूपमा पनि चित्रण गरिएको पाइन्छ।
हाल नेपालमा कोइलीको सङ्ख्या स्थिर देखिए पनि वासस्थानको विनाश, जलवायु परिवर्तन र खाद्य स्रोतको अभावले यसको भविष्यमा असर पार्न सक्छ। त्यसैले यसको संरक्षणको लागि हरियाली क्षेत्रको प्रवर्द्धन, जैविक विविधताको संरक्षण, र किटनाशकको न्यून प्रयोग जस्ता उपाय अपनाउनु आवश्यक छ।
कोइली प्राकृतिक सौन्दर्य र संगीतको प्रतीक भएकाले यस चरालाई बचाउन र यसको मधुर ध्वनि भविष्यका पुस्ताले पनि सुन्न पाउनको निम्ति यसको वासस्थान संरक्षणमा ध्यान दिनुपर्छ।

(तस्बिर: भाले कोइली चरा/अदिस दुलाल।)
(तस्बिर: पोथी कोइली चरा/अदिस दुलाल।)
(लेखक वातावरण विज्ञान केन्द्रीय विभागबाट स्नातकोत्तर तह उत्तीर्ण गरी हाल चरा सम्बन्धी अध्ययन अनुसन्धानमा आबद्ध छन्।)