त्यो बेला हाम्रो मूल घर सिन्धुलीको तीनपाटनमै थियो। सागरनाथको शान्तिपुरस्थित घरमा भने हाम्रो परिवारमा हाम्रै पुस्ताको म र दिदी मात्र थियौँ। म बयलबासको बजारको स्कुलमा कक्षा ४ मा पढ्न भर्ना भएको थिएँ। तीनपाटनको बेलघारीस्थित चन्द्रावती स्कुलबाट तीन कक्षा पास भएर गएको थिएँ।
त्यहाँ गोकर, बेचन, जुठे, सेते, कृष्ण, बुधे आदि साथी थिए मेरा। यी गुलेली बोकेर हिँड्थे र गुच्चा खेल्थे। गुच्चा खेलेर गुच्चा नै जित्थे। म गुच्चा खेल्न जान्दिन थिएँ। केही प्रयत्न त मैले पनि यी दुवै काममा गरेँ तर पछिसम्म पनि मैले कुनै योग्यता हासिल गर्न सकिनँ— यी खेलमा। देब्रे हात चल्ने मेरो। यो अयोग्यताको सबै दोष म यही देब्रे हात बढी चल्नुलाई दिने गर्दथेँ।
यिनै दिनमा साथीहरूका बिच एकाएक मित लगाउने लहरको उठान भयो। उठान भएको मात्र होइन; साथीहरू भकाभक मित लगाउनै लागे। मलाई आफू पछि परेको अनुभूति भइरहेको थियो। दिदीले पनि बमजन हजुरआमाकी नातिनी मसिनीसँग मितेनी लगाउनु भएछ।
दिदीले पनि मित लगाएको थाहा पाएपछि म आत्तिएँ। सबै मित भइसके; हिजोसम्म नामले बोलाउने मान्छेहरू अब ‘मितज्यू’ भनेर बोलाउन थालिसके, गुच्चा खेल्दा केही विवाद पर्यो भने मितको हितमा बोल्न थालिसके, चकलेट सकलेट किन्दा पहिले मितलाई दिने क्रम पनि प्रारम्भ भइसक्यो। झगडा पर्दा मितको पक्ष लिन सुरु भई नै सक्यो। तर मसँग भने मित लगाउने मान्छे नै अहिलेसम्म कोही देखिएको छैन बा!
एक दिन कृष्णलाई भनेँ— ‘मसँग मित लगाउँछस्?’
उसले बुधेसँग मित लगाइसकेको रहेछ। मलाई त्यही जानकारी दियो। र, भन्यो— ‘मैले अब किन तँसँग लगाउने मित?’
मलाई थचक्क बसेर त्यहीँ रोऊँ रोऊँ लाग्यो। रोदन मिसिएको स्वरमा मैले भनेँ— ‘एक जनासँग लगाएपछि अर्कोसँग मित लगाउनु हुँदैन र! मसँग पनि लगा न।’
कृष्णले मेरो प्रस्तावमाथि खासै सुनुवाइ गरेन।
तिन ताका स्कुलमा बिहानको पढाइ थियो। बिहानको पढाइ हुँदा स्कुल हिँड्ने बेलामा कहिलेकाहीँ खाजा खान भनेर बाले मलाई पैसा दिनु हुन्थ्यो। म स्कुल त जान्थेँ तर मित लगाउन जोडी नभेटेकोमा मनभरि औडाहा बोकेर जान्थेँ। स्कुलमा मेरा साथी थिए— जगतनारायण, उसको भान्जो प्रमिल र पोखरीटोलको शभ्भुवंश मैनाली।
प्रमिल र शम्भु पनि मित रहेछन्; एक अर्कालाई नाम काढेर नबोलाउने, एक अर्कालाई मितज्यू मितज्यू भन्ने। यिनीहरूबिच म थिएँ— नयाँ विद्यार्थी। के भाउ दिन्थे!
मेरो भने न टोलमा मित भए, न स्कुलमै!
राति सुत्दा पनि यही रनाहामा धेरै बेर मनमा कुरा खेल्न थाल्यो।
एक दिन लाग्यो— ‘आज खाजा साजा खान्नँ। बरु कृष्णलाई पुष्टकारी र झिल्ली किनेर लगिदिन्छु।’
स्कुलको बजारपट्टिको मुखमा थियो— मण्डलजीको मुराई, कचडी, पुष्टकारी, झिल्ली, जुलेबी र चिउरा तरकारी बेच्ने पसल। स्कुलबाट फर्किँदा मैले त्यही पसलमा पुष्टकारी र झिल्ली किनेँ र गोजीमा हालेँ।
म टोलमा पुग्दा कृष्ण डगरमा साथीहरूसँग गुच्चा खेल्दै रहेछ। सबैलाई दिन मसँग भएको पुष्टकारी र झिल्ली पुग्दैनथ्यो। सबैलाई दिँदा मेरो कृष्णसँगको विशेष अनुराग व्यक्त पनि हुँदैनथ्यो। मैले कृष्णलाई सङ्केत गरेर बोलाएँ, उसले देख्या नदेख्यै गर्यो। मैले हार मान्नु हुँदैनथ्यो। मौका छोपेर कानमा खुसुक्क भनेँ— ‘आइज न, तँसँग मेरो कुरा छ क्या!’
खुसुक्क भनेँ झैँ लागेको थियो, सेतेले सुनेछ। हाँस्दै भन्यो— ‘मैले बुझिसकेँ, त्यही मित लगाउने कुरा होला।’
कृष्ण आयो तर हाम्रो खासखुस अरूको गम्भीर निगरानीमा पर्यो। यस्तोमा कसरी हुन सक्छ खास कुरा! मैले गोजीमा हात हालिनँ।
त्यस दिनभरि मैले कृष्णकै निगरानी गरेँ। दिउँसो मैले उसलाई एक्लो फेला पारेँ। अनि गोजीमा हात हालेँ।
पुष्टकारी पग्लिएर कपडाभरि लागेछ। झिल्ली पनि ढुटो भएर त्यसैमा लतपत भएछ। त्यसमा जे जति निकाल्न सकिन्थ्यो, निकालेँ। अनि केही पुष्टकारी र झिल्ली उसको हातमा दिएँ। केही मैले खाएँ। यसै बिचमा मैले सोधेँ— ‘मसँग मित लगाउँछस्?’
कृष्णले बल्ल टाउको हल्लायो।
मित लगाउँदा केही सामान साट्नु पर्छ भन्ने थियो। के साट्नु! रुमाल बोक्ने चलनै थिएन। टोपी पनि थिएन। चप्पल पनि थिएन। कापी कलम कृष्णलाई के काम! साँच्चै, के साट्नु हँ!
नजिकै ठुलो थुङ्गा फुल्ने बाह्रमासे रातो फूलको बोट थियो। हामीले केही फूलहरू टिप्यौँ र साटासाट गर्यौँ। अनि जोडले अङ्कमाल गर्यौँ। टाउको ठोक्काउनु पर्छ भन्ने पनि थियो, हामी परम्परावादी थिएनौँ। त्यसैले ठोक्काएनौँ।
यो अङ्कमाल नखोलीकनै हामी लाग्यौँ— शान्तिपुरकै तल्लो टोलतिर। टोललाई एक फन्का लगायौँ अनि खेततिर पस्यौँ। र, हामी पुग्यौँ— भरखर दाइँ सकिएको खलिहानमा। खलिहानमा लगभग सबै काम सकिएकै थियो, केही पराल भने बाँकी नै थियो। हामीले सलाई कोरेर त्यसैमा झोसिदियौँ आगो! पराल ह्वार-ह्वार बल्न थालिहाल्यो। रमाइलो लाग्यो तर यो रमाइलो अल्पायुको रहेछ, डर लाग्न थाल्यो।
टोलमा सबैले छुच्ची भन्थे— बमजननी हजुरआमालाई। यो खलिहान बमजननी हजुरआमाकै रहेछ। घरबाटै नानाभाँती फलाक्दै आइहाल्नु भयो। हामी अलमल्ल पर्यौँ। भाग्ने आँट र सुद्धी पनि आएन। हजुरआमाले हामीलाई खलिहानमै भेट्नु भयो र परालले दुवै जनालाई पाता कसेर कङ्कला शब्द गर्दै घरमा लिएर आउनु भयो। घरमा रमिता हेर्न चाहने मान्छेहरूको राम्रै संख्या रहेछ, भिड लागिहाल्यो।
हामीलाई हामीबाट ठुलै गल्ती भएको छ भन्ने झैँ लागेको थिएन। तर मान्छेहरू ‘यिनीहरूलाई बजारको पुलिस चौकीमा लैजानु पर्छ’ पो भन्न थाले।
दिदीले थाहा पाउनु भएछ। आउनु भयो। मसिनी दिदीसँग उहाँको मितेरी सम्बन्ध आलै थियो। दिदी र मसिनी दिदीले हजुरआमाको हात तानेर घरभित्र लैजानु भयो। अनि दुइटी दिदीहरूको जमानीमा हामी दुवै मितको पाता खोलियो।
कृष्णसँग मित लगाएपछि मैले बुधेलाई महामित भन्न थालेको थिएँ। कृष्णको परिवारमा ऊ, उसको बा अनि बहिनी मुना जम्मा तीन जना। मैले उसको बालाई मित बा र बहिनीलाई मित बहिनी भन्नु पर्छ भन्ने बुझिसकेको थिएँ। उसको बा तास खेल्नु हुन्थ्यो, दिनभरि तासकै खालमा देखिन्थ्यो। खड्का बाको घरमा थियो— उनीहरूको बसोबास। कृष्ण कहिलेकाहीँ सुर्तीको फट्टा बनाउन जान्थ्यो।
म चार कक्षा पास भएपछि फेरि तीनपाटन फर्काइएँ। केही वर्ष यतै बित्यो। सात कक्षा उत्तीर्ण गरेर फेरि पढ्न बयलबास जाँदा कृष्ण मात्र होइन, उसको परिवारका कोही पनि त्यहाँ थिएनन्।
सुन्थेँ— ‘कृष्ण विराटनगरतिर छ। बहिनीको पनि उतै बिहे भयो।’
कृष्णका बारेमा मैले सोध्न छाडिनँ। अझै पनि शान्तिपुरबाट दिदी र अन्य आफन्तसँग भेट हुँदा त्यति बेलाका साथीहरूका बारेमा त सोध्छु नै, कृष्णको बारेमा पनि सोध्छु।
अलिपछि त उसका बारेमा अलि नराम्रा कुराहरू सुनिन थाले। जहाँ र जस्तो अवस्थामा भए पनि मेरो एक मात्र मित कृष्णबहादुर कार्कीको जय होस्।