'मेरो विगत कसैको लागि प्रेरणा बन्न सक्छ बैनी?,' साथीकी दिदीले कौतुहलता राख्नुभयो।
'हरेक व्यक्तिको विगत आफैमा इतिहास हो दिदी।'
'मेरो अलि फरक छ बैनी। म महिलेको यो दिदी त्यसै भएको होइन नि। यसको लामो इतिहास छ।'
दिदीले अरू छोरीहरूलाई, बहिनीहरूलाई प्रेरणा होस् भन्ने अभिप्रायले आफ्नो अनुभव पस्किन थाल्नुभयो।
'म कक्षा आठमा पढ्दै गर्दा घरमा बिहेको कुरा चल्यो। लगभग परिवारका सदस्यको सहमति भएको थियो। एक पटक केटाकेटीको कुरा गराउनुपर्छ भन्ने लागेछ क्यारे, मलाई बोलाए। म बाहरू बसेको ठाउँमा जानुभन्दा पहिले आमाको केरकार सुरू भयो। मेरो हात समाएर आमा सुक्कसुक्क गर्दै हुनुहुन्थ्यो, 'हेर, छोरी मान्छेको जात यस्तै हो। धेरै पढेर पनि के गर्छेस्? एकदिन पराइको घर जानैपर्छ।
१५ वर्ष लागिस् अब बिहे गर्नुपर्छ, मेरो पनि १२ वर्षमै बिहे भएको हो।'
सलको फेरोले आँसु पुछ्दै मलाई सम्झाएको देखेर झंसंग भएँ।
'किन? के भएको हो?,' सोध्ने हिम्मत गरेँ।
अनि आमाले कुरा खोल्नुभयो, 'मामाले ल्याएको कुरा हो, एकदम राम्रो कुल घरानाको केटा हो रे, अब तेरो बिहे गर्ने बेला भयो त्यही कुरा हो। हेर, बा, बडा बाहरूको अगाडि उत्ताउलो भएर नबोल्नू, हुन्न नभन्नू। यदि यो कुरा काटिस् भने मलाई आमा भन्न पाउँदिनस् नि फेरि,' एकातिर आमाले मेरो चिन्तामा आँसु पुछ्दै हुनुहुन्छ, अर्कातिर धम्की दिँदै हुनुहुन्छ।
म सानैदेखि अलि विद्रोही स्वभावकी थिएँ, मलाई परिवारमा छोरा र छोरीमा विभेद गरेको, महिलाहरूलाई हेपेको, बाहरू ठालु पल्टेको, आमाहरूलाई दबाएको फिटिक्कै मन पर्दैन्थ्यो। फ्याट्ट बोलिहाँल्थेँ, सायद त्यही भएर पनि होला म गाउँभरीकै छुच्ची केटी थिएँ।
'तपाईंले भने अनुसार नै गरौँला, बिहे गर्ने/नगर्ने निर्णय गर्ने मैले हो, तपाईंले होइन,' एक वचनमै आफ्नो कुरा राखेँ।
आमा फेरि मसँग रिसले आगो हुनुभयो, 'तेरो यस्तै बोली व्यहोराले दु:ख पाउँछेस्, अलि कम बोल्नु, कस्तो चोथाले केटी रहिछ, आमाले कस्तो संस्कार नसिकाएकी होली भन्छन्, तेरो मात्रै होइन मेरो पनि इज्जतको सवाल छ अलि विचार पुराएर बोल्नू,' फेरि अर्को आदेश आमाको इजलासबाट थपियो।
'हस्' भनेँ।
भित्रबाट बडा बाले 'ल नानी भित्र आइज' भने।
आमाले 'अलि निहुँरिएर जानु, ठूलो स्वरले नबोल्नू, उपरखुट्टी लगाएर बाहरूको अगाडि नबस्नु, केटा पक्षका चार पाँच जना आएका छन् राम्रोसँग बोल्नू,' फेरी आमाले आदेश थपियो।
'हस्' भन्दै भित्र पसेँ।
सबैलाई नमस्कार गरेँ।
'ल नानी कुरो के हो भने, तेरो हात माग्न उहाँहरू आउनु भएको छ, एकदम राम्रो घर, कुल खानदान छ। हुनेवाला ज्वाइँ साब उहाँ हुनुहुन्छ,' छेउमै कालो चस्मा लाएर गजक्क बसेको केटातिर देखाउँदै बडा बाले धाराप्रवाह तारिफ गर्नुभयो।
मलाई कालो चस्मा देख्नासाथ केही न केही छ भन्ने लाग्यो। आजभन्दा २५ वर्ष अगाडिको त्यो घटना, एकैछिन कुराकानी भयो। मैले मेरो अझै पढ्ने इच्छा छ, पढेर जागिर खाने हो भनेँ।
अर्को काकाले मलाई सान्त्वना दिन थाले, 'तैँले जति पढ्नुथ्यो पढिसकिस् नानी, पल्लो टोलकी सरिताको हालत के छ तँलाई थाहा छ? अहिले नबिकेर बुढी कन्या भएर बसेकी छ। जे काम पनि बेलैमा गर्नुपर्छ, हुन्न नभन।'
मलाई सरिता दिदीको बारेमा थाहा थियो, आधा रातमा बिहे गर्ने तयारी हुँदा पनि बेहुलीलाई थाहा दिएका रहेन छन्, भागेर दिदी लुकेपछि जन्ती रित्तै फर्काउनुहुन्न भनेर बहिनी बिहे गरेर लगेछन्, दिदी आफूले पढेर पछि स्कुलमा पढाउनुहुँदो रहेछ। परिवारको इज्जत फालेकी हुनाले जे काममा पनि उदाहरण दिनु पर्यो भने फलानी आइमाई जस्ती धेरै बाठी हुन नखोज भन्ने स्तुति स्थापित भएको थियो।
मैले एक पटक हुनेवाला बेहुलाको चस्मा उतार्न आग्रह गरेँ। मसँग सबैजना रिसाए।
'तपाईं किन जान्ने हुनुपरेको? अहिले अर्डर लाउनेले के घर गरेर खान्छे? तैँले चस्मासित बिहे गर्ने हो कि मान्छेसँग? चस्मा किन निकाल्नुपर्यो? गाउँमा कालो चस्मा किन लगाइन्छ? आँखामा केही भएर छोप्नको लागि लगाएको पनि हुनसक्छ, मेरो मनमा चिसो पस्यो। केही समय अघिको घटना फनफनी स्मृतीमा घुम्न थाल्यो, हाम्री ठूली दिदीको ज्वाइँ बिहेमा कालो चस्मा ढल्काएर आएका थिए, पछि थाहा भयो आँखा फुलो परेको रहेछ। म इज्जत फालेको केटीमा गनिएँ, केटा पक्ष चस्मा खोल्न राजी भएनन, केही त छ भन्ने मलाई लाग्यो। मसँग सबै रिसाए। तँलाई असल राम्रो केटा चाहिएको हो कि आँखा राम्रो भएको? काका, बडाबा, बुवाआमा सबैजना मसँग रिसले आगो भए।
केटा पक्षका पाँच जना थिए, गलत ठाउँमा आएछौं भन्दै फर्किए। मलाई घरमा धेरै नराम्रो भने, अब तँलाई कस्ताले लैजान्छ हेरौँला ? एउटा एउटा खोट देखाएको छ, आफू ठूलो पल्टिएको छ ....तँ चाहिँ कुन महारानी होस् र ? अनेक कुराहरू सुन्न विवश भएँ। जे जे भए पनि मलाई पढ्ने मन थियो, नौ कक्षामा पुगेँ, राम्रोसँग पढेँ। एक किसिमले गाउँमा सबैभन्दा छुच्ची केटीको रूपमा म चिनिन्थेँ। सरिता दिदीको साथी म थपिएकी थिएँ। सरिता दिदी एकदम राम्रो लाग्थ्यो।
'हेर बहिनी आफ्नो हातमा सीप भयो भने, आफूसँग योग्यता भयो भने जहाँ गएर पनि बाँच्न सकिन्छ। हामी बोलेनौँ भने हामीभन्दा पछिका बहिनीहरू कसरी बोल्छन्?' म पनि हो भन्थेँ। बेलाबेलामा बिहेका कुरा आँउथे, के के बहानामा टार्थें। मलाई हेर्न आएको कालो चस्मावाला केटाले हाम्रै गाउँकी बहिनी बिहे गरेछ धुमधामसँग।
त्यो बेलामा कालो चस्मा, रिलवाला क्यामेरा झुन्डाएर, जुल्फी लर्काएर हिँड्ने मान्छे संसारकै सुन्दर मानिन्थ्यो। हाम्रो गाउँकी बहिनीले पनि त्यही खुसीसँग बिहे गरी। दुलन फर्काउन आउँदा बेहुलो चस्मा नलगाइकन आएछन्, दुई वटै आँखामा दुई दुई वटा फुलो परेको देखेपछि परिवारमा सन्नाटा छाएछ। मेरो शंका बल्ल प्रमाणित भयो। फलानीले छोडेको यही भएर रहेछ, हाम्री यति राम्री छोरी फसायो .... परिवारमा तनाव भयो। भाग्यमा जे लेखेको छ, त्यही हुन्छ। बहिनीलाई सान्त्वना दिए आफन्तले। मन पर्यो भने शारीरिक रूपमा जस्तो भए पनि बिहेवारी हुन्थ्यो होला तर सुरूमै ढाँटेपछि केही न केही छ भन्ने जसलाई पनि लाग्छ। दर्जनभन्दा बढी बिहेका अफर त्याग्दै १२ कक्षा पास गरेँ। घरमा तनाव हुन्थ्यो, अब यसलाई कसैले लाँदैन, मुखाले छे केही गएर टिक्न सक्दिन, यसले घर गरेर खान्ने.... मलाई कुनै पिर थिएन। पढ्छु, जागिर खान्छु, आफ्नै खुट्टामा उभिएपछि कसैको दास बन्नु पर्दैन!
१२ पास गरेपछि आफैले पढेको स्कुलमा पढाउने मौका पाएँ। मेरो खर्च टार्न थालेँ। बाआमालाई सानोतिनो भरथेग गर्न थालेँ। गाउँका बहिनीहरूलाई बाआमाको करले सानैमा बिहे नगर भन्दै उकास्थेँ। बहिनीहरू खुसी हुन्थे मसँग, बाआमाहरू आगो हुन्थे। कतिसम्म भने मलाई, न आफू बिहे गर्छे, न अरूको बिहे भएको देख्न सक्छे।
मलाई केही पिर थिएन, ब्याचलर पढ्न सदरमुकाम आएँ। गाउँभरी म पढ्न होइन कि पोइला गएको हल्ला चलेछ। अब सहर गएर कति वटासँग सल्केर आउने हो तिमीहरूकी छोरी, अब त झन् थाहा पाउनेले बिहे गर्दै गर्दैन। मलाई आमाले यस्ता कुरा सुनाउँदा चसक्क हुन्थ्यो, मलाई कानून पढ्ने रहर जाग्यो। यो नियम हो, तैंले मान्नुपर्छ, तेरा हजुरआमा, आमाले मान्दै आएका छन्, तँ छोरी मान्छे हो यसो गर उसो गर, यस्ता नियमहरू कुन कानूनमा रहेछन्? ठूलाठालु बसेको ठाउँमा बहस गर्न मन लाग्थ्यो। एक जना वकिल भिनाजूको ल फर्ममा गएँ। भिनाजूले धेरै सहयोग गर्नुभयो, कानूनका किताबहरू दिनुभयो। तिमीले कानूनै पढ्नु पर्दैन, बुझ्नको लागि यत्रा किताब छन्, लगेर पढ। रूचि लागेपछि ठूलाठूला ठेलीहरू पनि आँखा झिमिक्क नपारीकन पढ्थेँ। भिनाजूले यही ल फर्मका काम गर, कलेज पढ भन्नुभयो। मलाई त भगवान मिलेजस्तै भयो। म त्यही ल फर्ममा काम गर्न थालेँ। काम गर्दै पढ्दै ब्याचलर पास गरे, म गाउँले भनेजस्तै पोइल गइनँ, पढिरहेँ।
एउटा एनजिओमा विज्ञापन भएको भिनाजूले बताउनु भयो, उहाँले नै ढाडस दिनुभयो, आवेदन दिएँ, मेरो नाम निस्कियो। अब प्रोजेक्टको जागिर पनि भयो। जिल्ला जिल्लामा हिँड्नुपथ्र्यो। अहिले जस्तो संचार, सामाजिक संजालको व्यवस्था भएको भए त ठाउँठाउँबाट अपडेट गर्थें होला, मलाई के के भन्दा हुन्, त्यो बेलामा केही थिएन। पछि कुरा काट्नेहरू काटिरहन्छन्, आफ्नो गति छोड्नु हुँदैन भन्ने लाग्थ्यो।
बाआमालाई बेलाबेलामा पैसा पठाउँथे, केही ग्राह्रो पर्दा जिम्माल अंकलसँग माग्नु पर्दैन, अब म कमाउँछु भन्थेँ। गाउँका बहिनीहरू मसँग खुसी हुन्थे। दिदीजस्तै बन्ने। उनीहरू उत्सुक हुन्थे। मैले विद्रोह गरेपछि धेरै बहिनीहरु जागरूक बने। जर्बजस्ती बिहे गर्न तम्सिन छोडे। कति बहिनीहरू त मन्डपमा बस्न बोलाएपछि मात्र आफ्नो बिहे रहेछ भन्ने थाहा पाउने सम्मको अवस्था थियो। आमा, हजुरआमाको हालत के थियो होला? अहिलेको पुस्ताको मैले त यति संघर्ष गर्नुपर्यो भने, अघिल्लो पुस्ताको हालत के थियो होला?
मैले २६ वर्षमा बिहे गरेँ, त्योप नि आफैले खोजेको, मन पराएको केटासँग। कसैको करकापमा होइन। अहिले २ वटा छोरी छन्, श्रीमानको व्यापार छ, मेरो जागिर छ, हामी चारजना खुसी छौँ। सुत्केरी बस्न माइतीमा गएको बेलामा एक जना हजुरआमाले भन्नुभयो, 'आखिर बिहे गर्नैपर्ने रहेछ, छोराछोरी पाउनै पर्नेरहेछ, बुढेसकालमा बिहे गरेर, आमा बनेर के पाइस्? हेर त तँ भन्दा कान्छी बहिनीका छोराछोरी ६ कक्षामा पढ्ने भइसके।
बिहे हुनु, बिहेपछि बच्चा हुनु प्राकृतिक नियम हो, यसमा निकै अनौठो मान्ने हजुरआमासँग सवाल जबाफ गर्नुको तुक थिएन, विचरी आफै ७ वर्षमा बिहे गर्नुभएको थियो। ७ वर्षमा बिहे गरेकी हजुरआमाको लागि २६ वर्ष त एउटा युग हो। म आफ्नो लागि, आफू जस्ता बहिनीहरूको लागि बोल्दा सबैको आँखाको तारो बने, सबैले नराम्रो भने, आइमाई जान्ने भएपछि यस्तै हो सम्म भन्न भ्याए तर बोल्न छोडिनँ। जब हामी आफ्नै परिवारमा दमित हुन्छौं कहीँ पनि सम्मान पाउनका लायक हुँदैनौँ, त्यही भएर बोल्नुपर्छ जायज कुरामा। अडान राख्नुपर्छ जायज कुरामा। तर्क दिनुपर्छ जायज कुराहरूमा।
म आठ कक्षामा पढ्दै बिहे गरेको भए मेरा यी सारा प्रगतिहरू पनि मर्ने रहेछन्, आफ्ना रहरहरूलाई फुलाउनको लागि भए पनि छोरीहरूलाई बोल्न आग्रह गर्छु। मेरा छोरीहरू मेरो जस्तो जिन्दगी नभोगून् भन्न चाहन्छु र कुनै पनि छोरीहरू दबिएर नबसून् भन्न चाहन्छु।'
चलचित्रको दृष्य घुमेझैं दिदीको स्मृतिका रिलहरू घुमिरहे। कुनै पनि छोरीहरू अनावश्यक दबाबमा दबिएर बस्न नपरोस् बस् योभन्दा बढी भन्ने शब्द केही पनि देखिनँ।