अमेरिकाले डिपोर्ट गरेर भुटानलाई जिम्मा लगाएका थप पाँच जना शरणार्थी भुटानबाट लखेटिएका छन्। उनीहरू भारतको सिलिगुडी आइपुगेका छन्।
शनिबार भुटान पुर्याइएका ती पाँच जनालाई त्यहाँको प्रशासनले आइतबार दिउँसो भारतीय सहर सिलिगुडी ल्याएर छाडिदिएको भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौड्यालले जानकारी दिए।
'तीमध्ये एक जना नेपाल प्रवेश गरिसके भन्ने सुनिन्छ। तर को हुन् भन्ने खुलिसकेको छैन,' उनले भने।
अमेरिकाले आपराधिक गतिविधिमा संलग्न भन्दै ६३ जना भुटानी शरणार्थी डिपोर्ट गर्ने सूची बनाएको एक मानवअधिकार अभियन्ताले बताए। तीमध्ये यसअघि नै डिपोर्ट गरेका १३ जना र थप ५ गरी अहिलेसम्म १८ जना शरणार्थी भुटान सरकारलाई बुझाइसकेको छ। अमेरिकासँग आफ्नै नागरिक भन्दै जिम्मा बुझ्ने भुटान सरकारले ती १८ जनालाई भुटानबाट फकाएर र धम्क्याएर फेरि देश निकाला गरिसकेको छ।
यसबाहेक थप एक जना महिला भुटानी शरणार्थी अमेरिकाको पेन्सिलभेनियामा पक्राउ परेको पौड्यालले बताए। उनका अनुसार ती महिला पनि डिपोर्टमा परेर भुटान आउँदै छिन्। उनलाई पनि भुटानले लखेट्यो भने यो संख्या १९ पुग्छ।
दुई साताभन्दा लामो समयदेखि काँकडभिट्टा प्रहरीको नियन्त्रणमा रहेका चार जना शरणार्थी युवालाई भेटेर लामो कुराकानी गरिसकेका नेता पौड्यालका अनुसार चैत १५ गते भुटानबाट नेपालतिर पठाइएको टोलीमा सुरूमा १२ जना थिए। भुटान-भारत सीमाको फुन्सोलिङ सहर आइपुगेपछि उनीहरूलाई राखेकै गाडीमा थप एक जना शरणार्थी हालिएको थियो।
तीमध्ये आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी चैत १६ गते बेलडाँगी शिविरबाट पक्राउ परे। फुन्सोलिङमा थपिएका अशोक गुरूङ भने काँकडभिट्टा नाकाबाट समातिए। बाँकीको अवस्थाबारे कसैलाई जानकारी छैन।
शरणार्थी समुदायका अगुवाहरू भुटानको यो रवैयाले आफ्ना नेपालीभाषी नागरिकप्रति उसको नकारात्मक दृष्टि छर्लंग पारेको बताउँछन्।
'तीन दशकअघि नेपालीभाषी नागरिकमाथि भुटानले जस्तो अन्याय गरेको थियो, अहिले पनि त्यही शैली भुटानले छाडेको छैन,' नेता पौड्यालले भने, 'उसको त्यो शैलीको ताजा प्रमाण यी १८ जना शरणार्थी हुन्।'
झापाको बेलडाँगीस्थित शरणार्थी शिविरका सचिव सन्चहाङ सुब्बाले सिलिगुडी आइपुगेको भनिएका पछिल्लो पाँच जनाबारे आफूहरूलाई केही जानकारी नभएको बताए।
'अहिले प्रहरी नियन्त्रणमा रहेका चार जनाबाहेक अरूबारे केही जानकारी छैन,' उनले भने, 'हामीसँग उताको कुरा थाहा पाउने माध्यम पनि छैन।'
यद्यपि नेपालको शिविरदेखि तेस्रो देशको पुनर्वाससम्म र भुटानकै कतिपय ठाउँमा सम्पर्क सूत्र रहेका भुटानी राजनीतिक दलका नेताहरूले पाएको सूचनाअनुसार पछिल्लोपटक आइतबार ती पाँच जनालाई भुटानले सिलिगुडी ल्याएर छाडिदिएको हो।
'यसअघि १३ जनालाई जसरी अमेरिकबाट जिम्मा बुझेर, साथमा भएका कागजपत्र खोसेर नेपालतिर पठाइएको थियो, यी पाँच जनालाई पनि त्यसैगरी पठाइएको सूचना मैले पाएँ,' पौड्यालले भने, 'भरे-भोलिसम्म ती पाँचै जनाको विवरण प्राप्त होला भन्ने आशा छ।'
सन् ९० दशकमा रातारात अनागरिक बनाएर खेदाइएका एक लाखभन्दा बढी नेपालीभाषी भुटानीहरूले लामो समय झापा र मोरङका सातवटा शिविरमा शरणार्थी जीवन बिताए। संयुक्त राष्ट्रसंघले तेस्रो देश पुनर्वासको कार्यक्रम अघि सारेपछि बहुसंख्यक शरणार्थी युरोप, अमेरिका र अस्ट्रेलिया पुगेका छन्।
अमेरिकामा पुनर्स्थापित शरणार्थीहरू भने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अनुदार आप्रवासी नीतिको सिकार बनिरहेका छन्।
तीन दशकअघि आफ्नै देशका शासकबाट लखेटिएको जुन पीडा आमाबुबा पुस्ताले भोगे, अहिले त्यही नियति छोराछोरी पुस्ताले भोगिरहेका छन्। भुटानी शासकले अन्तर्राष्ट्रिय समुदायको आँखा छल्न अमेरिकी अधिकारीहरूबाट शरणार्थीको जिम्मा बुझ्ने र त्यसपछि नेपालतिर लखेट्ने नीति लिएको देखिन्छ।
'भुटान सरकार अमेरिकी प्रशासनका अगाडि नराम्रो देखिन नचाहने रहेछ,' काँकडभिट्टा प्रहरीको थुनामा रहेका भुटानी शरणार्थीहरूले आफूलाई भेट्न आएका मानवअधिकारवादी अभियन्ताहरूसँग भनेका थिए, 'अमेरिकी अधिकारीहरूका अगाडि भुटान सरकारले हाम्रो ज्यादै खातिरदारी गरे। एकदमै सम्मानपूर्ण व्यवहार गरे। जब उनीहरू फर्के, त्यसपछि भुटानीहरूले आफ्नो असली रूप देखाए र हामीसँग भएका कागजात खोसे। हामीलाई धम्की दिएर नेपालतिर खेदे।'
नेता पौड्याल पनि ती युवाहरूको भनाइसँग सहमत छन्।
'भुटानी शासकहरू अमेरिकी नजरमा राम्रो देखिन चाहन्छन्,' उनले भने, 'अमेरिकाले भुटानलाई रेड लिस्टमा राखेको छ। त्यसबाट उम्किन उनीहरूले यो गरेका हुन्। तर अमेरिकासँग जतिसुकै राम्रो देखिए पनि नेपालीभाषीलाई गर्ने व्यवहार बदलेको छैन। यो सबभन्दा ठूलो चिन्ताको विषय हो।'
यसबीच अमेरिकाबाट डिपोर्ट भएर भुटान हुँदै नेपालतिर खेदिएका भुटानी शरणार्थीलाई कानुनअनुसार सजाय तोकेर जुन देशका नागरिक हुन् त्यहीँ फिर्ता पठाइदिन अध्यागमन कार्यालयले सिफारिस गरिसकेको छ। तर अहिलेको अवस्थामा उनीहरू कुनै पनि देशका नागरिक होइनन्, शरणार्थी हुन्। शरणार्थीलाई कता फिर्ता पठाउने भन्नेबारे कानुनले केही बोलेको छैन। त्यसैले पक्राउ परेका चार जनाबारेको अन्योल पनि कायमै छ।
सोमबार साँझसम्म पनि ती चार जनाबारे अध्यागमन विभाग कुनै निर्णयमा पुगेको छैन।
'आजका मितिसम्म अध्यागमन विभाग कुनै निर्णयमा पुगेको छैन,' विभागका निर्देशक तथा सूचना अधिकारी टिकाराम ढकालले भने, 'अहिले अध्यागमन ऐ्न, नियमावली, कार्यविधिहरू पुनरवलोकनको काम भइरहेको छ। हामी त्यतातिर व्यस्त छौं।'
अहिले पनि झापाको बेलडाँगी र मोरङको शनिश्चरे शिविरमा गरी साढे ६ हजार हाराहारी भुटानी शरणार्थी छन्। उनीहरूमध्ये केही भुटान नै फर्कन पाइने आशा गरिरहेका छन् भने केही तेस्रो देश पुनर्स्थापनाको पक्षमा छन्। तेस्रो देश जान चाहनेहरूमध्ये धेरैका लागि त्यो बाध्यात्मक रोजाइ बनिरहेको छ। परिवारका धेरैजसो उता पुगिसकेका छन्।
***