चिकित्सा क्षेत्रका विकृति विरूद्ध सत्याग्रह गर्दै आएका डाक्टर गोविन्द केसी जुम्ला पुगेर असार १५ देखि अनसन बस्ने भएका छन्।
चिकित्सा शिक्षा अध्यादेश संसदबाट पास गर्न माग गर्दै उनी १५ औं अनसन बस्न लागेका हुन्। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अनसन बस्नलागेको उनले जानकारी दिए।
'चिकित्सा शिक्षा अध्यादेशमा एउटा बाहेक कुनै पनि संसोधन नगरि संसदबाट पास गर्नुपर्ने माग राखेर म १५ औं अनसन बस्न लागेको छु,' उनले सेतोपाटीसँग भने, 'पर्सि असार १५ मा दहिच्यूरा खाएर म अनसन बस्ने हो।'
छात्रवृत्तिमा एमविविएस/एमडि पढेका डाक्टरले ५ बर्ष अनिवार्य सरकारी सेवामा काम गर्नुपर्ने भन्ने अध्यादेशको व्यवस्थालाई २ वर्ष बनाउने बाहेक कुनै पनि संसोधन नगरी संसदबाट पास गर्नुपर्ने उनले बताए।
आफूले चिकित्सा क्षेत्रको सुधारका लागि पटकपटक राखेका माग सम्बोधन हुने गरि बनाइएको विधेयक अध्यादेशका रुपमा अहिले लागु भएकाले यसलाई संसदबाट पास गरेर कानुन बनाउनुपर्ने उनले बताए। अध्यादेश जारी भएको ६० दिन भित्र संसदले पास नगरे स्वत खारेज हुने व्यवस्था छ। ६० दिन पुग्न १३ दिन बाँकी छ।
अध्यादेशमा आगामी १० वर्षसम्म काठमाडौं उपत्याकामा नयाँ मेडिकल कलेजलाई इजाजत नदिने उल्लेख छ। साथै काठमाडौं बाहिरका प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज खोल्नुपर्ने माग पनि डाक्टर केसीले राखेका छन्।
जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले वेवास्ता गरेको भन्दै उनी त्यहाँ पुगेर यसपालिको अनसन बस्न लागेका हुन्।
यो पनि हेर्नुहोस्