(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने प्रिमियम स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
नेपाली कांग्रेसका नेता शेखर कोइराला आक्कल झुक्कल मात्रै काठमाडौंमा भेटिन्छन्। वर्षौंदेखि उनी जिल्ला दौडाहामा छन् र नेता कार्यकर्ता भेटिरहेका हुन्छन्।
१४ औं महाधिवेशनमा सभापति उठेर पराजित भएका कोइराला त्यसपछि शक्ति विस्तार गर्ने प्रयत्नमा निरन्तर लागेका छन्। र, १५ औं महाधिवेशनको तयारीमा छन्।
यति धेरै जिल्ला दौडाहा कांग्रेसमा कमै नेताले गरेका होलान्, जति शेखर कोइरालाले गरेका छन्।
उनी सबै जिल्ला कम्तीमा दुई–तीन पटक पुगेका छन्। उनले जहिलेदेखि कांग्रेसको सभापतिमा आँखा लगाएका छन्, त्यही बेलादेखि उनको सबैभन्दा ठूलो तागत नै जिल्ला दौडाहा बनेको छ।
शक्ति विस्तारको क्रममा पछिल्लो पटक उनी पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेताहरूलाई आफ्नो पक्षमा तान्ने रणनीतिमा छन्। त्यसको केही परिणाम पनि देखिन थालेको छ। कोइराला प्रमुख अतिथि बनेका कार्यक्रमहरूमा देउवासँग लामो समय सहकार्य गरेका कतिपय नेताहरू 'मञ्च सेयर' गर्न थालेका छन्।
देउवाले आफ्नो समूहबाट भावी सभापति उम्मेदवार तोकेका छैनन्। त्यसो हुँदा संस्थापन इतर समूहका नेता कोइराला र महामन्त्री गगन थापाले १५ औं महाधिवेशन केन्द्रित गतिविधि अघि बढाएका छन्। त्यसले पनि कोइरालालाई देउवा पक्षका नेताहरूसँग सम्बन्ध बढाउन सजिलो भएको छ।
'देउवाले १५ औं महाधिवेशनको सभापति कसलाई समर्थन गर्ने भनेर अहिले नै तोक्ने अवस्था छैन। नेकपा एमालेसँगको सात बुँदे सहमति अनुसार उहाँ नै प्रधानमन्त्री बन्न बाँकी छ। अहिले नै उत्तराधिकारी तोकेर अर्को व्यक्तिलाई शक्ति केन्द्र बनाउने पक्षमा उहाँ देखिनु हुन्न,' कोइराला निकट एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, 'यही मौकामा देउवा समूहमा रहेका नेताहरू आफूतिर तान्ने प्रयत्न शेखर दाइको छ। केही त आइसक्नुभएको छ।'
ती केन्द्रीय सदस्यले देउवा पक्षका केही नेताहरूको नाम नै लिएर उनीहरू कोइरालासँग काम गर्न इच्छुक देखिएको दाबी गरे। सहमहामन्त्री भीष्मराज आङ्देम्बे र केन्द्रीय सदस्य बालकृष्ण खाण, एनपी साउद र मोहनबहादुर बस्नेत कोइरालासँग नजिकिएको उनको दाबी छ। यीमध्ये आङ्देम्बे, खाण र साउद त शेखर प्रमुख अतिथि भएका कार्यक्रममा 'मञ्च सेयर' गरिरहेका छन्।
देउवाले आफ्नो समूहको भावी सभापति उम्मेदवार घोषणा नगरेको मात्र होइन, पार्टी महाधिवेशन कहिले गर्ने भन्नेबारे नै मुख खोलेका छैनन्।
२०८३ असारपछि प्रधानमन्त्री बन्ने र त्यसको ६ महिनापछि मात्रै १५ औं महाधिवेशन गर्ने देउवाको रणनीति रहेको उनी निकट कतिपय नेताहरूको भनाइ छ। त्यसले पनि कोइरालालाई सजिलो बनाएको छ।
'सभापति देउवा प्रधानमन्त्री बनेर ६ महिनापछि मात्रै महाधिवेशन गर्ने सुरमा देखिनुभएको छ। उस्तै परे विभिन्न बहानामा महाधिवेशन धकेलेर २०८४ को टिकट समेत आफै बाँड्न सकिन्छ कि भन्नेमा उहाँ देखिनु हुन्छ,' ती केन्द्रीय सदस्यले दाबी गरे, 'देउवाको यही सुस्त गतिको फाइदा लिँदै शेखर दाइले जम्प गर्न खोज्नुभएको छ। भविष्यमा देउवाले समर्थन नगरे पनि त्यो समूहका धेरै नेताहरू आफूतिर तानेर बलियो हुने उहाँको रणनीति देखिन्छ।'
देउवा अब सभापति नउठ्ने हुँदा त्यो समूह छिन्नभिन्न हुने पनि कोइरालाको आकलन छ। उमेरमा पाका रहेका कोइरालालाई देउवा समूहका वरिष्ठ नेता तान्न सजिलो हुने पनि ती केन्द्रीय सदस्यले तर्क गरे।
'देउवा समूहका वरिष्ठ नेताहरूलाई कोइरालाको उमेरका कारण पनि उहाँसँग सहकार्य गर्न सहज छ। त्यसको फाइदा कोइरालालाई हुन्छ। गगन थापा सभापति उठेमा देउवा समूहका सिनियर नेताहरूको उनलाई साथ हुने म देख्दिनँ,' कोइराला निकट ती केन्द्रीय सदस्यले भने।
देउवा समूहका जति धेरै नेता आफूतिर तान्न सकिन्छ, १५ औं महाधिवेशनमा सभापतिको पद त्यति नै सुनिश्चित हुनेमा कोइराला विश्वस्त छन्।
'देउवा पक्षका केही नेता आइसके। अब बाँकीलाई पनि जोड्न सके गगन थापा सभापति उठेका खण्डमा पनि प्रतिस्पर्धा गर्न गाह्रो पर्दैन भन्ने शेखर समूहमा आत्मविश्वास देखिएको छ,' शेखर निकट अर्का केन्द्रीय सदस्यले भने, '१४ औं महाधिवेशनमा ४० प्रतिशत भोट ल्याएकोमा त्यसलाई जोगाउँदै ६० प्रतिशत पुर्याउने लक्ष्य हो। गगन यो टिममा नरहेको खण्डमा पनि धेरै उनले भोट काट्दैनन् भन्ने छ।'
कोइराला अब सभापति हुन्छन् भन्नेमा केही नेताहरूको विश्वास बढेको भए पनि उनको समूहका पहिलेका केही नेता–कार्यकर्ता भने असन्तुष्ट छन्।
'देउवा सत्ता र शक्तिमा रहँदा अन्याय खेपेरै भए पनि हामी संस्थापन इतर समूहमा लाग्यौं। शेखर दाइलाई साथ दियौं। अहिले उहाँ आफ्नो समूहभित्रका नेताका कुरा सुन्न छाड्नुभयो। उहाँको प्राथमिकता देउवातिरका मानिस खोस्नेमा छ,' शेखर निकट एक नेताले भने, 'पार्टी सभापतिका रूपमा देउवाले गरेका अनुचित कामको उहाँले प्रतिवाद गर्न सक्नुभएन। अहिले आफ्नै टिम तितरबितर गरेर उहाँले के गर्न खोज्नुभएको भन्ने बुझ्न सकेका छैनौं।'
कोइराला र थापा एकताबद्ध नहुँदा संस्थापन इतर समूह तितरबितर भइरहेको उनको भनाइ छ।
'जुँगाको लडाइँले शेखर र गगन मिलेनन्। शेखरलाई गगन सभापति लड्छन् भन्ने पर्यो। गगनलाई पनि शेखर सभापति उठ्छन्, ढिलो भइसक्यो, अब म किन नउठ्ने भन्ने परेको छ। दुवैले तयारी थाल्दा हामी कता जाने? हामी बीचका नेतालाई दुवैतर्फबाट मिचाइँ छ,' ती नेताले भने, 'देउवासँग लड्दै आयौं र त्यही कारण टिकट पाएनौं। शेखर–गगनले त टिकट पाए। पीडा कार्यकर्तालाई छ, हाम्रा नेताहरू सिंगो टिम एक ढिक्का राख्न इमानदार भएनन्।'
कोइराला र थापा नमिल्दा त्यसले नेविसंघ, लोकतान्त्रिक अपांग संघ लगायत भ्रातृ संस्थाहरूमा समेत फाटो ल्याएको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा हालै भएको स्ववियु निर्वाचनमा पनि थापा समूहले कतिपय ठाउँमा आफ्नै उम्मेदवार उठाएर जितायो। स्ववियुमा कोइरालाको तुलनामा थापा समूहले धेरै ठाउँमा जित्यो पनि। पद्मकन्या क्याम्पसमा देउवा र कोइराला मिल्दा पनि स्वतन्त्र उम्मेदवार खडा गरेको थापा पक्षले प्यानल नै जित्यो।
कोइरालाले सभापति देउवा पक्षका नेता तान्दै आफ्नो शक्ति बढाउन खोज्दा पहिलेको आफ्नै समूहको तागत भने घट्दै गएको ती नेताको दाबी छ।
'उहाँले हाम्रा कुरा सुन्न चाहनुभएन। केन्द्रका नेता तानेपछि सभापति जित्छु झैं गरिरहनुभएको छ। यही असन्तुष्टिका बीच पहिले उहाँसँग रहेका कतिपय युवाहरूले गगनसँग संवाद बढाएका छन्। यो कुरा उहाँलाई हेक्का छ कि छैन?' कोइरालासँग लामो समयदेखि सहकार्य गर्दै आएका ती नेताले भने।
देउवा समूहका कतिपय नेता पनि थापासँग संवादमा छन्।
कोइराला निकट अर्का केन्द्रीय सदस्यका अनुसार कोइराला र थापाले महाधिवेशनका लागि भित्रभित्रै टिम बनाइरहेका छन्। यो जिल्लादेखि केन्द्रसम्म भइरहेको छ।
'टिम बनाउँदा कुन पदमा को मिल्छ भन्ने हिसाबले संवाद भइरहेको बुझिन्छ। दुवैले आफूलाई केन्द्रमा राखेर टिम बनाउने जमर्को गरेका छन्,' ती सदस्यले भने, 'देउवाले आशीर्वाद नदिँदा पनि देउवा पक्षका नेताहरू फुक्काफाल भए, कहाँ लाग्ने अन्योलमा बस्नुभन्दा बरू सुरूदेखि नै आफ्नो मन मिल्ने र भोलि पद सुरक्षित गरिदिन सक्ने नेता खोज्दै संवाद गरिरहेका छन्।'
कांग्रेस विधानले देउवालाई तेस्रो पटक सभापतिमा उठ्न बन्देज लगाएको, उमेरका कारण पार्टी संगठनमा उनको ध्यान र समय कम भएको तथा आफ्नो समूहबाट को उठ्ने हो यकिन नहुँदा देउवा समूह अहिले एकत्रित छैन। उनको साथ छाडेको घोषणा नगरे पनि उनी नजिकका कतिपय नेताहरूले विकल्प खोज्न थालिसकेका छन्।
'देउवाले बोलाउँदा उनको समूहका नेताहरू उत्तिखेरै बुढानीलकण्ठ हाजिर भइहाल्छन्। देउवा सभापति र वेटिङ प्रधानमन्त्री हो भन्ने लागेका नेताहरू अहिले नै घोषणा गरेर गुट परिवर्तन गर्दैनन्। त्यो आँट धेरै नेतामा छैन पनि। तर अबको महाधिवेशनमा देउवा समूह एक ढिक्का रहँदैन,' ती नेताले भने।
देउवा समूहका नेताहरू बाँडिने उनको तर्क छ।
'केही देउवा समूहमै बस्लान्, धेरै त शेखर र गगनतिर बाँडिन्छन्। परिस्थिति यस्तो बन्दै गएको छ, बुढाजति शेखरतिर, युवाजति गगनतिर जुट्लान् जस्तो पो देखिन्छ,' उनले भने।
पूर्वउपसभापति विमलेन्द्र निधि निकट धनुषाका नेता रामसरोज यादव शेखर पक्षमा खुलेका छन्। यादव निधिलाई छाडेर कोइरालातिर नजिकिएका हुन्। यादव यसअघि कांग्रेस मधेस सभापतिमा पराजित भएका थिए।
त्यस्तै कांग्रेस सुदूरपश्चिम महामन्त्री नरनारायण शाह कोइरालासँग नजिकिएका छन्। परराष्ट्र मन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवासँग कुरा नमिलेर शाह कोइरालासँग निकट भएका हुन्।
कोइरालासँग पहिले नजिक रहेका कतिपय नेता भने अहिले थापातिर तानिएका छन्।
लामो समयदेखि कोइरालासँग निकट रहेका लुम्बिनी सभापति अम्बरसिंह पुन महामन्त्री थापासँग नजिकिएका छन्। थापा सहभागी हुने कार्यक्रममा उनी देखिन्छन्।
'जिल्ला, प्रदेश र केन्द्रका नेताहरू जहाँ सहज हुन्छ, त्यहाँ जान संवादमा छन्,' कांग्रेसका एक प्रदेश सभापतिले भने, 'कार्यकर्ता र जनताले पनि रूचाउने, पार्टी हाँक्न सक्ने व्यक्ति जो हो जस्तो मनमा लाग्छ, उसैसँग नजिक भएर काम गर्ने हो। त्यसबाहेक आफ्नो भूमिका के हुन्छ भनेर स्वाभाविक रूपमा खोजी गरिन्छ नै।'
मुद्दा मामिला र गुटमा रमाइरहेका देउवा निकट कतिपय नेताहरूलाई आफूतिर तान्दा कोइराला समूहभित्रै केही असन्तुष्टि पनि देखिएको छ। चैत ८ गते कांग्रेस मोरङ–काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा कार्यक्रम राखेको थियो।
अघिल्लो दिन कार्यक्रमका वक्ताहरू तोकिएका थिए– शेखर कोइराला, मीनेन्द्र रिजाल, बालकृष्ण खाण र एनपी साउद। उनीहरूका फोटोसहित राखेर कार्यक्रमको फेसबुकमा प्रचार गरियो तर धेरैबेर टिकेन, त्यसमा संशोधन गरियो।
साँझपख कोइरालाको सचिवालयले कार्यक्रमबारे जानकारी दिन पठाएको सन्देशमा बालकृष्ण खाणको नामनिसान थिएन। उनको सट्टा कोइराला निकट गुरूराज घिमिरेलाई वक्ता बनाइएको थियो। देउवाको 'कोर टिम' का सदस्य मानिने खाण र साउदलाई एकै मञ्चमा राखेर कोइराला पक्षले कार्यक्रम गर्न खोजे पनि सफल हुन सकेन।
प्रचार सामग्रीमा कोइराला, खाण, साउद र रिजाल 'विशिष्ट अतिथि' भनिएको थियो। त्यही प्रचार सामग्रीलाई कोइराला निकट कार्यकर्ताहरूले सामाजिक सञ्जालमा फैलाइरहेका थिए।
खाणसहित नेताहरूलाई मञ्चमा राखेर कोइराला पक्षले उनीहरू आफूहरूसँग आएको सांकेतिक घोषणा गर्न खोजेका थिए। खाणले रूपन्देहीमा भएका कार्यक्रममा त्यसअघि नै कोइरालासँग मञ्च सेयर गरिसकेका थिए। त्यसै कारण काठमाडौंमा हुने कार्यक्रममा पनि खाण आउँछन् भन्ने उनीहरूले बुझेका थिए।
'अघिल्लो दिन बालकृष्ण दाइसहित नेताहरू बसेर वक्ताहरू निधो गरिएको हो। बालकृष्ण दाइले बुटवल जानुपर्ने हुन सक्छ, गइनँ भने मात्रै कार्यक्रममा आउँछु भन्नुभएको थियो। बेलुकी उहाँले फोन गरेर कार्यक्रममा नआउने भएँ, बुटवल जानुपर्ने भयो भन्नुभयो। त्यसैले वक्ता फेरिएको हो,' त्यस बेलाका घटनाक्रमबारे जानकार कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने।
थपलियाले सचिवालयका तर्फबाट कार्यक्रमबारे जानकारी दिने आधिकारिक सूचना पठाउँदा खाणको नाम समावेश नभएको पनि बताए।
'अन्यत्र क–कसले फोटो राखे, प्रचार गरे हामीलाई थाहा हुने कुरा भएन। सचिवालयले वक्ता भनेर पठाएको सूचना अनुसार नै कार्यक्रम सम्पन्न भयो,' उनले भने।
मोरङ–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा वक्ता तय गर्न आयोजित छलफलमा आफू समेत रहेको दाबी गरेका अर्का एक नेताले 'खाण बुटवल जान परेको र गुरू घिमिरे बोल्न चाहेकाले वक्ता राखिएको' बताए। घिमिरे मोरङ–काठमाडौं सम्पर्क समितिका पूर्वअध्यक्ष हुन्।
नेविसंघका पूर्वसभापति घिमिरेले कोइरालालाई १५ औं महाधिवेशनमा सभापतिको माहोल बनाउन भन्दै गत मंसिर २७ गते अनामनगरमा सम्पर्क कार्यालय नै खोलेका थिए। यो सम्पर्क कार्यालय घिमिरेको संयोजकत्वमा देवराज चालिसे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, गोमा केसी, टेकराज पौडेल, केशव सिंह, मोदिनी सिटौला लगायतले खोलेका थिए।
गत फागुन १९ गते खाणले गृहजिल्ला रूपन्देहीमा भएको 'राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान' कार्यक्रममा बोल्दै कोइरालासँग निकट भएको संकेत गरेका थिए। उक्त कार्यक्रममा कोइराला, केन्द्रीय सदस्य रिजाल लगायत नेताहरू उपस्थित थिए।
'अब म डाक्टर बन्न त उमेरले थेग्दैन,' कोइराला र रिजाललाई लक्ष्य गर्दै खाणले भनेका थिए, 'दुवै डाक्टरहरूको संगत चाहिँ गर्छु।'
लामो समय देउवाको संगत गरेका खाणको यो अभिव्यक्तिले उनी कोइरालातिर नजिकिएका छन् भन्ने छनक नेता–कार्यकर्तालाई दियो।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परी थुनामा रहेका पूर्वगृहमन्त्री खाण थुनामुक्त भएपछि केही समय मौन थिए। रूपन्देही केन्द्रित राजनीतिक गतिविधिमा सक्रिय खाण काठमाडौं सहित अन्य जिल्लाका कार्यक्रममा भने खासै देखिएका छैनन्। खाणको मुद्दा अझै किनारा लागिसकेको छैन। उनी अदालतको आदेशमा थुनामुक्त मात्र भएका हुन्।
नेविसंघ र तरूण दल तथा पटक पटक सांसद र मन्त्री रहँदै लामो समयदेखि केन्द्रीय समितिमा रहेका खाणको संगठनभित्र पकड छ भनिन्छ। तर उनीमाथि मुद्दा लागेकाले कति नेता कार्यकर्ता उनको सम्पर्कबाट लाखापाखा लागे यकिन छैन।
देउवा र आरजु राणासँग पछिल्लो समय सम्बन्ध सुमधुर हुन नसक्दा खाण कोइरालानिकट बन्न पुगेको चर्चा छ। खाण जेल परेका बेला जेलमै पुगेर पटक पटक कोइरालाले भेटेका थिए। दुई महामन्त्री थापा र विश्वप्रकाश शर्माले भने खाणविरूद्ध भुटानी शरणार्थी काण्डमा अदालतमा मुद्दा दायर भएपछि उनलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्नुपर्ने माग राखेका थिए। तर देउवाकै चाहना अनुसार खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गरिएको थिएन।
बुधबार रूपन्देहीमा कांग्रेसको क्षेत्रीय सम्मेलन भएको थियो। उक्त कार्यक्रममा महामन्त्री थापा र खाणले 'मञ्च सेयर' गरेका थिए। गृहजिल्ला रूपन्देहीमा हुने पार्टीका कार्यक्रम खाणले छुटाउने गरेका छैनन्।
कांग्रेस–माओवादी गठबन्धन सरकार भएका बेला आफू पक्राउ परेको र त्यसको पूर्वजानकारी देउवालाई भए पनि 'जोगाउन भूमिका नखेलेको' मा खाणको दुखेसो हुने उनीनिकट नेताहरू बताउँछन्।
२०८० वैशाख २७ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि भने खाण देउवासँग बिच्किएका हुन्। जति बेला कांग्रेसका शक्तिशाली मानिने नेता खाणलाई प्रहरीले पक्राउ गर्यो, त्यस बेला माओवादी र कांग्रेस गठबन्धनकै सरकार थियो।
आफ्नै सरकार छँदा पनि पक्राउ परेको घटनामा खाणले देउवासँग चित्त दुखाएका थिए।
'देउवाको ग्रीन सिग्नल भएकैले मलाई पक्राउ गरिएको हो' भन्दै खाणले निकटवर्तीहरूलाई भन्ने गरेका थिए, 'मलाई पक्रिन देउवाले संकेत दिएकै थिए।'
सात महिना जेल बसेपछि खाण धरौटीमा छुटे र कोइराला निकट हुन थाले। त्यही बलमा कोइरालाले संसदीय दल नेताबाट देउवालाई हुत्त्याउने आन्तरिक जमर्को गरेका थिए। तर मुद्दा मामिला कायमै रहेको र आफू कमजोर अवस्थामा भएकाले संसदीय दलको नेताबाट देउवालाई हटाउन साथ दिन नसक्ने जबाफ खाणले कोइरालालाई दिएका थिए।
यस्तो प्रयास विफल भएपछि गएको जनवरी पहिलो साता कोइराला एक कार्यक्रममा सहभागी बन्न बेलायत जानुअघि देउवासँग भेट गरेका थिए।
त्यो भेटको सुरूमै देउवाले कोइरालालाई भने, 'तपाईं त अझै पनि मलाई संसदीय दलको नेताबाट हटाउन खोज्दै हुनुहुँदो रहेछ।'
जबाफमा कोइरालाले 'म त लन्डन जान लागेको छु, तपाईं मजाले सभापति चलाउनुस्' भनेका थिए।
कोइरालाले केही महत्त्वपूर्ण सूचना पाउँदा वा विदेश जानुअघि देउवालाई भेटेर जानकारी दिने गरेका छन्। आफूलाई संसदीय दल नेताबाट कोइरालाले हटाउन जोडबल गरेको चाल पाएपछि देउवाले महामन्त्री थापालाई आफू निकट तानेको अनुमान गर्ने कांग्रेसमा धेरै छन्। त्यसपछि नै संसदीय दल नेता परिवर्तन गर्ने शेखरको चाहनामा पूर्णविराम लागेको उनीहरूको भनाइ छ।
देउवालाई संसदीय दल नेताबाट हटाउन कोइरालालाई खाण र महामन्त्री थापा दुवैको उत्तिकै साथ चाहिन्छ। २०७९ पुस ६ गते संसदीय दल नेताको चुनाव हुँदा देउवाले ६४ र थापाले २५ मत ल्याएका थिए।
त्यस बेला कोइराला उठेको भए थापाको भन्दा कम्तीमा आठ/दस मत बढ्ने उनी निकट नेताहरूले दाबी गरेका थिए। कोइरालाले पनि ४० मत ल्याउने अपेक्षा गरेका थिए। तर कोइराला निकट सांसदहरूले उनलाई मत दिएनन्। देउवा पक्षका केही सांसद र थापा पक्षलाई एकताबद्ध गरेको भए कोइरालाले संसदीय दल नेतामा देउवालाई चुनौती दिन सक्थे।
तर अहिले कोइराला र थापाको बाटो अलग भएजस्तै देखिन्छ। लामो समयदेखि उनीहरूबीच संवाद भएको छैन भने करिब दुई वर्षदेखि कोइरालाले गुट बैठक राखेका छैनन्। अहिले त कोइराला र थापा दुवै सभापति उम्मेदवार हुन आन्तरिक तयारीमा जिल्ला दौडाहामा छन्।
लामो समय देउवा समूहमा रहेका र अहिले कोइरालासँग नजिकिएका अर्का नेता हुन् – एनपी साउद। कञ्चनपुरबाट चुनाव जित्दै आएका उनी आधिकारिक रूपमा देउवा समूहमै छन्। २०४८ सालमा नेविसंघ अध्यक्ष भएका उनी पार्टी केन्द्रीय सदस्य र पटक पटक मन्त्री भए, देउवासँग सहकार्य गर्दै आए।
कोइराला समूहले गएको मंसिर १७ र १८ मा कोशीमा पालिका सभापतिहरूको भेला गरेको थियो। त्यो भेला यस्तो बेलामा आयोजना भएको थियो, जसको ४ दिनपछि अर्थात मंसिर २२ मा प्रदेश समितिले प्रदेश भेला हुँदै थियो।
आफूहरूसँग सल्लाह नगरी प्रदेश अधिवेशन गरिएको भन्दै असन्तुष्ट कोइराला समूहले पार्टीको कार्यक्रमअघि नै भेला राख्दा पनि साउद आउने भनेर प्रचार गरियो। पार्टीको संस्थापन पक्ष जसरी पनि कोइरालाको भेला रोक्न लागेका बेला साउद आउने हल्लाले विराटनगरमा चर्चा पाएको थियो।
नेविसंघको नेतृत्व गरिसकेका, पटक पटक मन्त्री भइसकेका र देउवा निकटका साउद कोइराला समूहको समानान्तर भेलामा आउने विषयलाई विराटनगरमा जोडतोडले प्रचार गरिए पनि साउद भेलामा गएनन्।
यस पटक पनि कोइराला समूहकै पकडमा रहेको मोरङ–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा साउद गए।
साउदलाई यसबारे सोध्दा उनको जबाफ छ, 'विराटनगरमा चाहिँ त्यो भूगोलभन्दा माथिल्लो कार्यक्रम भएकाले नगएको हुँ। काठमाडौंमा पार्टीकै सम्पर्क समितिले कार्यक्रम गरेकोले गएँ।'
चैत २६ गते ३५ औं जनआन्दोलन दिवसका अवसरमा चितवनमा कार्यक्रम थियो। कोइराला, साउद, गोविन्द भट्टराई लगायत केन्द्रीय सदस्यले 'मञ्च सेयर' गरेका थिए। गृहजिल्ला चितवन नै भएका केन्द्रीय सदस्यहरू उमा रेग्मी, टेकप्रसाद गुरूङ, दिनेश कोइराला र जिल्ला सभापति राजेश्वर खनाल पनि सँगै देखिए।
कांग्रेसभित्र नयाँ ध्रुवीकरण विकसित हुँदै गर्दा साउद शेखरको निकट पुगेको चर्चा छ। यही चर्चाबारे थप प्रश्न गर्दा साउदले झर्को मानेझैं गरी भने, 'अहिले यसबारे कुनै कुरा नसोध्नुस्।'
कोइराला निकट मोरङका एक नेताले साउद अब उनीहरूकै टिममा आउने लगभग पक्का भइसकेको बताए। ती नेताले आत्मविश्वासपूर्वक यसो भनिरहनुको अर्को कारण पनि छ।
कोइराला केही समयअघि सुदूरपश्चिम पुगेका थिए। धनगढी विमानस्थलमा उनलाई स्वागत गर्न लाम लाग्नेहरूमा साउदनिकट नेता–कार्यकर्ताहरूकै बाक्लो उपस्थिति देखिन्थ्यो। कोइराला र साउदको निकटता बढ्नुको पछाडि भूराजनीतिक आयाम पनि रहेको बताउनेहरू छन्।
खासगरी भारत केपी शर्मा ओली नेतृत्वको सरकारसँग सन्तुष्ट छैन। ओलीलाई प्रधानमन्त्रीका रूपमा देख्न नचाहेको भारत यो सरकारले चीन सरकारको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) फ्रेमवर्कमा गरेको सम्झौतापछि झनै चिढिएको छ। कतिसम्म भने अहिलेसम्म उसले नेपालका प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तोसम्म दिएको छैन।
सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को मातृ संस्था मानिने कट्टर हिन्दुवादी संगठन आरएसएस स्वयं पनि अहिलेको सरकारसँग सन्तुष्ट छैन। विश्व हिन्दु महासंघ नेपाल च्याप्टरकी उपाध्यक्ष ज्योत्सना साउद एनपी साउदकी पत्नी हुन्। उनी पछिल्लो समय कांग्रेस हिन्दु राज्यका पक्षमा उभिनुपर्ने अभियानकी एक मुख्य पात्र हुन्।
एनपी साउद स्वयंले पनि केही समयअघि संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा 'अहिलेको सरकार आउँदो बजेट अगाडि नै ढल्ने भयो' भनेका थिए।
थाइल्यान्डमा हालै सम्पन्न बिमस्टेक सम्मेलनमा प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच करिब ४५ मिनेट एक्लाएक्लै भेट भएपछि दुई प्रधानमन्त्रीबीच सम्बन्ध सुधार हुने अनुमान गरिएको छ। सो भेटपछि प्रधानमन्त्री ओलीले उत्साहपूर्ण प्रतिक्रिया दिएका छन्। त्यो भेटले आउने दिनहरूमा नेपाल–भारत सम्बन्धमा कति सकारात्मक प्रभाव पार्छ, हेर्न बाँकी नै छ।
नेता गुरूराज घिमिरे बालकृष्ण खाण र एनपी साउद कोइरालासँगै एकै मञ्चमा देखिनुलाई अनौठो मान्न नहुने बताउँछन्। उनीहरू एकै मञ्चमा उपस्थित हुनुलाई ध्रुवीकरणको रूपमा बुझ्न नहुने उनले बताए।
'अतिथि खोज्दै जाँदा उहाँहरूलाई निम्त्याइनु संयोग होला। यसलाई ध्रुवीकरण भनेर बुझ्न नमिल्ला,' उनले भने।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पनि 'मञ्च सेयर' गरेकै आधारमा नेताहरूले गुट परिवर्तन गरेको रूपमा बुझ्न नहुने बताए।
'समयमै महाधिवेशन हुनुपर्छ भनेर उहाँ (कोइराला) ले भन्दै आउनुभएको छ। कार्यक्रमहरूमा नेताहरूले मञ्च सेयर गरेकै आधारमा गुट परिवर्तन गरे भन्न हुँदैन,' थपलियाले भने, 'महाधिवेशनका लागि टिम तयार त अन्तिम समयमा हुने रहेछ भन्ने मैले १३ औं महाधिवशनमा देखिसकेँ।'
पछिल्लो समय कोइरालाले भने सरकारको भविष्यबारे मुख खोलिहालेका छैनन्।
कुनै बेला आफैले सबैभन्दा धेरै वकालत गरेको स्थायित्वका लागि 'कांग्रेस–एमाले' मिल्ने मोडलबाट बनेको सरकारसँग कोइराला सन्तुष्ट भने छैनन्। सरकारले सुशासनका क्षेत्रमा पटक्कै काम गर्न नसकेको उनको बुझाइ छ। कोइरालाले कांग्रेस र एमाले मिलेर स्थिर सरकार बनाउनुपर्छ भन्दै वकालत गरेका मात्र होइन, कोशीमा आफूनिकट सांसद केदार कार्कीलाई त्यस बेलाको गठबन्धन विरूद्ध एमालेको समर्थनमा मुख्यमन्त्री नै बनाएका थिए।
कोइरालाले पछिल्लो समय देउवासँग तिक्तता नरहेको पनि बताउन थालेका छन्। कतिपयले देउवा समूहका नेता तानिरहेका कोइरालाले देउवाकै आशीर्वादका लागि 'मिठो बचन' बोल्न थालेको भन्छन्।
देउवालाई फकाएर वा दबाब दिएर २०८२ मंसिर मसान्तभित्रै १५ औं महाधिवेशन गर्नुपर्ने कोइरालाको मत छ। नेता–कार्यकर्ताबीच पनि उनले त्यही अनुसार आग्रह गर्दै आएका छन्। तर कांग्रेसको महाधिवेशन २०८२ मंसिरमा नहुने लगभग पक्का जस्तै छ। विधान अनुसार पनि महाधिवेशनको मिति केन्द्रीय समितिले एक वर्ष सार्न सक्छ।
कोइरालाका लागि देउवा पक्षका नेताहरू आफूतिर तान्न थप डेढ वर्षको समय छ। त्यसबीच महामन्त्री थापाले पनि देउवा पक्षका नेता तान्न बल लगाउने छन्।
अझ मुख्य कुरा, महाधिवेशन नजिकिँदै गर्दा देउवाले पनि आफ्नो समर्थन कसलाई छ भन्ने खुलाउँदै जानेछन्।
सभापति देउवाले आफ्नो समूहबाट कोही नेता अघि सार्छन् कि, कोइराला वा थापालाई यो कुरा अहिले प्रस्ट छैन। देउवा समूहका नेता तान्ने कोइरालामा देखिएको अहिलेको रणनीतिले १५ औं महाधिवेशनमा काम गर्छ कि गर्दैन भन्ने पनि यकिन छैन। तर कोइरालाको ध्यान देउवा पक्षका नेता तान्नेमै छ।
अर्कातिर देउवा समूहभित्र पनि ११ नेता र ६ नेता गरी बेग्लाबेग्लै छलफल हुन थालेको छ। महाधिवेशनसम्म देउवा समूह एक ढिक्का राख्नुपर्नेमा उनीहरू छन्।
कोइरालालाई भाइ शशांक भने देउवा समूहमा प्रवेश गरेकोमा खिन्नता छ।
***