अर्घाखाँचीमा हावाहुरी सहित परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. १० धनचौरस्थित लिसेपानीका ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घरको दलाममा बसिरहेका घर्तीलाई विहीबार बिहान चट्याङ लागेको थियो। चट्याङ लागेर बेहोस बनेका उनलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा दिउसो साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा रहेका अरु सदस्यहरु भने सकुशल छन्।
हावाहुरीले भूमिकास्थान र पाणिनी गाउँपालिकाका विभिन्न स्थानमा घरगोठका छाना उडाएको छ। हिउँदभरीको लामो खडेरीपछि बुधवार रातीदेखि चलेको हावाहुरी र बर्षाले घरगोठमा लगाएको टिनको छानो उडाएको पाणिनि गाउँपालिका वडा नं. ६ धातिबाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जनाएको छ।
धातिबाङ्गमा १७ वटा घर गोठका छाना उडाएको वडा अध्यक्ष पौडेलले जानकारी दिए। बुधवार मध्यरातमा हावाहुरी चलेकोले विहिबार साँझसम्म पनि क्षतीको विवरण संकलन भईरहेको उनले जानकारी दिए। पौडेलका अनुसार वडाभित्रका ११ वटा घर र ६ वटा गोठमा लगाएको छानो हावाहुरीले उडाएको हो।