लोकप्रियतावाद लोकतन्त्र विरोधी हुन्छ, समाजवाद र उदारवाद विरोधी हुन्छ। यो अधिनायकवादी चरित्रको हुन्छ। तैपनि लोकप्रियतावाद देशकाल अनुसार अनेक रूपमा प्रकट भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अघोर दक्षिणपन्थी लोकप्रियतावादका नमूना हुन्। लोकप्रियतावादको बुई चढेर नै उनी दोस्रोपटक सत्तामा पुगेका हुन्। अहिले आप्रवासीविरूद्ध चरम घृणा फैलाउँदै अमेरिकी र विश्व समुदायलाई विभक्त र त्रसित बनाउँदै छन्।
बेलायतका नेता नाइजल फाराज, फ्रान्सकी नेता मेरिन लपेन पनि लोकप्रियतावादी नै हुन्। हंगेरीका अधिनायकवादी शासक भिक्टर ओर्बन पनि त्यही कित्तामा पर्छन्। त्यस्तै, छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ दक्षिण एसियाका हिन्दुवादी र दक्षिणपन्थी लोकप्रियतावादका उत्तम नमूना मानिन्छन्।
फ्रान्सेली प्राध्यापक क्रिस्टोफे जेफर्लटको सन् २०२१ मा प्रकाशित पुस्तक 'मोदीज इन्डिया' ले प्रस्ट देखाउँछ — मोदीको चरम हिन्दुवादी र जातिवादी सत्ताले विश्वकै ठूलो लोकतन्त्र भारतलाई अधिनायकवाद र असहिष्णुतातर्फ धकेल्दै लगिरहेको छ। मुस्लिम, दलित र आदिवासीहरूलाई घोर अन्याय र अत्याचारमा पारेको छ।
पछिल्लो समय नेपाली राजनीतिमा पनि लोकप्रियतावादले केही सफलता हासिल गरिसकेको छ। रवि लामिछानेको चुनावी चमत्कार लोकप्रियतावादकै तागतले सम्भव भएको हो। बालेन शाह, हर्क साम्पाङहरू पनि लोकप्रियतावादी मार्गबाटै मेयर बनेका हुन्। उनीहरूको आचरण र व्यवहार त्यस्तै छ।
पार्टीका शासक वर्गविरूद्ध समाजमा उर्लिँदो आक्रोश र आवेगको बुई चढेर यिनले जनमत हासिल गरे। पार्टी र नेताको भ्रष्ट आचरण र नीतिको विरोध गरेर शासन हत्याए। तर यिनको आफ्नै खास वैचारिकी, दार्शनिकी केही छैन। न त संघर्षको इतिहास नै छ। उनीहरूसँग छ त केवल जनआवेग, जनआक्रोशका आधारमा सस्तो स्टन्टबाजी!
यथार्थमा संसारभरका लोकप्रियतावादीको आधारभूत चरित्र यही हो।
क्यानाडाका प्राध्यापक ब्रायन सिंगरले लेखेका छन् — लोकप्रियतावादीको वैचारिकी पातलो हुन्छ, तर नाटकीय प्रस्तुति बाक्लो हुन्छ। फन्डाबाजी धेरै हुन्छ। उनीहरू आफूलाई आधुनिक जमानाका संरक्षक या भगवानकै रूपमा प्रस्तुत गर्छन्। तर आफै शासक बनेपछि लोकप्रियतावादीहरू राजनीतिक संस्कारविहीन हुन्छन्, स्वेच्छाचारी हुन्छन्, अधिनायकवादी हुन्छन्।
यो चरित्र हाम्रा अकस्मात उदाएका मेयर साहबहरूका उत्ताउला सोसल मिडिया पोस्टहरू, हाउभाउहरू र आचरणहरूमा पनि देख्न सकिन्छ।
हंगेरियन–अमेरिकन इतिहासकार जोन लुकासले आफ्नो सन् २००५ को पुस्तक 'पपुलिजम एन्ड डोमोक्रेसी' मा सचेत गराएका छन् — जति नै चर्चित भए पनि लोकप्रियतावादीहरू लोकतन्त्रका लागि खतरा हुन्। उनीहरूले शासक वर्गको उछित्तो काढ्ने निहुँमा समाजमा चरम त्रास र घृणा फैलाउँछन्।
तसर्थ, आर्थिक समृद्धिका साथै मानव अधिकार, जातीय र लैंगिक समानता चाहनेहरूले सिद्धान्ततः लोकप्रियतावादको समर्थन गर्नु गलत हुन्छ। यो सत्यको गहिराइ बोध गर्न हार्वर्ड ल स्कुलका प्राध्यापक जेरल्ड न्युम्यानद्वारा सम्पादित सन् २०२० को पुस्तक 'ह्युमन राइट्स इन द टाइम अफ पपुलिजम' पढ्न सिफारिस गर्छु।
डोनाल्ड ट्रम्पको दोस्रो शासनकालमा अमेरिकी र विश्व समुदायमा जस्तो उथलपुथल भइरहेको छ, त्यसबाट पनि लोकप्रियतावादी राजनीतिको खतरा बुझ्न सजिलो हुन्छ। ट्रम्पले ह्वाइट हाउसमा पाइला राख्नेबित्तिकै अमेरिकी सत्ता अधिनायकवादी र अनुदारवादी बन्दै गएकोमा धेरै अमेरिकीहरू चिन्तित बनेका छन्। कतिपय आप्रवासी र लैंगिक अल्पसंख्यक अमेरिकीहरूको जीवन तहसनहस बन्दै छ। केही नेपालीहरू र भुटानी शरणार्थीहरू समेत सिकार बनेर जबर्जस्ती फर्काइएका छन्।
पछिल्लो समय हाम्रो देशमा कथित राजावादी लोकप्रियतावादले टाउको उठाएको छ। सम्भवतः यो भारतीय मोदीवाद र योगीवादको बाछिटा पनि हो। यसको पृष्ठभूमिका नायक पूर्वराजा ज्ञानेन्द्र शाह हुन् भने प्रकट नायक मेडिकल व्यवसायी दुर्गा प्रसाईं।
तीनकुने हिंसा मच्चाएर लुक्दै हिँडेका दुर्गा प्रसाईं यति स्टन्टबाजी गर्छन्, आफैले आफूलाई हाकाहाकी पौराणिक कथाकी दुर्गाको साक्षात् अवतार ठान्छन्।
राजावादी लोकप्रियतावादीहरूले नेपालको इतिहास अपव्याख्या गर्दै राजाका पालामा नेपालमा रामराज्य थियो भन्ने भ्रम सिर्जना गरेका छन्। देशमा गणतन्त्र आएपछि मात्र तमाम भ्रष्टाचार, बेरोजगारी, बेथिति मौलाएको हो भन्ने गलत अर्थ लगाएर नवयुवाहरूको ध्यान खिच्ने उनीहरूको प्रयास छ।
राजावादीले दाबी गरेअनुसार आज मुलुकको अस्तित्व संकटमा छ। हिन्दु राजा नफर्किए नेपाल सिक्किम बन्ने खतरा छ भन्ने उनीहरू ठान्छन्।
तिनको नजरमा राजा साँच्चै भगवान विष्णुका अवतार हुन्, जसले देशका तमाम समस्याहरू जादुमय तरिकाले हल गर्न सक्छन्, भ्रष्ट नेताहरूलाई ठेगान लगाउन सक्छन्, मुलुकमा उद्योग व्यवसाय विस्तार गर्दै आर्थिक उन्नतिको मार्ग खोल्न सक्छन्। विश्वसामु देशको शिर उँचो पार्न राजा नफर्की हुँदैन भन्ने राजावादीहरूको तर्क छ।
मुलुकको इतिहास र समाजशास्त्रबारे थोरै ज्ञान भएका जोकोहीले सजिलै बुझ्न सक्छन्, राजावादीका यस्ता विचार गलत छन्, भ्रामक छन्, झूटपूर्ण छन्।
हुन त सीमित कुलीन वर्ग र परिवारहरूका लागि राजाको प्रत्यक्ष शासन रामराज्य नै थियो होला। धेरै ठकुरीहरू, राणाहरू, पहुँचवाला बाहुनक्षत्रीहरूको जीवन त्यतिखेर शक्तिशाली र सुखमय थियो होला। तर शासक वर्गको खुसीलाई नै आफ्नो खुसी ठान्ने मूर्ख छैनन् आजका जनता। आम जनमानसमा र उत्पीडित जनसमुदायमा समेत शिक्षाको ज्योति फैलिएको छ। हाम्रो राजनीतिक चेतना ह्वात्तै बढेको छ। विश्व ज्ञान मोबाइलका माध्यमबाट हातहातमा पुगेको छ।
सर्वसाधारणलाई छल्न, झुक्क्याउन, ढाँट्न अब त्यति सजिलो छैन। आजका सचेत जनताले स्वतन्त्रता, समानता, सहिष्णुता त्यागेर पुरानै सामन्ती राजा स्वीकार गर्दैनन्। तल्लोभन्दा तल्लो ठानिएको जातका मान्छे समेत राष्ट्र प्रमुख बन्ने गणतान्त्रिक व्यवस्था फ्याँकेर एउटा परिवारलाई जन्मजात शासक बनाउन को तयार होला?
नामैले थाहा हुन्छ, राजावाद भनेको पुरातनपन्थी जहानियाँवाद, वंशवाद र सामन्तवाद हो। परिभाषाले नै राजावाद लोकतन्त्र विरूद्ध छ। एउटा खास धर्मको खास जातको खास परिवारको सन्तान-दर-सन्तानले जन्मजात शासन गर्न पाउने व्यवस्था कुन लोकतान्त्रिक परिभाषामा पर्छ?
वर्तमान शासन-सत्ताप्रति जनतामा धेरै दुखेसा, आक्रोशहरू नभएका होइनन्। तैपनि अहिलेको व्यवस्था व्यवस्था पल्टाएर पुरानै बाटोमा हिँड्ने चाहना कसैलाई छैन। अंग्रेजी भनाइजस्तै बच्चा नुहाएको पानी फाल्दा बच्चै फाल्नु हुँदैन। अर्थात्, गणतन्त्रको विकल्प गणतन्त्र नै हो। हामी सन्तुष्ट छैनौं र योभन्दा सुधारिएको, परिस्कृत, जनमुखी लोकतन्त्र चाहेका छौं।
राजसंस्थाप्रति अगाध जनविश्वास थियो भने त्यसको पुनर्बहाली गर्ने मूल विचार लिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावमा बहुमत ल्याउने थियो र आफूले चाहेअनुसार शासनसत्तामा उथलपुथल गर्ने थियो।
रेडियो, टिभीमा बहस नगर्ने ठूलो हिस्सा राजसंस्थाप्रति खुसी छैन। राजतन्त्रको कुन गुन सम्झिएर दलितले, जनजातिले, मधेसीले, थारूले, मुस्लिमले, क्रिश्चियनले हिन्दु राजसंस्थाको समर्थन गर्ने?
राजाको शासनमा जस्तो चरम जातिवाद, दमन, अत्याचार, अपराध, बेथिति कहिले थियो? ऊ बेलाको जस्तो सेन्सरसिप कहिले थियो?
पञ्चायती व्यवस्थामा एउटा गीत रेडियो नेपालमा रेकर्ड गर्न समेत राजाका प्रतिनिधिले शब्दहरू हेरेर अनुमति दिनुपर्थ्यो। आजसम्म पनि त्यस्तै निरंकुश राजसंस्था कायम भए सामाजिक सञ्जाल प्रतिबन्धित हुने थियो। मिडियामाथि कठोर नियन्त्रण भएकै कारण त्यति बेला राजसंस्थाका तमाम अन्याय, अत्याचार सबैले देख्न सकेनन्, बुझ्न पाएनन्। तर अब त्यो जमाना छैन। अभिव्यक्ति स्वतन्त्रता आमसंस्कृति बनिसकेको अवस्था छ।
पक्कै पनि आजको दलीय व्यवस्थाप्रति जनता रूष्ट छन्। राज्य लोकतान्त्रिक नहुनाले, जिम्मेवार नबन्नाले धेरैले दु:ख पाएका छन्। देश झन् झन् दरिद्र बन्दैछ। विशेषतः उत्पीडित जनतामाथि दमन र अत्याचार कायमै छ। दलितमाथि अपमान, घृणा, हिंसा कायमै छ। शासकहरूले जातीय विभेद अन्त्य गर्नेतर्फ सिन्को भाँचेका छैनन्।
तर राजाले देश स्वर्ग बनाउने भए २५० वर्षसम्म किन बनाउन सकेनन्? किन सम्पन्न मुलुक बनाउन सकेनन्? किन जातीय, क्षेत्रीय, लिंगीय विभेद अन्त्य गर्न सकेनन्?
हामीलाई प्रस्ट थाहा छ, आजका दलहरूले, नेतृत्वहरूले गर्नुपर्ने जति काम नगरे पनि धेरै समस्याका जरा राजाकै शासनले गाडिएका हुन्। समग्र देशलाई हिन्दुकरण गरी मनुवादी नीतिअन्तर्गत जातीय विभेद संस्थागत गर्ने अरू कोही नभएर लिच्छवि, मल्ल, खस, शाह वंशीय राजाहरू र राणा प्रधानमन्त्रीहरू नै हुन्।
पृथ्वीनारायण शाहले नेपाललाई चार जात छत्तीस वर्णको फूलबारीका रूपमा परिभाषित त गरे, तर धेरै जनताका लागि र खासगरी गैरतागाधारीका लागि यो देश सुन्दर फूलबारी होइन, कठोर काँडाघारी बन्यो। विभेद र दमन संस्कार र संस्कृति बन्यो।
केहीअघि पूर्वराजा ज्ञानेन्द्रले गोरखा दरबार पुगेर कालिकाको दर्शन गरे। उक्त देवीलाई शाह परिवारको कूलदेउता ठानिन्छ। तर त्यही मन्दिरमा पुस्तैनी बाजा बजाउने बिसे नगर्चीका सन्तानले आजसम्म प्रवेश पाएका छैनन्। हिन्दु राजसंस्था जातीय उत्पीडनका मूलस्रोत हुन् भन्ने दरो प्रमाण होइन यो?
अनि त्यही हिन्दु राजतन्त्र फर्काएर दीनदु:खीको उद्धार हुन्छ, राष्ट्रको उन्नति-प्रगति हुन्छ भन्नु कतिसम्मको मूर्खता हो, कुन हदसम्मको बेइमानी हो!
तैपनि राजावादी लोकप्रियताको खतरा नजरन्दाज गर्नु हुँदैन। शाही सत्ताको सकस नभोगेका, इतिहास र समाजशास्त्र राम्ररी नबुझेका, कतिपय देशबाहिर बस्ने नवयुवाले सामाजिक सञ्जालमा बोल्ने, झूट प्रचार गर्ने, स्वार्थी चतुरेहरूको बोलीमा विश्वास गर्दै राजतन्त्र फर्काउने कित्तामा आफूलाई उभ्याउन सक्छन्।
यो खतराप्रति हामी सबै चनाखो हुनुपर्छ। स्वयं गणतन्त्रवादीहरू पनि दिग्भ्रमित बन्नु हुँदैन। हिन्दुवाद, मनुवादका आधारमा हाम्रो सामाजिक संरचना बनेको हुनाले कतिपय नेपालीले अझै पनि राजालाई विष्णुको अवतार ठान्न सक्लान्। तर त्यो समर्थन धार्मिक र सांस्कृतिक मात्र हो, राजनीतिक होइन। राजालाई पूजा गर्नेले पनि उनलाई शासक बनाउन खोजेका छैनन्।
राजावादी लोकप्रियतावादको सम्भावित खतरा टार्ने प्रमुख दायित्व राजनीतिक दलहरूको हो, मूलतः नेतृत्व वर्गको हो। उनीहरू समयमै सच्चिनुपर्छ।
राजनेताहरूले राजनीतिक स्थायित्व दिनुपर्छ, आर्थिक उन्नतिको बाटो खोल्नुपर्छ। भ्रष्टाचार, नातावाद, कृपावाद, जातिवाद नियन्त्रण गर्नुपर्छ। जातीय, लिंगीय, क्षेत्रीय विभेद हटाउन ठोस कदम चाल्नुपर्छ। पटक पटक व्यवस्था पल्टिने र शाही सत्तासँग जुध्नुपर्ने परिस्थिति अन्त्य हुनुपर्छ।
तब मात्र, सामाजिक सञ्जालमा छाएका बिना विचार र दृष्टिकोण लोकप्रियतावादी स्टन्टबाजहरू, चटकेहरू आफै पाखा लाग्दै जानेछन्।
(लेखक डा. मित्र परियार समाजशास्त्री तथा दलित अभियन्ता हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटर- @MitraPariyar