नेपाली कांग्रेसका सांसद गगन थापाले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा दर्ता नगरिएकोमा शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको स्पष्टिकरण माग गरेका छन्।
संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराउँदै थापाले समयसीमा गुज्रन लाग्दा पनि किन चिकित्सा शिक्षा विधेयक संसदमा नल्याएको भन्दै प्रश्न गरेका हुन्।
थापासहित तीन सांसदले दर्ता गराएको ध्यानाकर्षण प्रस्तावमा भनिएको छ - 'अध्यादेश जारी भएको साठी दिन पुग्न अब केही दिन मात्र बाँकी रहेकाले यस सम्बन्धमा सरकारको तयारी के कस्तो छ? किन प्रतिस्थापन विधेयक आउन सकेको छैन? यस सम्बन्धमा सदनलाई स्पष्टिकरणसहित जानकारी गराउन अनुरोध गर्दछु।'
थापाले प्रस्तावमा अध्यादेशको भावना र मर्म अनुसार विधेयक आउन लागेको छ कि छैन भनेर समेत प्रश्न गरेका छन्।
कानुन मन्त्रालय स्रोतका अनुसार चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा सरकारले उपत्यकामा दश वर्ष मेडिकल कलेज नखोल्ने प्रावधान हटाउने तयारी गरेको छ। शेरबहादुर देउवा सरकारले २०७४ कात्तिक २४ गते जारी गरेको अध्यादेशलाई केपी ओली सरकारले २०७५ वैशाख १३ गते निरन्तरता दिएको थियो।
अध्यादेश संसदबाट स्वीकृत भएको साठी दिन भित्र संसदमा प्रतिस्थापन विधेयक नल्याए स्वत: निष्कृय हुने प्रावधान छ। आउँदो असार २० गतेसम्ममा प्रतिस्थापन विधेयक संसदबाट पारित नभए अध्यादेश निष्कृय हुनेछ।
कानुन मन्त्रालयका अनुसार सरकारले १० वर्ष मेडिकल कलेज खोल्न नपाउने प्रावधानलाई घटाएर पाँच वर्ष राख्ने तयारी गरिरहेको छ। त्यस्तै सरकारी अनुदान र छात्रवृत्तिमा एमबिबिएस र एमडी गरेकालाई पाँच वर्ष अनिवार्य सेवाको प्रावधान थप्ने तयारी गरिरहेको छ।
थापाले ध्यानाकर्षण प्रस्ताव मार्फत् संसदले अध्यादेश अनुसारकै विधेयकका लागि निर्देशन अपरिहार्य भएको दावी गरेका छन्। थापाको प्रस्तावमा देवप्रसाद तिमिल्सिना र दिव्यमणी राजभण्डारीले समर्थन गरेका छन्।