सराङकोटबाट प्याराग्लाइडिङमार्फत् चराझैं उडेर फेवातालमाथि पामे साइडमा झर्न कसलाई मन लाग्दैन र!
धेरै पहिलादेखि हावामा कावा खाने चाहना थियो, लमजुङ बेसीशहरकी सविना गुरुङको। बेसीशहरमा फेन्सी पसल चलाएकी सविनाको पुरानो चाहना अहिले आएर पुरा भयो, जतिबेला पसलमा व्यापार थिएन।
‘अहिले खासै बिजनेस थिएन, यही बेला प्याराग्लाइडिङ गरौं भनेर पोखरा पुगें’, उनले भनिन्, ‘हावामा उड्दा चराजस्तै ‘फिल’ भयो।’
प्याराग्लाइडिङ गर्दा कतिपय डराउँछन्। आकाशमा प्याराग्लाइडिङ एक्रोब्याटिक गर्दा (फनफनी घुमाउँदा) सविना पनि डराइन्। उनले आकाशमै बान्ता समेत गरिन्।
प्याराग्लाइडिङ फनफनी घुमाउन छाडेर तल झर्दा भने उनको डर हरायो।
‘हल्लिँदैन रहेछ, पिङ खेलेजस्तै आनन्द आयो’ उनले भनिन्।
सविनाले यसअघि क्यानोनिङ र बञ्जी जम्पसमेत गरिसकेकी छिन्। उनीसँगै बेसीशहरबाट पोखरा आएकी विद्या तामाङ र सवनम तामाङले पनि प्याराग्लाइडिङ गरिन्। उनीहरू यही समय आउनुको खास कारण भने अरूले प्याराग्लाइडिङ गरेको भिडिओ देखेर हो।
टिकटकमा धेरैले प्याराग्लाइडिङको भिडिओ पोष्ट गरेका थिए। टिकटकमा सक्रिय तीनै जनाले पोखरा आएर प्याराग्लाइडिङ गरे, उनीहरूले पनि भिडिओ बनाएर टिकटकमा पोष्ट गरे। टिकटकमा प्याराग्लाइडिङ गरेको देखेरै धेरै जना आएको प्यारा पाइलटहरू बताउँछन्।
लकडाउनपछि प्याराग्लाइडिङमा देखिएका नेपालीको हुलले पोखराका पर्यटन व्यवसायीको आशा जगाएको छ।
लेकसाइडस्थित ओपन स्काई प्याराग्लाइडिङका सञ्चालक एवं प्यारा पाइलट शर्मिला शर्माले अब पोखरामा प्याराग्लाइडिङ उठ्न कम्तिमा पनि २-३ वर्ष लाग्ने सोचेकी थिइन्।
कारण, कोरोना महामारी रोक्न भएको ६ महिने लकडाउन र विदेशी पर्यटकको आवागमनमा रोक।
पर्यटक आउने सिजन चैतमै लकडाउन भएपछि अन्य व्यवसायजस्तै प्याराग्लाइडिङ पनि ठप्प थियो, प्याराग्लाइडिङ पनि बन्द। लकडाउन खुलेपछि सरकारले हवाई सेवा खुलाउने निर्णय गर्यो। त्यही निर्णयका आधारमा नेपाल हवाई खेलकुद संस्था (ना)ले पनि असोज ५ गतेदेखि प्याराग्लाइडिङ खोल्ने निर्णय गरे।
प्याराग्लाइडिङ सेवा सुचारू गर्ने निर्णयले मात्र हावामा उड्न मान्छे आएनन्।
कोरोनाको डर त छँदै थियो, त्यसमाथि आवागमनमा सरकारी बन्देज। पोखराका झण्डै १ दर्जन प्याराग्लाइडिङ कम्पनीले सेवा बन्द गर्ने निर्णय गरिसकेका थिए। अरूले पनि अब व्यवसाय उठ्न लामो समय पर्खनु पर्ने सोच्दै थिए।
प्याराग्लाइडिङ व्यवसायीको सोचविपरीत हावामा कावा खान मान्छेका चाहना रोकिएन। दशैंअघिदेखि प्याराग्लाइडिङ गर्नेको भीड उर्लियो।
‘यस्तो होला भनेर हामीले त सोचेका पनि थिएनौं’, शर्मिलाले भनिन्, ‘प्याराग्लाइडिङकै कारण पोखराका होटल रेष्टुरेण्टलाई पनि राहत मिलेको छ।’
असोजदेखि मंसिरसम्म नेपालको प्रमुख पर्यटकीय सिजन हो। यतिबेला पदमार्ग र पर्यटन क्षेत्र सुनसानप्राय छ।
सराङकोटमा बिहानै प्याराग्लाइडिङ गर्नेको भीड भने लकडाउन अघिको पर्यटकीय सिजनको भन्दा बढी छ। यसअघि नेपाली र चिनियाँ नयाँ वर्षको समयमा मात्र यस्तो भीड लाग्ने गरेको पाइलटहरूको अनुभव छ।
कोरोना महामारी आउनुअघि पोखराका प्याराग्लाइडिङ कम्पनी विदेशी पर्यटकलाई प्याराग्लाइडिङ गर्न प्रोत्साहन मिल्ने योजना बुन्थे। यसपालि विदेशी भएनन्। व्यवसायीले प्राथमिकता फेरे।
लकडाउनपछि प्याराग्लाइडिङ खुल्दा ५-६ वटा कम्पनीका पाइलटमात्र प्यारासुट बोकेर सराङकोट उक्लिए। पाइलटमात्र गएर के काम, उड्ने मान्छे नपाएपछि।
उनीहरूले आफन्त र साथीभाइलाई सस्तैमा प्याराग्लाइडिङ गराए। प्याराग्लाइडिङ गर्नेहरूले फोटो र भिडिओ फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा पोष्ट गरे।
लामो समय घरभित्र थुनिनु परेका नेपाली, जो घुमफिर र साहसिक पर्यटनमा चासो राख्छन्, यस्ता पोष्टहरूले उनीहरूलाई आकर्षित गर्यो। मर्दी पदमार्ग, अन्नपूर्ण आधार शिविर, मुस्ताङ, मनाङलगायतका ठाउँमा पदमार्ग जान चाहने नेपाली त्यहाँ जान पाएनन्। अझै पनि केही पदमार्ग र गाउँमा पिसिआर रिपोर्ट लिएर जानुपर्ने त कहीँ जानै नपाउने अवस्था छ।
‘पोखराको प्याराग्लाइडिङले उनीहरूलाई आकर्षित गर्यो’, नेपाल हवाई खेलकुद संस्था (ना)का सचिव माधव तिवारी भन्छन्, ‘घरभित्र उकुसमुकुसमा बसेका नेपालीले आकाशमा स्वच्छन्द भएर उड्न पाए।’
प्याराग्लाइडिङमा नेपालीलाई आकर्षित गर्न संस्थाले दिएको ५० प्रतिशत छुटको व्यवस्थाले पनि काम गरेको तिवारी बताउँछन्।
लकडाउन अघि सराङकोटबाट उडेर पामे साइडमा बस्दा एक जनाले ७ हजार रुपैयाँ तिर्नुपर्थ्यो। अहिले ३ हजार ५०० रुपैयाँमै प्याराग्लाइडिङ गर्न पाइने उनले बताए।
जब-जब नेपालीको चाप बढ्दै गयो, बन्द गर्ने मनस्थितिमा पुगेका कम्पनी पनि सराङकोटतिर प्याराग्लाइडिङ गर्न उक्लन थाले।
‘हामीले त बन्द गर्ने सोचेका थियौं’, तिवारी भन्छन्, ‘बन्द गरेका कम्पनी पनि फर्कदै छन्।’
पोखरामा अहिले प्याराग्लाइडिङ गराउने कम्पनी ६१ वटा छन् भने ३ सय ३८ जना प्याराग्लाइडिङ पाइलट छन्। जसमा १२ जना पाइलट महिला छन्।
पोखरामा प्याराग्लाइडिङले यसरी व्यावसायिक उडान भर्ला भनेर सुरूवाती पाइलटले सोचेका पनि थिएनन्।
सराङकोटको डाँडामाथि पुतलीको बथानजस्तो देखिने प्याराग्लाइडिङको जाम हेर्दा पहिलो पटक उडान भरेका नेपाली प्यारा पाइलट राजेश बमजमलाई कहिलेकाहीँ आश्चर्य लाग्छ।
उनले सन् १९९६ मै सराङकोटबाट प्याराग्लाइडिङ गरेर फेवातालको किनार झरेका थिए। त्यतिबेलैदेखि उनले व्यावसायिक रूपमा प्याराग्लाइडिङ गरे। उनले त्यतिबेला बल्ल एसएलसी दिएका थिए।
‘व्यावसायिक रूपमा प्याराग्लाइडिङ गर्छु भनेर सोचेकै थिइनँ’, उनले भने, ‘यत्तिकै रमाइलो मानेर उडेको थिएँ।’
उनलाई पोखरामा प्याराग्लाइडिङ सिकाएका थिए बेलायती प्यारा प्रशिक्षक एडम हिलले। एडम हिलकै अवधारणाअनुसार राजेशका बुबा बिरू बमजमले सन् १९९९ मा पहिलो पटक ‘सनराइज प्याराग्लाइडिङ’ नामक प्याराग्लाइडिङ गराउने कम्पनी खोलेका थिए। अहिले उक्त कम्पनी राजेशले धानेका छन्। कम्पनीमा ६ जना प्यारा पाइलट कार्यरत छन्।
‘त्यतिबेला विदेशीहरूले मात्र प्याराग्लाइडिङ गर्थे’, राजेश सम्झन्छन्, ‘त्यही पनि फाट्टफुट्ट मात्र।’
बेलायती प्यारा प्रशिक्षक एडम हिलभन्दा अघि पनि सराङकोटबाट प्याराग्लाइडिङ भएको थियो। राजेशका बुबा बिरुकै अर्का इटालियन साथी नाभियो इलियरले सन् १९९२ मै सराङकोटबाट प्यारासुटमा उडेका थिए। नाभियो इलियर त्यतिबेला नेपालमा पदयात्रा र पर्वतारोहणसम्बन्धी काम गरेको राजेशले बताए।
‘अहिले नेपालीको चाप बढेको सामाजिक सञ्जालले पनि हो’, उनी भन्छन्, ‘फेसबुक र टिकटकमा देखेको फोटो र भिडिओले नेपालीलाई प्याराग्लाइडिङ गर्न मन लाग्यो।’
विदेशीले मात्र गर्ने प्याराग्लाइडिङ व्यवसाय अब भने नेपाली पर्यटकले पनि धानिने अवस्थामा आएको उनले बताए।
दशैं अघिदेखि फस्टाएको प्याराग्लाइडिङ अहिले आएर लोलाएको छ। यसअघि दैनिक ६ सय जनासम्म प्याराग्लाइडिङ गर्न आउनेको संख्या आधा भन्दा कम भएको पाइलटहरुले जनाएका छन्।
अब सिजन सकिँदै जानु र मौसममा आएको खराबीले प्याराग्लाइडिङ गर्नेको संख्या घटेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारी बताउँछन्।
पछिल्ला केही दिन यता पोखराका आकाश सफा छैन। हिमाल राम्रोसँग खुल्न पाएका छैनन्। त्यसमाथि बढ्दो चिसो।
प्याराग्लाइडिङ गर्नेको संख्या घट्नुमा मंसिर ८ गतेको दुर्घटनाले प्रत्यक्ष प्रभाव पारेको भण्डारीले बताए। उक्त दिन सराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्याडिङ गर्ने स्थल नजिकै दुर्घटना हुँदा पाइलट राजु नेपाली गैरेको ज्यान गएको थियो भने राजुले उडाएका पर्यटक काठमाडौंकी शिला श्रेष्ठ गम्भीर घाइते छिन्। उनको काठमाडौंमा उपचार भइरहेको छ।
यसअघि यस्ता दुर्घटना भए पनि पाइलटको ज्यानै जाने गरी दुर्घटना नभएको प्याराग्लाइडिङ पाइलटहरू बताउँछन्।
सोलो अर्थात् एकल उडानमा केही दुर्घटना भएका थिए। टेण्डम अर्थात दुई जनाको उडानमा ज्यानै जाने गरी दुर्घटना भएको घटना भएको थिएन।‘दुर्घटनाका समाचारले हामी सबैलाई दु:खी बनायो’, नाका अध्यक्ष भण्डारीले भने, ‘यही समाचारले पनि प्याराग्लाइडिङ गर्न चाहनेको मनमा ठेस पुर्यायो।'