नववर्ष २०८२ को स्वागत गर्न पोखरामा फेवा महोत्सव सुरू भएको छ। लेकसाइडको बैदामदेखि खहरेसम्म सडकमा यातायात बन्द गरेर सांगीतिक कार्यक्रमसहित खानाका स्टल राखेर महोत्सव आयोजना गरिएको हो।
वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा नेचर, कल्चर एड्भेञ्चर तीनै हिसाबले उत्कृष्ट रहेको बताउँदै यस्तो विशिष्टतालाई अनुभव गर्न सकिने बनाउने दायित्व पर्यटन व्यवसायीको भएको बताए।
पोखराको यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने कार्य अगाडि बढिसकेको उनले जानकारी दिए।
पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा यसको प्रभाव सकारात्मक परेको बताउँदै उनले पोखराको नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिंदै जाने विश्वास व्यक्त गरे।
पोखरामा जलन अस्पताल निर्माणका लागि कोरियाली सहयोगमा प्रारम्भिक काम अगाडि बढेको जानकारी पनि उनले दिए।
महोत्सवका अवसरमा खहरे र ड्यामसाइडबाट निकालिएका आमा समूह सहितका विशाल झाँकीसहितका र्याली सभास्थलमा पुगेका थिए।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव तिनै दुई स्थल बीचको सडकमा सञ्चालन हुनेछ। पञ्चेबाजा, भजन र रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाच महोत्सवका आकर्षण हुन्। महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रूपमा रहेको छ।
पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहेका छन्। महोत्सवका अवसरमा संघअन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्दै छन्।
अहिले पोखराका ८० प्रतिशत होटलको अकुपेन्सी ८० प्रतिशत नै पुगेको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए।
'नयाँ वर्ष मनाउन पोखरा आउने पर्यटकलाई महोत्सवले मनोरञ्जनका साथै खानाका विविध परिकार र सांगीतिक कार्यक्रममा सडकमै पस्किएका छौं,' उनले भने।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य महोत्सवले लिएको उनले सुनाए।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पर्यटनबाट मात्र आर्थिक समृद्धि सम्भव रहेको बताए।
उनले पोखरामा पर्यटन सम्बन्धी लगानी र ब्राण्डहरू थपिँदैदै गएको र यो सुखद् पक्ष भएको सुनाए।
होटल संघ नेपालका केन्द्रीय सदस्य एवं आयोजक संघको सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले फेवा तालको माथिल्लो भागमा माटो निकाली सानो ताल बनाएर त्यहाँ जल गतिविधि संचालन गर्न सकिने सुझाव राखे।
महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता राखिएको छ।
संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रूपमा रहेको छ।
महोत्सवमा स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने महासचिव राजेन्द्र ढकालले जानकारी दिए।
तस्बिरहरू:
-1744460367.jpg)
-1744460366.jpg)
-1744460366.jpg)
-1744460362.jpg)
-1744460363.jpg)
-1744460364.jpg)
-1744460362.jpg)
-1744460361.jpg)
-1744460362.jpg)