वर्षाका कारण विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ।
शनिबार बिहान वर्षाका कारण पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी मधु नेपालले जानकारी दिए।
पुल बगाएपछि नारायणघाट-बुटवल सडक अवरूद्ध भएको छ। अत्यावश्यकबाहेकका सवारी साधान खोलाको वारपार रोकिएका छन्।
अत्यावश्यक सवारी साधनहरूलाई भने होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्किबासतर्फबाट पठाइएको डिएसपी नेपालले जानकारी दिए।
अहिले त्यस क्षेत्रमा पानी परिरहेको र माथिल्लो भूभागमा पनि वर्षा भइरहेकाले खोला बढेका कारण तत्काल डाइभर्सन बनाउन सम्भव नरहेको उनले बताए।
खोलामा पानीको वहाब घटेपछि डाइभर्सन बनाउन सुरू गरिने उनले बताए।
गत पुसमा भारतीय ट्रकको ठक्करबाट उक्त खोलाको पुल भाँचिएको थियो। पुल भाँचिएपछि डाइभर्सन बनाएर सवारी साधन आवतजावत गराइएको थियो।
'वर्षापछि आएको बाढीले तीनवटा ह्युमपाइप बगाएका छन्। यथाशीघ्र डाइभर्सन बनाएर सवारी साधन आवतजावत गराउन पहल भइरहेको छ,' डिएसपी नेपालले भने।