वीरगन्जमा कर्फ्यू आदेश जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरेको हो।
दुई पक्षबीचको झडपले वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
प्रशासनले वीरगन्ज महानगरभित्रका ४ क्षेत्रमा कर्फ्यू लगाएको उनले बताए।
उनका अनुसार पूर्वमा भेडियानी चोक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य चोक तोकेर कर्फ्यू लगाइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अुनुसार दुई धार्मिक समूहबीच झडप भएपछि शनिबार दिउँसो स्थिति तनावग्रस्त बनेको थियो।
शनिबार दिउँसो हनुमान जन्मोत्सवको अवसरमा शोभा यात्रा आयोजना गरिएको थियो।
झन्डै १५ हजार मानिसहरू शान्तिपूर्ण ढंगले शोभा यात्र गरिरहेकाहरू वीरगन्ज महानगरपालिका-२ श्रीराम हलनजिक जामा मस्जिदअगाडि पुगेपछि भड्किएका थिए।
उनीहरूले मस्जिदबाट आफूहरूमाथि ढुंगा प्रहार भएको बताउँदै मस्जिदतर्फ ढुंगामुढा गरेका थिए।
त्यसपछि दुईपक्षबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले बल प्रयोग गरेको थियो।
वीरगन्ज हनुमान जयन्तीका दिन बर्सेनि तनावग्रस्त बन्छ।
शनिबार पनि स्थिति प्रतिकूल आकलन गरी सशस्त्र प्रहरीसहित १ हजार सुरक्षाकर्मी परिचालन गरिएको थिए।
झडपको स्थिति बनेपछि नेपाल प्रहरीबाट ४६ राउन्ड अश्रुग्यास प्रहार गरिएको २ राउन्ड हवाइ फायर गरिएको एसपी मिश्रले बताए।
स्थितिलाई नियन्त्रणमा लिने क्रममा आफूसहित केही प्रहरी र सशस्त्र प्रहरी पनि घाइते भएको एसपी मिश्रले बताए।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार घटनालाई नियन्त्रणमा लिन खोज्दा ८ जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्।
घटनामा भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको एसपी मिश्रले बताए।