गृहमन्त्री बालकृष्ण खाणले बुद्धनगरकी जानकी श्रेष्ठलाई फोन गरेका छन्।
गत आइतबार प्रदर्शनको क्रममा प्रहरीलाई जोगाउँदा जानकीको पसलमा क्षति पुगेको थियो। प्रहरीलाई जोगाइदिएको भन्दै गृहमन्त्री खाणले आफूलाई फोन गरेको जानकारी दिइन्।
‘मन्त्रीज्यूले भर्खरै एकछिन अघि फोन गर्नुभयो,’ जानकीले सेतोपाटीसँग भनिन्, ‘उहाँले प्रहरीलाई जोगाइदिएकोमा तपाईप्रति सम्मान छ भनेर भन्नुभयो।’
मन्त्री र उनीबीच झन्डै एक मिनेट कुराकानी भएको बताइन्।
‘मलाई तनावले अझै पनि टाउको दुखेको छ। उहाँले फोन गर्नुभएपछि मलाई खुसी लागेको छ,’ उनले भनिन्।
मंगलबार नै उनलाई भेट्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी बुद्धनगरस्थित पसलमा पुगेका थिए।
प्रमुख जिल्ला अधिकारी रिजालले घटनास्थलको निरीक्षणपछि यसबारेमा क्षतिपूर्तिको लागि गृह मन्त्रालयमा पहल गर्ने बताएका थिए। यस्तै काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी पनि त्यहाँ पुगेर महानगरको तर्फबाट धन्यवाद दिएकी थिइन्।
आइतबार बानेश्वरमा एमसिसीविरूद्ध प्रदर्शन भएको थियो। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।
बुद्धनगरमा रहेको जानकीको पसल अगाडि पनि प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भएको थियो। सुरूमा प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो। तर पछि प्रदर्शनकारीले पाँच प्रहरीलाई घेरा हालेर ढुंगामुढा गरेका थिए।
ती प्रहरीले जानकीको पसलभित्र पसेपछि प्रदर्शनकारीले पसलमै ढुंगामुढा गरेका थिए। जसकारण जानकीको पसलमा क्षति पुगेको थियो।
यो पनि: प्रहरीलाई जोगाउँदा पसल तोडफोड भएकी जानकीलाई भेट्दै काठमाडौंका सिडिओ र एसएसपी
'प्रहरीले धन्यवाद त दिनुभयो तर मेरो घाटाको जिम्मा कसले लिन्छ?' (भिडिओ)