सरकारी राजस्व संकलन स्थिति सुस्त देखिएको छ। चालु वर्षमा पनि सरकारले राखेको लक्ष्य र यथार्थ संकलनबीच ठूलो अन्तर देखिने भएको छ।
९ महिनाको अवधिमा सरकारले राखेको लक्ष्यको तुलनामा संकलन भएको राजस्व एक खर्ब ७६ अर्ब रूपैयाँ कम छ।
साउनदेखि चैत महिनाको अवधिमा १० खर्ब १६ अर्ब ८३ करोड रूपैयाँको राजस्व संकलनको लक्ष्य रहेको थियो। तर यो अवधिमा ८ खर्ब ४० अर्ब ९१ करोड रूपैयाँ बराबरको मात्रै राजस्व प्राप्ति भएको छ।
अघिल्लो वर्ष उठेको राजस्व तुलनामा यो वर्ष ३८ प्रतिशत वृद्धि हुँदा मात्रै राजस्व संकलन लक्ष्य अनुसार हुन्छ। तर अहिले जम्मा ९ प्रतिशतको मात्रै वृद्धिदर छ। चालु वर्षमा कतिपय महिनामा २० प्रतिशतसम्मको वृद्धिदर भए पनि फेरि पछिल्लो चैत महिनामा राजस्व संकलन कम देखिएको छ।
चैत महिनामा मात्रै एक खर्ब ५१ अर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य रहेको थियो। तर यथार्थमा ९४ अर्ब ७२ करोड रुपैयाँ सकंलन भएको छ। एक महिनामा मात्रै ५५ अर्ब रूपैयाँको अन्तर देखिएको हो।
पुस, चैत र असार महिनामा आयकरका कारण अन्य महिनाको तुलनामा बढी कर संकलन हुने गर्छ। पुस महिनामा चालु वर्षको अनुमानित आयको आधारमा तिर्नु पर्ने करको ४० प्रतिशत बुझाउनुपर्ने हुन्छ। त्यस्तै चैत र असारमा थप ३०/३० प्रतिशत बुझाउनुपर्ने हुन्छ। तर, आयकरमा अपेक्षित सुधार नदेखिएपछि चैत महिनामा लक्ष्य र यथार्थ संकलनबीच ठूलो अन्तर देखिएको हो।
यद्यपि ब्याजकर बाहेकका सबै शीर्षकमा संकलन हुने कर अघिल्लो वर्षको तुलनामा बढेको छ। ब्याजकर भने १६ प्रतिशतले कम छ। बैंकको ब्याजदर कम भएको कारण यसको प्रभाव देखिएको हो। ब्याजका कारण भएको आम्दानीमा ६.५ प्रतिशत कर लाग्ने गरेको छ।
गत वर्ष चैत मसान्तसम्म २८ अर्ब रूपैयाँ ब्याजकर संकलन भएकोमा अहिले २३ अर्ब रूपैयाँ मात्रै संकलन भएको छ।
यो वर्ष अन्तशुल्क संकलनमा १८ प्रतिशतको वृद्धिदर र मूल्य अभिवृद्धि कर (भ्याट) १० प्रतिशतले बढेको छ। यी कर सामान्यतया कारोबार र उत्पादनसँग प्रत्यक्ष जोडिएका हुन्छ। अघिल्ला महिनाहरूमा यस्तो कर उल्लेख्य बढे पनि चैत महिनामा भने कम देखिएको छ।
नौ महिनाको अवधिमा भन्सार महसुल १३.६१ प्रतिशतले बढेर एक खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यसले आयात सुधारको संकेत गर्छ। त्यस्तै निर्यात महसुल पनि १५४ प्रतिशतले बढेको छ।
मूल्य अभिवृद्धि कर दुई खर्ब ३९ अर्ब रूपैयाँ संकलन भएको छ। यसमा पनि आन्तरिक वस्तु बिक्रीमा लाग्ने भ्याट धेरै बढेको छ।
अन्तशुल्क एक खर्ब २३ अर्ब रूपैयाँ बढेको छ। आयातमा लाग्ने अन्तशुल्कको वृद्धि २० प्रतिशत माथिको छ।
आयकर जम्मा ५.६ प्रतिशतले बढेर दुई खर्ब १३ अर्ब रूपैयाँ पुगेको छ। अन्तशुल्क, भ्याट तथा भन्सार महसुल बढ्ने र आयकर सोही गतिमा बढ्न नसक्नुले आर्थिक कारोबार बढेर पनि त्यसको प्रभाव आयमा नदेखिएको अर्थ लाग्छ।
समग्रमा चालु वर्षमा भन्सार विभाग मातहत संकलन हुने राजस्व गत वर्षको तुलनामा करिब ११ प्रतिशतले बढेर तीन खर्ब ३४ अर्ब रूपैयाँ पुगेको छ। आन्तरिक राजस्व विभाग मातहत संकलन हुने राजस्व १०.७८ प्रतिशतले बढेर ४ खर्ब ८ अर्ब रूपैयाँ पुगेको छ। गैरकर राजस्व १३.४ प्रतिशतले बढेर ८७ अर्ब रूपैयाँ पुगेको छ।