विगतका केही हिउँद हामीले सुख्खा बितायौं। औसतको १५ प्रतिशत पनि पानी नपरेकाले हिउँदे बाली सप्रिन पाएनन्। वायुमण्डलको सतहमा धुवाँधूलो थुप्रियो। प्रदूषण विकराल बन्यो। शीत याममै डढेलोको समस्या देखियो।
प्रि–मनसुन भने तुलनात्मक रूपमा सुखद् देखिएको छ। फागुन १७ गतेदेखि जेठ १७ गतेसम्मको अवधिलाई नै हामी प्रि–मनसुन भन्छौं। पश्चिमी हावाले पानी पार्ने प्रणाली ल्याउने, दिउँसो चरक्क घाम चर्कने र साँझ गड्याङगुडुङ गर्दै एक–दुई झर पानीसमेत परिहाल्ने हुनाले खेतबारीमा बाली लगाउने मौसमका रूपमा पनि यसलाई बुझिन्छ। यो याममा अरब सागर तथा बंगालको खाडीबाट कहिलेकाहीँ जलवाष्पसहितको वायुसमेत भित्रने गर्छ। र, मनग्गे वर्षा हुन्छ।
गत चैत २६ गतेदेखि पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भयो। बंगालको खाडी हुँदै जलवाष्प बोकेको वायु पनि आयो। यी दुई प्रणाली देशभर सक्रिय हुँदा कोशीदेखि सुदूरपश्चिमसम्मै मध्यम वर्षा भयो।
चैत मसान्तसम्मको तथ्यांक हेर्दा प्रि–मनसुन सुरू भएयता ५५.५० मिलिमिटर वर्षा भएको छ। यो भनेको औसत वर्षाको २४.२ प्रतिशत हो।

यस वर्षको प्रि–मनसुनको सुरूआतमा औसतभन्दा बढी वर्षा भएको देखिएको छ। २५ फागुनदेखि औसतभन्दा कम वर्षा भएको थियो। १० चैतदेखि २६ चैतसम्म औसतभन्दा निकै कम वर्षा भएको थियो भने चैत २६ देखि ३१ गतेसम्म औसतभन्दा माथि वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाको तथ्यांकलाई आधार मान्दा सुदूरपश्चिमको धनगढीमा औसतभन्दा निकै कम वर्षा भएको छ। डडेलधुरामा भने औसतभन्दा माथि नै वर्षा भएको छ। डोटीमा पनि औसतभन्दा बढी वर्षा भएको छ।
सुर्खेत विमानस्थलमा औसतभन्दा कम वर्षा मापन भएको छ।
दाङमा यस वर्षको प्रि–मनसुनमा औसतभन्दा बढी नै वर्षा भएको देखिएको छ।
भैरहवा विमानस्थल मापन केन्द्रमा भने न्यून वर्षा भएको छ।
जोमसोम, कास्कीको लुम्लेमा पनि न्यून वर्षा नै मापन भएको छ।
नेपालगञ्ज विमानस्थल जुम्लामा भने औसतभन्दा बढी नै पानी परेको छ।
जिरीमा प्रि–मनसुनमा पानी नै परेको छैन। ओखलढुंगामा प्रि–मनसुनको सुरूमा न्यून र अहिले औसतभन्दा बढी पानी परेको शाखाको तथ्यांकले देखाएको छ।
पोखरा विमानस्थलमा न्यून र सिमरा केन्द्रमा औसत वर्षा भएको तथ्यांक छ। विराटनगरमा औसत बराबर, धरानमा औसतभन्दा कम, धनकुटा र ताप्लेजुङमा औसतभन्दा निकै कम वर्षा भएको छ।
नेपालमा प्रि–मनसुन सिजनमा २२६.३ मिलिमिटर वर्षा हुने अनुमान गरिन्छ। गत वर्षको प्रिमनसुन याममा १७३.४० मिलिमिटर वर्षा अर्थात् सरदरको ७५.८ प्रतिशत वर्षा भएको थियो।
२०८० को प्रिमनसुन याममा २०९.८ मिलिमिटर अर्थात् सरदरको ९२.७ प्रतिशत वर्षा भएको थियो। २०७९ सालमा भने २३३.९ अर्थात् १०३.४ प्रतिशत वर्षा भएको थियो।
गत चैत २६ देखि परेको पानीले डढेलो र प्रदूषणबाट निकै राहत दिएको छ। अमेरिकी अन्तरिक्ष संस्था नासाको फायर इन्फरमेसन फर रिसोर्स म्यानेजमेन्ट सिस्टम (एफआइआरएमएस) को स्याटलाइट इमेजको संकेत चिह्न हेर्दा देशभर १८ ठाउँमा मात्रै डढेलो लागेको देखिएको छ। चैत १९ देखि २६ गतेसम्मको अवधिमा देशभर नौ सयभन्दा बढी ठाउँमा डढेलोको घटना देखिएको थियो।
नासाको एफआइआरएमएसमा एक साता यताको डढेलोको संकेत।पछिल्लो वर्षाले प्रदूषणबाट पनि राहत दिएको छ। यद्यपि काठमाडौंको रत्नपार्क र शंखपार्कको वायुको गुणस्तर कमजोर नै देखिन्छ।
तर गत चैत २१ गतेको तुलनामा यहाँको वायुको शुद्धता सूचकांक केही सुध्रिएको अवस्य हो। त्यतिबेला रत्नपार्कको एक्युआई २४ घन्टामा ३०० माथि थियो। अहिले १२३ छ। शंखपार्कको एक्युआई अहिले ११२ छ।
रत्नपार्क क्षेत्रको वायुमण्डलमा पछिल्लो पाँच दिनयता पार्टिकुलेट म्याटर (पिएम) २.५ को अवस्था। स्रोतः वातावरण विभाग।अन्यत्रको एक्युआई सयभन्दा मुनि नै छ।
मौसमविद् विनोद पोखरेलले पछिल्लो पटक मौसमले नेपाललाई साथ दिएको प्रतिक्रिया व्यक्त गरेका छन्।
भारतका अधिकांश स्थानमा सुख्खा छाइरहँदा नेपालमा भने विगत एक हप्ता राम्रो वर्षा भएको र त्यो क्रम अझै दुई दिन रहनसक्ने उनको विश्लेषण छ।