नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले पार्टीले दिएको समयभित्र अधिवेशन गर्न सकेनन्।
नियमित अधिवेशन नभएका भ्रातृ संस्थाको अधिवेशन गराउन कांग्रेसले तदर्थ समिति गठन गरेको थियो।
पटक-पटक तदर्थ समिति गठन गरे पनि अधिकांश भ्रातृ संस्थाहरूले अधिवेशन गर्न सकेनन्।
कांग्रेसले चैत मसान्तभित्र अधिवेशन गर्न भ्रातृ संस्थाहरूलाई भनेको थियो भने निर्देशन समितिहरू नै बनाएको थियो।
नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल मगर संघ, नेपाल तामाङ संघलगायत भ्रातृ संस्थाले चैतभित्र अधिवेशन गर्न सकेनन्।
नेविसंघ, तरूण दललगायतले सदस्यता वितरण सुरू गरे पनि त्यसपछि महाधिवेशनको प्रक्रिया अघि बढेको छैन।
कांग्रेसले नेविसंघसहित १३ भ्रातृ संस्थाको अधिवेशन चैतभित्रै सक्न भने पनि ५ वटा भ्रातृ संस्थाले मात्रै अधिवेशन गरे।
भूपू सैनिक संघ, प्रजातन्त्र सेनानी संघ, मुस्लिम संघ, लोकतान्त्रिक आदिवासी जनजाति संघ र अपाङ्ग संघले मात्रै अधिवेशन गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
अधिवेशन नगर्ने भ्रातृ संस्थाको तदर्थ समिति भङ्ग गर्नुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको छ। विगतमा पनि अधिवेशन गर्न नसकेको भन्दै तदर्थ समिति भङ्ग गरेको इतिहास छ।
कांग्रेसका एक पदाधिकारीले तोकिएको समयभित्र अधिवेशन गराउन नसकेका भ्रातृ संस्थाहरूलाई भङ्ग गर्ने तयारी रहेको बताए।
‘समयमै महाधिवेशन गरूँन् भनेर निर्देशन समिति पनि बनाइयो तर महाधिवेशन गर्न सकेनन्, केही समय थप गरौं न त भन्ने हो भने प्रक्रियासमेत सुरू गरेको अवस्था छैन,’ ती पदाधिकारीले भने, ‘अब के गर्ने भन्ने विषयमा सभापतिसहित शीर्ष नेताहरूबीच एकखालको समझदारी बनाएर कार्यसम्पादन वा केन्द्रीय समितिबाट निर्णय लिन्छौं।’
पहिले पनि केन्द्रीय कार्यसमितिले भ्रातृ संस्थामा तदर्थ समिति गठन गर्न सभापति शेरबहादुर देउवालाई अधिकार दिएको थियो। त्यसअनुसार सभापति देउवाले पार्टीभित्रका विभिन्न गुटलाई भाग दिने गरी भ्रातृ संस्थाहरूको तदर्थ समिति गठन गरेका थिए।
यसबीचमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव तयारी गर्नुपरेकोले अधिवेशन तयारी रोकिन पुगेको नेविसंघको भनाइ छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा चैत ५ देखि स्ववियु निर्वाचन भएको थियो।
त्यसअघि नेविसंघ सदस्यता वितरणका लागि क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि खटाउने विषयमा पनि नेविसंघभित्र विवाद देखा परेको थियो। संस्थापन पक्ष र संस्थापनइतर पक्षले बेग्लाबेग्लै केन्द्रीय प्रतिनिधि खटाएका थिए।
पार्टी पदाधिकारी बैठकले पनि नेविसंघलाई स्ववियुमा केन्द्रित रहन निर्देशन दिएको थियो। स्ववियु निर्वाचनमा नेविसंघ पहिलो भएकोमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले पनि बधाई दिइसकेको छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पा पार्टीले केही समय दिने हो भने अधिवेशन गर्न सकिने बताउँछन्।
‘हामीले नेविसंघको संशोधित विधान पार्टीलाई बुझाइसकेका छौं, पार्टीबाट अनुमोदन भएर आइसकेको छैन। त्यो विधान हाम्रो हात पर्ने र दुई महिनाको समय दिने हो भने अधिवेशन गर्न सकिन्छ,’ अध्यक्ष शेर्पाले भने।
पार्टीभित्रका गुटका प्रभाव नेविसंघमा परे पनि स्ववियु निर्वाचनमा नेविसंघ पहिलो बनेको थियो।