राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ वर्षको शुभकामना दिँदै नागरिकका स्वाभाविक चासो, चिन्ता र सरोकारलाई बेलैमा सम्बोधन गर्न आग्रह गरेको छ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले राजनीति सिर्जित अराजकता, स्वेच्छाचारी शासन सत्ता, जनसमस्या पहिचान र समाधानमा निरन्तर वेवास्ता जस्ता कारणले नागरिकमा बढेको निरासा आक्रोशमा बदलिने खतरामा सचेत हुनुपर्ने बताएका हुन्।
सरकार यसतर्फ गम्भीर हुने, पुरातन राजनीतिक नेतृत्व आत्मालोचनासहित कमजोरी स्वीकार्नभन्दा विपक्षी विचार र दललाई प्रहार गर्न उद्दत रहेको उनले बताएका छन्।
‘राजनीतिको पुरातन सोचविरुद्ध नागरिकले रास्वपामार्फत् व्यक्त गरेको आशा र अपेक्षाप्रति नियोजित रुपमा बढाइएको घेराबन्दी र राजनीतिक स्वार्थका आधारमा रास्वपाको मूल नेतृत्वविरुद्ध साँधिएको प्रतिशोध एउटा दल र नेताप्रति गरिएको कुकर्म मात्र होइन, समग्र देशको रुपान्तरण गर्ने नयाँ सोच र प्रतिबद्धता माथिकै घातक प्रहार हो । र, यस प्रहारविरुद्ध न्यायप्रेमी नागरिकले सुरु गर्नुभएको प्रतिवादको सम्मान गर्दछौं,’ रास्वपाले भनेको छ।
नागरिकको आवाजलाई राजनीतिको केन्द्रमा राख्दै रास्वपा भ्रष्टाचारविरुद्धको कठोर अडान, सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता तथा नवप्रवर्तनमूलक सोचमार्फत् राष्ट्र निर्माणमा सशक्त भूमिका खेल्न दृढ संकल्पित रहेको अर्यालले विज्ञप्तिमार्फत् बताएका छन्।
‘राजनीति सिर्जित अराजकता, स्वेच्छाचारी शासन सत्ता, जनसमस्या पहिचान र समाधानमा निरन्तर वेवास्ता जस्ता कारणले नागरिकमा बढेको निरासा आक्रोशमा बदलिने खतरामा सचेत र गम्भीर हुनुपर्ने सरकार र पुरातन राजनीतिक नेतृत्व आत्मालोचनासहित कमजोरी स्वीकार्नभन्दा विपक्षी विचार र दललाई प्रहार गर्न उद्दत छ। रास्वपा, यस प्रकारको अतिवादी हठ त्यागेर राजनीतिक समस्याको समाधान सहमति र संवादमार्फत् खोज्न तथा नागरिकका स्वाभाविक चासो, चिन्ता र सरोकारलाई बेलैमा सम्बोधन गर्न अनुरोध गर्दछ,’ रास्वपाले भनेको छ।
