नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद जीवन परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै खुला पत्र लेखेका छन्।
उनले शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्न ढिलाइ भएको भन्दै प्रधानमन्त्रीलाई पत्र लेखेका हुन्।
चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग उनीहरूको छ।
सत्तारूढ कांग्रेस सहमहामन्त्री परियारले यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्दै पत्र लेखेका हुन्। उनले शिक्षक महासंघले उठाएका जायज मागप्रति आफूहरूको समर्थन रहेको उल्लेख गरेका छन्।
यस्तो छ पत्र;
सम्माननीय प्रधानमन्त्रीज्यू,
जय नेपाल।
विषय: नेपाल शिक्षक महासंघको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई जोडदार माग गर्दै, खुल्ला-पत्र।
नेपाल शिक्षक महासंघले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा यही चैत्र २० गतेदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलन गरिरहेको व्यहोरा अवगतनै छ। नेपाल शिक्षक महासंघसँग विगतमा सरकारले पटक-पटक सम्झौता गरेको विषय स्मरण गराउन चाहन्छु। महासंघले उठाएका जायज मागप्रति हाम्रो समर्थन रहेको छ।
पार्टीको तर्फबाट अनौपचारिकरूपमा सरकारका सरोकारबाला मन्त्रीहरूसँग बारम्बार छलफल भएको नै छ। तथापि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ।
२०८२ साल प्रारम्भ भएको छ। आम नेपाली जनता नयाँ वर्ष आ-आफ्नो तरिकाबाट मनाउँदै छन् तर आम शिक्षक साथीहरू माइतीघरमा आन्दोलन गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ।
सम्माननीय प्रधानमन्त्रीज्यू, सरकार किन गम्भीर हुँदैन? के शिक्षकको शालिनतालाई कमजोरीका रूपमा त हेरिएको होइन? यदि सरकारले शिक्षक महासंघको आन्दोलन अब १-२ दिनभित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनु पर्दछ भन्ने मेरो पार्टीसँग समेत जोडदार माग रहनेछ।
जीवन परियार
प्रतिनिधि सभा सदस्य एवं सहमहामन्त्री, नेपाली कांग्रेस।