धेरै दशकसम्म चिल्लो खानेकुरा खानु स्वास्थ्यका लागि घातक मानिन्थ्यो। विशेषगरी जनावरबाट पाइने चिल्लो पदार्थ (एनिमल फ्याट) स्वास्थ्य दृष्टिले निकै बदनाम थियो।
चिकित्सक र पोषण विज्ञहरू भन्थे, 'यो त मुटुमा बोसो थुपार्ने र मृत्यु निम्त्याउने बाटो हो।'
त्यसैले नौनी जस्ता परम्परागत खानेकुरा हाम्रा घरबाट हराउँदै गए। धेरै व्यक्ति नौनी र घिउ हेर्दा पनि डराउन थाले।
त्यही समय गुलियो खानेकुराको महिमागान हुन थाल्यो। तुरून्त तागत दिने, स्वादमा मीठो र आनन्ददायक भएकाले मधुमेहका बिरामीबाहेक अरूका लागि यो खासै हानिकारक नभएको ठानियो। गुलिया पेय पदार्थदेखि मिठाइसम्म बेचेर कम्पनीहरूले अर्बौं कमाए, कमाइरहेकै छन्।
समय सधैं एकनास रहँदैन। पछिल्ला वर्षहरूमा एनिमल फ्याटजस्तै गुलियोलाई पनि हानिकारक ठान्न थालियो। गुलिया पदार्थ, प्रशोधित खाना र जंक फुडहरू अहिले स्वास्थ्य दृष्टिले जोखिमपूर्ण मानिएका छन्।
आश्चर्यको कुरा त के भने, जनावरबाट पाइने जुन चिल्लो पदार्थलाई हानिकारक भनियो, त्यसले भने सन्तुलित रूपमा खाए खासै हानि गर्दैन भन्न थालियो।
विज्ञहरूले भने, 'गुलियो खानेकुराले तागत वा क्यालोरी दिए पनि अघाएको महसुस हुँदैन। त्यसैले मान्छेले अघाउन अरू खानेकुरा खाने भएकाले शरीरमा क्यालोरीको मात्रा बढी हुने सम्भावना रहन्छ।'
उनीहरूले यो पनि भने, 'एनिमल फ्याटमा पनि धेरै क्यालोरी हुन्छ। तर यो खाँदा ठम्म अघाएको महसुस हुन्छ र अरू थोक कम खाइन्छ। समग्रमा शरीरमा क्यालोरीको मात्रा बढ्न पाउँदैन। त्यसैले अलि अलि एनिमल फ्याट खाए पनि वजन कम गर्न सघाउ नै पुग्छ।'
यति मात्र होइन, चिल्लो पदार्थलाई वर्गीकरण गरेर त्यसमध्ये हानिकारक मानिने एनिमल फ्याटले मुटु रोग बढाएको पनि अध्ययनहरूले देखाएनन्।
यस्ता निष्कर्षपछि विश्वभरि नौनीको खपत बढ्न थाल्यो। नेपालमै पनि परम्परागत रूपमा खाने नौनी र नौनी तताएर बनाइने घिउको मजा लिने क्रम बढ्यो।
तर अहिले फेरि नौनीको खराब समय आएको छ।
मानिसहरू कुनै डरबिना परम्परागत नौनी र घिउको स्वाद लिन थालेका बेला एउटा नयाँ वैज्ञानिक अनुसन्धानले संसारको ध्यान तानेको छ।
यो अनुसन्धानले नौनी खाने मान्छेहरूको चाँडै मृत्यु हुने सम्भावना औंल्याएको छ।
अमेरिकाको म्यासाचुसेट्स र डेनमार्कका वैज्ञानिकहरूले ३३ वर्षसम्म गरेको स्वास्थ्यसम्बन्धी एक बृहत् अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो।
उनीहरूले आफ्नो अनुसन्धान क्रममा २ लाख २० हजारभन्दा बढी नर्स र डाक्टरहरूको जीवनशैली, आहार र स्वास्थ्यबारे नियमित जानकारी लिएका थिए।
गत मार्च ६ मा स्वास्थ्य विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल 'जामा इन्टरनल मेडिसिन' मा प्रकाशित उक्त अध्ययनले भन्छ — जो व्यक्ति दैनिक औसत एक चम्चा नौनी खान्थे, उनीहरूमा मृत्युको जोखिम नौनी नखानेहरूको तुलनामा १५ प्रतिशत बढी पाइएको छ।
अझ आश्चर्यको कुरा त के भने; क्यानोला, भटमास वा ओलिभजस्ता वनस्पतिमा आधारित तेल बढी खानेहरूको मृत्युदर कम तेल खानेहरूको तुलनामा १६ प्रतिशत कम देखियो।
हामी नेपालीहरूको सन्दर्भ फरक छ। हामी नौनीसँगै घिउ पनि खान्छौं। तर पश्चिमाहरू घिउ खाँदैनन्। त्यसैले त्यहाँ घिउको होइन, नौनीको अध्ययन हुन्छ।
घिउ भनेको नौनी तताएर, त्यसको पानी छुट्याएर र केही दुग्ध प्रोटिन सुकाएर बनाइन्छ। त्यसैले घिउ र नौनीले स्वास्थ्यमा पार्ने असर करिब उस्तै हुने मानिन्छ। दुग्ध उत्पादनको एलर्जी हुनेहरूका लागि घिउ अलि सजिलो हुन सक्छ, किनकि त्यसमा प्रोटिन थोरै हुन्छ।
तर मूल प्रश्न उस्तै रहन्छ — के नौनी साँच्चै हानिकारक हो?
यसको उत्तर खोज्न चिल्लो पदार्थ (फ्याट) को प्रकार बुझ्नुपर्छ। फ्याट भनेको कार्बन एटमहरूको श्रृंखला हो। कुनै स्याचुरेटेड हुन्छ, जहाँ हरेक कार्बन दुई हाइड्रोजनसँग जोडिएको हुन्छ। कुनै भने अनस्याचुरेटेड हुन्छ, जहाँ केही कार्बन केवल एक हाइड्रोजनसँग जोडिन्छ।
यी संरचनात्मक भिन्नताले शरीरमा पार्ने असरमा ठूलो अन्तर ल्याउँछ। शरीरमा ती फ्याटले कसरी अन्तर्क्रिया गर्छ भन्नेमा नाटकीय फरक पार्न सक्छ।
उदाहरणका लागि, स्याचुरेटेड फ्याटले रगतमा कोलेस्ट्रोल (रगतमा हुने चिल्लो पदार्थ) बढाउँछ। त्यो चिल्लो पदार्थ रक्तनलीहरूमा थुप्रिन्छ र यसले मुटुमा असर गर्छ। यसले कलेजोमा भएको कोलेस्ट्रोल हटाउने रिसेप्टरलाई पनि निष्क्रिय पार्छ।
अनस्याचुरेटेड फ्याटले भने ती रिसेप्टर सक्रिय बनाएर कोलेस्ट्रोल घटाउन मद्दत गर्छ।
नौनीमा अधिकांश फ्याट स्याचुरेटेड हुने भएकाले मुटुमा असर गर्छ भन्ने तर्क गरिन्छ। त्यसैले धेरै अध्ययनले सुझाव दिएका छन् — नौनीको सट्टा वनस्पतिमा आधारित तेल खाऊँ, जसले कोलेस्ट्रोल घटाउँछ।
यो अध्ययनले नौनी सेवन गर्दा मुटु रोगबाट हुने मृत्युको जोखिम बढाउँछ भन्ने पनि स्पष्ट रूपमा देखाउन सकेन। बरू वनस्पति तेल बढी खानेहरूमा मुटु रोगबाट हुने मृत्युको जोखिम कम देखियो।
यसबाहेक क्यान्सरसँग सम्बन्धित एउटा निष्कर्ष पनि देखियो — दैनिक १० ग्राम नौनीको सट्टा त्यति नै मात्रामा वनस्पति तेल खायो भने क्यान्सरबाट मृत्यु हुने जोखिम १७ प्रतिशत घट्न सक्छ।
यहाँ पनि सावधानी जरूरी छ। किनभने, यो अध्ययन अवलोकनमा आधारित हो। यस्तो अध्ययनको नतिजा पूरै सही नहुन सक्छ।
युनिभर्सिटी अफ ब्रिस्टलका एक महामारी विज्ञका अनुसार उक्त अध्ययनमा सर्वेक्षण गरिएका समूहहरूबीच स्वास्थ्यसम्बन्धी व्यवहारमा भिन्नता पाइएको छ भनेर बेलायती पत्रिका 'इकोनोमिस्ट' ले लेखेको छ।
उनका अनुसार यस्ता अध्ययनमा मानिसहरूको जीवनशैलीमा अरू धेरै फरक हुन्छन्, जसको ठ्याक्कै लेखाजोखा गर्न सकिँदैन। जस्तै, अध्ययनमा धेरै नौनी खानेहरूमा धूमपान गर्नेको संख्या दोब्बर थियो।
शोधकर्ताहरूले यस्ता अन्य कारकको हिसाब गरे पनि केही प्रभाव यकिनसँग छुट्याउन गाह्रो हुन्छ। अध्ययनमा आहार, जीवनशैली, उमेर लगायत विभिन्न चिजले पार्ने प्रभावको हिसाब गरिए पनि धूमपानजस्ता कुराले पार्ने प्रभावको यकिन लेखाजोखा गर्न मुश्किल हुने ती महामारी विज्ञले बताएका छन्।
त्यसैले, 'दैनिक एक चम्चा नौनी खाँदा मृत्युको जोखिम बढ्छ' भन्ने निष्कर्षलाई सतहबाट मात्र बुझ्न मिल्दैन। यो निष्कर्ष पूर्ण सत्य नहुन पनि सक्छ।
तर एउटा कुरा प्रस्ट छ — हामीले नौनी वा घिउको सट्टा वनस्पति तेल रोज्यौं भने हाम्रो स्वास्थ्यलाई फाइदा हुने सम्भावना बढी हुन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)