प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार संसदमा अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौता टेबल हुँदा बानेश्वर क्षेत्रमा भएको प्रदर्शनको विरोध गरेका छन्।
सोमबार कालु पाँडेको समाधिस्थलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले उक्त प्रदर्शन सत्तारूढ दलको तमासा भएको बताए।
‘२५ जना प्रदर्शनकारीले सयौं प्रहरीलाई ढुंगा हानेको छ। प्रहरी पछाडि सरेको छ,’ ओलीले भने,‘उनीहरूलाई केही गर्ने आदेश छैन।’
प्रदर्शनकारीले सडकका संरचना भत्काएकोमा ओलीको आक्रोश थियो। आफूलाई क्रान्तिकारी भन्नेहरूले सडक बनाउनुको सट्टा भत्काउने काम मात्र गरेको उल्लेख गर्दै ओलीले बाटा भत्काउनु क्रान्तिकारिता नभएको बताए।
‘क्रान्तिकारीहरू नै सरकारमा छन्, तिनै क्रान्तिकारीले बाटा भत्काइरहेका छन्। नभत्काऊ भन्ने कोही छैन,’ ओलीले भने,‘प्रहरी कुटाइ खाएर भागेको छ। यस्तो कहीँ हुन्छ?’
सरकारमा बस्नेहरूले नै सडकमा प्रदर्शन गरेकाले प्रहरीले प्रदर्शनकारीमाथि केही गर्न नसकेको ओलीको भनाइ थियो।
यस विषयमा आफूले सोमबार बिहान गृहमन्त्री बालकृष्ण खाणलाई जिज्ञासा राखेको ओलीले बताए।
‘मैले बिहान गृहमन्त्रीलाई सोधें- हिजो प्रहरीलाई के आदेश थियो? किन १५ जनाले लुकेर ढुंगा हान्दा प्रहरीले केही गर्न सकेन? प्रहरीका टाउका किन फुटे?
गृहमन्त्री खाणले के जवाफ दिए भन्नेचाहिँ ओलीले खुलाएनन्।
ओलीले माओवादी केन्द्रका अध्यक्ष ओलीलाई लक्षित गर्दै उनले आफू मौन बसेर कसैलाई सडकमा पठाएको, कसैलाई संसदमा बोल्न लगाएको बताए।