विवाहका लागि तोकिएको २० वर्षे कानुनी उमेर कायम राख्ने कि घटाएर १८ वर्ष गर्ने भन्ने बहस संसदसम्म पुगेको छ। यसबारे संसदीय समितिमा छलफल चलिरहेको छ। सरकारका जिम्मेवार मन्त्रीहरू नै उमेर घटाउने पक्षमा अभिव्यक्ति दिइरहेका भेटिन्छन्।
एउटा निश्चित उमेरमा पुगेपछि हरेक प्राणीले शारीरिक, जैविक आवश्यकता पूर्तिका लागि जोडी बनाउनु सामान्य हो। आफूले आफैलाई सचेत र चेतनशीलको पगरी गुथाएको हामी आधुनिक मानव भनिने 'होमो सेपियन्स' मा भने कति उमेरमा पुगेपछि विवाह गर्नु उपयुक्त हुन्छ भन्ने बहस सामाजिक चेतनाको अधिनस्थ चलिरहन्छ।
त्यसैले विभिन्न समाजमा विवाहका लागि उमेरको हद पनि भिन्न भिन्न हिसाबले तय गरेको पाइन्छ, भिन्न भिन्न कालखण्डमा।
शारीरिक र जैविक आवश्यकता समन गर्न समागमका लागि सामाजिक अनुमोदन प्रदान गर्दै सन्तान उत्पादन प्रक्रियामा सहभागी गराउन विवाहलाई समाजको शक्तिशाली 'नैतिक गेट' का रूपमा मानव समाजले शीरमा बोकिराखेको पाइन्छ।
सामाजिक परम्परा, रीत र अभ्यासका आधारमा हरेक समाजमा विवाहको उमेर तय हुने गरेको छ। पछिल्लो समय मानिसको शारीरिक र मानसिक विकास गहन अध्ययन गर्ने विज्ञानको विकाससँगै पुराना मान्यता बदलिन थालेका छन्। शिक्षा, सामाजिक चेतना र आफ्नै समाज र जीवनको लामो अनुभवका आधारमा पुराना मान्यता र अभ्यास बदलिने र नयाँ मान्यता र अभ्यास अघि आउने प्रक्रिया स्वाभाविक पनि छ।
जोडी निर्माण: आदिम अभ्यासदेखि विवाह संस्थासम्म
आधुनिक मानव कृषि युगमा प्रवेश नगर्दासम्म फिरन्ते सिकारी चरणमा थियो। फिरन्ते सिकारी युगमा मानिसहरूको बसोबास व्यवस्थित थिएन।
बसोबास एकान्त पनि थिएन, एकअर्काबाट। मानिसहरू समूहमा बस्थे। हुलका सारा मानिसको बसाइ र सुताइ सामूहिक हुने गर्थ्यो। त्यही हुलभित्रैबाट समागमका लागि जोडीहरू बन्थे। महिला–पुरूष आफूले रोजेका जोडीसँग निकट भएर बस्ने र सुत्ने गर्थे। यौन क्रिया त्यही अनुरूप हुने गर्थ्यो। कतिपय समूहमा महिलाहरूको प्रधानता र नेतृत्व हुन्थ्यो। त्यो नेतृत्वको आधार त्यस बखत सम्पत्ति थिएन। स्वेच्छिक छनोट थियो। महिलाहरू बलिया पुरूष छानेर यौन साथी बनाउँथे। कतिमा बलियो या निर्धो भनेर छान्ने चेतना पनि थिएन। कतिलाई त्यसरी छान्ने अवसर थिएन।
कतिपय समूहमा पुरूषहरूको प्रधानता र नेतृत्व हुन्थ्यो। उनीहरूको मातहतमा समूह परिचालित हुन्थ्यो। मातहतमा अनेकन महिलाहरू यौन साथीका रूपमा रहन्थे। भिन्न भिन्न अभ्यास र प्रावधान भएका यस्ता मानव समूहबीच घालमेल पनि जारी रह्यो, बसाइँसराइको निरन्तर प्रक्रिया चलिरहँदा। त्यसले उनीहरूको अभ्यासमा परिवर्तन आयो।
समूहमा अगुवाका रूपमा ज्येष्ठ पुरूष र महिलाहरू रहने, उमेर पुगेकाहरूले बलिष्ठ यौन साथी छनोट गर्ने, पुरूषहरूको बहुयौन साथी हुने, महिलाहरूको पनि बहुयौन साथी हुने अभ्यास एकसाथ समूहमा चल्न लाग्यो। यस्तोमा महिलाको सामूहिक यौन साथीमध्ये एउटा पुरूष मुख्य यौन साथी हुन्थ्यो भने पुरूषको पनि सामूहिक यौन साथीमध्ये एउटा महिला मुख्य यौन साथी हुन्थे।
कुन सन्तान कसको हो भनेर निर्क्योल गर्नुपर्ने स्तरमा मानिसको चेतनामा मेरोपनको प्रवेश भइसकेको थिएन। नाता सम्बन्धको लक्ष्मणरेखाले मानिसको चेतनालाई सँध्याइसकेको थिएन। समागमका लागि ऊसँग हुने र योसँग नहुने भन्ने रक्तनाताको मान्यता निर्माण भइसकेको थिएन। वयस्क भएका हरकोही आपसमा समागमका लागि योग्य उम्मेदवार बन्न सक्थे।
बाआमा, दाजुभाइ, दिदीबहिनी जस्ता नाता सम्बन्धको सीमाको चेतना संकथित भएकै थिएन। पुरूष र महिलाका रूपमा मात्र उनीहरूबिच सम्बन्ध कायम हुन्थ्यो। यस्तो अभ्यास धेरैपछि, कतिसम्म भने भारतीय उपमहाद्वीपमा वैदिक कालको आरम्भ भएपछिसम्म अर्थात् २००० देखि १५०० बिसिईसम्म पनि जारी थियो।
पशुपालन र खेतीपातीका लागि जमिन सँध्याउने र अर्को कबिला समूहले त्यसलाई लुट्न बल प्रयोग गर्ने अभ्याससँगै मानव समाजमा स्वामित्वको भावना प्रवेश गर्यो। त्यसरी स्वामित्वको चेतना प्रवेश गरेको आरम्भिक कालमा मानिसमा आफ्नो समूहको र अर्को समूहको सम्पत्ति भन्ने भावना उपस्थित थियो।
बिस्तारै त्यो आफ्नो भन्ने भावना समूहको सरहद पार गर्दै मेरो भन्नेमा पुग्यो।
समूहमा पनि मानिसले भिन्न योगदान गरेको हुन्थ्यो। लडभिड गरेकाहरूमा यो त मैले लडेर, अरूले भन्दा बढी बहादुरीपूर्वक सँध्याएको, जोगाएको, कज्याएको जमिन, पशुधन हो भन्ने भावना प्रबल भयो। त्यसले मानिसमा निजी आकांक्षा, लालसा र स्वार्थको बिजारोपण भयो। आफू अधिनस्थ रहेको सम्पत्तिको हिस्सेदारका रूपमा आफ्नो योगदान बेगर या संलग्नता बेगर निर्माण भएको परिवारको सदस्यमा हस्तान्तरण गर्ने कुरामा ऊ राजी भएन।
लामो समय क्रममा विभाजित भएको समूह एउटा मूल हाँगोबाट (मुख्य जोडीबाट) विस्तारित सदस्यहरूले भरिएको एक खालको बृहत् परिवारको स्वरूपमा गयो। त्यही हाँगोभित्रै रहेर उनीहरूले प्रजनन प्रक्रिया जारी राखे। परिवार विभाजित भइरह्यो। सम्पत्ति खण्डित भइरह्यो। त्यहाँ खण्डित जमिन र पशु लिएर जीवन चलाउन नचाहनेहरू अन्यन्त्र गए। जमिन सँध्याए। पशु कज्याए। जमिन जसले पनि सँध्याउन सक्छ, पशु जसले पनि कज्याउन सक्छ भन्ने स्वार्थी चेतनाले डामिए।
त्यसलाई जोगाउन लड्नेहरूले आफूले लडेर जोगाएको जमिन वा धन अरूलाई किन दिने भनेर चेतनामा व्यक्तिवादी भावनाको अन्तर्घुलन गराए।
संयुक्त इकाईमा या बृहत् परिवारमा यौन जोडीको स्थिरता थिएन। सन्तान कसको भन्ने चेतना अझै पनि आइसकेको थिएन। तर सम्पत्तिबारे व्यक्तिवादी भावना निर्माण भएसँगै त्यो सम्पत्ति अरूलाई किन दिने भन्ने भावनाले आफ्नै रक्तसन्तानमा सम्पत्ति हस्तान्तरण गर्ने चेतना प्रवेश गरायो।
त्यसरी सम्पत्ति हस्तान्तरण गर्न उसलाई आफ्नो सन्तान निर्क्योल गर्ने समस्याले घेर्यो र उत्कर्षमा महिलाको बहुपुरूषसँग हुने समागम नै सन्तान निर्क्योलको बाधक हो भन्नेमा ऊ पुग्यो।
अन्ततः उसले महिलालाई एकनिष्ठ यौनको संहितामा बाँध्यो।
यसरी स्वामित्वको चेतनाले अभ्यास क्रममा निजी परिवारको उदय गरायो। स्वामित्वको अभ्यासले जीविकाका लागि महिलालाई सम्पत्तिको स्वामित्ववाल एक पुरूषसँगको एकनिष्ठ यौनको अधिनस्थ रहने परिपाटीमा बाँधियो। जबकि सोही कालमा पुरूषहरू भने बहुपत्नी राख्न समेत स्वतन्त्र थिए।
महिलाले यौन सदस्य छान्ने स्वतन्त्रता प्रयोग गर्दा संचयन गरेको सम्पत्ति संकलनकर्ताको आँखा छलेर महिलाले आफ्नो अर्को यौन साथीलाई दिने आशंका र भयको चेतना पुरूषमा आरोपित भयो। उसलाई लाग्यो, आफूले जोरजाम गरेको सम्पत्ति (खासमा त्यो जोरजाम उसले मात्र गरेकै थिएन) को उत्तराधिकारी अरू कोही हुने कुरा पुरूषको स्वार्थी चेतनाका लागि असह्य विषय बन्यो।
अन्ततः सम्पत्तिको अविछिन्न उत्तराधिकारी निर्क्योल गर्न सामूहिक जीवन पद्धति र एउटा सगोलभित्रको सामूहिक जोडी पद्धति कमजोर भएर एकल विवाह परम्परा आरम्भ भयो। महिलाको योनी 'भोग' गर्नका लागि हुने पुरूषहरूबीचको द्वन्द्व, सम्पत्ति हस्तान्तरणका लागि आफ्नो 'जीन' चिन्ने व्यक्तिवादी चेतको आरोपण, कुमारी योनी भोगको चिन्तन निमार्णको प्रक्रियासँगै विवाह अभ्यास सुरूआत भएको देखिन्छ।
कुमारी योनी भोगको चेतना पुरूषमा उपस्थित भएपछि विवाहपूर्वको यौन या जीवनमा बहुपुरूषसँगको यौन निषेध गरियो, महिलाका हकमा। योनी– सूचिता र पवित्रताको भाष्य निर्माण गरेर त्यसलाई अनुलंघनीय बनाउन धार्मिक संहिताको आडमा दैवीकृत नियमका रूपमा अनुकरण गराइयो।
विवाहपूर्वको समागमलाई अपराध, अशुद्ध, अपवित्र कर्मका रूपमा लिइयो र त्यस्तो सम्बन्ध राखेका महिलालाई 'बिटुलिएकी' महिलाका रूपमा सामाजिक बहिष्कारको, हेयको व्यवहार गरियो।
विवाह पहिले अभ्यासका रूपमा आरम्भ भयो। सम्पत्तिको स्वामित्व जबसम्म समूहमा निहीत थियो र त्यसमा पनि महिलाहरूको प्रधानता थियो, तबसम्म विवाह अभ्यास थियो। सम्पत्तिको उत्तराधिकारी चिन्ने चेतनाले आरम्भ गराएको विवाह अभ्यास बिस्तारै संस्थामा बदलियो। त्यो संस्थाले निजी जोडीमाथि अरूले हस्तक्षेप गर्न नपाउने संहिता जारी गर्यो।
त्यसले कालान्तरमा समागमका लागि सामाजिक रूपमा जोडीको सार्वजनिक पहिचान गरिनुपर्ने नियम अनिवार्य गरायो। पहिले विवाह वैधानिक तवरले बच्चा उत्पादन क्रिया र यौन समागमको सामाजिक अनुमोदनका लागि हुने गर्थ्यो। पछि त्यसका साथमा सम्पत्ति र पैतृक उत्तराधिकारी तय गर्ने वैधानिकता पनि थपियो।
विवाह अभ्यास, मर्यादा, सभ्यता, शिष्टता, अमर्यादा, असभ्यपन आदि इत्यादि भाष्यहरू मानिसले निकट यताको समयमा निर्माण गरेको भाष्य हो। हामी हिजोको फिरन्ते चरणको समयमा आजको जस्तो कपडा लगाउँथेनौं। आजको जस्तो स्थिर घरबार, पोसाक, पहिरन, रीतिरिवाज, चाडपर्व, संस्कार, संस्कृतिको अभ्यासमा थिएनौं।
यी सबै केही हजार वर्षमा भएको परिवर्तन हो। तर आज पनि फिरन्ते सिकारी युगको अभ्यास गरिरहेका मानव समूहको पहिरन, खानपिन, बसोबास हेरेर हामी उनीहरूलाई असभ्य, जंगली मानिसको उपमा दिने गर्छौं। मानिसलाई उसको पहिरन र लवाइखवाइका आधारमा शिष्टताको, सभ्यको श्रेणीको तक्मा वितरण गर्न हतारिन्छौं। बिर्सन्छौं हामी, यताको दिनमा वितरण गर्ने गरिएको सभ्य हुनुका सबै परिभाषा हामी आफूले आफैलाई दिएको उपाधिका आधारमा निर्माण भएका हुन्।
आफैले म तँभन्दा सभ्य छु भनेर ढोल पिटेको हो मान्छेले समयक्रममा, आफ्नो जीवन अभ्यासमा थपेको कोरीबाटीलाई आधार बनाएर।
विवाह अभ्यास, विवाह समारोह समय क्रममा मानिसले निर्माण गरेको त्यस्तै कोरीबाटी हो, आफ्नो जीवन अभ्यासमा आरोपित गरेको। त्यस्तो अभ्यास ठ्याक्कै कहिले सुरू भयो, यसै भन्न सकिन्न।
विवाह समारोहको आजसम्मको पहिलो प्रमाण मेसोपोटामियामा २३५० बिसिईको भेटिएको छ। यसको मतलब विवाह संस्थाको सुरूआत त्यही मितिबाट भएको भन्ने होइन। बरू त्यस मितिको प्रमाण चाहिँ भेटिएको भन्ने हो।
यसरी विवाह संस्था आजसम्म प्राप्त प्रमाणका आधारमा करिब ४३५० वर्ष पुरानो रहेको देखिन्छ। मानवशास्त्रीहरूले त्यसअघिका हजारौं वर्षमा विवाह अभ्यास रहेको र उनीहरू लचिलो सामूहिक संगठनको अधिनस्थ बस्ने गरेको उल्लेख गरेको पाइन्छ। तर फेरि पनि दोहोर्याऔं, त्यो नातापाताको घेरामा, एकल पतिको घेरामा सीमित थिएन नै। जोडी छनोट र यौन अपिलको एकाधिकार पुरूषको संकेन्द्रित थिएन।
मस्तिष्कः २० वर्ष नपुगी परिपक्व हुँदैन
पूर्वीय दर्शनको आधारक्षेत्र भारतीय उपमहाद्वीपमा यहाँका ऋषि, महन्तहरूले आजभन्दा दुई हजार वर्षअघि नै विवाहका लागि १६ देखि २५ वर्ष उमेर उपयुक्त हुने ज्ञान मिमांसाको वितरण गरेका थिए। तर योनी सूचिता र कुमारी योनी भोगको भाष्यले डामिएर पुरूषको उमेर जतिसुकै भए पनि महिलाको हकमा रजस्वला नखुल्दै बाल विवाह गर्ने अभ्यास लादिइआएको पाइन्छ।
आचार्य धन्वन्तरीदेखि आचार्य मनु र दयानन्द सरस्वतीसम्मले कमसेकम १६ वर्ष उमेर उपयुक्त हुने सुझाव दिएको पाइन्छ। हाम्रो परम्परागत आश्रण व्यवस्थामा २५ वर्षपछिको अर्थात् स्नातकोत्तरपछिको जीवनकाल विवाहका लागि उपयुक्त ठानिन्थ्यो। आजको दिनमा समेत हाम्रो चिन्तन र बहस दुई हजार वर्षअघि तय गरिएको विवाह योग्य उमेरको विमर्शबाट माथि उठ्न सकेको छैन।
हामीकहाँ कसैको शरीरको आकार हेरेर उसको विवाह गर्ने उमेर भयो कि भएन, यौन सम्बन्ध राख्ने उमेर भयो कि भएन भनेर धारणा बनाउने गरिन्छ। कोही मानिसको शरीर खानपान, आनुवांशिता या अन्य कारणले ठूलो या सानो हुनसक्छ। कम उमेरमै कोही किशोरीको स्तनको आकार या शरीर ठूलो हुनसक्छ। तर उसको शरीरको आकारले ऊ कसैसँग यौन सम्बन्ध राख्न या विवाह गर्न परिपक्व भयो कि भएन भन्ने कुरा निर्धारण गर्दैन। मुख्य कुरा उसको मानसिक विकास हो। शरीरका जनेन्द्रियका अलावा शरीरका अन्य तन्तुहरूको यथोचित विकास हो।
कसैको स्तन ठूलो हुँदैमा उसको पाठेघर, हड्डी, नसा, जोर्नीहरू र मुख्य रूपमा मानसिक विकास उसैगरी ठिक ढंगले भइसकेको हुन्छ भन्ने कत्ति पनि छैन। उसै पनि विवाह, परिवार, यौन सम्बन्ध, पारिवारिक जिम्मेवारी वहन शारीरिकभन्दा मानसिक विषय बढी हो।
हाम्रै समाजलाई गम्भीर भएर हेरौं — समाजमा बाल विवाह कमजोर हुनासाथ र शिक्षा र चेतना बढ्नासाथ मातृ शिशु मृत्युदर अपत्यारिलो ढंगले कम भएको छ। अझै जति बाँकी छ, त्यसलाई गहिराइमा गएर हेरियो भने अपरिपक्व उमेरमै भएको विवाह र गर्भधारणका साथै उचित शिक्षा र चेतना अभाव नै मुख्य कारकका रूपमा अघि आउनेछ।
उसै पनि २० वर्ष नपुगी मानिसको सोच्ने दिमागको विकास राम्ररी भइसकेको हुँदैन। वैज्ञानिक शोधहरूले पुष्टि गरिसकेको यो तथ्यलाई अलिक विस्तारमा हेरौं।
मानिसको मष्तिस्कमा दुई भाग हुन्छन् — प्रिफ्रन्टल कोर्टेक्स र अमेगदाला। यिनीहरू मस्तिष्कका अति संवेदनशील भाग हुन्, जसले हाम्रो सोचाइ, भावना र व्यवहारसँग सम्बन्धित क्रियाहरूको सञ्चालकका रूपमा काम गरेको हुन्छ।
मानिसको मस्तिष्कको अघिल्लो भागमा रहने (ठ्याक्कै निधारको पछाडि) प्रिफ्रन्टल कोर्टेक्सलाई सोच्ने दिमाग र झन्डै झन्डै बदामको दाना जत्रो आकारको सानो अमेगदालालाई भावुक दिमाग भन्ने गरिन्छ। एउटा बच्चा किशोर वयमा प्रवेश गर्न थालेदेखि (११ वर्षदेखि) नै उसमा सेक्स हर्मोन र अमेगदाला विकसित हुन थाल्छ।
अमेगदालालाई भावुक दिमाग किन भनिएको हो भने यसले भावनात्मक तरंग पैदा गर्छ मानिसमा। यो भावना अर्थात् इमोसनको केन्द्र हो। यसले व्यक्तिमा असुरक्षा, आक्रामकपन र रोमाञ्चकताको मनोभाव प्रवाह गर्छ। मुख्यतया यसलाई त्रास र रोमान्सको उत्पादक मानिन्छ, जसले लड्ने या भाग्ने मनस्थितिद्वारा एकदमै तीव्र गतिमा दिमागलाई सञ्चालित हुन प्रेरित गर्छ।
कम्तिमा २० वर्षसम्ममा मानिसको मस्तिष्कमा प्रिफ्रन्टल कोर्टेक्सको विकास उचित स्तरमा भइनसक्ने हुनाले मानिसको दिमाग अमेगदालाको नियन्त्रणमा हुन्छ। त्यसैले २० वर्ष नपुगेका किशोर/किशोरीहरू निकै इमोसनल हुन्छन्। उनीहरू दीर्घकालीन तवरले भविष्यको सोचविचार गरेर भन्दा भावनात्मक भएर निर्णय गर्छन्। छिटो छिटो निर्णय बदलिइरहन्छन्। साथी बदलिइरहन्छन्। रोजाइ बदलिइरहन्छन्। छिट्टै सनो कुरामा रिसाउँछन्। छिट्टै सानो कुरामा उत्तेजित हुन्छन्। एकदमै गम्भीर निणर्यहरू पनि सजिलै लिइदिन्छन्। कसैलाई मन पराए भने दायाँबायाँ नसोची उनीहरूसँग यौन सम्बन्ध राख्ने मात्र होइन, भागेर जोडी नै बाँध्न पनि पछि पर्दैनन्। एउटा कथा पढेको भरमा गहिरोसँग तरंगित भएर क्रान्तिकारी बन्न अग्रसर हुन्छन्। सशस्त्र लडाइँमा सामेल भएर बन्दुक बोक्नसमेत सरिक भइदिन्छन्।
एकदमै सामान्य कुरामा कसैप्रति प्रभावित भएर कसैलाई विश्वास गर्न पुग्छन्। एउटा चकलेटबाट प्रभावित भएर नचिनेको मानिससँग पछि लाग्न सक्छन्। विश्वास गर्न सक्छन्। कुनै लत–कुलतमा फस्न पुग्छन्। किन, के, कसरी भनेर सोच्दैनन्। कसरी होइन जसरी पनि भन्ने भावनाले सञ्चालित हुन्छन्। एकदमै सामान्य विषयमा पनि आत्महत्या गर्न अग्रसर हुन सक्छन्। सामान्य मनमुटावमै सम्बन्ध विच्छेद गर्न, परिवार परित्याग गरेर घर छाड्न पनि हिच्किचाउँदैनन्, भोलि के होला भन्नेसम्म नसोची। जाज्वल्यमान र प्रज्वलनशील पदार्थ जस्तो हुन्छन् – सानो झिल्कोले भेट्नासाथ दन्किने।
यही भावनात्मक दिमागले सञ्चालित हुने र सोचविचार गरेर निर्णय गर्ने क्षमता विकास नहुने हुँदा १८ वर्ष नपुगुन्जेल उनीहरूले लिने निर्णय परिपक्व हुँदैन। त्यसैले उनीहरूलाई 'अन्डर एज' भनिएको हो। के ठिक के बेठिक भन्ने निर्णय गर्न नसक्ने कारणले नै उनीहरूलाई १८ वर्ष नपुगुन्जेल बैंक खाता आफै सञ्चालन गर्न दिइँदैन, कसैले सजिलै प्रभावित गरेर उनीहरूको खातामा रहेको पैसा नठगोस् भनेर। सवारी चालक अनुमति दिइँदैन, सवारी चलाउँदा लिनुपर्ने निर्णयहरू ठिक ढंगले लिन सक्दैनन् भनेर। सवारी चलाउन पाउने देशमा पनि अभिभावक या उमेर पुगेका चालकसँगै राखेर मात्र चलाउन दिने गरिन्छ।
अठार वर्ष नपुगी गरिने निर्णय सोचविचार गरिकन परिपक्व ढंगले नलिने र सामान्य कुरामा पनि इमोसनल भएर लिने भएकैले हो, १८ वर्ष नपुगेकाहरूले सहमति दिए पनि त्यसरी राखिएको यौन सम्बन्धलाई बलात्कारकै रूपमा लिइने गरेको।
जब मनिसको उमेर बढ्दै जान्छ, तब उसको सोच्ने दिमाग अर्थात् प्रिफ्रन्टल कोर्टेक्सको विकास हुँदै जान्छ। भावनात्मक दिमागलाई सोच्ने दिमागले कमान्ड र कन्ट्रोल गर्दै जान्छ। अमेगदालालाई प्रिफ्रन्टल कोर्टेक्सले आफ्नो नियन्त्रणमा लिन थाल्छ।
एफएमआरआई गरेर हेर्दा के देखियो भने मानिसको दिमागको प्रिफ्रन्टल कोर्टेक्स धेरै ढिलो मात्र विकसित हुन्छ। यो मानिस लगभग २० वर्षतिरको उमेरमा पुग्दा एक हदसम्म विकसित हुँदै २५ वर्षसम्म पुग्दा परिपक्व अवस्थामा पुग्छ। यसरी २५ वर्षको उमेरसम्म पनि यसको विकास प्रक्रिया तीव्र रूपले भइरहेको हुन्छ र त्यसपछि यो प्रक्रिया धिमा हुँदै जान्छ।
यही कारण मानिसको जिन्दगीको लय लगभग २० वर्षदेखि २५ वर्ष वरिपरिबाट एउटा निर्दिष्ट बाटोमा अग्रसर हुन्छ। के गर्ने, के नगर्ने, किन गर्ने, किन नगर्ने, यसो गरे के हुन्छ, त्यसो गरे के हुन्छ, यसरी गर्ने कि त्यसरी गर्ने भन्नेजस्ता कोणबाट सोचेर निर्णय लिन सक्रिय हुने कारणले प्रिफ्रन्टल कोर्टेक्सलाई दिमागको 'सिइओ' पनि भन्ने गरिन्छ। किनभने, यही प्रिफ्रन्टल कोर्टेक्सले निर्णय प्रक्रिया, योजना, परिणाम र भविष्यबारे सोचविचार गरेर निर्णय लिने सचेतना केन्द्रको मास्टर कन्ट्रोलरको काम गरिरहेको हुन्छ।
त्यसैले यस विषयका अध्येताहरूले विवाह जस्तो जीवनको संवेदनशील र पूरै जीवन प्रभावित गर्ने निर्णय प्रिफ्रन्टल कोर्टेक्स परिपक्व अवस्थामा पुग्ने २५ वर्ष वरिपरितिर गर्न सुझाएका हुन्छन्।
अठार वर्षमै विवाह गर्ने कुरा किशोर-किशोरीलाई विवाह संस्थाजस्तो गम्भीर सामाजिक बन्धनको डोरीमा कसेर उनीहरूको व्यक्तित्व विकास, आर्थिक-सामाजिक परिपक्वता निर्माणको अवसरबाट उनीहरूलाई बलपूर्वक विमुख गराउनु हो। उनीहरू अमेगदालाको प्रभावका कारण यही उमेरमा भागेर जोडी बनाइरहेका हुन सक्छन्। त्यसो गर्नु आजको विश्व बजारको प्रतिस्पर्धाबाट आफैलाई विमुख गराउनु हो।
यो उमेर उनीहरूको अध्ययन बढाउने, क्षमता निर्माण गर्ने र आफूलाई आर्थिक, सामाजिक, बौद्धिक, प्राविधिक, वैज्ञानिक तवरले परिपक्व बनाउने उमेर हो। उनीहरूलाई बुझाएर, सम्झाएर, सिकाएर, परिवारले मार्गदर्शन गरेर, समाजले चनाखो भएर उनीहरू उपर दृष्टि लगाएर, भावनाले वशिभूत भएर भड्किने किशोरकालमै चरम जिज्ञासा र उत्तेजनाको वशमा परेर विवाह गर्नसक्ने अवस्थाबाट जोगाउने हो।
के ठिक, के बेठिक निर्क्योल गर्न नसक्ने उमेरमा लिनसक्ने आवेशात्मक निर्णयमा पुग्न नदिन सामूहिक सामर्थ्य लगाउने हो। उल्टो उनीहरूलाई १८ वर्षमै विवाह गर्न उपयुक्त हो भन्ने पार्ने गरी सामाजिक विमर्शको आयोजना गर्ने होइन। राष्ट्रिय नीति तर्जुमा गर्ने होइन।
उमेर हदः जेल हेरेर कानुन बनाउने?
विवाहका अनेकन अभ्यास समयसँगै बदलिँदै जान्छन्। जेलमा को छ भन्ने हेरेर कानुन बन्दैन। कानुनको बर्खिलाप गर्नेहरू जेल जान्छन्।
अहिले विवाहको उमेर २० वर्ष राख्दा त्योभन्दा कम उमेरमा विवाह गरेकै कारण जेल र सुधार गृहमा किशोरहरू थुप्रिएको भनेर विवाहको उमेर घटाउने बहस चलिरहेको छ। जेलमा रहेका मानिस हेरेर कानुन बदल्ने हो भने जेलमा बहुविवाह गरेका मानिसहरू पनि छन्। त्यसो भए जेलमा उल्लेख्य संख्यामा बहुविवाह गरेका मानिसहरू छन् भनेर बहुविवाहलाई कानुनी मान्यता दिने गरी कानुन बनाउने?
मान्छे मारेर जेल गएका मानिसहरू कति छन्? 'अन्डर एज' मा विवाह गरेर सुधार गृहमा बसेकाहरू छन्। अब मान्छे मारेका कारण जेल गएकाहरूले जेल भरियो भनेर मान्छे मारेबापत जेल जाने कानुन बदल्ने? लागुऔषधमा, मानव बेचबिखनमा सामेल भएर जेल गएका मानिसहरूको अनुहार र संख्या हेरेर महिला बेचबिखनलाई वैधानिक बनाउने कानुन ल्याउने? यसरी जेलमा को छन् भन्ने हेरेर कानुन बनाउने होइन।
हिजो बहुविवाह एउटा नियमित अभ्यास जस्तो थियो। त्यसलाई दण्डनीय बनाउनासाथ त्यो घटेर गएको छ। शिक्षा र चेतनाले पनि यसमा मुख्य कारकको रूपमा भूमिका निर्वाह गरेको छ। हिजो बहुविवाहलाई दण्डनीय बनाउँदा पनि यही तर्क थियो, 'सारा जेल बहुविवाह गरेका मानिसले भरिन्छन्।'
आज पनि भनिँदैछ, '२० वर्षअघिको विवाहलाई मान्यता नदिने हो भने तिम्रा हाम्रा बाआमा सबै जेलमा हुन्छन्। अठार वर्ष कम उमेरको यौन सम्बन्धलाई बलात्कार भन्ने हो भने हाम्रा बा–हजुरबाहरू सबै बलात्कारी हुन्छन्।'
पहिलो त कानुन भूतप्रभावी हुँदैन। हिजोको हाम्रै अभ्यासको अनुभव र विश्व चेतनाको आलोकमा आज बनाइने नियम-कानुन भोलिका लागि हो, हिजोका लागि होइन। यति बुझ्नासाथ न बा बलत्कारी हुन्छन्, न हजुरबा।
हाम्रा हजुरआमाको पालासम्म बाल विवाह अभ्यासमा थियो। आज बाल विवाह दण्डनीय छ। के बाल विवाहलाई दण्डनीय बनाउँदा हाम्रा हजुरआमा–हजुरबाहरू सबै अपराधी हुन्छन् भनेर हाम्री हजुरआमा–हजुरबाको पालाको जस्तै सात/आठ वर्षमै विवाह गर्ने अभ्यासमा फर्कने?
यदि तपाईंका हजुरआमा/बा हुनुहुन्छ भने, उहाँहरूको विवाह कुन उमेरमा भएको थियो भनेर सोध्नुहोस्। अहिले त्यो उमेरमा विवाह गर्ने अभ्यासलाई उहाँहरूको अनुभवले कस्तो ठान्छ? खासगरी यो प्रश्न हजुरआमाहरूलाई सोध्नुहोस्।
हाम्रा बा/आमाहरूको समयमा ११ देखि १३/१४ वर्षभित्रै विवाह गर्ने अभ्यास थियो। सोध्नुहोस् बाआमालाई – कस्तो लाग्छ आफ्नो जीवनको अनुभवमा त्यति सानो उमेरमा विवाह गरेको सम्झँदा? के सुझाव छ उहाँहरूको नयाँ पुस्तालाई?
खासगरी आमाहरूलाई सोध्नुहोस्। तेह्र वर्षको उमेरमा विवाह गरेका आमाहरूले १८/१९ वर्ष पुगेका नाति-नातिनालाई तपाईंले केही भन्नुभयो भने 'के खान गाली गरिराछौ यी बालखालाई' भनेको तपाईंले नै ब्यहोर्नुभएको हुनसक्छ।
कलिलैमा विवाह गरेका हाम्रा बाआमालाई नै १८/१९ का आफ्ना नाति-नातिना कलिला बालखा लाग्छन्। तपाईं-हामी भने तिनलाई १८ वर्षमै बिहे गराइदिनुपर्छ भनेर किन मुर्मुरिएका हौं? किन अत्तालिएका हौं? किन छट्पटाएका हौं?
हाम्रो पुस्तामा आइपुग्दा विवाहको उमेर स्कुले जीवन सकिएपछि अर्थात् १५ देखि १८ वर्ष वरपर थियो। छोरीहरू आठ कक्षातिर पुग्न थालेपछि विवाहको कुरा सुरू हुन्थ्यो। एउटा कक्षामा दुई साल फेल भएपछि आठ, नौ, दसमा पुगेका छोरीको विवाहका लागि केटा खोज्न थालिन्थ्यो। अन्यथा, एसएलसी दिएको साल त रिजल्ट नहुँदै छोरीको विवाह गराइदिने हुन्थ्यो, कथम् फेल भए 'नबिक्ला' भन्ने भाष्यमा बाँधिएर।
अलिक पढन्ता छोरीहरू भए कलेजको सरहदमा पाइलो टेक्दानटेक्दै विवाह गराइन्थे। हाम्रो पुस्ताका श्रीमती, भाउजू, बुहारीहरूलाई सोध्नुस् त, जुन उमेरमा तिनको विवाह भयो परिवारको आदेशमा, त्यो उमेरमा उनीहरूले थप पढ्न पाएको भए पढ्थे कि विवाह रोज्थे?
मेरो पुस्ताका मैले संवाद गरेका अधिकतर महिलाहरूको भावना पाउँछु – एसएलसी माथि पढ्न पाइएन। वा, कलेजको पढाइ पूरा गर्न पाइएन। विवाह गर्नासाथ बच्चा, परिवार भयो, पढाइमा लाग्न सकिएन। यस्तै भयो। अलिकति आफ्नै हिस्साको जीवनप्रति दुखेसो जस्तो, गुनासो जस्तो। के हाम्रा छोराछोरीहरू पनि त्यही गुनासो, निरासा, अत्यास, निस्वास लिएर गुम्सँदै बाँचून् भन्ने हामी चाहन्छौं?
भारत र नेपालको बहुसंख्यक समाजमा बाल विवाह गम्भीर समस्याका रूपमा उपस्थित छ। कमसेकम ५० वर्ष अघिसम्म त बाल विवाह यहाँको समाजको मूल प्रवृति थियो। बिस्तारै बाल विवाह कानुनी तवरमा समेत निषेधित हुँदै गए पनि पूर्ण रूपमा बाल विवाह सामाजिक अभ्यासबाट मेटिइसकेको छैन।
पछिल्लो समय प्रचलनमा आएको सामाजिक सञ्जाल र मोबाइल फोनका कारण उचित चेतना र शिक्षा प्राप्त गरिनसकेका किशोर-किशोरीहरूमा उमेर परिपक्व नहुँदै जोडी निर्माण गरेर विवाह गर्ने प्रवृत्ति देखिएको छ।
बदल्नुपर्ने उमेर कि अभ्यास?
सानै उमेरमा विवाह गरेर सन्तान जन्माउने किशोर-किशोरीहरूमा गर्भ स्वास्थ्य, बाल स्वास्थ्य र आर्थिक स्वास्थ्यबारे आवश्यक तयारी, ज्ञान र तादम्य हुँदैन। सानैमा विवाह गर्दा उचित तवरले घरपरिवार सम्हाल्ने स्तरमा व्यक्ति मानसिक तवरले परिपक्व भइसकेको हुँदैन। न त राम्ररी समाजसँग घुलमिल हुने र अन्तर्क्रियामा आफूलाई सहज तवरले सामेल गराउने क्षमता नै विकास भइसकेको हुन्छ।
अठार वर्षमा बिहे गर्दा २० वर्ष पुग्दा-नपुग्दै उसको बच्चा भइसकेको हुन्छ। आफै आर्थिक, शारीरिक, मानसिक रूपमा परिपक्व नहुँदै बच्चा जन्मिइसकेपछि ऊ आफूलाई शैक्षिक र आर्थिक रूपमा बलियो बनाउन नपाउँदै बच्चाको पालनपोषण र परिवारको भरथेगको भारले थिचिन पुग्छ।
अठार वर्ष पुगेका किशोर-किशोरीहरू दस जोड दुई पढिरहेका या भर्खरै सकाएको अवस्थामा हुन्छन्। स्नातक पढ्ने उमेर र अवस्था पनि नभइसकेको, रोजगारी गर्ने अवसर पर्खँदै गरेको उमेरमा विवाह उसका लागि कति बोझिलो हुन्छ भनेर सोच्ने कि जेल हेर्ने?
के तपाईं आफ्ना छोराछोरी 'प्लस टू' पनि नसक्दै विवाह गरून् भन्ने चाहनुहुन्छ?
चाहनुहुन्न भने अरूलाई पनि त्यसका लागि प्रोत्साहित गर्न मिल्दैन। कतिले चेतना अभावमा, लहलहैमा, इमोसनमा आएर विवाह गरिराखेका छन् भने त्यसलाई कानुन बनाएर वैधानिकता दिने होइन। त्यो किन र कसरी सही निर्णय होइन भनेर सचेतना फैलाउने हो। गलत अभ्यास रोक्न बनाएको कानुनले कोही जेल पर्यो भनेर कानुन नै फेरेर गलतलाई सही बनाउने होइन, गलत अभ्यास कसरी हटाउने भनेर सामाजिक सामर्थ्य परिचालन गर्ने हो। चेतनाको दियो सल्काउने हो।
भौतिक परिस्थितिले चेतना निर्माण गर्छ। आज हामीसँग भएको चेतना आजको नेपाली समाजमा अभ्यासमा रहेको त्यही २० वर्षभन्दा पहिले नै विवाह गर्ने अभ्यासले निर्माण गरेको हो। त्यसैले हामीमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु सामान्य हो भन्ने आम रूपमा पर्न गएको छ। तर नेतृत्वमा पुग्ने चेतना त भौतिक परिस्थितिले निर्माण गरेको चेतना विकसित भएर भौतिक परिस्थितिलाई नै बदल्ने स्तरमा उठेको हुनुपर्ने हो।
अफसोच, यो भौतिक अवस्थाले निर्माण गर्ने चेतनाको स्तरबाट उठ्न नसकेकाले भिडलाई नेतृत्व गर्ने विचार दिनबाट सर्वथा असफल भएको छ र भिडको पछि लतारिन विवश भएको छ। यस्तो लाचार, विवश, अयोग्य तप्काले भिडको बोलीलाई आकार दिनु कसैगरी पनि अन्यथा होइन।
तलका शासकहरू डोजरे विकास र भ्यू टावर क्रान्तिमा व्यस्त र मस्त रहने र माथिका शासकहरू खान मार्केटका जोकरहरूले जसरी सस्ता टुक्का हानेर शासकीय दायित्व निर्वाह गर्न लागेपछि प्रहरी हिरासत र जेलका कोठरीहरू चेतना वितरणको पहिलो र अन्तिम मुकाम बन्छन्। आज जो जो हामी छौं, जसलाई विवाहका लागि २० वर्षको उमेर हद राख्दा त्यसैका कारण सुधार गृह र जेलका कोठाहरू भरिए भन्ने चिन्ता भइरहेको छ, तीमध्ये हामी कतिले किन २० वर्षभन्दा कमको उमेर विवाहका लागि उपयुक्त होइन भनेर सचेतना र शिक्षा विस्तारमा काम गर्यौं? त्यसरी पूरा सामर्थ्यका साथ चेतना वितरणमा लाग्दा पनि यसले थेगेन भन्न सक्ने कति छौं?
विकास भनेको डोजर ड्राइभरले आविष्कार गरेका पहाडी सडक र अग्ला भ्यू टावर भन्नेमा सीमित छ। सामाजिक चेतना, सांस्कृतिक चेतना, जीवनस्तर, व्यक्तिको बुझाइ, उसमा आवश्यक सामाजिक, मानवीय र व्यक्तिगत गुणहरूको विकासमा सामर्थ्यको लगानी विकासको परिभाषामा पर्नै सकेको छैन। देशभर स्थानीय तहका अवयव फैलिएका छन्। विद्यालय छ। त्यसमार्फत् कमसेकम कक्षा पाँचदेखि नै किन २० वर्ष नपुगी विवाह गर्न हुँदैन र गर्दा कस्तो आर्थिक, शारीरिक, मानसिक र कानुनी प्रतिकूलता सामना गर्नुपर्छ भनेर पढाइ गर्नेमा राज्यलाई रूचि छैन, जेलमा थुनिएका मानिसको उमेर गन्ने हतारो छ। संख्या गन्ने चटारो छ।
राजनीतिक दलहरूलाई आफ्ना कार्यकर्ताको काम भनेको अर्को दलका कार्यकर्ता कुट्ने र गाउँमा गएको विकास बजेट कसरी लुड्याउँने भन्नेमा बहादुरी देखाउनु हो भन्ने छ। हाम्रा छोराछोरीको भविष्यसँग सरोकार राख्ने यस्ता सवाललाई लिएर गाउँटोलसम्म चेतना विस्तारको काममा प्रतिस्पर्धा गर्नु उनीहरूको राजनीतिको 'मेनु' मा पर्दैन।
चालीस दशकको अन्त्य र पचास दशकको मध्यसम्म जसरी गाउँगाउँसम्म प्रौढ शिक्षाको लहर चलाइएको थियो, त्यसैगरी स-साना टोल/गाउँसम्म सचेतना कक्षाहरू चलाएर किन छोराछोरीको विवाह २० वर्षभन्दा पहिल्यै गर्नुहुँदैन भनेर राज्यले चेतना वितरणको पर्याप्त प्रयास गनुपर्छ।
विवाहको उमेर घटाउने होइन, चेतना वितरणको प्रयास बढाउनुपर्छ।
***