नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकजुट भएर राष्ट्रिय चुनौतीहरूको सामना गर्नुपर्ने बेला आएको बताएका छन्।
नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले प्राप्त उपलब्धीहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतिहरूको एकजुट भई सामना गर्ने दृढ सङ्कल्प र अठोट आवश्यक रहेको बताएका हुन्।
उनले मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको पनि बताए।
'यसका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ-आफ्ना दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक छ,' शुभकामना सन्देशमा देउवाले भनेका छन्।
नयाँ वर्षले नेपालीबीचो एकतालाई अझै बढी मजबुत र सुदृढ गर्ने विश्वास देउवाले व्यक्त गरेका छन्।
'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरेर आर्थिक, सामाजिक र सांस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्न नयाँ जोश, उत्साह र जाँगर प्रदान गरोस्,' शुभकामना सन्देशमा उनले भनेका छन्।