उडिरहेको रंगीचंगी पुतलीको बथानजस्तो देखिन्थ्यो सराङकोट। पृष्ठभूमिमा अन्नपूर्ण हिमश्रृङ्खला र तलतिर फेवातालको दृश्यले प्यारासुटमा उड्नेलाई जति रोमाञ्चित बन्थे, तल भुइँमा बसेर यो दृश्य देख्नलाई पनि कम्ता रोमाञ्चक थिएन।
सामाजिक सञ्जालमा यही दृश्य चर्चित हुँदा लकडाउनपछि पोखराको प्याराग्लाइडिङले उडान भरेको थियो। प्याराग्लाइडिङ गर्न आउने नेपालीकै कारण लेकसाइडका होटल र रेष्टुरेन्ट पनि खुल्न पाएका थिए।
मंसिर ८ गते एउटा दुर्घटना भयो। त्यसपछि भने सराङकोट माथिको यस्तो दृश्य पातलियो।
त्यसदिन सदाझैं प्याराग्लाइडिङ पाइलट राजु नेपाली गैह्रे बिहानै प्यारासुटलगायत सामग्री बोकेर सराङकोट उक्लिए।
सराङकोटबाट प्यारासुटमा यात्रु बोकेर पामेसाइड झरे। फेरि अर्का पर्यटकलाई उडाउन सराङकोट जाँदै गर्दा राजु लेकसाइडस्थित परिवारलाई बोलाउन पुगे।
‘बिहान प्याराग्लाइडिङ गर्न सराङकोट गएपछि बेलुका ५ बजेतिर मात्र घर आउनुहुन्थ्यो’, राजुका श्रीमती अञ्जनाले सेतोपाटीसँग भनिन्, ‘त्यसदिन ११ बजेतिर घर आउनुभयो र भरै आउँछु है, बाई बाई भनेर जानुभयो।’
राजुले आउँछु भनेको भरै हुन पाएकै थिएन। साँझको ५ बजेकै थिएन। दिउँसै अप्रत्यासित खबर आयो- राजुले उडाएको प्याराग्लाइडिङ दुर्घटना।
दुर्घटनाको खबर पाउनासाथ राजुका ४ जना दाजु अस्पतालतिर कुदे। पोखरामै माइला छोराको घरमा बसेका राजुकी ८० वर्षीया आमा हरिमाया नेपालीको मनमा छोराहरूको दौडधुप देखेर चिसो पसेको थियो। त्यतिबेला उनलाई राजु लडेको र घाउ भएको भनिएको थियो।
भोलिपल्ट सपरिवार अस्पताल पुगेपछि मात्र आमाले राजुको मृत्यु भइसकेको जानकारी पाएकी थिइन्। राजुका २ छोरा छन्। जेठो १० वर्षको राजकुमार र कान्छो ४ वर्षको रिशन। उनीहरूले दुर्घटनाबारे अझै राम्रोसँग भेउ पाइसकेका छैनन्।
हरिमायाका ६ छोरा र ३ छोरी थिए, तीमध्ये राजु कान्छा हुन्। उनका जेठा छोरा नन्दलालको झण्डै १० वर्षअघि नै मृत्यु भइसकेको छ। कान्छाको पनि मृत्यु भइसकेपछि अब ४ छोरा र ३ छोरी बाँकी छन्। ५ भाइ छोरासँग पालैपालो बस्ने गरेकी हरिमाया यसअघि ३ महिना राजुसँग बसेकी थिइन्।
पोखरा-२८ कालिकामा जन्मिएका राजु किशोरावस्थामै लेकसाइड हानिएका थिए। बेसीबाट धान पराल बोक्न गाह्रो भयो भनेपछि उनका बुबाले बेसी अर्थात् दिपाङ तालमाथि पोखरा-२७ बेलटारीमा घर बनाए। त्यसपछि उनको परिवार त्यहीँ बस्दै आएका थियो।
राजु कक्षा ८ मा पढ्दै थिए। सानैदेखि मिजासिलो, सबैसँग मिल्न सक्ने। ५ जना दाजु र अरूले भनेको मान्ने। त्यतिबेला माइलो दाजु धनबहादुर नेपालीले लेकसाइडमा ‘हाउस किपिङ’को काम गर्थे। उनैले कक्षा ८ मा पढ्दा-पढ्दै राजुलाई काम गर्न लेकसाइड लगेका थिए।
राजुले पनि सुरूमा हाउस किपिङकै काम गरे। बिहान-बेलुका होटलमा काम गरेपछि दिउँसो फुर्सद मिल्यो। राजुले मार्सल आर्ट सिक्ने रहर गरे। धनबहादुरले हुन्छ भने। बिहान– बेलुका होटलको काम गरेर राजुले मार्सल आर्ट सिके।
जसै राजु ठूलो हुँदै गए, उनका आकांक्षा पनि अग्लिए। परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफ्ना सबै इच्छालाई मनभित्रै दबाएर काममा जोतिनुपर्थ्यो।
मार्सल आर्टमा ब्ल्याक बेल्ट पास गरे। उनलाई खेलाडी बन्ने ठूलो धोको थियो। उनी ठूला भइसकेका थिए। होटलमा हाउस किपिङको काम गर्न मन लागेन।
राजु ट्रेकिङ जान थाले। पर्यटकका भारी बोकेर हिमालको फेदसम्म पुग्नु सजिलो काम थिएन। उनले सजिलै यो काम पनि गरे। त्यसैबाट दैनिक खर्च टारे।
खेलप्रतिको लगाव जिउँदै थियो। उनले लेकसाइडमा साथीहरूसँग मिलेर जिम खोले। सँगसँगै प्याराग्लाइडिङ पनि सिके।
जिममा उनले मार्शल आर्ट पनि सिकाउँथे। विद्यार्थीलाई प्रेम गर्थे। राजुका शिष्य रवि प्रत्यल भन्छन्, ‘गुरुजस्तो राम्रो मान्छे कोही थिएन, कत्ति पनि अहम् नभएको एकदमै असल।’
राजुले पोखराकै ब्लु स्काई प्याराग्लाइडिङ कम्पनीबाट टेण्डम (यात्रुसहित) फ्लाइट सिकेका थिए। प्याराग्लाइडिङ पाइलट बन्न उनले २ वर्ष कोर्ष लिनुपयो।
परिवारका अनुसार पाइलटको तालिम लिँदा २२ लाख रुपैयाँ बढी खर्च भएको थियो। राजुसँगै टेण्डम फ्लाइट सिकेका अर्का पाइलट ब्यञ्जमिन राजभण्डारीका अनुसार प्याराग्लाइडिङ पाइलट सिक्न आवश्यक सामग्री, प्यारासुटलगायत खरिद गर्न कम्तिमा ८ लाख रुपैयाँ खर्च हुन्छ।
३ वर्ष तालिम लिएपछि राजुको परीक्षा आयो। उनी सहजै उत्तीर्ण भए। प्याराग्लाइडिङ पाइलटको लाइसेन्स हात परेको दिन राजुले माइला दाजु धनबहादुरलाई पहिलो फ्लाइटमा उडाउन चाहेका थिए।
धनबहादुर मानेनन्। उनलाई प्याराग्लाइडिङ गर्ने शोख नभएर होइन।
‘मैले लेकसाइड ल्याएको भनेर होला, मलाई पहिलो पटक उडाउछु भनेको थियो’, धनबहादुरले सेतोपाटीसँग भने, ‘मलाई अग्लो ठाउँबाट तल हेर्दा डर लाग्ने समस्या छ, त्यही भएर मैले प्याराग्लाइडिङ गरिनँ।’
जमिनमै बसेर पनि माथिबाट तल हेर्दा निकै डर लाग्ने उनले बताए।
लाइसेन्स लिएपछि राजु निरन्तर प्याग्लाइडिङ गरिरहे। पाँच वर्ष भएको थियो राजु व्यावसायिक रूपमा प्यारासुटमा उडेको।
साहसी खेल प्याराग्लाइडिङमा ‘केही’ गर्ने हुटहुटी पालेका राजुको मंसिर ८ गते प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गयो, जुन नेपालको टेण्डम इतिहासमा पहिलो दुर्घटना हो। यसअघि यात्रु बोकेका प्यारासुट दुर्घटना भए पनि पाइलटको ज्यान गएको थिएन।
राजुसँगै टेण्डम तालिम लिएका ब्यञ्जमिन राजभण्डारी पनि त्यही कम्पनीमा कार्यरत थिए। राजुसँगै अर्को प्यारासुटमा पर्यटक लिएर आकाशमा उडिरहेका थिए। आकाशमा उनीहरूको दूरी धेरै टाढा थिएन। एकले अर्कोलाई देख्न सक्थे।
राजुकै पछिपछि रहेका ब्यञ्जमिनले राजुको प्यारासुट दुर्घटना भएको आकाशबाटै देखे। तल बाँसको झ्याङमा ठोक्किएर त्यसभन्दा तल डोजरले खारेको जमिनको भित्तामा पुगेर प्यारासुट ठोक्किएको थियो।
प्याराग्लाइडिङ उडाउन सँगै सिकेको, एउटै कम्पनीमा काम गर्ने र सराङकोटबाट सँगै उडेको साथी दुर्घटनामा परेको देखेपछि ब्यञ्जमिनले एकाध मिनेटमै प्यारासुट ल्याण्ड गरे।
‘मैले दुर्घटना भएको देखेपछि १ मिनेटभित्रै प्यारासुट ल्यान्ड गरें र गाडी लिएर घटनास्थलमा पुगे’, ब्यञ्जमिनले सेतोपाटीसँग भने, ‘मेरो प्यारासुट र अरू सामग्री कहाँ छ, अहिले पनि थाहा छैन।’
ब्यञ्जमिन घटनास्थलमा पुग्दा दुर्घटनामा परेकी यात्रु बुढानिलकण्ठ नगरपालिका- २ काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ चिच्याइरहेकी थिइन्। स्थानीय महिलाहरूले उनीहरूलाई पानी छर्किरहेका थिए। राजुको भने होस थिएन। स्थानीय महिलाहरूका अनुसार पानी छर्किएपछि नै शिलाको होस आएको थियो। राजुको भने आएन।
ब्यञ्जमिन र उनका सहयोगीले घटनास्थल पुगेर तत्काल राजुलाई बोकेर गाडीमा राखे। स्थानीयले बोकेर शिलालाई पनि गाडीमा राखिदिए। ब्यञ्जमिनले नै उनीहरूलाई पोखराको मेट्रोसिटी अस्पतालमा पुर्याएका थिए। अस्पताल पुर्याउनासाथ चिकित्सकले राजुलाई मृत घोषणा गरे। शिलालाई भने थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइयो।
कसरी भयो दुर्घटना?
पोखराका प्याराग्लाइडिङ पाइलट चर्चा गर्छन्, दुर्घटना भए पनि पाइलटकै ज्यान त नजानु पर्ने। पाइलटभन्दा अगाडि यात्रु हुन्छन्। भित्तामा ठोक्किँदा अगाडि रहेका यात्रु ठोक्किनु पर्ने।
ब्यञ्जमिन भन्छन्, ‘राजुको स्वभाव नै आफू मरेर अरूलाई बचाउने थियो, यो घटनामा पनि त्यही भएको हुनुपर्छ।’
दुर्घटनाको यथार्थ छानबिन नआएसम्म ठ्याक्कै भन्ने अवस्था भने अहिले पनि छैन।
दुर्घटनाको छानबिन गर्न नागरिक उड्ययन प्राधिकरणले अनुप जोशीको संयोजकत्वमा देवराज सुवेदी र दीपक थापा सदस्य रहेको छानबिन समिति बनाएको छ। उक्त समितिलाई १ महिनाभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको प्राधिकरणले जनाएको छ।
दुर्घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय कास्कीले पनि गरिरहेको छ। अनुसन्धानका क्रममा स्थलगत रूपमा बुझ्ने र प्रत्यक्षदर्शीसँग संवाद गरिसकेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए। प्रहरीले अनुसन्धानका क्रममा दुर्घटनाबारे लिखित जवाफ दिन राजु कार्यरत फिष्टेल नेपाल प्याराग्लाइडिङ कम्पनीलाई पत्र पठाएको छ।
प्रहरीले लेखेको पत्रमा राजुले बोकेको क्यामेरा, उपकरणसमेत उपलब्ध गराउन भनेको छ। यस्तै, नेपाल हवाई खेलकुद संस्था (ना)का प्राविधिक प्रमुख अनिल केसीको संयोजकत्वमा पनि छानबिन समिति बनेको छ। नाले १५ दिनभित्र रिपोर्ट तयार गर्ने गरी छानबिन गरिरहेको केसीले बताए।
दुर्घटनाबारे सबैभन्दा यथार्थपरक जानकारी दिने क्यामेरा भने हराएको कम्पनीले जनाएको छ। दुर्घटना भएपछि उद्धारमा खटिनुपरेको र त्यसपछि राजुको प्यारासुटसहित सामग्रीको खोजी गर्दा पाइलटले बोक्ने ‘गोप्रो’ क्यामेरा नभेटेको कम्पनीको भनाइ छ।
प्रत्यक्षदर्शीले भने फूल टिप्ने बेला उक्त दुर्घटना भएको बताएका छन्। दुर्घटनास्थल नजिकै घरमा बसिरहेकी कक्षा १ मा पढ्ने एक बालिकाले उक्त दृश्य देखेको बताएकी छिन्।
उनकी आमा भने खेतमा दाइँ हाल्न गएकी थिइन्। उनकै घरसँग जोडिएको रूखमा फूलेको पहेंलो फूल राजुले प्यारासुटबाटै टिपेका थिए। फूल टिपेर भाँचिएको डाली घरको छानामा झरेको ती बालिकाले बताएकी छिन्। प्रत्यक्षदर्शीका अनुसार फूल टिपेपछि प्यारासुट घरभन्दा केही तल रहेको बाँसको झ्याङमा ठोक्किएको थियो।
बाँसको झ्याङमा ठोक्किएको प्यारासुट तल डोजरले खारेको जमिनको भित्तामा पुगेर ठोक्कियो। उद्धारमा पुगेका टोलीले पनि भित्तामै ठोक्किएर पाइलटको ज्यान गएको र यात्रु सख्त घाइते भएको बताएका छन्। उनीहरू ठोक्किएको भित्तामा अहिले पनि डाम देख्न सकिने एक प्रत्यक्षदर्शीले बताएका छन्।
आकाशबाटै हेरिरहेका पाइलट ब्यञ्जमिन राजभण्डारीले पनि उक्त दृश्य देखेको बताएका छन्। उनले फूल टिपेको दृश्य भने आफुले नदेखेको बताए। ‘बाँसको झ्याङमा प्यारासुट ठोक्किएर डोजरले खारेको जमिनको भित्तामा गएर प्यारासुट ठोक्कियो’, ब्यञ्जमिनले भने।
दुर्घटनाको कारणबारे तीन वटा छानबिन समितिले ल्याउने प्रतिवेदनले नै स्पष्ट पार्ने नेपाल हवाई खेलकुद संस्थाका पदाधिकारी बताउँछन्।
घटनाका छानविन गरिरहेका तीनवटै निकायले पनि फूल टिपेको विषयलाई गम्भीरतापूर्वक हेरिरहेको बताएका छन्। प्रारम्भिक अनुसन्धानमा पाइलटको ‘ओभर कन्फिडेन्स’ पाइएको कास्की प्रहरी प्रवक्ता सुवास हमाल बताउँछन्।
सराङकोटबाट प्यराग्लाइडिङ गर्दा पाइलटले फूल टिपेर पर्यटकलाई दिएको भिडिओ सामाजिक सञ्जालामा भाइरल छ।
यसलाई उनीहरूले ‘क्याच फ्लावर’ भन्छन्। यस्तै केही पाइलटले त उड्दै गर्दा ‘वाटर टच’ भनेर फेवातालको पानीमा पर्यटकको खुट्टा भिजाइदिन्छन्। प्यारा पाइलटको आचारसंहिताले उडानका क्रममा यस्ता गतिविधि नगर्न भनेको छ।
घटनालाई आकाशबाट प्रत्यक्ष देखेका र राजुको उद्धारमा घटनास्थल पुगेका ब्यञ्जमिनले प्याराग्लाइडिङमा राजु दुर्घटना भएको रूट अरू बेला पनि खतरनाक रहेको बताए। त्यही रूटबाट प्याराग्लाइडिङ गर्दा दुई वर्षअघि एक जना विदेशी पाइलट घाइते भएका थिए। राजु ठोक्किएकै भित्तामा ठोक्किएर ती विदेशी पाइलट घाइते भएको ब्यञ्जमिन बताउँछन्।
ब्यञ्जमिनका अनुसार राजुको प्यारासुट जब बाँसको झ्याङमा ठोक्कियो, त्यसपछि अनियन्त्रित भएको थियो।
‘प्यारासुटमा इञ्जिन हुँदैन, हावाको भरमा उड्नुपर्छ’, उनले भने, ‘प्यारासुट अनियन्त्रित हुँदा पाइलट आत्तिएको हुनुपर्छ।’
राजुले उडाएको प्यारासुट जमिनबाट नजिकै भएका कारण पनि नियन्त्रणमा लिन नसकेको ब्यञ्जमिनले बताए।
‘हाइटमा भएको भए त नियन्त्रण भइहाल्थ्यो, यस्तो आपत आउने थिएन’, उनले भने।
राजुको प्यारासुट दुर्घटना भएको क्याम्पचोकबाट १-२ मिनेटमै ल्याण्ड गर्ने ठाउँमा पुग्न सकिन्थ्यो।
‘१ मिनेटमात्र नियन्त्रण गर्न सकेको भए पनि यो दुर्घटना हुने थिएन’, ब्यञ्जमिन भन्छन्।
उनका अनुसार राजु दुर्घटना भएको रूट खतरनाक हुनुका कारण हावाको बहाव र भौगोलिक स्थिति पनि हो। दुर्घटनाको मोडमा पुगेको प्यारासुटको पछाडि डाँडा थियो। फेवाताल भएर बहने हावा डाँडातर्फ लाग्दा दुर्घटना भएको ठाउँमा भुमरी पर्छ।
जब प्यारासुट बाँसको झ्याङमा ठोक्कियो, प्यारासुटको दाहिनेतर्फको भागमा हावा भरिन पाएन, प्यारासुट कच्याककुचुक भयो।
‘हावा नभएको प्यारासुटको दाहिने भाग तल जमिनतर्फ ढल्कने नै भयो’, ब्यञ्जमिनले भने, ‘प्यारासुटको जुन भाग तल झर्छ त्यही ठाउँतर्फ अर्थात् दाहिनेतिर ढल्किएर जाँदा ‘कोल्याप्स’ हान्दा राजुको प्यारासुट जमिनमा पुगेर ठोक्किन पुग्यो।’
यसरी पोखराको आकाशमा आफ्ना सबैभन्दा असल साथीले ज्यान गुमाउन पुगेको ब्यञ्जमिनले बताए। दुर्घटनापश्चात ब्यञ्जमिनले आफ्नो प्यारासुट कहाँ-कस्तो हालतमा छ भन्नेसमेत हेरेका छैनन्।
प्याराग्लाइडिङ आफैंमा साहसिक खेल भएकाले दुर्घटनाको सम्भावना रहे पनि ज्यानै जाने गरी दुर्घटना हुँदा प्याराग्लाइडिङ क्षेत्रलाई प्रभाव पारेको उनी बताउँछन्।
राजुले १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरेको कम्पनीले जनाएको छ। बीमाबाट आउने रकम राजुले प्याराग्लाइडिङ तालिम गर्दाको ऋण तिर्न पनि नपुग्ने परिवारले जनाएका छन्।
६ दाजुभाइको परिवार भए पनि अहिलेसम्म अंशवण्डा नगरेका उनीहरूले खेतबारीमा आफूखुशी खेती गर्थे र उब्जनी भित्र्याउँथे। तिहारमा दाजुभाइ भेट हुँदा एउटा टुक्रा जमिन बेचेर भए पनि ऋण तिर्ने र आफ्नै प्याराग्लाइडिङ कम्पनी खोल्ने राजुले दाजुसँग प्रस्ताव गरेका थिए। उनले श्रीमतीलाई पनि यो कुरा बताउने गरेका थिए।
आफ्नै कम्पनी खोलेर पोखरामा प्याराग्लाइडिङ व्यवसाय चलाउने राजुको सपना पनि उनीसँगै दुर्घटनामा परेको छ।
‘पख्नुस् न समय छँदैछ, पछि खोलौंला नि कम्पनी भनेको थिएँ’, उनका श्रीमती अञ्जनाले भनिन्, ‘उहाँको सपना पूरा भएन।’