चौध वर्षअघि बुट्यान र काँडेझाडीले घेरिएको रुपन्देहीको वनवाटिका क्षेत्र अहिले प्रदेश नं ५ कै आकर्षक पर्यटकीय केन्द्र बनेको छ।
पूर्वपश्चिम राजमार्गदेखि करिब १ किलोमिटर दक्षिण र सिद्धार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्डदेखि पूर्वतर्फ पनि त्यत्तिकै दूरीमा बाक्लो बस्तीको छेउमा शंकरनगर सामुदायिक वन छ।
तिलोत्तमा नगरपालिका वडा नं एक र दुईमा पर्ने ५ सय ७६ हेक्टरमा शंकरनगर सामुदायिक वन रहेको छ। सोही क्षेत्रमध्ये ५१ दशमलव ३४ हेक्टर वनक्षेत्रलाई व्यवस्थित गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले २०६२ सालमा वन विहार तथा अनुसन्धान केन्द्र बनाइएको हो।
नेपाल सरकारले गत कात्तिक १५ गते पहिचान गरेका मुलुकभरिका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यको सूचीमा तिलोत्तमा नगरपालिकामा बाउन्नकोटी सामुदायिक वनसँगै शंकरनगर वन वाटिका पनि समावेश गरिएको थियो।
स्थानीय समाजसेवीहरूको अगुवाइमा स्थापना गरिएको वनवाटिका निर्माणको लागि तत्कालीन शंकरनगर गाउँपालिकाले करिब ३० लाख रुपैयाँ खर्च गरेको थियो।
सुरूआतमा सानो क्षेत्रमा फुलबारी र बालउद्यान निर्माण गरी सञ्चालन गरिएको वनवाटिका अहिले जिल्लाकै सबभन्दा ठूलो पिकनिक स्पट र आकर्षक पर्यटकीय स्थल बनेको छ।
केन्द्रका सचिव खिमलाल पाण्डेका अनुसार वन वाटिकामा रहेको चिडियाखानालाई प्रादेशिक चिडियाखाना बनाउने प्रक्रिया अगाडि बढाइएको छ। चिडियाखानामा, चितुवा, उँट, सारस, अजिंगर, सर्प, अष्ट्रिच, हरिण, मृग,नीलगाई, खरायो, चाइनिज मुसा, मयूरलगायत २५ प्रजातिका जंगली जनावर तथा पशुपंक्षी संरक्षित छन्।
वनवाटिकाभित्र वनस्पति उद्यान, विभिन्न जातजातिको संग्रहालय, शहीद स्मारकलगायत करिब एक अर्बको १० वर्षे गुरुयोजनासहित वनवाटिकालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना बनाएको सचिव पाण्डेको भनाइछ।
त्यस्तै, जडीबुटी अनुसन्धान केन्द्र, योग केन्द्र, बोटानिकल गार्डेन, जैविक विविधता अनुसन्धान केन्द्र, बाल उद्यान, पार्क, सभास्थललगायतका भौतिक संरचनाले वनवाटिकालाई आकर्षक बनाएको छ।
प्राकृतिक रूपमा आकर्षक र रमणीय रहेको वनवाटिकामा वनभोज खान र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या पनि हरेक वर्ष बढ्दै गएको केन्द्रका सचिव पाण्डे बताउँछन्। गत वर्षमात्र ३ लाख पर्यटकले वनवाटिकाको अवलोकन गरेकोमा यस वर्ष त्यो संख्या बढ्ने केन्द्रको अपेक्षा छ।
‘नयाँ वर्ष, विवाह, वनभोज, शुभकार्य तथा सांगीतिक कार्यक्रमका लागि आउनेको संख्या धेरै छ, साँझ–बिहान योग तथा ध्यान गर्न जानेको दिनहुँ लर्को लाग्छ,’ केन्द्रका सचिव पाण्डेले भने।
यहाँ रहेका विभिन्न जनावर तथा जैविक विविधताको अध्ययन र अनुसन्धान गर्न आउनेहरूको संख्या पनि उत्तिकै बढेको छ।
वाटिकाभित्र दुई दर्जन बढी पिकनिक स्पटका लागि सेड निर्माण गरिएका छन्। चिडियाखाना, पिकनिक स्पट तथा पार्क र बगैंचाहरूको रेखदेखको लागि अहिले २६ जनाले रोजगारी पाएका छन्। वनवाटिकामा वनस्पति उद्यानदेखि प्रदेशकै ठूलो चिडियाखाना, पौडी पोखरी र नौका विहारको निर्माण कार्य समेत अघि बढेको छ।
साढे १३ करोडको ११ तले भ्यू टावर बन्दै
वनवाटिकालाई प्रदेशकै आकर्षक पर्यटकीय स्थल बनाउने योजनासहित तिलोत्तमा नगरपालिकाले दसतले भ्यू टावर निर्माण गरिरहेको छ। नगरपालिकाको ७० प्रतिशत र अनुसन्धान केन्द्रको ३० प्रतिशत गरी कुल १३ करोड ५८ लाख रुपैयाँ लागतमा भ्यू टावर निर्माण भइरहेको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्याल बताउँछन्।
११ तले उक्त भ्यू टावरको अहिले चौथो तलाको ढलान सकिएको छ।
एक सय ३५ फिट उचाइको भ्यू टावरको निर्माण चार वर्षमा पूरा गर्ने योजना केन्द्रले बनाएको छ।
उक्त भ्यू टावरमा सुविधा सम्पन्न होटल, डिमार्टमेन्टल स्टोर, अनुसन्धान केन्द्रको कार्यालय, पुस्तकालयलगायत विभिन्न व्यापारिक तथा व्यवसायिकस्थल समेत बनाउने योजना छ।
लिफ्ट सिस्टमको भ्यू टावरबाट टेलिस्कोपको सहायताले लुम्बिनी, बर्दघाट,कपिलवस्तु र चुरे शृंखलाका साथै भारतको नौतनहवा, कुशीनगर, गोरखपुरसम्म अवलोकन गर्न सकिने केन्द्रको दाबी छ।
प्राकृतिक निर्माण प्रालिले निर्माण ठेक्का लिएको उक्त भ्यू टावर पुनर्निर्माण हुन लागेको काठमाडौंको धरहरापछिको मुलुककै व्यवस्थित र आकर्षक बनाउने नगरपालिकाको लक्ष्य छ।
पर्यटन प्रवर्द्धनका लागि टोय ट्रेन सञ्चालन
वार्षिक तीन लाख बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने वनवाटिकामा थप पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले टोय ट्रेन ‘बालरेल’ सञ्चालन गरिएको छ।
रोटरी क्लब अफ बुटवल, तिलोत्तमा नगरपालिका र तिलोत्तमा व्यापार संघको सहयोगमा बालरेल सञ्चालन गरिएको हो।
वनवाटिकाको प्रवेशद्वारकै दक्षिणतर्फको क्षेत्रमा रहेको रोटरी चाइल्ड डेभलपमेन्ट रिसर्च सेन्टरमा सञ्चालन गरिएको बालरेलबाट पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा केन्द्रको छ।
करिब ३५ लाख रुपैयाँको लागतमा सञ्चालन गरिएको बालरेल फलामको लिगमै सञ्चालन गरिएको नेपालको पहिलो भएको सचिव पाण्डेको दाबी छ।
यसअघि पोखरामा टायरबाट चल्ने बालरेल सञ्चालनमा आए पनि फलामको लिगमै चल्ने रेल पहिलो भएको उनले बताए।
वनवाटिकाभित्र पछिल्लो समय जुन प्रकारले भौतिक संरचनाहरूको निर्माण भइरहेको छ सोही अनुरूप खाली रहेको जमिनलाई समेत सही सदुपयोग गर्न सके साँघुरिएको बजार क्षेत्रलाई पनि खुला ठाउँको अभाव नहुने स्थानीयको सुझाव छ।