ललितपुरको झम्सिखेलमा हरेक आइतबार र मंगलबार लाग्ने हाट बजार को-को जानुभएको छ?
यहाँ सेलरोटीदेखि म:म, फलफूलदेखि तरकारी, अचारदेखि हातले बुनेका सजावट सामग्री लगायतका थुप्रै स्टल राखिएका हुन्छन्। बिहान ११ देखि साँझ ६ बजेसम्म चल्ने यो हाटमा किनमेलदेखि खाजा खान आउनेहरूको राम्रै भिड लाग्छ।
हाम्रो ग्रामीण क्षेत्रमा कृषिजन्य वस्तुको सहज खरिद-बिक्रीका लागि हाट बजार लाग्दै आएको छ। खुला चउर वा सार्वजनिक स्थलमा लाग्ने यस्तै परम्परागत बजारको झलक दिने ललितपुरको हाट पनि हिजोआज किनमेलको सहज केन्द्र बनेको छ।
म पनि झम्सिखेलको हाट बजार गइरहन्छु; कहिले सेलरोटी खान, कहिले म:म खान।
त्यसै क्रममा एकदिन मेरो आँखा 'होम-मेड क्विजिन' नामको स्टल चलाइरहेका दुई विदेशी महिलाहरूमा गयो। उनीहरू त्यहाँ बिरयानी, समोसा, स्प्रिङ रोल लगायतका खानेकुरा बेच्छन्।
मलाई झम्सिखेलको हाटमा बिरयानी बेचिरहेका यी विदेशी को होलान् भन्ने खुल्दुली लाग्यो।
यही खुल्दुली मेट्न म बिरयानी खाने बहानामा उनीहरूसँग कुरा गर्न गएँ।
उनीहरू कुरा गर्न त तयार भए, तर फोटो खिचाउन मानेनन्।
ती दुवै महिला पाकिस्तानी रहेछन् — एक जनाको नाम नाइला, अर्कोको रूबिना।
के तपाईंहरू दिदी-बहिनी हो?
मेरो यो प्रश्नमा नाइलाले भनिन्, 'हामी दिदी-बहिनी त होइनौं, तर पारिवारिक रूपले एकदमै निकट साथीहरू हौं।'
उनीहरू नेपाल आएको सात वर्ष भएछ। व्यावसायिक उद्देश्यले सपरिवार आएका उनीहरूले झम्सिखेलको हाटमा स्टल राख्न थालेको यो तेस्रो महिना हो।
यसअघि उनीहरूले कतै पनि यस्तो स्टल वा रेस्टुरेन्ट चलाउँछौं भनेर सोचेका थिएनन्। उनीहरू पकाउन त दिनहुँ पकाउँथे नै, तर आफ्नो घरको लागि मात्र। साथीभाइ आउँदा घरमै बिरयानी बनाएर पनि खुवाउँथे। समोसा र स्प्रिङ रोल पनि चखाउँथे। उनीहरूले पकाएका यस्ता खानेकुरा सबैले मन पराए।
धेरैले भने, 'बिरयानी त यहाँ अरूतिर पनि पाइन्छ, तर तपाईंहरूको हातमा अर्कै स्वाद छ।'
तिनै साथीभाइले बिरयानी बनाउने यो खुबीलाई व्यावसायिक रूपमा प्रयोग गर्न सल्लाह दिए।
साथीभाइको प्रतिक्रिया र सल्लाह सुनेर नाइला र रूबिना हौसिए।
उनीहरूले रेस्टुरेन्ट खोल्ने निधो गरे। यसका लागि ठाउँ खोज्दै जाँदा ललितपुरका झम्सिखेल, भनिमण्डल र महालक्ष्मीस्थानमा नियमित हाट बजार सञ्चालन हुँदै आएको उनीहरूले थाहा पाए।
एकैचोटि रेस्टुरेन्टमा ठूलो लगानी गर्नुभन्दा हाट बजारबाट सामान्य ढंगले सुरूआत गर्न उपयुक्त हुन्छ भन्ने उनीहरूलाई लाग्यो।

'यहाँ स्टल राखेपछि हामीले ग्राहकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेका छौं,' नाइलाले भनिन्, 'अब त हामीलाई यो हाट छाडेर अन्त कतै जान मन छैन।'
उनले अगाडि भनिन्, 'हामीकहाँ एकचोटि आएका ग्राहक फेरि फेरि आउनुहुन्छ। कम समयमै थुप्रै स्थायी ग्राहक बनाउन सफल भएका छौं। यसले हामीलाई धेरै सन्तुष्टि दिएको छ।'
यहाँको हाट बजार बिहान ११ बजे नै खुल्ने भए पनि उनीहरू घरको कामकाज सकेर दिउँसो २-३ बजेतिर मात्र आउँछन्। स्टलमा बेच्ने बिरयानी, समोसा, स्प्रिङ रोल लगायतका परिकार बिहान घरमै पकाएर ल्याउँछन्।
उनीहरूले स्टल चलाउने भनेको सामान्यतया चार घन्टा हो। त्यसबीच २० देखि २५ जना ग्राहक आउने उनीहरू बताउँछन्।
के तपाईंहरूले बिरयानी र समोसा पकाउने तरिका नेपालको भन्दा फरक छ?
जबाफमा नाइलाले भनिन्, 'हामी नेपालमै पाइने मरमसला प्रयोग गर्छौं। तर हाम्रो पकाउने तरिका बेग्लै छ। पकाउने तरिका बेग्लै भएपछि स्वाद फरक हुने भइहाल्यो।'
दाँजेर हेर्ने हो भने उनीहरूको बिरयानी यहाँको भन्दा मसालेदार हुन्छ। मसलाको स्वादले पनि बिरयानीलाई फरक बनाउँछ। पाकिस्तान र भारततिर बढीजसो यस्तै स्वादको बिरयानी खाइने रूबिना बताउँछिन्। स्प्रिङ रोल पनि यहाँका अन्य पसलमा पाइनेभन्दा अलि ठूलो आकारको हुन्छ।
घरमै पकाएर ल्याउने हुँदा आफ्नो परिकारमा 'घरको स्वाद' पाइने उनीहरूको भनाइ छ।
'हामी ग्राहकको स्वास्थ्यप्रति सचेत छौं। त्यसैले गुणस्तरमा सम्झौता गर्दैनौं। अहिलेसम्म एक जनाले पनि तिमीहरूको खानेकुरा खाएर यस्तो भयो भनेर गुनासो गर्नुभएको छैन,' नाइलाले भनिन्, 'खानेकुरा तार्न प्रयोग गर्ने तेल पनि दिनकै तीनचोटि फेर्छौं।'
उनीहरूको स्टलमा खानेकुराको मूल्य पनि सामान्य छ। बिरयानी तीन साइजमा उपलब्ध छन् — फुल, हाफ र रेगुलर।
राँगाको मासुको बिरयानी फुलको ५००, हाफको २५० र रेगुलरको १८० रूपैयाँ पर्छ। त्यस्तै, कुखुराको मासुको बिरयानी फुलको ४००, हाफको २०० र रेगुलरको १५० छ। कसैलाई अलि धेरै परिमाणमा चाहियो भने पहिल्यै अर्डर पनि गर्न सकिन्छ।
यहाँको एउटा विशेषता के भने, उनीहरू कुखुराको मासु राखेर बनाएको समोसा पनि बेच्छन्। यसको मूल्य प्रतिगोटा ५० रूपैयाँ पर्छ। साकाहारी समोसा भने ३५ मा पाइन्छ।
उनीहरूले बेच्ने स्प्रिङ रोलको मूल्य कुखुराको मासुको ६० र साकाहारीको ५० रूपैयाँ हो।
'बिस्तारै ग्राहक बढ्दैछन्। हामीकहाँ नेपालीदेखि भारतीय र पाकिस्तानीहरू पनि आउनुहुन्छ,' नाइलाले भनिन्।
***