तपाईंहरूलाई याद छ ती दिन? जुन दिनमा रेडियोको छुट्टै महत्व हुन्थ्यो।
उमेरले कमसेकम तीन दशक पार गरेकाहरूलाई याद होला नि है, ती दिनमा रेडियोको महत्व।
दुई दशक नपुगेकाहरूले सुनेरै मजा लिनुस् ती दिनका खुसीहरू।
शनिबार दिनभर रेडियोकै वरपर हुन मन लाग्ने, अरू बार बेलुका नौ बजे पछाडि आफ्नै कोठामा रेडियो हुनुपर्ने।
रेडियोको रहर हरेकलाई हुन्थ्यो। घरमा एउटा मात्र रेडियो हुँदा कहिलेकाहीँ झगडा नै पर्थ्यो, याद छ हजुरहरूलाई? कहिले बासँग त कहिले दाजुभाइ दिदीबहिनीसँग।
आहा ती दिन, आउनुस् एकछिन ती दिनलाई स्मरण गरौं!
बाले अन्तिममा बेलुकाको बीबीसी नेपाली सेवाबाट समाचार सुनिसकेपछि रेडियो हाम्रो जिम्मामा लगाउनुहुन्थ्यो, अनि हामी रेडियोमा गीत खोज्थ्यौं।
कोर्टिना रेडियोमा मिटरको स्वीच बटारेपछि कहिले अल इण्डिया रेडियो पकड्थ्यो त कहिले खर्साङ रेडियो, रेडियो नेपाल बाहेक।
अल इण्डिया रेडियोमा हिन्दी फिल्मका गीत बज्थे, हामी बहुत डुबेर सुन्थ्यौं। केहीबेरमा प्रचार बज्न थालेपछि फेरि उस्तै छटपटी हुन्थ्यो अनि मिटरको स्वीच बटार्थ्यौं।
रेडियो नेपालमा बेलुका साढे नौ बजे पछाडि नेपाली गीत संगीतका कार्यक्रम बज्न सुरू हुन्थे। हामी रातिको एघार बजेसम्म ती कार्यक्रम सुन्थ्यौं। अनि रेडियोको प्रसारण बन्द भएसँगै हामी सुत्थ्यौं।
कहिलेकाहीँ काठमाडौं जाँदा एफएम रेडियोको बारेमा सुन्थ्यौं। हामी गाउँ घरमा रेडियोको क्षेत्रीय प्रसारण केन्द्रको बारेमा मात्र सुनेका थियौं त्यो पनि दिनको एक दुई घन्टा मात्र प्रसारण हुने।
हाम्रो दाङ जिल्लामा केन्द्रीय प्रसारणबाहेक सुर्खेतको क्षेत्रीय प्रसारण पनि सुन्न सकिन्थ्यो। हामी खुब मजा लिन्थ्यौं।
चिठी पठाएर गीत रोज्ने अनि आफ्ना नजिकका साथीभाइ इष्टमित्रलाई सुनाउन अनुरोध गर्ने कार्यक्रम हाम्रा सबभन्दा प्रिय कार्यक्रम हुन्थे, हाम्रा नाममा कसैले अनुरोध गरेकी भन्दै।
गोरखकाली रबर यात्रा , फोनइन , दिन–प्रतिदिन , जस्ता कार्यक्रम हाम्रा लागि लोकप्रिय थिए , ब्यक्तिमा पाण्डव सुनुवार, सुरवीर पण्डित , डियर कल्याण , नवराज लम्सालहरू प्यारा थिए। लाग्थ्यो हाम्रै कान्छा बा , माइला बा या दाइहरू हुन्।
उनीहरूसँग एउटा नजिकको नाता छजस्तै महसुस हुन्थ्यो।
बार्दलीमा रेडियो राखेर बारीको तल्लो पाटोसम्म गीत घन्किने भएपछि बल्ल काममा जाँगर चल्थ्यो मलाई, यो मलाई मात्र पक्कै होइन होला। ऊ बेला जन्मेका सबैलाई यस्तै त होला?
समयसँगै काठमाडौंमा बज्ने एफएमहरूको क्रेज दाङमा पनि बढ्दै गयो, अनि सुरू भयो एफएम युग। यो पनि एक प्रकारको रेडियो युग नै हो।
तिनै कोर्टिना रेडियोको कानतिर एउटा बटन अचेटेपछि टिप्थ्यो एफएम स्टेसन। अनि मिटरको बटनलाई घुमाएपछि बज्न सुरू हुन्थ्यो स्वर्गद्वारी एफएम या रेडियो मध्यपश्चिम।
सांगीतिक कार्यक्रममा हामी झुम्थ्यौं। बाहरूको ग्याङ समाचारमा फोकस गर्नुहुन्थ्यो।
कहिलेकाहीँ गाली खाइन्थ्यो त कहिलेकाहीँ पिटाई पनि। कारण हुन्थ्यो, पढाइभन्दा महत्व रेडियोलाई दिनु। अनि बाको समाचार बज्दै गर्दा एफएम स्टेसन चेन्ज गरेर गीत बजाइदिँदा पनि खुब गाली खाइयो।
रेडियो हाम्रो साथीजस्तै थियो, बारीको कान्लामा रेडियो राखेर काम गर्दा होस् या पिँढीमा रेडियो राखेर आँगनमा पढ्दा होस्, रेडियोमा केही न केही बजेकै हुन्थ्यो। हाम्रो लागि संसार थियो रेडियो।
अलि बुझ्ने हुँदा अझ भनौं बैंस चढ्दै जाँदा रेडियोमा एउटा कार्यक्रम खुब सुन्थिम् हामीहरू। साथीसँग मनका कुरा।
युवा अवस्थाका घटनालाई लिएर नाटकीय रूपमा प्रस्तुति दिने साथीसँग मनका कुराका कलाकार हाम्रै स्कुलका साथी जस्तै लाग्थ्यो हामीहरूलाई।
किनकी उनीहरूका प्रस्तुति हाम्रै गाउँ घरका हुन्थे। हाम्रै स्कुलका हुन्थे, हाम्रै समाजमा दैनिक घट्ने खालका हुन्थे अनि हामी प्रभावित भएर खुब सुन्थ्यौं त्यो कार्यक्रम, नबिराई।
बेलुका सात बजेको समाचारपछि आउने घटना र विचारको कार्यक्रमको धुन आजसम्म याद छ मलाई।
घटना र विचार कार्यक्रममा बोल्ने पत्रकारहरू बहुत निडर लाग्थे मलाई।
देशलगायत विश्वभरिका खबर त्यही घटना र विचारबाटै थाहा हुन्थ्यो।
हरेक घन्टामा आउने समाचारले त भएको घटनामात्र भन्थ्यो। घटना र विचारले प्रष्ट्याउँथ्यो पनि अनि सम्बन्धितलाई सोधेर चिरफार गर्थ्यो।
जनताको गुनासो सांसदलाई सोध्न पाउने एउटा कार्यक्रम हुन्थ्यो, याद छ तपाईंहरूलाई?
सांसदलाई स्टुडियोमा राखेर जनतालाई फोन गर्न लगाउने अनि समस्याको उत्तर सांसदबाट प्रत्यक्ष सुन्न पाइने कार्यक्रम निकै चाखलाग्दो हुन्थ्यो।
आफ्ना क्षेत्रका सांसदको पालो रेडियोमा आउँदा फोन गरेर सोध्ने सुविधा त मलाई थिएन, किनकी घरमा फोन नै थिएन ऊ बेला। तर प्रश्न उत्तर सुन्न पाउँदा बडो मजा आएको थियो।
त्यो बेला कांग्रेसबाट निर्वाचित हरिप्रसाद चौधरी थिए हाम्रा सांसद, सोझा तर बोल्न नजान्ने। गफ लगाएर गफैले सांसद पद खाएका भने होइनन् उनले। गर्छन् कि जस्तो लागेर हाम्रो समाजले बनाएका सांसद थिए उनी।
'हस म गर्छु !' चै प्रत्येक समस्याको उत्तरमा भन्थे, तर केही गरेनन्। कार्यकाल कटाए, अनि गाउँ घरमै थन्किए।
उनीमात्र होइन, हाम्रा क्षेत्रका हरेक सांसदले आफ्नो कार्यकाल सकाउँदै थन्किदै गए, आजसम्म पनि।
हाम्रो गाउँ घरमा एफएम रेडियो र वाकमेन सँगसँगै छ्याप–छ्याप्ती भएका हुन्। मोबाइल आउनुभन्दा पहिला अनि रेडियो नेपालको क्रेज घटेर एफएमतिर हामी लम्किँदै गर्दा।
पैला टेप रेकर्डर भएको घर या क्यासेटबाट गीत गुन्जने घर भनेपछि छुट्टै महत्व हुन्थ्यो। जब वाकमेन आयो तब ती टेप रेकर्डर घरमै थन्किए। हुँदाहुँदा इमर्जेन्सी लाइटमा समेत रेडियो र टेप रेकर्डरका सुविधा आए, प्रयोग गर्नु भयो होला नि है? रातिमा बाल्यो, दिनभर बजायो।
समग्रमा सम्झनु पर्दा ती युग रेडियोका युग थिए। मोबाइल फोन आउनुभन्दा पहिलेका युग निक्कै यादगार युग थिए।
रेडियोमा बोल्ने हरेक पत्रकार अनि कलाकार हाम्रा नजिकका लाग्थे। हरेक कार्यक्रम हाम्रै लागि लाग्थे।
ती दिन अभावका थिए होलान्, राम्रो रेडियो घरमा थिएन होला। तर मीठा थिए ती दिन।
आजभोलिजस्तो विद्तयुबाट चल्ने या चार्ज गर्ने रेडियो नहुँदा पनि खुसी नै थियौं। रेडियोमा ब्याट्री सकिएर घाममा सुकाउँदै प्रयोग गर्दा पनि खुसी थियौं।
कामै नलाग्ने तिनै ब्याट्री फोडेर झ्याल ढोका रंगाउनुको आनन्द याद गर्नुस् त ?
समाज लगभग उस्तै थियो। धनाढ्य भनेका गाउँ घरका जमिन्दार हुन्थे, उनका घर तीन तले होलान् तर घर, झ्याल ढोकाको बनावट उस्तै हुन्थे। उनले पनि त्यही ब्याट्री फोडेर झ्याल ढोका रंगाउथे। हामी गरिबले जस्तै।
सहरका कुरा अलग हुन् है फेरि, कमेन्टमा आएर मेरा घरका झ्याल ढोकामा ब्याट्रीको कालो होइन, पेन्ट दल्थ्यौं भनेर फुई नझार्नु होला। मैले ऊ बेलाको गाउँ समाजलाई सम्झेको मात्र हुँ, जुन बेला रेडियोको महत्व थियो।
मोबाइलको जमाना आएपछि फेरिएको समाजसँग त्यो रेडियो युगलाई तुलना नगरौं। सुख सुविधा अहिले होला म मान्छु, तर खुसी त्यो बेला थियो भन्ने कुरा अहिले दुई दशक उमेर पार नगरेकाले बुझ्नैपर्छ, नबुझे हामीले यस्तै लोभलाग्दा कथा सुनाएर लोभ्याउने कोसिस गरौं।