सद्गुरूले भनेका छन्- बच्चा हुनु भनेको केवल प्रजनन प्रक्रिया पूरा गर्नु या पुस्ता अगाडि बढाउनु मात्र होइन, यो वास्तवमै ठूलो जिम्मेवारी हो—जससँग थुप्रै चुनौतीहरू र भावनात्मक आरोह–अवरोहहरू आउँछन्। तर, सँगै यो आमाको जीवनको सबभन्दा सन्तोषजनक अनुभव पनि हो। बच्चाको हरेक माइलस्टोन, हरेक उपलब्धि आमाका लागि आफ्नै जित जस्तै लाग्छ। त्यसैले मातृत्व अत्यन्तै सन्तोषजनक हुन्छ।
तर सबै आमा एउटै किसिमको सौभाग्यशाली हुँदैनन्। केही आमाहरू, जस्तै म, परदेशमा आफ्ना छोराछोरी हुर्काउँदैछौं—जहाँ परिवारको साथ र भावनात्मक सहयोग अभाव हुन्छ। विदेशमा बच्चा हुर्काउनु विषयले अझै गहिरो भावनात्मक जटिलता बोकेको हुन्छ।
आजभोलि धेरै बाबुआमाहरू आफ्ना छोरी र बुहारीलाई सहयोग गर्न खोज्छन्। तर विभिन्न कारणले सबैलाई त्यो साथ नसीब हुँदैन। नेपालमै पनि धेरै छोरीहरू वा बुहारीहरू राम्रो सम्बन्ध नहुँदा, पुस्तागत अन्तर या परम्परागत सोचका कारण भावनात्मक टाढापन महसुस गर्छन्। अनि म जस्तो महिला— जो परदेशमा बच्चा हुर्काउँदै छौं आफूले आफैसँग दिनहुँ जसो भावनात्मक लडाइँ लडिरहेको हुन्छौं। विशेष गरेर जब तपाईंको एकभन्दा बढी सन्तान हुन्छन्, र नयाँ बच्चाको आगमन हुन्छ, त्यो संघर्ष झन् बढी हुन्छ—शारीरिक मात्र होइन, भावनात्मक रूपमा पनि।
मेरो पाँच वर्षकी छोरीलाई यो बुझाउन निकै गाह्रो हुन्छ कि म अझै पनि उनलाई उस्तै माया गर्छु जस्तो पहिले गर्थें। कहिलेकाहीँ म रिसाउँछु, अनि उसको अनुहारमा देखिने त्यो दुःख… उसको मनमा प्रश्न उठ्छ होला के ममाले पहिलेजस्तो माया गर्दिनन्?
सामान्यतया मेरी छोरी निकै रमाइलो स्वभावकी छे। स–सानो कुराले उनलाई खुसी बनाउँछ मेरो एक गारो अंगालोले पनि उनी खुसी हुन्छिन् तर अहिले म अर्की छोरीलाई पनि हुर्काउँदैछु—जो यस अप्रिलको अन्त्यसम्म एक वर्षकी हुँदैछे। स्वाभाविक रूपमा मेरो ध्यान अब उसतर्फ बढी जान्छ—माया कम भएको होइन, तर स–साना कुरामा निकै ध्यान दिनुपर्ने भएकाले।
अब ऊ हिँड्न थालेकी छे, सबै कुरा समाएर मुखमा हाल्न थाल्छे, त्यसैले म सम्पूर्ण ऊर्जा र समय उसलाई हेर्नमै खर्च गरिरहेकी छु। कहिलेकाहीँ मेरी ठूली छोरी आउँछे—खेलौँ, चित्र बनाऔँ भन्छे, तर म उसलाई भन्छु, 'एकछिन खेल न, म आउँछु'। म दुवै छोरीसँग समान समय बिताउने प्रयास गर्छु, तर सबै योजना जस्तो सोचेको जस्तो हुँदैन। पछि मलाई आफ्नो शब्दको पछुतो हुन्छ—सायद मेरा केही कुरा उसलाई चोट लाग्ने थिए।
धेरै आमाहरू मेरो जस्तै महसुस गर्छन्। उनीहरू ठूली छोरीलाई कहिल्यै पनि बेवास्ता भएको महसुस नहोस् भन्ने चाहन्छन्। बहिनीको आगमन सँगै म बाँडिन थालेको छु, जुन सहज रूपले हुँदैन। आमाको हृदयमा जति माया भए पनि, थकाइ, तनाव र दिनदिनको जिम्मेवारीले कहिलेकाहीँ रिस र निराशा ल्याउँछ।
कहिलेकाहीँ म धैर्य गुमाउँछु—विशेष गरी म थकित हुँदा। मेरी छोरीको जिज्ञासा, निरन्तरका प्रश्नहरूले कहिलेकाहीँ मलाई तनावको अवस्थामा पुर्याउँछ। मलाई थाहा छ, यो उसको सिक्ने उमेर हो। मैले उसलाई सहजीकरण गर्नुपर्ने हो, तर प्रिय आइरा म पनि त संघर्षमै छु। म पहिले जस्ती सक्रिय छैन। हर्मोनल परिवर्तन, अनिद्रा, लगातारको थकानले गर्दा म मानसिक र शारीरिक रूपमा थाकिसकेकी हुन्छु जब म तिमीमाथि चिच्याउँछु, तिमी दुखी हुन्छ्यौ—र तिम्रो त्यो अनुहार हेर्दा मेरो हृदय टुक्राटुक्रा हुन्छ।
त्यसपछि मनमा अपराधबोध आउँछ र आफैलाई प्रश्न गर्ने गर्छु- के मैले उसलाई बेवास्ता गरें?
'के मैले उसको मन दुखाएँ?'
'के म असफल आमा हुँ?'
रिसपछि पछुतो हुने यो चक्र थुप्रै आमाहरूले भोग्छन्, तर त्यसबारे धेरै बोलिँदैन। परदेशमा बच्चा हुर्काउँदा त्यो बोझ झनै ठूलो हुन्छ। हजुरआमा, हजुरबुवा छैनन् जसले बच्चालाई सम्हालिदिऊन्, छरछिमेकका दिदीबहिनी छैनन् जसले सल्लाह दिऊन्, न त पुराना साथीहरू छन् जसले भनून्, 'मैले पनि यही भोगेँ।'
परदेशमा बच्चा हुर्काउनु भनेको फरक संस्कृति, फरक भाषा, र फरक सोचसँग जुध्नु हो। आफूले हुर्केको समाज र बच्चाहरू हुर्किरहेको समाजबीचको सन्तुलन मिलाउनु हो—जहाँ आफ्ना परम्परालाई जोगाउँदै बच्चाहरूलाई नयाँ वातावरणमा मिसाउनुपर्छ।
यो एक वर्ष मेरो लागि निकै चुनौतीपूर्ण रह्यो, विशेष गरी सानोतिनो बिरामीपनका कारण। नोभेम्बरदेखि मार्चसम्म मेरी कान्छी छोरी बारम्बार बिरामी परिरही। आपतकालीन कक्षमा धेरै पटक जानु पर्यो। हरेक पटक डाक्टरहरूले 'सामान्य' भने— जबकी उसलाई ४० डिग्री ज्वरो आएको थियो। अझ कठिन त तब भयो जब आफू जुन भाषा बोल्दिनँ, त्यसैमा डाक्टरसँग कुरा गर्नु पर्थ्यो। आफ्नो कुरा प्रस्ट भन्न नसक्दा कति पीडा हुन्थ्यो।
र अझ पीडादायक त के भने, श्रीमान अफिसबाट फर्केर कति बेला आउने हो र ठूलो छोरी हेर्छन् र म अस्पताल जान पाउला, यदि तपाईंले भोग्नुभएको छ भने तपाईं बुझ्नुहुन्छ।
जब एउटा बच्चा बिरामी पर्छ, सारा तालमेल बिग्रन्छ। एकातिर बिरामी बच्चा, अर्कोतिर ध्यान खोज्ने ठूलो बच्चा। अनि, आमा आफै बिरामी परे भने? नेपालमा हजुरआमा, काकी, या आमा आउँथे होला, तर विदेशमा त्यो सारा जिम्मेवारी आमाको काँधमा आउँछ।
निद्राहीन रातहरू, समान ध्यान दिन नसक्ने पीडा, र केही गर्न नसक्ने विवशता—यी सबैले आमालाई बारम्बार प्रश्न गराउँछन्, 'के म पर्याप्त गरिरहेकी छु?'
तर सबभन्दा महत्वपूर्ण कुरा हुन्छ त्यसपछि के हुन्छ। रिसपछि एक अँगालो, एक सरी, केही समय सँगै बिताउनु—यही हो भावनात्मक घाउको मलम। बच्चाहरू धेरै सहिष्णु हुन्छन्। उनीहरूलाई परिपूर्ण आमा चाहिएको हुँदैन—माया गर्ने, गल्ती स्वीकार गर्ने आमा चाहिँ चाहिन्छ। कहिलेकाहीँ म आइरालाई सोध्छु, 'तिमीले माफ गर्यौ ममालाई?'
अनि उसको जबाफले मलाई स्तब्ध बनाउँछ— 'मलाई थाहा छ, बहिनी सानी छिन्, त्यसैले तिमीले हेर्नुपर्छ। मलाई थाहा छ, तिमी मलाई पनि माया गर्छौ। तिमी रिसायौ किनभने बहिनीले खाना खाइनन्, त्यसैले हो।'
ऊ यति बुझक्की छे—आफ्नी सानी बहिनी र ममामाथि पनि निकै माया गर्छे। हाम्रो सम्बन्ध अझ बलियो बनाउन म सधैं उससँग माफी माग्छु, उसलाई कुरा बुझाउने प्रयास गर्छु—किन म रिसाएँ भन्ने पनि खुलाउँछु।
'आई लभ यू' र एक अंगालोले उसलाई फेरि खुसी बनाउँछ। ऊ त ठिक हुन्छे, तर मेरो मनमा अपराधबोध बाँकी रहन्छ। म आफैसँग बाचा गर्छु—पुनः यस्तो गर्दिनँ भनेर, तर कहिलेकाहीँ फेरि दोहोरिन्छ, अनि फेरि माफ माग्छु।
बुवाआमा हुनु भनेको सधै सही गर्नु होइन। उपस्थित हुनु, माया गर्नु, र हरेक दिन फेरि कोसिस गर्नु हो। मलाई थाहा छ मेरी छोरीले सधैं सम्झिरहने छैन कि म कहिलेकाहीँ कति रिसाएँ। तर ऊ सधैं सम्झनेछे—म कसरी अँगाल्थें, कसरी ख्याल गर्थें, र मेरो आँखामा देखिने माया। र अन्तमा, त्यही माया नै सबभन्दा महत्वपूर्ण कुरा हो।