आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। आमाको त्याग र महिमालाई सम्मान गर्दै वर्षको एक दिन भए पनि मातृसम्मान गर्ने परम्परा छ। जुन विश्वभरि नै कुनै न कुनै रूपमा प्रचलनमा छ।
हरेक वर्ष वैशाख कृष्णपक्षको औँसी तिथिमा मातातीर्थ औँसी मनाइने गर्दछ। आजको दिनमा आमा हुनेहरूले आमालाई मन पर्ने मिठाई, राम्रा-राम्रा लुगाफाटो सहित आफू सक्दो सेवा गरेर मातातीर्थ औँसी मनाउँदै हुनुहुन्छ होला। तर आमाविहीन म जस्ता धेरै आमाको छत्रछायामा नहुनेहरूले चाहिँ आमाको नाममा नदी, तीर्थ या कतै मन्दिर त कतै घरमै आमाको नामको दियो बालेर आमालाई सम्झना गर्दै हुनुहुन्छ होला।
आजको दिनमा दिवङ्गत आमाले आस गर्ने भएकाले तर्पण, पिण्डदान र सिधादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता छ। मैले मेरी आमाको लागि बिहानै उठी आमाको नाममा दियो बाल्दै अर्को जन्म मिलेमा म तपाईंकै सन्तान हुन पाऊँ र तपाईंकै साथमा लामो समयसम्म रहन पाऊँ भनी प्रार्थना गरेँ।
हुन त आमाका लागि कुनै दिन चाहिन्न किनकि आमा हामीलाई दिन देखाउने देउता हुन्। तर पनि तिथि मितिले वर्षमा एक पटक आउने दिन हो मातातीर्थ औँसी।
शब्दमै नअटाउने आमाका बारेमा लेख्न खोज्नु जति गाह्रो केही रहेनछ। ‘आमा’ यही एक शब्द नै पूर्ण छ, व्यापक छ। उही एक शब्दले नै जीवनको अस्तित्व बोकेको छ। आमाबिना असम्भव यो जीवनमा आमा जीवित हुँदा उनका बारेमा शब्द खर्चेर केही लेख्छु भन्नेलाई त शब्दको अभाव हुँदो हो, अझ आमाकै देहावसानपछि झन् आमाको सम्झनामा कागजमा शब्द पोख्न कति धेरै कठिन हुँदो रहेछ।
यही कठिनाइ, त्यही शब्दाभाव र आमाको अभावमा भक्कानिएको मुटु लिएर आज आमाको नाममा केही शब्द कोर्दै छु।
मेरी आमाले मलाई झुक्क्याएर अनायासै धर्तीबाट अस्ताएको पनि झन्डै २४ वर्ष पुग्न लागेछ। आमाको भौतिक शरीर म माझ छैन, थाहा छ। तर पनि मेरो मनले आमा हुनुहुन्न भन्ने सत्यलाई पटक्कै स्वीकार गर्न तयार छैन। यो मनमा आमाको उपस्थिति नभएको सायदै कुनै पल होला। दिनभर आमा सम्झनामा आउनुहुन्छ अनि रातभर सपनामा।
कहिलेकाहीँ कुनै सन्तान आमाको काखमा लुटपुटिएको देख्दा आफू आमासँगै रम्न नपाएको याद आउँछ र भुलुक्क आँसु उम्लिन्छ। लाग्छ आमाको छत्रछाया नपुगेकै भएर त होला नत्र किन यी आँसुले आमा सम्झिन्थे र?
आमाको जीवनको रक्तस्रावबाट नै मेरो जीवनको ब्रह्मनाल बनेको हो। जसले आफूलाई टुक्राएर मलाई सिङ्गो जीवन दिइन्, सारा जीवन उनै आमाको नाममा अर्पित छ।
जन्मपछि मृत्यु अपरिहार्य छ र सत्य नै यहीँ हो। हरेक जन्म मृत्युका लागि हुन्छन्। तर कतिपय मृत्यु एकदमै पीडादायी र स्वीकार गर्नै नसकिने हुँदा रहेछन्। आमाको मृत्युपछि म यहीँ परिस्थितिबाट गुज्रिरहेकी छु।
भन्छन् पितृहरू सपनामा देखिए भने धेरै बोल्दैनन् तर आमा हरेक रात सपनामा आई बोल्नुहुन्छ र भन्नुहुन्छ- ‘मैले मेरी छोरीलाई जन्म दिएर हातमा स्पर्श गर्न नपाई संसारबाट विलीन हुन पुगेँ। संसारमा मजस्ता अरू धेरै आमाहरू हुनुहुन्छ होला है मैले जस्तो मेरो छोरीको नवजात शरीरलाई स्पर्श गर्न नपाउने, मातृत्व दिन नसक्ने, टुहुरीको उपनाम दिने।’
अनि झल्याँस्स जाग्छु। सोच्छु, मेरी आमाले कति दुःख बोकेर मृत्युवरण गर्न परेको रहेछ। रहर त कसैको पनि हुँदैन, आफ्नो अबोध बच्चालाई जन्म दिएर उसलाई हातमा पनि राख्न नपाउँदै संसारबाट बिदा लिन। मैले आमा रूपी भगवान्, मेरो सहारा, आस्था र विश्वास गुमाएको छु अनि एउटा कहिल्यै पूरा नहुने मातृत्व गुमाएको छु।
आफू सँगैका साथीहरू आमासँगै हिँड्दा, आमाको काखमा लुटपुटिँदा मेरै आमाको तस्बिर घुम्छ झलझली आँखैमा। मलाई मेरी आमाको कति धेरै न्यास्रो लाग्छ। स्वर्गसम्म पुग्ने सिँढी भएको भए म छिटो-छिटो गएर मेरी आमालाई फर्काएर ल्याउँथेँ होला तर विडम्बना! म लाचार छु, आँसु बगाउन बाहेक अरू केही गर्न सक्दिनँ।
आज जे जस्तो परिस्थितिको सामना गरिरहेकी छु, त्यो सबै परिस्थिति मेरी आमा भएको भए त्यो सिर्जना नै हुन्थेन होला भन्ने पनि लाग्छ। यी सबै मन भुलाउने बाटो न हो।
अब आमा भगवान् हो। आमाले भगवान् भएर मैले के गरिराखेको छु भनेर आकाशबाटै हेरिराख्नु भएको छ होला जस्तो लाग्छ। सबै भगवानले मान्छेलाई त्यसरी नै हेरिराख्नु भएको हुन्छ जस्तो लाग्छ। मैले भगवान् देखेको छैन। फिल्महरूमा मात्र देखेको छु। फिल्ममा मान्छे भगवान् जस्तो बनेको हो, मैले साँच्चिकै भगवान् देखेको भए हुन्थ्यो नि।
मरेपछि कोही आउँछ र?
मरेपछि मान्छे आउँछ कि आउँदैन?
मलाई मरेपछि मान्छे आउँदैनन् जस्तो लाग्न थालेको छ। आउने भए मेरी आमा पक्कै आउने थिइन् मेरा लागि। मरेपछि त जिन्दगी गयो। जिन्दगी भगवानको शरणमा गयो।
मेरी आमाको नामको अगाडि स्वर्गीय जोडिएको छ। मैले आमाको आशीर्वाद प्राप्त गर्न पितृ भनेर पुकार गर्नुपर्छ। आयु त अरूको पो धेर थोक लाग्छ, आफ्ना मान्छेको आयु अमर होस् भन्ने हुने रहेछ किनकि त्यो मान्छेसँग आफ्नो इतिहास जोडिएको हुन्छ, जीवनका पन्ना पन्नामा अमिट छाप छोडिएको हुन्छ।
यी शब्दहरू कागजमा उतार्दै गर्दा आँखा तलाउ भइसकेको छ। आजको दिनमा मलाई आमा शब्दले बेसमारी चिमोटेको छ।
आमाले जस्तो सन्तानलाई माया अरूले गर्न सक्दैनन्। मात्रामा धेरथोर हुन सक्छ, आमाले जन्माएको, काखमा खेलाएको, स्तनपान गराएर हुर्काएका कारण केही बढी हुनु स्वाभाविक हो। यही कारण सन्तानका लागि आमा साक्षात् देवी हुन्। आमा जबसम्म साथमा हुनुहुन्छ तबसम्म आमालाई माया गर्नुहोस्।
संसार तब शून्य लाग्छ जब तपाईंसँग सबै हुन्छ तर साथमा आमा हुनुहुँदैन। आमाको नाममा जोडिएका बगरका ढुङ्गा त देउता हुन्छन् भने आमालाई जोडेर आएको औँसीको महत्त्व नहुने त कुरै भएन। आफ्ना सन्तानका निम्ति आफ्नै संसार भुलिदिने ती सम्पूर्ण आमाको सोच, साहस र ममतालाई सलाम छ।
पुनः एक पटक मातातीर्थ औँसीको असीम शुभकामना सम्पूर्ण आमाहरूमा।