गोगनपानीमा टक्क गाडी रोकियो। छोरालाई समातेर म ओर्लिएँ। श्रीमतीलाई कार्यक्षेत्रमा पुर्याउन माकादुमतिर गाडी दौडियो। हुइँकिएर गएको गाडीलाई बाबु-छोरा कुरेर बस्यौँ। कुदेर गएको गाडीतिर छोराले आँखा पछ्याइरह्यो। छोरा के सोच्दै थियो थाहा छैन। गाडीभन्दा पनि आमा गएको बाटो पो हेर्दै थियो कि?
पन्ध्र मिनेटमा गाडी आइपुग्यो। हामी चढ्यौँ। छोराले गाडीमा आमा बसेको सिटमा हेर्यो, चारैतिर आँखा दौडायो तर आमालाई देखेन। छोराको चम्किलो मुहार छिनभरमै मलिन बन्न पुग्यो।
‘मामु अफिस जानुभयो। बाबा-छोरा बाबाको अफिसमै बस्ने हस्,’ छोरालाई हेर्दै भनेँ।
‘हस्' भन्दै छातीमा लपक्क टाँसियो।
मैले उसको धड्कन महसुस गरेँ। उसले फेरेको श्वासले मेरो घाँटी तातो भयो। ऊ जोडले मेरो अङ्गालोमा बाँधियो। मैले पनि उसै गरी ढाडमा सुमसुम्याउँदै छातीमा कसेँ। मन एकदमै भारी हुँदै गयो। मनको तलाउ विस्फोट होला जस्तै भयो तर मैले आफूलाई सम्हालेँ। सोचेँ, म आफै सम्हालिन सकिनँ भने भर्खर दुई वर्ष पुगेको छोरोलाई कसरी सम्हाल्नु? मन बलियो बनाएँ।
गाडी मन्थलीतिर दौडिरहेको थियो। आकाशमा कालो बादल मडारिएको थियो, पानी चुहिएला जस्तो थियो। गाडीको सिसा खोलेर हामी दुवै जना चुपचाप चुपचाप बाहिरतिर हेरिरहेका थियौँ। बाहिरको मौसम र हाम्रो अवस्था सायद उस्तै उस्तै थियो। बर्सन खोजे जस्तो तर बर्सन नसकेको।
मुगिटार आइपुग्दा गाडीको झ्यालमा पानीका थोपाहरू देखिन थाले। आकाश बर्सियो। सडकका किनारमा पानी बग्न थाल्यो। सोचेँ, बादल बर्सियो अब आकाश खुल्छ तर मेरो मन? खै कसरी चङ्गा होला?
अफिस आइपुग्दा समेत झरी रोकिएको थिएन। बसपार्कको छेउबाट भल बगिरहेको थियो। साँझ परेको थिएन तर अँध्यारो देखिन्थ्यो। हामी हतार हतार गर्दै गाडीबाट निस्कियौँ, अफिसको माथिल्लो तलामा रहेको क्वार्टरतर्फ चढ्यौँ।
गुरु आफ्नै कोठातिर गए। क्वार्टरमा छोरा र म मात्र भयौँ। छोराले राति दुख दिन्छ कि? मनमा डर पस्यो। रातभरि रोयो भने, छोरालाई सम्हाल्न सकिन भने के गर्ने? मन त्यसै त्यसै आत्तियो।
छोरा जन्मेदेखि नै उसको जीवनको हिस्सा बनेको थिएँ। उसको दैनिकीमा गर्नुपर्ने सबै काम गर्थेँ। कुनै अप्ठ्यारो लाग्दैन थ्यो। छोराले पनि असाध्यै पछ्याउँथ्यो। छोरासँगको आजको रात निर्विघ्न तवरले बितोस् भन्ने कामना गरेँ।
विपि हाइवेको बाटो पहिले जस्तो सहज थिएन। भकुण्डेबेसीदेखि नेपालथोकसम्मको बाटो खण्डहर बनेको थियो। एकदमै अप्ठ्यारो थियो। बाटो हो कि खोलाको बगर हो? थाहै नहुने अवस्था थियो। काठमाडौँदेखि मन्थलीसम्म आइपुग्दा निकै थकाइ लागेको थियो। मलाई त गाह्रो भएको थियो भने सानो छोरालाई कस्तो भयो होला? मैले अनुमान गरेँ।
यात्राको थकाइले छोरो केही नखाई निदाउँछ कि जस्तो लाग्यो। हतार हतार एउटा कचौरामा एक मुठ्ठी दाल अनि एक मुठ्ठी चामल भिजाएँ। ‘बाबा बोक्नु, बाबा बोक्नु’ भन्दै छोरा खुट्टामा झुन्डियो। उसलाई उचालेर ग्यासको छेउमै राखेँ। एक टुक्रा गाजर र आलु काटेँ। हतार हतार गरेर जाउलो बसालिदिएँ।
जाउलो तयार भयो। छोरा निदाइहाल्छ कि भनेर हतार हतार गर्दै खुवाउन थालेँ। खाना खाँदा एक ठाउँमा नबस्ने छोराको बानी छ। डुल्दै डुल्दै अलिअलि गर्दै खाँदै थियो। थकानले होला सोफामा पल्टियो। खाना चपाउँदै थियो। आँखा लोलाइसकेका थिए। मुखमा राखिदिएको गाँस खाँदाखाँदै सोफामै निदायो।
असाध्यै माया लाग्यो। उसको निर्दोष मुहार हेरिरहेँ। आमाको छातीमा टाँसिएर निदाउनु पर्ने छोरो केही झगडा नगरी सोफामा नै लुपुक्क सुत्यो। आफूलाई सम्हाल्दै उसलाई एकटकले हेरिरहेँ। दाहिने हातले टाउको समाउँदै उसलाई काखमा लिएँ, ऊ उसै गरी निस्फिक्री निदाइरह्यो। मैले हेरिरहेँ।
आफ्ना हातलाई केही माथि उठाएँ, आफ्नो शिर झुकाएँ, उसको निधारमा चुम्बन गरिदिएँ। झर्नै आँटेका आँसुलाई दबाएर राखेँ। सोचेँ, छोराको शिरमा आँसु पार्नु हुँदैन।
बेडमा सुताएँ। सुरुवाल फोहोर भएको थियो। निकालिदिएँ। उसका खुट्टाहरू हेरेँ। थाकेको थियो, बिस्तारै उसको पेट, छाती सबैतिर तेल लगाइदिएँ। ऊ निदाइरह्यो। डाइपर लगाइदिएँ, नयाँ सुरुवाल फेरिदिएँ अनि पातलो सल ओढाइदिएँ। निधारमा गहिरो गरी चुम्बन गरेँ।
मेरो साथमा छोरा थियो तर श्रीमती त झन् एक्लै थिइन्। उनको मातृत्वमा झन् कति पीडा थियो होला? भिडिओ कल गरेँ।
‘के खायौ?’ उनलाई सोधेँ।
‘केही खाएको छैन। केही खान मन लागेन,’ उनले भनिन्।
भारी भएको मन झन् भारी बन्यो।
‘के खानु भयो?’ उनले सोधिन्?
मैले पनि केही खाएको थिइनँ तर जाउलो खाएँ भनेर ढाँटिदिएँ। ‘बाबुले अलिकति जाउलो खाएर सुत्यो। थकाइले होला खाँदाखाँदै निदायो,’ मैले भनेँ।
‘बाबुलाई हेर्छु’ उनले भनिन्। मैले क्यामरा ब्याक गरेँ। निस्फिक्री सुतिरहेको छोरालाई भिडिओ कलमा देखाएँ। उनको मातृत्व भरियो। छोरालाई हेरिरहिन्। ‘छोराको ख्याल गर्नु’ भन्दै फोन राखिन्।
छोराले खान बाँकी रहेको जाउलोमा कुकरको जाउलो थपेँ। थकान र भोकले होला जाउलो असाध्यै मिठो लाग्यो।
छोरा निदाइरहेको थियो। म पनि सुत्नलाई खाटमा पल्टिएँ तर निद्रा लागेन। छटपटी सुरु भयो। यताउता कोल्टो फेरिरहेँ तर निद्रा लाग्दै लागेन। छोरालाई छातीमा टाँसेँ। मनलाई हल्का बनाउँदै लामो लामो श्वास फेर्दै गर्दा निदाएछु।
‘मामु बुबु, मामु बुबु’ भन्दै सपनामै छोरो बोल्यो। म बिउँझिएर पनि बोलिनँ, कतै निदाइहाल्छ कि भनेर। तर ऊ निदाएन। ‘मामु बुबु, मामु बुबु’भन्दै रुन थाल्यो। म उठेँ। ऊ पनि उठ्यो। मोबाइल हेरेँ। एघार बजेर सात मिनेट गएको थियो।
‘छोरु मामु भोलि आउनुहुन्छ। लौ यो पानी खाऊ त’ भन्दै पानीको बोतल उसलाई दिएँ। अर्धनिद्रामै उसले मलाई पुलुक्क हेर्यो। बोतल समात्यो अनि पानी खान थाल्यो। तिर्खा लागेको रहेछ, घटघटी पानी पियो।
मन फेरि भारी भयो। ऊ मामुको बुबु खोज्दै थियो तर मैले पानी खुवाएँ। आमाको दूध खोजेको छोरालाई पानीले चित्त बुझाइदिएँ। छोरा एकछिनमै निदायो तर म निदाउन सकिनँ। मन अमिलो भयो।
छोरा फेरि उठ्यो, रुन थाल्यो। ऊ रोएपछि म बिउँझिएँ। मोबाइल हेरेँ। दुई बजेर ३३ मिनेट गएको रहेछ। उज्यालो हुन अझै बाँकी थियो। छोरालाई आमाको मायाले सताउन थालेछ। ऊ ‘मामु मामु’ भन्दै फेरि रुन थाल्यो।
‘मामु अफिस जानु भएको छ भोलि आउनुहुन्छ’ मैले भनेँ तर उसले पत्ताएन।
‘मामु बाहिर हुनुहुन्छ। ढोका खोल्न जाने’ भन्दै ऊ जोड जोडले रुन थाल्यो।
मध्यरातमा के गर्नु? कहाँ लानु? आफूलाई जसोतसो सम्हालेँ तर उसलाई सम्हाल्न गाह्रो भयो। उसलाई आफ्नो अङ्गालो लपक्क पारेर समाएँ। बत्ती बालेँ।
ऊ ढोकामा देखाउँदै झन् जोडले रुन थाल्यो। ‘मामु मामु’ भन्दै कराउन थाल्यो। मैले ढोका खोलेँ। बाहिर लिएर गएँ।
बाहिर चकमन्न अँध्यारो थियो। सबैतिर सुनसान थियो। कुकुर भुकेको आवाज मात्र सुनिन्थ्यो।
‘छोरु, हेर त बाहिर कति अँध्यारो छ। सबै सुतेका छन्, मुनाई पनि सुतेको छ, कुखुरी काँ पनि सुतेको छ। मामु भोलि आउनु हुन्छ। हामी पनि सुतम् हस्।’
उसले बिस्तारै ‘हस्’ भन्यो। छातीमा लपक्क टाँसियो। बिस्तारै निदायो। बेडमा सुताउनै आँटेको थिएँ, ‘नाइँ नाइँ’ भन्दै फेरी छातीमै टाँसियो, टाँसिरह्यो।
छोरालाई छातीमै टाँसिराख्न मन लाग्यो। छातीमा टाँसेर कोठाभित्रै डुलाइराखेँ। बिस्तारै ऊ गहिरो निद्रामा पर्यो। खाटमा सुताएँ।
रातको अनिदोले होलो बिहान आँखा खुल्नै सकेनन्। मोबाइलमा छ बजेको अलाम बजिरहेको थियो। निद्रामै मोबाइलको अलाम बन्द गरेँ। छोरा सुतेको ठाउँमा हातले छामेँ तर छोरा सुतेको ठाउँमा थिएन।
मन बेस्सरी आत्तियो। खुल्न नसकेका आँखा एक्कासि खुले। जुरुक्क उठेँ। यताउता हेरेँ। छोरा गोरेनतिर निस्फिक्रीका साथ सुतिरहेको थियो।
छोराको सुन्दर अनुहारलाई नियालिरहेँ। उसको निधारमा गहिरोसँग चुम्बन गरेँ। ऊ उठेन। उठाउन पनि मन लागेन। हेरिरहेँ अनि सम्झेँ राष्ट्र कवि माधवप्रसाद घिमिरे अनि उनका यी हरफहरूलाई-
ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल
सृजना शक्ति संसारमा कैल्यै हुँदैन विफल।