अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सुरू गरेको व्यापार युद्धले अमेरिकी मात्रै नभएर विश्व अर्थतन्त्रमै नकारात्मक असर परेपछि यो लामो समय चल्न नसक्ने आकलन भइरहेको छ।
सारा संसारलाई आर्थिक मन्दीमा धकेल्ने गरी विश्वका सबभन्दा ठूला दुई अर्थतन्त्र यो आत्मघाती व्यापार युद्धमा अल्झिन हुँदैन। यो कुरा दुवै पक्षलाई थाहा पनि छ। तर ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ दुवैले पहिले नझुक्ने मनस्थिति बनाएकाले स्थिति बिग्रिएको हो।
ट्रम्पले अप्रिल २ मा सबै देशलाई १० प्रतिशत भन्सार महसुल र प्रतिस्पर्धीहरूलाई उच्च 'रेसिप्रोकल' (पारस्परिक) महसुल लगाउने घोषणा गरेका थिए। उनले आठ वटा देशलाई ४० प्रतिशतभन्दा बढी भन्सार लगाउने घोषणा गरेका थिए। मुख्य प्रतिस्पर्धी चीनलाई ३४ प्रतिशत र भारतलाई २७ प्रतिशत भन्सार तोकेका थिए। अमेरिकासँग घनिष्ठ सम्बन्ध भएको युरोपियन युनियनलाई पनि २० प्रतिशत भन्सार लगाएका थिए।
ट्रम्पले ७० वटाभन्दा बढी देशलाई लगाएको पारस्परिक भन्सार ९० दिनका लागि रोकेका छन्। ती देशले अमेरिकी कर नीतिको विरोध नजनाएको, जबाफी भन्सार नलगाएको र छलफलका लागि तयार रहेको भन्दै जुलाईको पहिलो सातासम्म रोकेका हुन्। त्यतिन्जेलका लागि उनले सबै देशलाई विश्वव्यापी १० प्रतिशत भन्सार दर मात्रै लगाएका छन्।
उनले चीनलाई लगाएको भन्सार दर भने नरोकेर बारम्बार बढाएका छन्। पटक पटक अमेरिका र चीनले जबाफी कदम चालेर थप महसुल लगाएका कारण ट्रम्पको दोस्रो कार्यकालमा चिनियाँ वस्तुमा लगाएको भन्सार महसुल बढेर १४५ प्रतिशत पुगेको छ। चीनले पनि जबाफमा अमेरिकी उत्पादनमा १२५ प्रतिशत भन्सार महसुल लगाएको छ।
ट्रम्पले त्यसपछि चीनबाट आयात हुने स्मार्टफोन लगायत इलेक्ट्रोनिक्स सामानमा रेसिप्रोकल भन्सार दर नलगाउने भनेका छन्। तर यो छुट पनि अल्पकालीन मानिन्छ।
चीनले पनि भन्सार महसुल मात्रै नबढाएर अमेरिकालाई नोक्सानी हुने खालका अनेक कदम चालेको छ। विमान निर्माता बोइङको जहाज खरिदमा रोक लगाउनेदेखि लिएर केही दुर्लभ खनिज पादर्थ बेच्नेसम्म प्रतिबन्ध लगाएको छ।
यसरी अमेरिका र चीनबीच सारा व्यापार नै रोकिने गरी व्यापार युद्ध सुरू भएको छ।
ट्रम्पका सामु झुकेर सम्झौता गर्यो भने उनले हेपेर पछि झन् कडा माग अघि सार्छन् भन्ठानेर चीनले यसपालि डटेर सामना गरिरहेको छ। आफूलाई अब्बल सौदागर र अमेरिकी इतिहासकै सबभन्दा महान राष्ट्रपतिमध्ये एक ठान्ने ट्रम्पलाई पनि चीनसामु झुक्न अप्ठ्यारो छ।
तर राष्ट्रपति सी कसै गरी नझुक्ने देखेपछि ट्रम्प आफैले खुट्टा कमाएउन थालेको देखिएको छ।
गत साता उनले चीनलाई लगाएको १४५ प्रतिशत भन्सार दरमा व्यापक कटौती गर्न आफू तयार रहेको बताए। उनले चीनसँग राम्रो सम्झौता हुनेछ पनि भनेका छन्।
अमेरिकाका तीन सबभन्दा ठूला खुद्रा बिक्रेता (रिटेलर) वालमार्ट, टार्गेट र होम डिपोका प्रमुखहरूले सोमबार उनलाई भेटेका थिए। सो भेटमा उनीहरूले अहिले नै मूल्य वृद्धि नभएको तर व्यापार युद्ध चलिरहे भाउ बढ्ने मात्रै नभएर आपूर्ति प्रणाली नै बिग्रिने र आफ्ना पसल रित्तिएर उपभोग्य वस्तु नै नपाइने खतरा हुने बताएका थिए।
त्यसपछि ट्रम्पले चीनलाई लगाएको भन्सार दरमा व्यापक कटौती गर्न आफू तयार रहेको बताएका हुन्।
त्यसभन्दा पहिले उनका अर्थ (ट्रेजरी) मन्त्री स्कट बेसेन्टले पनि लगानीकर्तासँग बन्द कोठामा भएको सम्मेलनमा चीनसँगको व्यापार युद्ध मत्थर हुने बताएका थिए। व्यापार युद्ध लामो समयसम्म तन्काइराख्न दुवै देशलाई सम्भव नहुने भएकाले यो मत्थर हुने बेसेन्टले जिकिर गरेका थिए।
पछिल्लो समय चीनले अमेरिकासँग कुनै खालको वार्ता नभएको बारम्बार बताइरहेको छ। तैपनि ट्रम्पले चीनसँग कुरा भइरहेको दाबी गरेका छन्। यसले पनि युद्ध मत्थर पार्न अमेरिकाले पहल गरेको बुझ्न सकिन्छ।
व्यापार युद्ध मत्थर हुन सक्ने संकेत पनि देखिन थालेको छ। विभिन्न सञ्चार माध्यमहरूका अनुसार अमेरिकाले चीनबाट आयात हुने स्मार्टफोन लगायत इलेक्ट्रोनिक्स सामानमा रेसिप्रोकल भन्सार दर नलगाए जस्तै चीनले पनि केही अमेरिकी उत्पादनमा उच्च भन्सार नलगाउने सम्भावना छ।
स्वास्थ्य उपकरण, इथेन जस्ता औद्योगिक रसायन लगायत केही अमेरिकी उत्पादनमा चीनले भन्सार छुट दिन लागेको बताइन्छ। हाल अन्तबाट किन्न नमिल्ने वस्तुमा मात्रै चीनले भन्सार छुट दिने भए पनि पछि अरू अमेरिकी उत्पादनमा पनि छुट दिन सक्नेछ।
ट्रम्पले आफ्नो विध्वंशकारी आर्थिक नीतिमा परिवर्तन गर्ने अर्को संकेत पनि गत साता देखिएको छ।
सबै देशलाई भन्सार दर लगाउने र चीनसँग व्यापार युद्ध नै सुरू गरेर अर्थतन्त्र लडखडाएपछि उनले केन्द्रीय बैंकका प्रमुख जेरोम पावेललाई दोष थोपरिरहेका थिए। ट्रम्पले भने जस्तो ब्याज दर नघटाएको भनेर उनले पावेललाई गैरकानुनी तरिकाले हटाउने अभिव्यक्ति दिइरहेका थिए। तर गत साता उनले पावेललाई नहटाउने भने। पावेललाई हटाए अर्थतन्त्र झन् ओरालो लाग्ने र पावेलले कानुनी उपचार खोजे मुद्दा पनि जित्ने भनेर सल्लाहकार र धनी व्यापारीहरूले सम्झाएपछि उनले त्यसो गरेको मानिन्छ।
अब ट्रम्पले पहिले किने खुट्टा कमाएका हुन सक्छन् भनेर चर्चा गरौं।
चीनले यसपालि डटेर अमेरिकाको सामना गरिरहेको मानिन्छ। धेरैले ट्रम्पको हेपाहा प्रवृत्तिलाई स्कुलको 'दादा बच्चा' सँग तुलना गर्छन्। त्यस्ता दादाले कमजोर बच्चाहरूलाई छानेर हेप्छन्। आफू जत्तिकै वा अझ बलियासँग निहुँ खोज्दैनन्। हेपिएकाले सही रहे हेपिरहन्छन् तर प्रतिकार गरे डराएर पछि हट्छन्।
सीले पनि त्यस्तै ठानेर ट्रम्पको सामना गरेका हुन सक्छन्। सीलाई झुक्ने विकल्प पनि छैन। अहिले झुके अमेरिकाले पेलेर विकास र प्रगति नै रोक्छ भन्ने चीनलाई डर छ।
फेरि दुई कार्यकाल (दस वर्ष) मात्रै राष्ट्रपति हुने चलन तोडेर अनन्त कालसम्म शासन गर्न आफ्ना विपक्षीलाई किनारा लगाएका सीलाई ट्रम्पसामु झुके देशभित्रै पनि अप्ठ्यारो हुनेछ। जनतासामु आफू कमजोर भएको सन्देश मात्रै नगएर विपक्षी एक जुट भएर उनलाई सत्ताच्युत गर्ने समेतको खतरा हुन्छ।
दुवै राष्ट्रपतिको व्यक्तिगत इतिहासले पनि यो विषयमा थप प्रकाश पार्छ। दुवै जना उच्च परिवारमा जन्मेको भए पनि उनीहरू धेरै फरक परिस्थितिमा हुर्केका थिए।
धनी परिवारमा जन्मेका ट्रम्पले दुःख सामना गरेका छैनन्। सन् १९६० दशकमा भियतनामसँगको युद्ध लड्न अनिवार्य भर्तीबाट जोगिन उनले खुट्टाको हड्डीमा चुच्चो निस्किएको बहाना बनाएका थिए। त्यसपछि पनि ट्रम्पका लागि देशभक्तिको खासै महत्त्व छैन। देशका लागि लड्ने उनका लागि मूर्ख हुन्।
पहिलो कार्यकालमा, सन् २०१८ मा फ्रान्स जाँदा उनले प्रथम विश्व युद्धमा मृत्यु भएका अमेरिकी सैनिकलाई 'लुजर्स' भन्दै उनीहरूको चिहान भ्रमण नगर्ने बताएका थिए। सो युद्धमा ज्यान गुमाउनेलाई उनले मूर्ख भनेको भनेर उनका चिफ अफ स्टाफ जोन केल्लीले पनि पछि पुष्टि गरेका थिए।
अर्कोतर्फ, माओ त्सेतुङसँगै कम्युनिस्ट क्रान्तिमा सहभागि भएका र पछि उपप्रधानमन्त्री समेत भएका सी झोङसुनका छोरा भए पनि सीको बाल्यकाल फरक थियो। सी दस वर्ष नपुग्दै माओले उनका बुबालाई कारबाही गरेर सबै पदबाट हटाए। सी १३ वर्ष हुँदा सुरू भएको सांस्कृतिक क्रान्तिका बेला त उनका बुबालाई जेल नै हालियो, ज्यानै जाने खतरा भयो। कलिलो उमेरको भए पनि सीलाई समेत कारबाही गरियो।
सीकी आमा की सिन पनि पार्टी कार्यकर्ता थिइन्। उनलाई कारबाही गरिएन तर कारबाहीबाट जोगिन उनलाई समेत श्रीमान र छोराको विरोध गर्नुपरेको थियो। बेलायती पत्रिका द इकोनोमिस्टका अनुसार एउटा चोकमा सीलाई उभ्याएर 'सी चिनफिङ मुर्दावाद' भनेर नारा लगाउँदा कीले पनि सँगै नारा लगाएकी थिइन्।
सीलाई कारबाहीमा परेका नेताहरूको छोराछोरीलाई राख्ने बन्दी गृहमा पठाइयो। एक पटक बन्दीगृहको झ्यालबाट भागेर भारी वर्षामा राति घर फर्किएका सीले आफूलाई भोक लागेको भन्दा पनि आमाले ढोका खोलिनन्। अँध्यारो रातमा फिर्ता पठाइदिइन्। अनि पार्टी अधिकारीलाई त्यसबारे खबर गरिन्। सँगै रहेका सी भन्दा साना दुई सन्तानलाई पनि कारबाही होला भन्ठानेर उनले त्यसो गरेको हुन सक्छ।
सी वर्षौंसम्म परिवारबाट टाढा रहनुपरेको थियो। १६ वर्षको हुँदा उनलाई गरिब किसानहरूबाट पाठ सिक्न एउटा दुर्गम गाउँ पठाइएको थियो। त्यति बेला लाखौं सहरी बालबालिकालाई गाउँको जीवनबारे सिक्न पार्टीले नै त्यसरी पठाउँथ्यो।
सो गाउँमा किसानसँग काम गर्नुपरेका सीले अघाउन्जेल खान पाएनन्। लामो समयसम्म मासु देख्न समेत पाएनन्। पहिलो पटक मासु देख्दा भोकका कारण काँचै खाएका थिए।
माओको निधनपछि सीका पिताको कारबाही फिर्ता भयो र सन् १९७८ मा उनलाई पार्टीमा पूर्ण रूपमा पुनर्स्थापित गरियो। त्यसपछि सी फेरि अरू ठूला नेताका छोराछोरी जस्तै राजकुमारको हैसियतमा फर्किए। र, बिस्तारै पार्टीमा बढुवा हुँदै सन् २००८ मा उपराष्ट्रपति र पाँच वर्षपछि राष्ट्रपति बने।
राष्ट्रपति बनेपछि पनि सीले आफू सानो हुँदा भोगेको दुःखले आफूलाई बलियो बनाएको र पछि पार्टीका लागि काम गर्न मदत पुगेको बताउँछन्। अहिलेका बालबालिका सुखमा हुर्किएकाले कमजोर भएको भन्दै उनीहरूले पनि दुःख बुझे ठूलो भएर पछि अझ कर्मठ नागरिक बन्ने भनेर उपदेश दिन्छन्।
पछिल्ला तीन दशकमा चीन समृद्धितर्फ बढे पनि अझै पनि चीनमा दुःख र गरिबी भोगेका धेरै जनता छन्। अहिलेको सुखसयलमा हुर्केका चिनियाँ युवाले कल्पना समेत गर्न नसक्ने चरम दुःख भोगेका कारण दुःख सहेर पनि अमेरिकासँग झुक्न हुन्न भनेर सीले जनतालाई भन्न सजिलो पनि छ।
उसै पनि तानाशाही कम्युनिस्ट व्यवस्था भएको चीनमा सीमाथि जनताको दबाब खासै छैन। त्यसमाथि ट्रम्प आफै निहुँ खोज्न आएको ठानेर चिनियाँ जनता जतिसुकै कष्ट भोग्नुपरे पनि सीलाई साथ दिन तयार देखिन्छन्।
तर ट्रम्पलाई यो सुविधा छैन। ट्रम्प जस्तै प्रायः अमेरिकी जनता समृद्धिमा हुर्किएका छन्। दुःख धेरै भोगेका छैनन्। चीन मात्र नभएर अरू देशसँग पनि निहुँ खोजेका कारण भोलि दैनिक जीवनमा कष्ट भोग्नुपर्ने अवस्था आयो भने प्रजातान्त्रिक अमेरिकाका जनता चुप लागेर बस्ने छैनन्।
त्यही बुझेरै व्यापार युद्ध चर्किन थालेपछि चीनमाथि लगाइएको उच्च भन्सारका कारण अमेरिकी उपभोक्तालाई नै मार परोस् भनेर चिनियाँ उत्पादनको मूल्य नघटाउन वा अरू त्यस्ता कदम नचाल्न सीले निर्देशन नै दिएको भनिन्छ।
दोस्रो कार्यकालमा सेयर बजार ओरालो लाग्ने बित्तिकै आफ्नो कदम फिर्ता नलिने भन्ने खालको सन्देश ट्रम्पले दिएका थिए। पहिलो कार्यकालमा सेयर बजार र अर्थतन्त्रलाई आफ्नो रिपोर्ट कार्ड ठान्दै कमजोर प्रदर्शन गरे आफू जनता सामू 'फेल' हुने उनलाई डर थियो। अब अर्को कार्यकालका लागि जनतासँग भोट माग्न जानु नपर्ने भएकाले सेयर बजार ओरालो लागे पनि भन्सार युद्ध जारी राख्ने दृढता उनले देखाएका थिए। केही समयसम्म उनले सेयर बजारको गिरावटलाई बेवास्ता पनि गरे।
अर्थतन्त्र नै धराशायी हुने खतरा बढेपछि भने उनी पछाडि हट्दै ७० वटाभन्दा बढी देशलाई लगाएको रेसिप्रोकल भन्सार उनले ९० दिनका लागि रोकेका हुन्।
यसरी पछि हट्दा उनले चीनलाई आफ्नो कमजोरीबारे अवगत पनि गराएका छन्। उनले जति ठूलो कुरा गरे पनि सेयर बजार धेरै तल झरे खुट्टा कमाउने छन् भनेर सीलाई थाहा भयो। त्यसैले दुःख खपेर भए पनि ट्रम्पलाई अप्ठ्यारो पार्न सीले व्यापार युद्ध तन्काउन सक्ने खतरा बढ्यो।
त्यसैले अर्थतन्त्रको अवस्था विचार गरेर अनि आफ्ना नरमपन्थी सल्लाहकार र व्यापरीहरूको सल्लाहका आधारमा ट्रम्प चीनसँगको व्यापार युद्ध मत्थर पार्ने निष्कर्षमा पुगेका हुन सक्छन्।
पछिल्लो समयमा नरमपन्थी ठानिने अर्थमन्त्री बेसेन्ट ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारो लगायत कट्टरपन्थीहरू माथि हाबी भएको बताइन्छ। आजकाल वेसेन्ट अरू सल्लाहकार नपुगिकनै बिहानै ह्वाइट हाउस पुगेर ट्रम्पलाई सम्झाउँछन्।
अब बिस्तारै व्यापार युद्ध मत्थर हुने अपेक्षा गरिएको छ।
यो व्यापार युद्धले आफूलाई धेरै नोक्सानी हुनेछ भन्ने चीनले पनि बुझेको छ। त्यसैले ट्रम्पले फेब्रुअरीमा १० प्रतिशत भन्सार लगाएदेखि नै चीनले वार्ताको प्रयास गरेको मानिन्छ। ट्रम्पलाई खुसी पार्न के के कुरामा लचकता देखाउने भन्ने तयारी पनि चीनले गरेको थियो भनिन्छ।
ट्रम्पले भने आफू केन्द्रविन्दुमा रहने गरी सिधै चिनियाँ राष्ट्रपति सीसँग मात्र वार्ता गर्न चाहेको बुझिन्छ। त्यही भएर चीनले मन्त्रीस्तरीय वार्ताको पहल गर्दा पनि अमेरिकाले चासो नदेखाएको पश्चिमा सञ्चार माध्यमहरूले लेखेका छन्।
सीसँग सिधै वार्ता गर्ने र त्यसको तयारीका लागि मन्त्री नभएर उनका चिफ अफ स्टाफ साइ कीसँग वार्ता गर्ने ट्रम्प प्रशासनले अड्डी कसेकाले वार्ता गर्न चीनले उत्सुकता नदेखाएको मानिन्छ। वार्ता गर्ने नै हो भने पनि ट्रम्पको खास माग के हो भन्ने स्पष्ट नभएकाले पनि चीनलाई अप्ठयारो परेको भनिन्छ। आफू केन्द्रविन्दुमा रहिरहन के सर्तमा सम्झौता गर्ने भनेर ट्रम्पले आफूबाहेक कसैलाई पनि थाहा दिँदैनन् भनिन्छ। कतिले त ट्रम्पलाई नै पनि सो कुरा थाहा नभएको र उनले लहडका आधारमा निर्णय लिन्छन् भनेर दाबी गर्छन्।
अब भने सिधै सीसँग वार्ता गर्ने अड्डी ट्रम्पले छोडेको मानिन्छ। बिस्तारै दुवै पक्षबीच विश्वासको वातावरण बन्यो भने दुई राष्ट्रपतिबीच भेटघाट हुन पनि सक्नेछ। सीसँग वार्ता गर्न ट्रम्पले बारम्बार सीको तारिफ गरिरहेका छन्। आफूलाई सी राम्रो लाग्छ पनि भनेका छन्।
पहिलो कार्यकाल सुरू गर्दा ट्रम्पले त्यसै वर्ष चीनको भ्रमण गरेका थिए। अनि सन् २०१८ को सुरूमै चिनियाँ उत्पादनमा भन्सार दर बढाएर व्यापार युद्ध सुरू गरे पनि उनी निरन्तर सीसँग सम्पर्कमा थिए।
ट्रम्पले उत्तर कोरियाका तानाशाह किम जोङ उनसँग वार्ता गर्ने क्रममा पटक पटक सीसँग त्यसबारे परामर्श गरेको बताइन्छ। ट्रम्पले धेरै पटक फोन गरेर दिक्क लगाएपछि चिनियाँ पक्षले सी चीनको उत्तर कोरिया हेर्ने 'डेस्क अफिसर' होइनन् भनेर ट्रम्पको सचिवालयलाई भनेको समेत पश्चिमा मिडियाले लेखेका छन्।
अहिले पनि बिस्तारै वातावरण बन्दै गए व्यापार युद्ध मत्थर भए सी र ट्रम्पबीच कुराकानी हुन सक्छ। ट्रम्पले खुट्टा पहिले कमाएको देखिए पनि दुई नेतामध्यै कोही पनि नझुकेको देखिने गरी सम्झौता हुनेछ।
प्रतिस्पर्धामा धेरै अघि बढिसकेकाले दुई देशबीच अघिल्लो दशकको जस्तो सौहार्दपूर्ण सम्बन्ध फर्किने सम्भावना छैन। तैपनि अहिले जस्तो दुई देशबीच व्यापार नै नभएर विश्व अर्थतन्त्रलाई नै खतरा हुने स्थितिमा भने सुधार हुने देखिन्छ।
***
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्।)