कयौं दशक पार गरिसक्दा छोरी, बुहारी, आमा र सासु बनिसकेका तपाईंहरूलाई बुहारी भन्न बित्तिकै झट्ट दिमागमा के आउँछ? वास्तवमा बुहारी को हुन्? तपाई बुहारी बनेको अवधिभर कस्तो शासन भोग्नु भयो? तपाईं सासू बनेदेखि कस्तो हैकम जमाउनु भयो? तपाईं एक सफल बुहारी या सासू बन्न सक्नु भयो या भएन? हाम्रो समाजका आम सासूससुरालाई ससम्मान एक प्रश्न।
तपाईं घरमा कस्तो बुहारी भित्रियोस् भन्ने सोचमा हुनुहुन्छ? ढुंगे युगको जस्तै कि आधुनिक? तपाईं यहाँसम्म आइपुग्दा कति दौरा सुरूवाल फटाल्नु भयो? कति गुन्यो र चोली फेर्नु भयो? तपाईंको कति दशक समय फेरियो? तर त्यो बुहारीप्रति हेर्ने दृष्टिकोण किन फेरिएन? त्यो बुहारीप्रति गर्ने व्यवहार किन फेरिएन? तपाईंको विचारमा बुहारी कस्तो हुनुपर्छ? तपाईंहरू जस्तैले बनाएको बनावटी बुहारी नामक संविधानमा, बुहारीको नाममा बनेका विधि विधान र प्रावधान केके छन्? एउटा असल र खराब बुहारी छुट्याउने आधार र पूर्वाधार केके छन्? कहाँसम्म तोकिएको छ बुहारीको लागि अवधि र दूरी?
म पनि केही दशक पार गर्दैगर्दा छोरी, आमा र बुहारी बनिसकेँ। म समयभन्दा पहिले वयस्क हुन थालिसकेँ। मलाई यस्ती हुन पनि यही समाजको अवस्था र बाध्यताले सिकायो। यहाँसम्म आइपुग्दा सबै कुराको स्पष्टीकरण पाइसकेँ तर बुहारी नामको विधामा स्वयम् अझै अनविज्ञ छु। म जस्तै अन्योलमा अहिले एक भूगोल बुहारी होलान्? त्यसैले आज उत्सुकताको उत्कर्षमा पुगेर प्रश्नको भारी आम पाठहरूमाझ पस्किएकी छु।
तपाईंले देख्नु भएको गाउँ सहर, पूर्व पश्चिम, मेची महाकाली हरठाउँमा। छोराले घरमा बुहारी ल्याएपछिको माहोल कस्तो देख्नुभएको छ? घरबार मेलमिलाप कस्तो छ?
तपाईंलाई के लाग्छ? साँच्चिकै बुहारीहरू धर्तिका बोझ हुन् या रोज? यिनलाई सझाउने हो या कुल्चेर फ्याँल्ने? कतिका घरघरमा सजाइएका छन्? कतिका घरमा फालिएका छन्, कच्याक कुचुक्क पारी फोहोर सम्झी? अझै पनि कहिलेकाहीँ त लाग्छ यस्तै विकराल परिवारका रूप देख्दा, समाज बुझ्ने ठाउँ रहेनछ बुहारीको लागि।
यदि बुझ्ने थियो भने उसलाई मेरो दिलको अदालमा उपस्थित गराउँथें र सोध्थेँ- एउटै परीक्षा पटक पटक बुहारीकै किन लिन्छस्? तर प्रत्यक्ष समाजमा आँखा जुधाएर प्रश्न गर्न नसक्नु नै हरेक बुहारीको कमजोरी रहेको छ। यही विवशताका कारण बुहारीहरू किसिमकिसिमका आघात पीडाहरू खपिरहे, दारूण प्रहारका चोटलाई ऐंयासम्म नभनी सहिरहे। यसरी बुहारीका निम्ति सासूहरू सधैं हाउगुजी बनिरहे।
लाग्छ कहिलेकाहीँ सासू-बुहारी दुवै दुखी छन् हाम्रो समाजमा। न त बुहारी खुसी छ सासूको कुरामा, न त सासू खुसी छ बुहारीको कुरामा? यी दुई बीचको सम्बन्धको दरारमा प्रष्ट रूपमा एउटा ठूलो पृत्तिसत्तात्मक सोचको खाडल भेटिन्छ। सासूले मैले यही सिकेको हो, तिमीले यही नियम लागू गर्नुपर्छ भन्ने!, बुहारीले हैन हामी विज्ञान र प्रविधिको युगको मान्छे हौ केही परिवर्तन गर्नुपर्छ हामीबाट भन्ने। यसर्थ लाग्छ यो समाजमा अझै पनि बुहारीको इच्छालाई धुजाधुजा पारिएको छ। उनीहरूको जिन्दगीलाई संस्कारको सन्धीपत्रमा लिखित गराएर स्वतन्त्रताको पत्र नै च्यातिदिएको जस्तो लाग्छ।
हाम्रो समाजमा कतिपयलाई लाग्छ होला किन यस्तो हुन्छ? बुहारी नभित्राउँदासम्म मिलेको परिवार जब बुहारी भित्रिएसी एकाएक परिवर्तन हुन्छ, झगडा हुन्छ, बोली बाराबार हुन्छ, छुट्टिमपाट्टिम हुन्छ, घर निकाला हुन्छ। वास्तवमा त्यो घरमा साँच्चिकै बुहारी गलत हुन्छ या बुहारीलाई घुलमिल गराउन नसक्ने पारिवारिक माहोल? दोषी घरपरिवार हुन्छ या बुहारी? अनि हल्ला हुन्छ बाहिर सबै कारण बुहारी खराब हुन्छ। छोराले बुहारी घर लिएपछि बुहारीको नयाँ संसार सुरू हुन्छ। बुहारी हिजोसम्म माइतीमा आफ्नो खाएको थाल कचौरा मात्र धोएकी हुन्छिन् तर अब श्रीमानको घरमा सबैले खाएको भाडा मोल्छिन्।
सबेरै अल्रामको सहारामा उठेर घरधन्दा सुरू गर्छिन्। सबैलाई समयमा खाजा खाना तयार पार्छिन्। पाउना आउँदा सेवा सत्कारमा तत्पर रहन्छिन्। यसरी बुहारीका कर्तव्य भनेर बताइने तमाम आदेशले उनीहरूका निजी इच्छा, विचार र सपनालाई समाप्त गर्दै लगेको हुन्छ। तर पनि जब कुनै दिन त्यही बुहारी बिरामी परेर केही ढिलो उठ्छिन्, घरमा आँखा तारातार, बोली बाराबार हुन्छ।
सबैको अनुहार बादल लागेको आकाश जस्तो भैदिन्छ। तँलाई सन्चो भएन कि? राति निन्द्रा परेन कि? भनेर सोध्नु त परैको कुरा उल्टै शारीरिक पीडामाथि मानसिक पीडा थपेर थिचिरहन्छ। त्यस कुराले बुहारीलाई झनै बलेको आगोमा घिउ थपे जत्तिकै पीडा दिन्छ। कतिपय परिवार अझै यस सवालमा सक्रिय छन्। कहिलेकाहीँ बुहारीले सहीलाई सही गलतलाई गलत हो भनेर तर्कसहित जबाफ दियो भने ल हाम्रो मुखमुखै लागि भन्छन्। कयौं घरघरमा बुहारीहरू झेलिरहेकाछन् यस्ता आरोप प्रत्यारोप।
के बुहारीको दिल पत्थर हो? के बुहारीको पनि मन हुँदैन? के बुहारीको चित्त दुख्दैन? किन बुहारीमाथि नै यो स्तरको भाव उत्पन्न हुन्छ अबुझ परिवारमा? यो त गन्य मात्रामा भएको गुनासो हो। नगन्य मात्रामा भएका त कयौं छन्। दाइजो नलिई आएको आरोपमा जिउँदो चितामा जलाइएका, शारीरिक मानसिक यातना दिई उठ्नै नसक्ने गरी पछारिएका बुहारीहरू त झन कयौं छन्। सधैं बुहारीलाई मात्र पीडामाथि पीडा थुपारी रहँदा त्यो परिवार किन बुझ्दैन? हामी यसो गर्दा आखिर छोरामाथि के बितेको होला? कतै हामी आफ्नै सन्तानलाई चोट पुर्यायौ कि? आज एउटा श्रीमानले श्रीमतीको कुरा सुन्नु कि परिवारको? दुई ढुंगा बीचको तरूलजस्तो स्थिति बनेको छ।। जसले गर्दा थुप्रै छोरी बुहारीका सम्बन्ध तोडिएका छन्। आखिर बुहारी ल्याइसकेपछि हामी केही परिवर्तन हुनुपर्छ। छोराले पनि बुहारीको कुरा सुन्न पर्छ भनेर पहिले नै परिपक्क नभई किन छोराको विवाह गर्न हतार हुन्छन् हाम्रो समाजमा परिवार ?
अझै कतिपय परिवारमा त घरमा भएको बुहारीलाई राम्रो व्यवहार नगर्ने, तर आउने बुहारी अब राम्रो परोस् भन्ने चाह राख्छन्। जबसम्म तपाईंले बुहारी पनि हाम्रो परिवारको सदस्य हो। ऊ पनि मान्छे हो। यदि हामी उसलाई माया सम्मान दियौं भने ऊ पनि हामीलाई राम्रो गर्छे भनेर एउटा सुमधुर सम्बन्ध, प्रेमिल वातावरणको सृजना गर्नु हुँदैन तबसम्म जुन जोगी आए पनि कानै चिरेका भन्ने स्थिति खडा हुन्छ।
यसैले पनि आज पनि छोरी जन्माउने, अन्माउने बाबा आमालाई कति त्रास छ। छोरीलाई कस्तो घर पर्ला, परिवारका सदस्यको कस्तो सपोर्ट होला? प्राय: छोरीहरूको विवाह भएको १/२ वर्ष राम्रै ठिकठिकै सम्बन्ध चलेता पनि त्यसपछिका वर्षहरूमा तनावै तनावमा वर्षहरू व्यतित गर्न बुहारी बाध्य भएका कयौं तथ्य प्रमाणहरू सर्वत्र छन्। त्यसैले छोरी जन्माउने बाबाआमा अन्माउन र कन्यादान गर्न हतार नगर्नुहोस्। छोरीलाई आफ्नो खुट्टामा उभाएर मात्र विवाह गरिदिनुहोस्! आज पनि कयौं आमाबाबा राम्रो घर केटो छ भनेर यसै नबुझी सम्पत्तिको लोभमा छोरी विवाह गरिदिनुहुन्छ। अनि छोरीले विवाहको भोलिपल्टदेखि दमन हिंसा भोग्न सुरू गर्छे। त्यसैले 'बेटी बटाउ अभियान' लाई लत्याएर 'बेटी पढाऊ अभियान' मा लाग्नुहोस् छोरीको भलो हुनेछ।
कहिलेकाहीँ त लाग्छ मलाई यो समाज बुहारीको लागि अदालत हो। बुहारीका मुद्दालाई केलाउने यी समाजका अगुवाहरू न्यायाधीश हुन्। बुहारी के गर्छन्, कसो गर्छन्, कहाँ जान्छन्, साक्षी प्रमाण बटुल्ने, बकपत्र तयार गर्ने यही समाजमा तरह तरहका वकिल छन्। बुहारीको हिस्साको अंशबण्डाको निर्णय पनि यिनैले सुनाउने गर्छन्। कहीँकतै तलमाथि बाटो बिराए, अन्यथा गरे अदालतको मानहानीको मुद्दा बुहारीलाई लगाउँछन् र चरित्रहीन महिलाको ट्याग भिराइदिन्छन्। यसर्थ पनि यस अदालतमा अधिकाशं बुहारीले न्यायको अनुभूति गरेको पाइँदैन। राज्य व्यवस्थामै पुरानै पुरातनवादी पितृसत्ताको जराबुटी बटुलेर ऐनहरू बनाएको छ, त्यसैले समाज नामक अदालतमा प्रयोग भएको संविधानमा अझै पनि कुनै पनि दफा बुहारीका लागि हितकार रहेनन्। तर के गर्ने एक जना बुहारी मात्र जुरमुराएर तिनको फेरबदल सम्भव नहुँदो रहेछ।
आखिर युगहरू बदलिरहे, युवाहरू वर्तमान परिवर्तनमा रमाइरहे तर पनि किन कतिपय घरपरिवार बुहारीलाई मात्र लादिरहेका छन्? संस्कारका नाममा, यो समाज संस्कारै संस्कारको गुजुल्टो जस्तो बनाउन खोजेको छ बुहारीलाई, रेसम कीराको गुँडजस्तो। कहिले रोबोट जस्तो प्रयोग गरिरहेको छ घरधन्दामा। किन बुहारीको मात्र सोझोपनको एकलौटी फाइदा दोहन गरिरहेका छन् अन्यायमा?
जब चाडपर्व आउँछ, बुहारीहरू माइत आउँछन्। फेरि केही दिनपछि घर जाने दिन आउँ। त्योबेला घुर्मैलो अँध्यारो भित्रबाट अचम्मसँग निस्साइएका रूवाइका स्वर निस्कन थाल्छन्। घाँटीभित्र बलपूर्वक थुनिएका हिंसाका आवेगहरू आमासामु पुग्दा बिस्फोट हुन थाल्छन्। घर टेक्न नपाउँदै घरको त्यो किचकिच, नन्दा आमाजू देवर, सासू ससुराको त्यो ठुस्स व्यवहार 'अलरेडी माइन्डमा सेट' भएर बसेको हुन्छ। अनि कसरी खुसी हुने बुहारी आखिर त्यस्तो परिवारमा? तपाईंलाई लाग्ला बुहारीले किन यस्तो गरी? बुहारी किन परिवर्तन भई? बुहारी किन बोल्न छाडी? तर तपाईंले कहिल्यै सोच्नु भयो, हाम्रो तुच्छ व्यवहारले उनको मन बदलियो? तपाईंले कहिल्यै सोच्नु भयो? हाम्रो रातदिनको तानाशाही शासनले उनको दिल दुख्यो? हाम्रो घृणाको व्यवहारले उनको हृदयमा पत्थरको मन्जिल खडा भयो।
तर यही समाजमा अर्कोथरी सभ्य र बौद्धिक वर्गहरू नि छन्। जसले बुहारी र छोरीलाई बराबर आँखाले हेर्ने गर्छन्। प्रेमको तुलामा बराबर जोख्ने गर्छन्। बुहारीलाई परिवारको गर्व मान्छन्। उनीमाथि केही इन्भेष्ट गर्छन्, आत्मनिर्भर भएको हेर्न चाहन्छन्। उनको खुसी र सफलतामा गर्व महसुस गर्छन्। आहा हाम्रो समाजमा बुहारीलाई यति प्रेम गर्ने परिवार पनि छन्। जब परिवारले उनलाई यो दर्जाको प्रेम र सम्मान गर्छ भने बुहारी पनि उही लेभलकै प्रेम सम्मान मान मर्यादा राख्छिन्। त्यसैले केही पाउनु छ भने पहिले तपाईं दिन सुरू गर्नुस्। तपाईंले प्रेम दिनुहुन्छ, प्रेम पाउनु हुन्छ। दु:ख दिनुहुन्छ, घृणा पाउनु हुन्छ।
त्यसैले जुन आज मेरो छोरा बुहारीले यस्तो गर्यो उस्तो गर्यो, भनेर धज्जी उडाउँदै छिमेकी सामु समाजमा गोहीको आँसु देखाउनु हुन्छ, त्यो समय परिवारमा प्रेम स्थापना गर्नेमा खर्चनुहोस्। आजभोलिका बुहारी तपाईंले भोगेको पीडादायी दमन घरेलु हिंसा भोग्न चाहँदैनन्।
के बुहारीहरू हाम्रो समाजमा सधैं अपमानित अपहेलित हुनुपर्ने हो? तपाईंहरू आफ्नो जीवनमा खुसीका सातौं रङ्ग भरेर इन्द्रेणी देख्न चाहनुहुन्छ। तर ती बुहारीको जीवनमा किन सोच्नु हुन्न खुसीका एक रंग भए पनि भरदिन्छु भन्ने? आज जतिसुकै संशोधित संविधान कानुन राष्ट्रिय, अन्तर्राष्ट्रिय पढेता पनि, बुझाए पनि हाम्रो नेपालमा बुहारीमाथि गर्ने व्यवहार पटक्कै फेरिएको पाइँदैन कतिपय परिवार र परिवेशमा अझै पनि। आज हाम्रो देशमा कति चित्कार घटनाहरू छन् बुहारीबारेमा घटेका।
कतिपय बुहारीहरू चाडपर्व आउनु अगावै दुखी हुन थाल्छन्। चाडपर्व आउँछ, जहिले रूवाएर जान्छ भन्छन्। सायद धेरै बुहारीहरू होलान् विवाह पश्चातका चाडपर्वमा रत्तिभर रमाउन नपाएका? त्यसैले पनि लाग्छ बुहारीका लागि दु:खका स्मृतिलाई सन्तोषका भ्रमका पर्दाले छेक्दै, खोल्दै गर्नु सिवाय केही रहेनछ।
यसैगरी बुहारीका वेदनाका थुप्रा उसैगरी सधैं मनमा रहने भए हरेक बुहारीका खप्पर छिट्टै फुट्थे होला अनि जताततै पागल बुहारीहरू हुन्थे होला? तर बुहारीहरूको दिमागले थेगिरहेको छ डिप्रेसन र एन्जाइटीको गोली चलाउँदै गरेर भए पनि।
यति हुँदाहुँदै पनि, सदियौंदेखि गाडिएको पितृसत्तात्मक सोचले झाँगिएको झारलाई जरैदेखि उखलेर फाल्नुको सट्टा थप मलजल गरिरहेको छ यो समाज।
आखिर कहिले देख्न पाउँछन् हाम्रा चेली बुहारीहरूले स्वतन्त्रताको स्वच्छ नीलो आशकामा बुलबुल चरी पंखा फिजाइ नाचेको? यस्तै प्रकृतिका जीव जस्तै खुला वातावरणमा स्वतन्त्र बनेर एक सफल बन्ने संर्घषको उडान भरेर गगन चुम्न सक्ने पन्छी जस्तै बन्न चाहन्छन बुहारी। तर विडम्बना हरेक बुहारीलाई त्यो स्वर्णिम अवसर कहाँ प्राप्त हुनु? उड्न खोज्यो भने पखेँटा भाँच्न खोज्छन्! कुद्न खोज्यो भने खुट्टा भाँच्न खोज्छन्, बोल्न खोज्यो भने जिब्रो तान्न खोज्छन्। यस्तो छ हाम्रो समाजमा बुहारी जिउने वातावरण कयौं परिवारमा आज पनि। तर यतिविधि हुँदा पनि परिवारका कमजोरीलाई सार्वजनीक गर्दा फेरि अर्को चर खुल्ने डरले यसतर्फ बुहारीहरू सचेत भइरहे। यसरी बुहारीहरू घरको सिरोभारो र कर्तव्यको बिँडा उठाएर पार लगाउँदै अगाडि बढिरहे तर एकरत्ती धैर्यको धार छोडेनन्।
मनोबल गिराउने र जिन्दगीको बाटो बिथोल्न परिवार सबै बुहारीमाथि खनिरहे पनि पलपल मरेर ब्युझिँदै बुहारीहरू बाँचिरहे। आफूले देखेका सपनाका सफलताका लागि शक्ति र साहस जुटाउँदै अगाडि बढिरहे।
जतिसुकै पढेलेखेको बुजकारी बुहारी होस् नबुज्ने परिवारमा परेपछि उसले जतिसुकै बुझाउन परिवर्तन गर्न खोजे पनि प्रयास विफल भएका छन्। बाहिरी संसारमा खुसी सुखी छु भनेर देखावटी हाँसो हाँस्दै परिवारकै प्रंशसा गरे पनि भित्रभित्रै पलपल रोहिरहेका छन्।
आखिर भूगोल, अशिक्षित परिवार, संस्कृति अन्य यावत कुराहरू कारक तत्व बनेता पनि जबसम्म व्यक्ति व्यक्तिको सोचमा सकारात्मक परिवर्तनको विज रोपण हुँदैन, तबसम्म समाज बदलिन मुस्किल छ।
आज एकथरी परिवार बुहारीको धज्जी उडाउँदै समाजमा महिमेमान बन्न खोज्छ अर्कोथरी परिवार त्यसको मज्जा लिँदै विस्तारै उही सिको गर्दै त्यहीँ देखावटी आफ्नो परिवारमा लाद्न खोज्छ। जसको कारण हाम्रो समाजमा सकारात्मक परिवर्तनको सन्देश सम्प्रेषण हुनुको सट्टा नकारात्मक चेतनाको विष फैलिरहेको पाइन्छ। आज हामी पुरूष वर्गबाट महिला हेपिए भन्दै गर्दा यहाँनिर कहीँकतै हाम्रा विचार विफल भएका पनि पाइन्छन्।
हाम्रो पुरूषप्रधान समाजमा पुरूषले महिलालाई मात्र दमन गरिरहेका छैनन्, सबभन्दा बढी दमन र हिंसा त महिलाले महिलालाई गर्दा बढिरहेका छन्। जबसम्म महिलाले महिलालाई गर्ने हिंसाको चुली बढिरहन्छ तबसम्म बुहारीहरूका चित्कार, रोदनहरू चर्किरहन्छ। त्यसैले कसैले बुहारीका भलाइका लागि नारा जुलुस भाषण छाटेता पनि, परिवर्तन तपाईं आफैबाट गर्न जरूरी छ। जबसम्म तपाईं बुहारी हुँ भनेर सहिरहनु हुन्छ, तबसम्म तपाईं थिचिरहनु हुन्छ। त्यसैले आफूमाथि आइलाग्ने माथि जाइलाग्न सिक्नु होस्, प्रतिकार गर्न सिक्नुहोस्! चर्को स्वरमा चिच्याउनुहोस् र सुनाउनुहोस् आफ्ना अन्याय, दमन र रोदनका पीडाहरू। प्रमुख त आफू सक्षम हुन सिक्नुहोस्, लाली र पाउडरमा खर्चिने समय पुस्तक र कलममा खर्चिनुहोस्। जब तपाईं सक्षम शिक्षित आत्मनिर्भर बन्नुहुन्छ तब ती सबै दमनहरू बिस्तारै घाम झुल्किएपश्चात शित बिलाए जसरी। हराउँदै जान्छन्।
त्यसैले हरेक छोरी बुहारी सुरूमा त शिक्षित र आत्मनिर्भर बन्नु जरूरी छ। जब तपाईं आफूमा सक्षम सबल बन्नु हुन्छ तपाईं कसैको सामु झुक्नु पर्दैन। तपाईं आफ्नो आवाज दबाउनु पर्दैन। तपाईं आफ्नो लागि अरूको सहारा खोज्नु पर्दैन। त्यसैले हरेक बुहारी दुई मुठ्ठी सास रहुन्जेल पहिला आफूले आफूलाई बनाउनमा समय खर्चनुहोस्। आफूले आफैलाई खुसी बनाउनमा सिक्नुहोस्। सबैलाई खुसी बनाउँछु भन्ने भ्रममा नभासिनुहोस्। तपाईंको आत्मविश्वास, धैर्य र आत्मनिर्णयलाई नै तपाईं जिउने सहारा बनाउनुहोस्।