-आमा केवल सन्तान जन्म दिने व्यक्ति होइन—उहाँ जीवनका प्रत्येक पाटामा साथ दिने मार्गदर्शक हो।
-आमाको प्रेम एक शक्तिशाली आँधी हो—पोषण गर्ने, मार्गदर्शन गर्ने, र कहिल्यै थकित नहुने।
-आमा पहिलो गुरू, साँचो साथी, र सधैं साथ दिने रक्षक पनि हो।
नेपालमा मातातीर्थ औंसीका दिन ‘आमाको मुख हेर्ने’ पर्व मनाइन्छ। पश्चिमी विश्वमा भने मातृ दिवसको सुरूआत प्राचीन ग्रीस र रोमबाट भएको मानिन्छ, र आधुनिक स्वरूपमा अमेरिकाले सन् १९१४ मा यसको औपचारिक मान्यता दिन पुग्यो। यद्यपि, कुनै पात्रोले आमाको प्रेम मापन गर्न सक्दैन। आमाको माया समयको सीमाभन्दा परको कुरा हो।
मेरो आमा–बुवा प्रायः परासीमा बस्नुहुन्छ भने म काम विशेषले काठमाडौंमा बस्ने गर्छु। केही समय फुर्सद मिल्यो भने म परासी जाने हतारमा हुन्छु, परासी घरमा आमाबुवाको ममता र संरक्षणमा हुँदा, यस्तो लाग्छ मानौं समय पनि मलाई सजग भएर हेर्दैछ। जब मेरो जीवन तनावपूर्ण हुन्छ वा आत्मविश्वास हराएको महसुस गर्छु, सबभन्दा पहिले जसलाई सम्झिन्छु, उहाँ हो मेरी आमा!
केवल केही मिनेट आमासँग फोनमा कुरा गरेपछि नै शरीरभरि नयाँ ऊर्जा फैलिन्छ। आमाको आवाजमा रहेको ममता, धैर्यता र अडानको शक्ति यस्तो लाग्छ—म फेरि सम्हालिन्छु।
मैले जीवनका धेरै कठिन घडीहरूमा उहाँलाई दृढतापूर्वक उभिएको देखेकी छु। ती सबै परिस्थितिमा पनि आमा कहिल्यै थाक्नुभएन, कहिल्यै डगमगिनुभएन। उहाँको संघर्षमा कुनै स्वार्थ थिएन—आमाको सबभन्दा ठूलो चाहना सधैं सन्तानको उज्यालो भविष्य मात्र थियो।
आमाको मौन पीडा, रातभरको जाग्राम, अनि कहिल्यै हार नमान्ने साहस—यी नै आज मेरो जीवनका मूल प्रेरणा बनेका छन्। जब जीवनमा कठिनाइ आउँछ, म आमाको ती अद्भुत गुण सम्झन्छु। उहाँको आँट, धैर्य र प्रेम मेरो सबै गुनासाहरूभन्दा ठूलो लाग्छ। उहाँ मेरो जीवनको मेरूदण्ड हुनुहुन्छ।
आमा केवल सन्तान जन्म दिने व्यक्ति होइन—उहाँ जीवनका प्रत्येक पाटामा साथ दिने मार्गदर्शक हो। जब हामी थाक्छौं, उहाँको काखमा विश्राम पाउँछौं। जब जीवन कठिन लाग्छ, उहाँको सान्त्वनाले हाम्रो हिम्मत बढाउँछ। आमाको स्नेह, आशीर्वाद र विश्वास सन्तानको जीवनमा स्थायी प्रभाव पार्दछ। उहाँको उपस्थिति नै प्रेरणा, साहस र आशाको स्रोत हो। त्यसैले, मातृ दिवस एक दिनको पर्व होइन—उहाँको अमूल्य अस्तित्वको निरन्तर सम्मान हो।
बालकका लागि संसार बुझ्नुअघि नै उनीहरूको सम्पूर्ण संसार आमा हुन्छिन्। उनीहरू रोए, आमा अँगालो हाल्न आइपुग्नुहुन्छ। उनीहरू लडे, उहाँ उठाउन आइपुग्नुहुन्छ। सानो सफलतामा सबभन्दा उज्यालो मुस्कान आमाकै हुन्छ। आमाको आत्मा सन्तानसँग यसरी गाँसिएको हुन्छ कि उनीहरू खुसी हुँदा उहाँ हाँस्नुहुन्छ, र उनीहरू दुखी हुँदा चुपचाप पीडा सहनुहुन्छ।
आमाको माया ठूला घटनाहरूमा मात्र होइन, ती सामान्य तर गहिरा क्षणहरूमा अभिव्यक्त हुन्छ—तातो घरको खाना, बिरामी हुँदा बिताइएको रात, अनि आँखामा लुकेको चिन्ता। यी स-साना तर जीवनपर्यन्त साथ रहने प्रेमका भावनाले घरको मूल बुनियाद निर्माण गर्छन्। आमा पहिलो गुरू, साँचो साथी, र सधैं साथ दिने रक्षक हुनुहुन्छ। उहाँको प्रेमले दया सिकाउँछ, धैर्य सिकाउँछ र जीवनसँग लड्ने हिम्मत दिन्छ।
आजको स्वार्थी र सर्तसहितका सम्बन्धहरूले भरिएको समाजमा आमाको प्रेम नै मात्र यस्तो माया हो जुन निःस्वार्थ, निष्कलंक र शुद्ध हुन्छ। यो प्रेम न अपेक्षामा बाँधिएको हुन्छ, न स्वीकृतिको आवश्यकता हुन्छ। आमाको प्रार्थना र उहाँको कोमल स्पर्शसँग तुलना गर्न सक्ने कुनै सम्पत्ति, प्रसिद्धि वा सफलता छैन।
त्यसैले हामी आमाको सम्मान गर्नका लागि कुनै विशेष दिनको पर्खाइ गर्नु हुँदैन। हरेक दिन उहाँलाई कदर गर्नु, माया गर्नु र साथ दिनु नै हाम्रो कर्तव्य हो। सानो इमानदार शब्द, माया देखाउने व्यवहार, वा केवल केही समय उहाँसँग बिताउनु—यी नै उहाँको हृदयका साँचो खुसी हुन्। मातृ दिवस केवल पात्रोको मिति होइन, यो जीवनशैली हो, एउटा संस्कार हो जसलाई हामीले प्रत्येक दिन आत्मसात गर्नुपर्छ।
जसरी महान साहित्यकार माया एञ्जेलुले भनेकी छन्, 'मेरो आमालाई वर्णन गर्नुपर्छ भने त्यो पूर्ण शक्तिमा आएको आँधी हुन्थ्यो।'
आमाको प्रेम एक शक्तिशाली आँधी हो—पोषण गर्ने, मार्गदर्शन गर्ने, र कहिल्यै थकित नहुने। आजको द्रुत गतिका जीवनशैलीमा मानिसहरू लक्ष्यहरू पछ्याउने होडमा घरको माया बिर्संदै गएका छन्। तर, कुनै पनि बाह्य सफलता—न धन, न पद, न प्रसिद्धिले—भित्रको स्नेह र आत्मीयता पूर्ति गर्न सक्दैन।
आज पनि अनगिन्ती वृद्ध आमाहरू चुपचाप झ्यालबाट बाटो हेरेर बसिरहनुभएको हुन्छ। उहाँहरूलाई चाहिएको त उपहार होइन, सामाजिक सञ्जालको पोस्ट होइन—उहाँलाई चाहिएको सन्तानको साथ हो, उपस्थिति हो, मायाको अनुभूति हो। एक दिन हामी पछुताउन सक्छौं—उहाँले दिएको अँगालो, त्यो सानो सल्लाह, वा तातो खानाको स्वाद नै सबैभन्दा अमूल्य थियाे भन्ने कुरा।
त्यसैले, आमाको प्रेमलाई वर्षमा एक दिन मात्रै होइन, प्रत्येक क्षण सम्मान गरौं। यही हो साँचो मातृ भक्ति |
'माया, त्याग र सहनशीलताको प्रतिमूर्ति सम्पूर्ण आमाहरूलाई श्रद्धा र नमन सहित मातातीर्थ औंसीको हार्दिक शुभकामना।'
(सन्दिप पराजुलीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)