आजभन्दा २८/२९ वर्ष अघिको चैत वा वैशाख महिना। दसैँमा आम मानिसले नयाँ कपडा लगाएजस्तै प्रकृतिले पनि नयाँ पालुवा फेर्दै आफ्नो उत्सव मनाएको। तर उखुम गर्मी। त्यसै दुखी, भोका वा पीडित जस्ता देखिने गोठभरि गाईबस्तु। छेउमा सानो पैनी अनि पिपलको बोट, अलिक परतिर ठुलो धुर हुँदै जाँदा गोठभरिका गाईबस्तु अटाउने त्यति नै ठुलो चौर, नजिकमा प्यास मेटाउने खोला, अलिक पर सधैँको शीतल पिटारीको रुख।
यस्तै यस्तै परिवेश थियो। हुन त हामी बुवा-आमाका आठ सन्तान। तर खै कस्तो कस्तो संयोग हो त्यति बेला, चौबिसै घण्टा बाँ-बाँ गर्ने गाईबस्तुका असल सारथि थियौँ आमा र म मात्र। सायद कोही व्यापार, कोही जागिर अनि आमासँग लुटुपुटु खेल्ने छोरीहरूको पनि विवाह भइसकेर होला। मेरो पढाइ/भर्ना काठमाडौँ भएता पनि परीक्षा दिन मात्र त्यता जान पाइने बाध्यताले आमासँगको स्वर्णिम पल जुराएको थियो सायद।
अँ भन्दै थिएँ... त्यति बेला हाम्रो घरमा सावित्री गाई, माली गाई, बुके गोरुहरू त थिएनन् तर तिनका सन्तानले भने पूरै गोठ र चौर ढाकेको थियो। बुवाको अलिखित संविधानमा घरका गाईबस्तु बेच्न नपाइने भन्ने नियमले हाम्रा भाग्यमानी गाईबस्तुको पनि सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुरक्षित भएको थियो।
गीतामा भनिएको छ, ‘त्यो मान्छे सर्वश्रेष्ठ हो जसले सबै प्राणीलाई आफ्ना सन्तान सरह माया गर्दछ।’
यो बोधगम्यताले आफू जतिसुकै सुगर/प्रेसरबाट शिथिल भए पनि हाम्री आमालाई पुरापुर छोएको थियो। आजभोलि सुगरका सामान्य बिरामीले पनि आफ्नो स्वास्थ्य र खानपिनमा निकै ध्यान दिएको देखिन्छ तर आमालाई हरपल चिन्ता भइरहन्थ्यो– आज फलानो गाईले केही खाएको छैन, भैँसीलाई बेलुकाको घाँस काटेको छैन, मानौँ ती सबै घरकै छोराछोरी नै हुन्।
आमासँगै मेरो पनि दैनिकी नै बनेको थियो– बिहान डुँडभरि खानेकुरा गाईबस्तुलाई खुवाएर चौर/खेतमा पुर्याउने, भैँसीबाट दूध पगार्न मजाले मकैको ढोड खुवाउने, दुहुना गाईबस्तुलाई कम्तीमा घाँस खुवाउने, पराल तान्ने, साँझ–बिहान दुहुना गाईबस्तुबाट बाल्टिनभरि दूध निकाली आमा वा बुवालाई एक पटक पुलुक्क देखाउने र स्याबासी पाउने।
भनिन्छ, यात्रा सबैको एक्लो नै हुन्छ। कसैले कसैको यात्रामा सधैँभरि साथ दिन सक्दैन। यो चाहेर पनि हुँदैन। आमासँग घरमै बसेर काम गर्दै पढ्नलाई एक खालको बानी जस्तै भएको थियो मलाई तर परीक्षा दिन र काठमाडौँ बसेरै केही गर्न तत्काल घर छोड्नु पर्ने बाध्यताले उति नै सताएको थियो।
एक दिन आमालाई एक्लै टोलाएर बसेको देखेँ र सोधेँ,’के भयो र आमा?’
आमाले प्रेमिल भावमा भन्नुभयो, ‘अर्को हप्ता तँ काठमाडौँ गइहाल्छस्, यत्रो गाईबस्तु म एक्लैले कसरी धान्नु? मेरो त दाहिने हात नै भाँचिने भयो।’
मैले सम्झाउन कोसिस गरेँ– ‘होइन आमा, म छिट्टै आउँछु, परीक्षा दिन त जानै पर्यो नि काठु।’
तर भित्री मनमा अर्कै छटपटी थियो– यो परीक्षा मात्र पास भएर के गर्नु, जीवन गुजारा चलाउन सक्ने परीक्षा कहिले पास हुने होला? सधैँ बेरोजगार भएर कसरी घर फर्कने होला?
खानामा मलाई धुले अचार असाध्यै मन पर्ने, सेल रोटी पनि त्यस्तै। अब आमाको हातबाट कोसेली स्वरूप यिनै परिकार बन्ने तयारीमा थिए तर हाम्रो घरको ढिकी बिग्रेका थियो। आलस भुटेर अनि चामल भिजाएर काठमाडौँ जाने अघिल्लो दिन पल्लो घर बडेमाकोमा गई मैले ढिकी कुटेको अनि आमा र बडेमाले भलाकुसारी गर्दे आलस र चामल छिन्केको हिजोअस्ति जस्तै लाग्छ।
तिनै बडेमा जसले आमाको दुख-सुखमा जीवनभर साथ दिई चैत–वैशाखको प्रचण्ड खडेरीमा आफै च्यादनीमा सयौँ पटक मोही बोकेर खुवाएको मिठो सम्झना अझै ताजा छ।
घर छोडेर काठमाडौँ जाने कुनै जाँगर थिएन। झन् त्यो ढुंगाहरूको मन भएको काठमाडौँलाई कसरी बिर्सनु? तर आमाको हातबाट बिदाइको टीका थाप्नुपर्ने बाध्यता थियो। नजिकैको साइकल, चामल र सागसब्जीका छुट्टाछुट्टै पोका, हिजो भर्खर बनाएको धुले आचार, ढिकीको आवाज, पर खेतमा देखिने गाईबस्तु, सबैले एकसाथ आमाको हात भएर बिदाइ गर्दै थिए।
त्यतिखेर अहिलेको जस्तै मोबाइल, क्यामेरा केही थिएन। आँखाभरि अट्ने घर, आँगनका सबै वस्तुहरूलाई सम्झनामा कैद गरे। अन्ततः साइकलभरि समान लोड गरी आमाको हातबाट अन्तिम टीका र आशीर्वाद लिई हात हल्लाउँदै बिदा भएँ।
मन भारी त त्यसै थियो, त्यसमाथि साइकलमा लोड भएको भारीले पनि त्यतिकै थिचेको थियो। शिवगंजबाट गाडी छुट्ने हतारोले पनि होला उप्रेती भिनाजुको घर अगाडिको पुल नपुग्दै साइकल पछाडि केरियरले चेपेको एटेजी (ठुल्दाइले दिएको एटेची अहिले पनि सुरक्षित छ) नराम्रोसँग भुईँमा बजारियो, कसो पानीमा चाहिँ परेन।
वरपर हेरेँ, कोही देखिनँ। अब के गर्ने होला?
परबाट कोही कराउँदै आयो, ‘लौन कसरी सामान पुर्याउँछ होला! पख, पख।’
पछाडि हेरेँ, पिपलबोट हुँदै आमा आउँदै गरेको देखेँ। मलाई भक्कानिन मन लाग्यो तर सम्हालिएँ।
हरेक सन्तानका लागि माता पिता भनेको भगवानको रूप हुन्छन् रे। आमाको यो विराट रूप मेरो लागि सायद भगवानकै प्रतिरूप भन्दा कम थिएन। अब एटेची बाँध्न हामी दुवैसँग डोरी थिएन। बिच बाटोमा डोरी भेट्ने कुरा पनि भएन। ‘मायाको डोरीले तिमीलाई बाँधौँला’ भने जस्तै आमाले पटुका खोलेर चामल माथि एटेची राखी साइकलको डन्डीमा मजाले बाँधेर काँपेको स्वरमा भन्नुभयो, ‘लु जा बाबै, गाडी छुट्छ, अबेर भो’।
मैले मुन्टो मात्र हल्लाउँदै ‘हस्’ को इसारामा साइकल डोर्याएँ। पछाडि फर्कन मन थियो तर सकिनँ। साइकल डोर्याउँदै, लरबराउँदै धेरै पछाडि छोडिएकी आमालाई स्मृतिमा साइकल अगाडि अगाडि राखेर डोर्याउँदै अगाडि बढेँ र मनमनै गमेँ– एक दिन राम्रै जागिर खाउँला आमा, तिम्रा हरेक सपनाहरू पूरा गरौँला,.त्यो पटुका भित्र लुकेको तिम्रो माया र भरोसालाई कहिले मर्न दिने छैन...।
आज आमा बितेको पनि २५ वर्ष पूरा भइसकेको छ। घरको सानो मन्दिर कोठामा धेरै भगवानहरूको फोटोसँगै स्वर्गीय बुवा-आमाको फोटो भगवानकै प्रतिरूपमा सजाएको छु। फोटोमा मुसुक्क हाँसेको आमाको तस्बिर हेर्दा मेरो गाउँको त्यो कल्वट, सानो पैनी, पिपलको बोट, आमाले हजारौँ पटक हिँडेका ती खेतका आलीहरू, सावित्री गाई, माली गाई, बुके गोरुहरू यसो छाम्दा नभेटिए पनि सबै सधैँ छेउछाउमै छन् जस्तो लाग्छ।
स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली। मातातीर्थ औँसीको पावन अवसरमा संसारभरिका सबै आमाहरूलाई हार्दिक सम्मान र शुभकामना।