धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू!
अहिले सामाजिक सञ्जालमा सर्वाधिक चर्चामा रहेको गीत हो यो। लोकपप शैलीको यो गीतले लाखौं दर्शक-स्रोताको मन जितिरहेको छ।
नवीन चौहानले निर्देशन गरेको फिल्म 'ऊनको स्वीटर' मा समावेश यो गीतमा झुमा लिम्बूको स्वर तथा संगीत छ। गायनमा उनलाई सुजन चापागाईंले साथ दिएका छन्। गीतमा शब्द युवराज काफ्लेले भरेका हुन्।
युवराज र झुमाको चिनजान भएको सात वर्षजति भयो।
'एक दिन युवराज काफ्लेले मलाई फोन गरेर एउटा गीत लेख्दै छु, तपाईंसँग काम गर्न चाहन्छु भन्नुभयो,' झुमाले सम्झिइन्, 'त्यो बेला हाम्रो चिनजान थिएन। नयाँ मान्छेसँग जोडिन रूचि नभएकाले हुन्छ भन्दै टारिदिएँ।'
युवराजले पछि पनि सम्पर्क गरे। त्यसपछि भने झुमालाई केही राम्रै होला भन्ने लाग्यो।
उनी आफै युवराजलाई भेट्न गइन्। युवराजले थुप्रै गीत देखाए। झुमाले तीमध्ये 'काफ्ले' गीत छानिन् र बाँकी गीत पछि गर्दै गरौंला भनिन्।
'यो गीतसँग मेरो गाउँको सम्झना जोडिएको छ,' उनले भनिन्, 'हामी लिम्बूहरू एउटै गाउँमा झुरूप्प परेर बस्थ्यौं। सबै माइती गाउँले नै हुन्थे। काफ्ले भनेपछि कुटुम्ब चल्ने भन्ने हुन्थ्यो। त्यसैले हामी काफ्लेहरूलाई खुब जिस्क्याउँथ्यौं।'
'मेरा छिमेकी पनि काफ्ले थिए,' झुमाले अगाडि भनिन्, 'त्यसैले पनि मलाई यो गीत मनपर्यो।'
गीतलाई अन्तिम रूप दिन दुई वर्ष लागेको उनी बताउँछिन्। गीत बनिसक्दा उनीहरू एकदमै सन्तुष्ट भएका थिए।
झुमा यो गीत आफ्नो एल्बममा राख्न चाहन्थिन्। उनले यसको तयारी पनि गरेकी थिइन्। पछि नवीन चौहानले 'ऊनको स्वीटर' मा राख्ने प्रस्ताव गरे। फिल्मको विषयवस्तुसँग सुहाउँदो गीत भएकाले उनीहरू तयार भए।
यो फिल्म वैशाख २६ गते प्रदर्शन हुँदैछ। त्यसै दिन इन्द्रबहादुर निर्देशित 'जार' पनि प्रदर्शनमा आउँदैछ। 'जार' का गीतमा पनि झुमाले नै संगीत भरेकी छन्। यसबाहेक उनी अचेल नयाँ पुस्तासँग पनि काम गरिरहेकी छन्।
'अहिले म आफूभन्दा १५ वर्ष मुनिका युवाहरूसँग काम गरिरहेकी छु,' उनले भनिन्, '४० कटे पनि मसँग २० वर्षको ऊर्जा छ। नयाँ पुस्ताका मान्छे विश्व संगीतमा अपडेट हुन्छन्। हामी पुरानै कुरामा अल्झिरहेका हुन्छौं। त्यही भएर पनि मलाई नयाँ पुस्तासँग काम गर्न रमाइलो लाग्छ।'
नयाँ पुस्ताकै सुशान्त केसीसँग काम गर्दा रमाइलो लागेको उनले बताइन्। र्याप गाउने पुस्ताले लोक गीतलाई स्थान दिइरहेको देख्दा उनी खुसी मान्छिन्।
यति बेला झुमा नयाँ एल्बम निकाल्ने तयारीमा छिन्। एल्बममा १२ वटा गीत समावेश हुनेछ। ती गीतले नेपालभरको संगीतलाई प्रतिनिधित्व गर्ने उनको भनाइ छ।
यसबाहेक उनी 'फक्तांलुङ हिमाल' को वृत्तचित्र पनि बनाउँदै छिन्। लिम्बू भाषामा कुम्भकर्ण हिमाललाई फक्तांलुङ भनिन्छ। यसलाई उनीहरू आफ्नो 'आस्थाको केन्द्र' मान्छिन्।
'लिम्बूहरूको आस्था जोडिएकाले यो हिमाल चढ्नु हुँदैन भन्ने मान्यता छ,' उनले भनिन्, 'मैले यो हिमाल आरोहण गर्न किन हुँदैन भनेर वृत्तचित्र बनाउन लागेकी हुँ।'
झुमाले लोक संगीतमा काम गरेको २० वर्ष भयो। उनी किराँत समुदायको संस्कृतिसँग जोडिएको मुन्धुममा अनुसन्धान पनि गरिरहेकी छन्। श्रुति परम्परामा बाँचेको मुन्धुममा किराँतहरूको जीवन पद्धतिदेखि संगीत परम्परासम्म समेटिएको छ।