नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत असार ३० गते प्रधानमन्त्री बनेयता दिनहुँजसो सरकार ढल्दैन भन्दै आएका छन्।
त्यसो त उनले अब १४ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताउँदै आएका छन्।
प्रधानमन्त्री ओलीले दिनहुँ सरकार परिवर्तन हुँदैन भनेर दाबी गरे पनि पछिल्लो समयका शीर्ष नेताका अभिव्यक्तिले निरन्तरतामा भने आशंका उत्पन्न गरेको थियो।
यही सन्दर्भमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच शनिबार राति भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजेदेखि राति ९ बजेसम्म भएको छलफलले सरकार फेरबदलको आशंका चिरेको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
‘प्रधानमन्त्री ओली र सभापति देउवाबीच सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको छ। दुवै नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताउनुभएको छ,’ उनले भने।
बालुवाटारको छलफलमा उपप्रधानमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।
यसैबीच सभापति देउवा थाइल्यान्डको राजधानी बैंककमा भएका बेला पनि प्रधानमन्त्री ओलीसँग टेलिफोन वार्ता भएको थियो।
त्यसबेला पनि उनीहरूबीच सरकार फेरबदलको हल्लाबारे कुराकानी भएको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी थिइन्।
उपचारका लागि बैंकक गएका सभापति देउवा शुक्रबार स्वदेश फर्किएका थिए।