मलाई अलि अलि याद छ, घरमा आउने पाहुनाले एउटा चकलेट दिएर सोध्थे ‘ठूलो भएर के बन्छौ बाबु?’
मैले चकलेट हातमा लिँदै घोसे मुन्टो लगाएर भन्थें, ‘डाक्टर!’
पढ्दै जाँदा थाहा पाएँ, डाक्टर बन्न पढाइ मात्र भएर पुग्दैन रैछ। बाको अथाह सम्पत्ति पनि हुुनु पर्दो रैछ। त्यो सपना स्कुले जीवनमै तुहियो।
आफू बुझ्ने हुँदासम्म मलाई ठूलो भएपछि अनेक बन्ने सपनाले सताउँथ्यो। कहिले के बन्ने सपना बुन्थें त कहिले के बन्ने।
शाहरूख खानका फिल्म खुब मन पर्थे मलाई। उसको अभिनयबाट प्रभावित हुँदा ठूलो भएपछि खतरा नाम चलेको हिरो बन्न मन लाग्थ्यो।
राजेश हमाल, भुवन केसीजस्ता खुंखार नेपाली हिरो बन्ने सपना त पछिसम्म देख्थें।
घरभन्दा तल खोलाको बगरमा गाउँभरिका केटाकेटी मिलेर हामी फिल्म खेल्थ्यौं। कहिले म हिरो बन्थें, त कहिले भिलेन।
अघिल्लो हप्ता हेरेका फिल्मका डाइलग बोल्ने, अभिनय गर्ने अनि बीच-बीचमा फिल्म खेल्दै गरेका अरू केटाहरूसँग फाइट पनि गरिन्थ्यो।
तर त्यो पनि बाल्यकालको भाँडाकुटीमै सीमित भयो। हिरो बन्ने सपना अनुहारले पूरा हुन दिँदैन भन्ने लाग्यो अनि भिलेन पनि के बन्नु भनेर आशा मर्दै गयो।
आजभोलिका अभिनेताहरूको अनुहार हेर्छु, अनि सोच्छु ‘खतरा अभिनय गर्न सिकेको भए हिरो बन्न अनुहार मात्र नभए पनि त हुँदो रैछ।’
ऊ बेला गाउँतिर रक्तिम साँस्कृतिक अभियानले कार्यक्रम देखाउँथे। प्राय: रातिमा हुने ती कार्यक्रममा कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति देखाउँथे।
रक्तिमका कार्यक्रममा गायकले गीत गाउँदा शरीरका रौं ठाडा हुन्थे अनि म ठूलो भएपछि गायक बन्छु भन्ने सपना देख्थें।
गायक बन्ने सपना अलि पछिसम्म देखें। गाउँको एउटा क्लबमा गाउँघरका केटाहरूसँग स्वरमा स्वर मिलाउँदै गाउन थाले।
मैले गायक बन्नुपर्छ भन्ने हौसला दिएका अलि मिठै स्वर भएकाहरू क्यासेट निकाल्ने बहानामा काठमाडौंसम्म हानिए तर म गाउँभन्दा परको गायक बन्न सकिनँ।
गायक बन्न रहरमात्र भएर हुँदैन, स्वर पनि सुरिलै चाहिन्छ भन्ने थाहा पाएपछि म गाउँमै सीमित भएँ। म सँगका साथीहरूले काठमाडौं गएर दर्जनौं गीत निकाले।
गायक बन्न नसक्ने भएपछि गाउँघर अनि अलि परको लमही बजारमा हल्लिँदै थिएँ।
एकदिन लमही बजारका होनहार संगीतप्रेमीहरू यादव योगी, सुधिर अधिकारी, ज्ञानेन्द्र स्वर्णकार अनि राजेश क्षेत्री लगायतको टोलीले मसँग सल्लाह गरे।
‘दिपक! हामी सबै मिलेर एउटा सांगीतिक केन्द्र खोलौं!’
म खुसीले गदगद भए। संगीतमा अथाह रूचि थियो। गोजीमा भएको पैसा उठाएर खोलियो सांस्कृतिक केन्द्र। नाम रह्यो ‘स्वर्गद्वारी सांस्कृतिक केन्द्र’।
नाच्नेहरूलाई सुधिर दाइले कत्थक सिकाउनु हुन्थ्यो, बाजा बजाउनेलाई राजेश दाइले बाजागाजा अनि गायक बन्ने सपना हुनेहरूका लागि यादव दाइ।
मलाई पहिलो दिन नाच सिक्ने रहर जाग्यो। सुधिर दाइको डान्स क्लासमा भाग लिएँ। दाइले एक जना अपरिचित केटीको पछाडि उभ्याउँदै कत्थक सुरू गराउनु भयो, म लाजले भुतुक्कै भएँ।
उनै अपरिचित केटीको कम्मरमा पकडेर फन्का मार्ने स्टेप गर्न नसकेपछि मलाई लाग्यो ‘यो तेरो हैसियतको हैन दिपक, भोलिदेखि बाजागाजा सिक।’
सुधिर दाइसँग माफी माग्दै म राजेश दाइको क्लासतिर छिरेँ।
आफ्नै सांस्कृतिक कला केन्द्र थियो। आफैंले पैसा उठाउँदै स्थापना गरेको। अरू सिक्ने विद्यार्थीजस्तो अप्ठ्यारो थिएन मलाई।
म त्यो सांस्कृतिक केन्द्रको ठूलै मान्छे थिएँ। यस्तै घमन्डले मलाई अब बाजागाजा बजाउनेतिर डोर्याएको थियो सायद।
राजेश दाइले ताङ घिन्ताङ पार्दै मादल थम्याइदिए। मैले दुई साप्राको बीचमा मादल घुसाएर खुब पिटें तर सुर कहिले आएन।
मलाई रहर थियो गिटारको, त्यो त झन अप्ठ्यारो। आठ दस दिनको क्लासमा दर्जनौं तार चुडाइदिएँ मैले। अन्त्यमा राजेश दाइले हास्दै भने ‘तिमी संगीतको पारखी हौ बड्डा, सारथी बन्न सक्दैनौ।’
अनि म स्वर्गद्वारी सांस्कृतिक केन्द्रले आयोजना गर्ने कार्यक्रमहरूको हर्ताकर्ता त भए तर कलाकार बन्न सकिनँ र सपना पनि तुहिए।
कलाकार बन्ने मेरा रहर सेलाउने समयमा देशमा राजनीतिक उथलपुथल खुब थियो। ‘जनयुद्ध’ चर्केको अवस्थामा थियो देश।
कहिलेकाहीँ हुने युद्ध विरामको बेला पार्टीले आमसभाको आयोजना गर्थे। हजारौंको भिडमा मञ्चमा उभिएर भाषण गर्दै गरेको नेता देख्दा सोच्थें ‘वाह रे वाह दिपक! अब नेता बन्नु पर्छ।’
ठूलै नेताहरू पनि विद्यार्थी राजनीतिबाट अगाडि बढेको देखेपछि मलाई पनि विद्यार्थीको राजनीति गर्न मन लाग्यो अनि आबद्ध भए अनेरास्ववियु (क्रान्तिकारी) तिर।
युद्ध विरामभर त गाउँ घरमा आनन्दै हुन्थ्यो, जब युद्ध चर्कन्थ्यो, पुच्छर पकडेर भाग्नै ठिक्क। फलानो पार्टीको सदस्य हुँ भनौं मार्छन् कि भन्ने डर। नभनौं कसले गन्छ?
जेनतेन ज्यान बचाइयो, तर नेता बन्न सकिएन। युद्धकालभरि भाग्नै ठिक्क भयो, शान्ति वार्तापछि आसेपासेले स्थान ओगटे, आफू चिल्लै।
नेता बन्ने सपना सकिने बेलासम्म लगभग पढाइ सकियो। धेरै पढेर होइन, पढाइलाई बीचमै छाडेर सकियो मेरो पढाइ।
कहिले कलाकार बन्ने सपना त कहिले नेता बन्ने सपनाले पढाइ अघि बढ्न दिएन अनि पढाइ त अलि परै छुट्यो। फेरि फर्कनै नसक्ने गरी।
खाली समयमा पत्रिमा र अनलाइनमा ब्लग र साहित्य लेख्दै बसेको थिएँ। कहिलेकाहीँ साथीभाइका कथालाई म आफैं पात्र बनेर साहित्य लेख्थें।
दाङकै नाम चलेको एक दैनिक पत्रिका र काठमाडौंबाट चलेको एक अनलाइनमा लेख्थें। आफूलाई खतरा लेखक ठान्दै थिएँ, अनि बनाउँदै पनि थिएँ।
जिन्दगी चल्दै थियो लेखक बन्ने दौडमा।
एकदिन नेपाल पत्रकार महासंघका वर्तमान अध्यक्ष आदरणीय दाइ विपुल पोख्रेलले चियाको चुस्कीमा अफर गर्दै भन्नुभो ‘मेरो पत्रिकामा काम गर केटा।’
मैले अफर स्वीकार्दै भनें, ‘मेरा समाचारलाई प्राथमिकता दिन पर्च। पछिल्ला पानामा होइन, अघिल्ला पानामा आउन पर्च।’
अनि सुरू भयो लेखकबाट पत्रकार बन्ने बाटो।
ब्लग र साहित्य अनलाइन, पत्रपत्रिकामा अनि समाचार चाहिँ गोरक्ष राष्ट्रिय दैनिकमा। जुन दैनिकका मालिक विपुल पोख्रेल दाइ हुनुहुन्थ्यो।
लगभग तीन वर्ष लगातार लेख्न थालेपछि म थाकेँ। न पैसा, न त इज्जत। परेन फसाद!
पत्रकार भएपछि सबैले चिन्छन्, आफूलाई लाग्छ ‘वाह ! क्या इज्जत छ।’
तर घर आएपछि बालगायत घरकाले सोध्छन्, ‘जिन्दगी यसरी नै चल्छ त केटा? फलानाले विदेश गएर यति कमाइसक्यो।’
रात दिनको कचकचले सीमा नाघेपछि एकदिन प्रण गरें, लाउर जान्छु।
बाल्यकालमा डाक्टर बन्ने सपना थिए, अलि ठूलो हुँदा हिरो बन्ने सपना थियो। बुझ्ने हुँदा कलाकार बन्ने सपना भयो, त्यो पनि तुहिने बेला नेता बन्ने सपना देखेकै हुँ।
अन्त्यमा लेखक र पत्रकारसँगै बनेर समाजको बुद्धिजीवी कहलिने सपना देख्दा देख्दै प्लेन चढेर परदेश आएको पनि आज पाँच वर्ष पूरा हुनै आट्यो।
के बन्ने भन्ने कन्फ्युजै कन्फ्युजमा आजभोलि बा बनेको छु, अलि पछि हजुर बा बनूँला अनि त स्वर्गीय बन्ने दिन आइहाल्नेछ।
कठै मानिसको जीवन।